राष्ट्रिय एकता मजबुत र सौहार्द बनाउने अभियानसहित धुुर्मुस र सुन्तली तराई प्रवेश गरेका छन् । भूकम्प प्रभावितका लागि एकीकृत बस्ती निर्माण गरी देश तथा विदेशबाट समेत प्रशंसा बटुलेका सुन्तली र धुर्मुस अब नेताहरुको अकर्मण्यताका कारण बिग्रिएको सामाजिक सद्भावलाई स्थापित गर्ने अभियान लागिपरेका छन् ।
धुर्मुस–सुन्तली फाउन्डेसनले साेमबार वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) ले विनाशकारी भूकम्पले पिरोलिएका हिमाली, पहाडी र तराईवासीले एकापसमा सहयोग गरी देखाएको सौहार्द्रता पछिल्लो समयमा नेताहरुको बोली र व्यवहारले कमजोर भएको बताए ।
उनले ‘राष्ट्र निर्माण हाम्रो अभियान’ भन्ने मूल नाराका साथ तराईमा व्याप्त अशिक्षा, बालविवाह, असमानताविरुद्धको चेतनामूलक कार्यक्रमसँगै तराईका जिल्लामा रहेका दलित वस्तीको पुनर्निर्माणको अभियानलाई अगाडि बढाइएको जानकारी दिए ।
कट्टेलका अनुसार महोत्तरीको बर्दिबासमा बालमैत्री एकीकृत वस्ती निर्माणको थालनी गरिएको छ र अहिलेसम्म सो वस्तीको काम ५० प्रतिशत पूरा भएको छ ।
पत्रकार सम्मेलनमा साथै रहेकी कुञ्जना (सुन्तली) ले बालविवाह, दाइजो प्रथाजस्ता विकृतिले पिरोलिएका तराईवासीमा चेतना अभिवृद्धि गर्न आफूहरुले तयार पारेका दुईवटा चलचित्र पर्साका विभिन्न स्थानमा प्रदर्शन गर्ने योजना रहेको बताइन् ।