newskoseli.Com

नयाँ शक्तिका नेताहरुलाई उत्पादनको तालिम

नयाँ शक्ति पार्टीले आफ्ना केन्द्रीयस्तरका नेताहरुलाई उत्पादन, रोजगारी एवं स्वरोजगारसम्बन्धी अभिमुखीकरण तालिम दिएको छ ।

पार्टीले लिएको आर्थिक विकास र समृद्धिको एजेन्डालाई कसरी कार्यान्वयन गर्ने भन्ने प्रश्न उठिरहेका बेला पार्टीले नेताहरुलाई सोसम्बन्धी ज्ञान दिएको जनाएको छ ।

पार्टीको उत्पादन तथा रोजगार–स्वरोजगार अभियान समन्वय समितिले सोमबार काठमाडौंमा गरेको अभिमुखीकरण कार्यक्रममा उत्पादन तथा रोजगारीसम्बन्धी तालिम दिइएको हो ।

अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै पार्टीका संयोजक डा. बाबुराम भट्टराईले नयाँ शक्तिले विकास र समृद्धिलाई नै लक्ष्य बनाएकाले त्यही लक्ष्य हासिल गर्न आर्थिक विकास र समृद्धिको कार्ययोजनामा नमूनायोग्य काम गर्नुपर्ने बताए ।

उनले उत्पादन, निर्माण र रोजगारीसम्बन्धी नीतिको मनशाय प्रस्ट्याउँदै त्यसले पार्टीमा क्रियाशील नेता तथा कार्यकर्ताहरुलाई व्यावसायिक कामप्रति अभ्यस्त बनाउने र आम जनतामा उत्पादनसम्बन्धी पार्टीको कार्यशैलीप्रति थप विश्वास आर्जन गराउने बताए ।

डा. भट्टराईले देशको आर्थिक विकासका लागि कृषिको आधुनिकीकरण एवं वैज्ञानिकीकरण, उद्योग–कलकारखाना, पर्यटन, ऊर्जा क्षेत्रको विकास मुख्य आधार भएको बताए । उनले विकासका पूर्वाधारजन्य क्षेत्रहरुमा राज्यले लगानी अभिवृद्धि गर्ने र कृषि, पर्यटन, उद्योग, व्यापार आदि क्षेत्रहरुमा निजी क्षेत्र संलग्न भएर अर्थतन्त्रलाई गति प्रदान गर्नुपर्ने आवश्यकता रहेको बताए ।

नयाँ शक्तिको पहलमा सञ्चालन गरिने उत्पादन, निर्माण तथा रोजगारीकेन्द्रित कार्यक्रमहरु देशको विकास र समृद्धिका लागि नमूनायोग्य हुने उनको भनाइ थियो ।

पार्टीका केन्द्रीयस्तरका नेताहरु सम्मिलित उक्त अभिमुखीकरण कार्यक्रममा केन्द्रीय, प्रादेशिक तथा स्थानीय तहमा सञ्चालन गरिने विभिन्न परियोजनाहरुका बारे छलफल गरियो ।

कार्यक्रममा उत्पादन तथा रोजगारी समितिका संयोजक वामदेव क्षेत्रीले पार्टीको उत्पादनसम्बन्धी अवधारणा प्रस्तुत गर्दै समाजवादउन्मूख अर्थतन्त्रको निर्माणका लागि निजी र सरकारी स्रोतसाधनको प्रयोग गर्दै उत्पादनमुखी काम गर्नुपर्नेमा जोड दिए ।

क्षेत्रीले विभिन्न किसिमका उत्पादनमुखी योजनाहरुले विदेशमा रहेका युवाहरुलाई अभिप्रेरणा जगाउने, पार्टीका अभियन्ता तथा जनतालाई क्रमशः आत्मनिर्भर बनाउँदै लैजाने उद्देश्यले उत्पादन र रोजगारीसम्बन्धी कार्ययोजना लागू गर्न लागिएको बताए ।

अभिमुखीकरण कार्यक्रममा डा. जनक शाहले उत्पादनको कार्ययोजना र वित्तीय व्यवस्थापनको बारेमा व्याख्या गरे । पर्यटन व्यवसायी योगेन्द्र शाक्यले पर्यटन, उद्यमशीलतासम्बन्धी विषय, मदन राईले एकीकृत अर्गानिक कृषि व्यवसाय, डा. प्रदिपमान तुलाचनले पर्यटन, श्रम तथा रोजगारसम्बन्धी विषय, नाथु चौधरीले एकीकृत कृषि व्यवसायसम्बन्धी विषय र डा. लक्ष्मी देवकोटाले जलविद्युत् तथा नवीकरणीय ऊर्जासम्बन्धी विषयमा बोले ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर