newskoseli.Com

नेपालमा छयालीस वर्षपछिकै ठूलो वर्षा

सल्यान, ३१ वैशाख । सल्यान जिल्लामा बिहीबार बेलुका ४६ वर्षपछिकै ठूलो वर्षा भएको छ । बिहीबार बेलुका भएको भीषण वर्षाले वाफुखोला गाविसमा लाखौँको क्षति पुर्‍याएको छ ।

वर्षापछि आएको बाढीले वाफुखोला–३ मा रहेको दोभान बजारमा रहेका १२ वटा पसल बगाएको छ ।

यस्तै, स्थानीय चिनाली खोलामा रहेका ५० वटा घट्ट बगाएको स्थानीयवासी मोहन खड्काले जानकारी दिए । बाढीले वाफुखोलामा रहेको विजय हाइड्रोपावरमा क्षति पुर्‍याउँदा गाउँमा बिजुली बन्द भएको खड्काले बताए। “ठूलो पानी २०२७ सालमा परेको थियो, त्यसपछि यति ठूलो पानी परेको मैले देखेको थिएन, हेर्दाहेर्दै बजार नै बगायो”, खड्काले भने ।

वर्षाले वाफुखोला–१, २, ३ र ४ मा करिब एक हजार रोपनीमा लगाएको बर्खे आलु नष्ट भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । बाढीले खानेपानीका संरचना बगाएपछि गाविसका अधिकांश स्थानमा खानेपानी बन्द भएको स्थानीयवासी गनबहादुर वलीले जानकारी दिए ।

घटनापछि उद्धारका लागि वाङ्गे लाकुरी प्रहरी चौकीबाट टोली खटाएको प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए ।

थप उद्धार तथा राहतका लागि शुक्रबार बिहानै रुकुमको झुल्नेटाबाट नेपाली सेना र सल्यानको थारमारेबाट नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेर उद्धारका लागि खटिएको सहायक प्रजिअ रमेश पाण्डेले जानकारी दिए । विकट र फोन सम्पर्क हुन नसकेकोले क्षतिको पूर्ण विवरण आइनसकेको पाण्डेले बताए । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर