newskoseli.Com

सानोठिमी क्याम्पसमा आगजनी : झडपको त्रासले सुरक्षा व्यवस्था कडा

स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको सङ्घारमा भक्तपुरस्थित सानोठिमी क्याम्पस तनावग्रस्त बनेको छ । साेमबार राति क्याम्पस प्रमुख रामचन्द्र घिमिरेको कार्यकक्षमा आगजनी भएको थियो । सानोठिमी क्याम्पसमा अखिल (क्रान्तिकारी) ‘प्रचण्ड’ र नेविसङ्घले संयुक्त तथा एमाले निकट अनेरास्ववियु र अखिल (क्रान्तिकारी) ‘विप्लव’ ले अर्कै संयुक्त समूह बनाएर बेग्लाबेग्लै उम्मेदवारी दिएका छन् ।

अखिल (क्रान्तिकारी) ‘प्रचण्ड’ का महासचिव एवम् सानोठिमी क्याम्पसका निवर्तमान स्ववियु सभापति वीरेन्द्र बस्नेतले अनेरास्ववियु तथा विप्लव निकट क्रान्तिकारीले आफ्नो समूह हार्ने डरले क्याम्पस प्रमुखको कार्यकक्षमा आगजनी गरेको आरोप लगाएका छन् ।

यता अनेरास्ववियु र अखिल (क्रान्तिकारी) ‘विप्लव’ ले भने मंगलबार पत्रकार सम्मेलन गरेर आरोपको खण्डन गरी आगजनीबारे निष्पक्ष छानबिनको माग गरेका छन् ।

पत्रकार सम्मेलनमा अनेरास्ववियुका केन्द्रीय सदस्य श्यामसुन्दर बस्नेतले सानोठिमी क्याम्पसका निवर्तमान स्ववियु सभापति वीरेन्द्र बस्नेतको समूहले आगजनी गरेको जिकिर गरे ।

उनले भने–“रातभरि हाम्रो प्यानललाई क्याम्पसमा छिर्न दिइएको छैन, सरकारपक्षीय क्रान्तिकारीका साथीहरू क्याम्पसभित्र बसेका छन्, चारैतिर प्रहरी तैनाथ भएकै बेलामा आगजनी भएको छ, आगजनी गर्नेलाई पक्राउ नगरी प्रहरीले मूकदर्शक भएका छन् ।”

अनेरास्ववियु र अखिल (क्रान्तिकारी) ‘विप्लव’ लाई बदनाम गर्ने उद्देश्यले आगजनी भएको बताउँदै उनले घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही गरेपछि मात्रै निर्वाचन प्रक्रिया अगाडि बढाउनुपर्ने माग राखे । अखिल (क्रान्तिकारी) ‘विप्लव’ का केन्द्रीय सदस्य एकराज डाँगीले भक्तपुरका प्रहरी प्रमुख किरण राणाको नेतृत्वमा क्याम्पसमा खटिएको टोलीले अनेरास्ववियु र अखिल (क्रान्तिकारी) ‘विप्लव’ लाई क्याम्पसभित्र छिर्न समेत नदिएको दावी गरे ।

क्याम्पस प्रमुख घिमिरेले भने निर्वाचन नरोकिने बताएका छन् । क्याम्पसमा कुनै पनि बेला दुईपक्षका विद्यार्थीबीच झडप हुन सक्ने भएपछि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर