newskoseli.Com

यस्तो हुनुपर्छ सामाजिक आन्दोलन…

सामाजिक आन्दोलन भन्नेवित्तिकै समाजले जे–जे काम गर्छ ती सबै सामाजिक आन्दोलनकै दायराभित्र पर्छन् । नेपाली समाज विविधताले भरिएको छ । विविधताले भरिएको समाजमा हुने काम पनि विविधता नै हुन्छ । यद्यपि मुख्यगरी समाजले गर्ने काम चाहिँ दुई किसिमको हुन्छ । एउटा असल काम हुन्छ । अर्को खराब काम हुन्छ । असल काम के हो र किन असल काम गर्नुपर्छ भन्ने विषय पनि आउँछ । असल काम गर्‍यो भने समाजका निम्ति फाइदाजनक हुन्छ भने खराब कामले समाजलाई खराब दिशातिर लान्छ ।

सामान्यतया समाजको भलाइका निमित्त जसले काम गर्दछ, त्यसलाई सामाजिक कार्य भनिन्छ । नयाँ शक्ति समाजमा असल काम गर्नुपर्छ भन्ने मान्यता बोकेर स्थापित भएको शक्ति हो । हामीले आर्थिक समृद्धिको कुरा गरेका छौं । समृद्धि हासिल गर्नका निम्ति असल काम गर्नुपर्छ । त्यसैले हामीले पार्टीको मुख्य नारा नै ‘समृद्धि सम्भव छ हाम्रै पालामा’, ‘अबको निकास आर्थिक विकास’ तय गरेर अगाडि बढेका छौं ।

विविधतायुक्त नेपाली समाज आर्थिक रुपमा विपन्न छ । आर्थिक विकास र समृद्धि हासिल गर्न सकेनौं भने हामीले जतिसुकै परिवर्तनका कुरा गरेपनि जनताले अनुभूत गर्न पाउने छैनन् । नेपालमा भौगोलिक एकीकरण र मूलभूत रुपमा राजनीतिक आन्दोलन समेत भइसकेको अवस्था छ । राजनीतिक परिवर्तनका बाँकी लडाइँ जारी राख्दै आर्थिक विकास र समृद्धि हासिल गर्ने अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता छ । नयाँ शक्ति नेपाल नेपालको वर्तमान परिवेशलाई ठोस विश्लेषण गर्दै आर्थिक विकास र समृद्धि हासिल गर्ने अभियानमा छ । हामी यही मूल नारामा टेकेर सामाजिक आन्दोलन अगाडि बढाउनु पर्छ भनिरहेका छौं ।

हामीले सामाजिक आन्दोलनका विषयमा चर्चा गर्दा नेपाली समाजलाई कसरी आर्थिक उन्नतिमा लैजान सकिन्छ, कसरी सामाजिक रुपमा आम नेपाली जनतालाई एकरुपतामा समान बनाएर लैजान सकिन्छ भन्नेतर्फ हाम्रो ध्यान पुग्न आवश्यक छ । अर्कातिर आर्थिक दृष्टिकोणले पनि कसरी सबैलाई समुन्नत बनाउन सकिन्छ ? राजनीतिक दृष्टिकोणमा पनि कसरी अरुभन्दा पृथक भएर नेपालमा वैकल्पिक राजनीतिक धारको उदय गराएर मुलुकमा नयाँ किसिमको उर्जा दिन सकिन्छ भन्नेतिर पनि विचार पुर्‍याउनु पर्छ । यसो गर्न सकियो भने नयाँ किमिसबाट मुलुकलाई समृद्ध बनाउन सकिन्छ साथसाथै सामाजिक आन्दोलनलाई पनि अगाडि बढाउन सकिन्छ ।

नेपालमा परिवर्तनका लागि लामो समयदेखि आन्दोलनहरु भएका छन् । विभिन्न समयमा भएका आन्दोलनहरुको विभिन्न शक्तिहरुको नेतृत्वमा भए । ती आन्दोलनले केही न केही परिवर्तन त गरेको छ तर जनताले चाहेको खास परिवर्तन हुन सकेन । विशेष गरी आर्थिक विकास र समृद्धि हासिल गर्ने सवालमा कुनै पनि आन्दोलन सफलतामा पुग्न सकेनन् । यतिबेला आर्थिक समृद्धिसहितको परिवर्तन आवश्यक छ । यतिबेला नेपाली राजनीतिमा जे जति पार्टीहरु अस्तित्व र क्रियाशील छन्, जे जति सामाजिक संघ, संस्थाहरु छन् उनीहरुको नेतृत्वमा आर्थिक विकास र समृद्धि सम्भव छैन । यिनीहरु कसरी हुन्छ, आफूमात्रै खाउ, आफू मात्रै सुखभोग गरौं, लाभदायक काममा आफू मात्रै सहभागी बनौं भनिरहेका छन् । यस्तो अवस्था हामीले परिवर्तन गर्नुपर्छ । हामीले यही बीचबाट सामाजिक आन्दोलन उठान गर्नुपर्छ ।

आफूलाई असल हौं भनेर दावी गर्नेहरु कसैलाई नटेर्ने अवस्थामा छन् । अहिलेको तरल राजनीतिक अवस्थामा उनीहरु सबै कुरा आफैं मात्रै हो भनेजस्तो गर्दैछन् । आफूलाई समाज सुधारक भनेर दावी गर्नेहरुले समाजलाई उन्नत दिशातर्फ लैजाने भन्दा विगार्ने काम मात्रै गरिरहेका छन् । त्यसो भएको हुनाले अहिले नयाँ शक्ति पार्टीको जुन अभियान सुरु भएको गरेको छ, त्यसलाई अरु व्यवस्थित र मर्यादित बनाउन जरुरी छ । यो शक्तिले कुनै पनि व्यक्तिलाई असल समाज बनाउने, असल व्यक्ति बनाउने परिस्थिति सिर्जना गर्नु पर्छ ।

नयाँ शक्तिले कुन आधारमा सामाजिक आन्दोलनका काम गर्छ भन्ने सवालमा पनि हामीले विशेष ध्यान दिनै पर्छ । समानुपातिक समावेशीका कुराहरु सँगसँगै जोडिएका छन् । यसलाई अगाडि बढाउने हाम्रो प्रमुख आधारशिला भनेको ‘५ स’ हो । यसैलाई आधार बनाएर हामी अगाडि बढ्नु पर्छ । समाजमा भइरहेका विकृतिहरुलाई संस्कृतिमा बदल्ने प्रयत्न पनि हामीले गरिरहेका छौं । आर्थिक परिवर्तन र सामाजिक आन्दोलनलाई उठाउने लक्ष्यसहित नयाँ शक्ति पार्टीले छ महिने अभियान सञ्चालन गरिरहेको छ । यो अभियानमा विशेष ध्यान दिन आवश्यक छ । यही सोँच नयाँ शक्ति पार्टीको हो । हामीले गर्न खोजेका कामहरु पनि यस्तैयस्तै हुन् ।

 

Mahesh karmochaनेपालमा भौगोलिक एकीकरण र राजनीतिक आन्दोलन समेत भइसकेको अवस्था छ । राजनीतिक परिवर्तनका बाँकी लडाइँ जारी राख्दै आर्थिक विकास र समृद्धि हासिल गर्ने अभियान सञ्चालन गर्नु आवश्यक छ । नयाँ शक्ति नेपालको वर्तमान परिवेशलाई ठोस विश्लेषण गर्दै आर्थिक विकास र समृद्धि हासिल गर्ने अभियानमा छ । हामी यही मूल नारामा टेकेर सामाजिक आन्दोलन अगाडि बढाउनु पर्छ भनिरहेका छौं ।

अहिलेको परिस्थितिमा नेपालमा सानाठूला गरी धेरै पार्टी छन । सँगसँगै नेपालमा १२५ वटा जाति पनि छन् । धेरै जनसंख्या भएका जातिहरु पनि छन् । उनीहरुले समावेशी नभनिकन समानुपातिक प्रतिनिधित्वको कुरा गरेका छन् । तर उनीहरुलाई समावेशी गराउनु आवश्यक छ । यी सबै जातिलाई समावेश गराउनु पर्छ । सबै जातिका मान्छेहरु राज्यको उच्च ओहोदामा पुग्न सक्ने वातावरण बनाउन आवश्यक छ । त्यसपछि मात्रै समानुपातिक प्रतिनिधित्व गराउने हिसावले जानुपर्छ । यसरी अगाडि बढ्न चेतनामूलक कार्यक्रमहरु पनि सञ्चालन गर्न आवश्यक छ । नयाँ शक्तिले त्यो काम पनि अगाडि बढाउने छ । हामी ‘५ स’ भित्रै रहेर आर्थिक समानता, समृद्धि, वैकल्पिक समतामूलक राजनीतिक, सामाजिक परिवेशलाई उत्थान गराउने र अहिले चलिरहेका जेजति खराव किसिमका सांस्कृतिक परम्परा छन् जसले समाजलाई विकृतिको दिशातर्फ अग्रसर गराएका छन् त्यसलाई परिस्कृत र परिमार्जन गर्ने, असल सांस्कृतिक परिस्थितिको सिर्जना गर्नुपर्छ । यसको निम्ति हामीले सचेत ढंगले पहलकदमी लिनुपर्दछ ।

नेपालमा स्थानीय निर्वाचन नभएको २० वर्ष भयो । संविधानसभाबाट संविधान जारी भएपछि मुलुक नयाँ राजनीतिक अध्यायमा प्रवेश गरेको छ । हामी स्थानीय तहको निर्वाचन गर्नुपर्ने संघारमा छौं । मुलुक दुई दशकसम्म जनप्रतिनिधि विहिन हुँदा विकृति र विसंगति बढेका छन् । भ्रष्टाचारले मुलुक आक्रान्त बनेको छ । जवाफदेहिता कसैसँग छैन । यस्तो अवस्थामा हामी त्यही समाजभित्र पसेर त्यहाँ देखिएका भ्रष्टाचार, कुशासनलगायतका विषयहरु वडादेखि जिल्लासम्म अर्थात् तलतलसम्म जेजति भएका छन् त्यसलाई खोजेर जनताबीच लैजानु पर्दछ । र समाजलाई उत्थान गराउनु पर्दछ । राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रान्तीय, क्षेत्रीय जुन रुपमा छन् तिनीहरुलाई एकरुपतामा काम गर्ने वातावरण निर्माण गर्नुपर्छ भन्ने नयाँ शक्ति पार्टीको सोँच हो ।

हामीले जे जति परिवर्तनका कुरा गरेपछि आर्थिक विकास र समृद्धिको कुरा निकै नै महत्वपूर्ण छ । आर्थिक विकास र समृद्धि हासिल गर्न सकिएन भने जतिसुकै उन्नत समाज बनाउने भनेपनि सम्भव हुँदैन । यो विषय सामाजिक आन्दोलनसँगै जोडिएको हुन्छ । सँगसँगै आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक सबै विषयलाई बुझ्नु आवश्यक छ । मुलुकको सर्वाङ्गिन आर्थिक विकास बारेमा नयाँ शक्ति पार्टी, नेपालको छुट्टै सोँच छ । पार्टीले आगडि सारेको सोँच अनुरुप नै हाम्रा क्रियाकलाप अगाडि बढेका छन् । हामीले त्यही अनुरुप विभिन्न विभागहरु गठन गरेका छौं । त्यसअन्तर्गत हामी कसको क्षमता के हो रु कसकसले केके गर्न जानेका छौं, के कस्ता सीपहरु हामीसँग छन्, ज्ञानगुणका कुराहरु हामीसँग के कति छन् भन्ने कुरालाई मध्यनजर गर्दै योजना बनाएका छौं । हाम्रो प्राथमिकताको विषय के हो ? यसतर्फ पनि हामीले ध्यान दिनु आवश्यक छ ।

अर्कातिर हामीले कृषिजन्य उत्पादनतर्फ पनि ध्यान पुर्‍याउन आवश्यक छ । खाद्यान्न उत्पादन कसरी गर्छौ, त्यसको वितरण प्रणाली के हो ? यी विषयहरु पनि सामाजिक आन्दोलनकै क्षेत्रमा पर्दछन् । खाद्यान्न सबैभन्दा महत्वपूर्ण कुरा हो । मानिस वा जुनसुकै जीवजन्तु पनि जन्मेदेखि मृत्यु नहुँदासम्म खाद्यान्नको आवश्यकता पर्दछ । त्यसैले खाद्यान्न उत्पादनमा जोड दिनुपर्ने भएकै कारण नयाँ शक्ति पार्टीले पनि कृषि क्षेत्रलाई विशेष महत्व दिएको छ । कृषि अन्तर्गत हामीले उत्पादन गर्ने चिजहरु नै हुन् । नेपाल भौगोलिक रुपले हिमाल, पहाड, तराई मिलेर बनेको देश हो । यहाँ सबै क्षेत्रको हावापानीमा विविधता पाइन्छ । तराईमा धान बढी फल्छ, उच्च पहाडी क्षेत्रमा आलु, कोदो, फापर, मकै, गहुँलगायतका खाद्य बाली उत्पादन हुन्छ ।

हिमाली क्षेत्रमा जडिबुटी लगायतका केही बालीहरु पनि हुन्छन् । हामी परम्परागत रुपमा कृषि उत्पादन गर्दै आइरहेका छौं । त्यसले उत्पादनमा पनि जोड दिन सकेका छैनौं । अर्कातिर अहिले रसायिनक मल प्रयोग गरेर उत्पादनमा केही बृद्धि त भएको छ, तर अनेकथरी रोग उत्पन्न पनि गराएको छ । अब मुलुक आधुनिक युगमा पुगिसक्यो । त्यसो भएको हुनाले हामीले यसलाई आधुनिक तरिकाले व्यवहारिक र वैज्ञानिक विकास गरेर लैजानु पर्दछ । नेपालमा मुख्य गरी कोदो र फापर बाली विकासमा ध्यान दिनुपर्छ । यो बाली मानव स्वास्थ्यको निम्ति निकै नै महत्वपूर्ण छ । यसलाई आधुनिकीकरण गर्दै उत्पादनमा विशेष जोड दिनुपर्छ ।

हिमाली भेगमा पाइने जडीबुटीहरु यार्सागुम्बा, चिराइतोलगायत, तराई क्षेत्रमा आँप, केरा, कटहर, पहाडमा सुन्तला, जुनार, काफललगायतका जडिबुटी र फलफुलको उत्पादनमा जोड दिएर विभिन्न किसिमका उद्योगको समेत विकास गर्नुपर्छ । त्यसबाट नयाँ नयाँ किसिमका खाद्य सामाग्री निर्माण गर्न सकिन्छ । स्थानीयस्तरमा श्रम गर्नसक्ने महिला, किसान लगायतलाई यस्ता उद्योगहरुमा रोजगारीको व्यवस्था गर्न सकिन्छ । यसो भयो भने उनीहरुले श्रम पनि गर्छन् । आर्थिक विकास पनि हुन्छ । यो सबै काम कृषि क्षेत्रबाट गर्न सकिन्छ ।

नेपाल जलस्रोतमा निकै धनी मुलुक हो । जलस्रोतबाट धेरै ठूलो उर्जा उत्पादन हुन्छ । उर्जा उत्पादनबाटै नेपालको आर्थिक विकास र समृद्धिमा फड्को मार्न सकिने अवस्था छ । वैकल्पिक उर्जा उत्पादनको सम्भावना पनि उत्तिकै छ । मुस्ताङ लगायतका हिमाली जिल्लाहरुमा वायू उर्जा उत्पादन गर्नसक्ने सम्भावना छ । वैकल्पिक रुपमा घरघरमै सौर्य उर्जा उत्पादन गर्न सकिन्छ । यो सरल पनि छ । यसबाट पनि नेपालको आर्थिक विकास र रोजगारीमा टेवा पुग्छ । त्यसैगरी पर्यटनको हिसावले पनि नेपाल विश्वमा आकर्षक गन्तव्यका रुपमा रहेको छ । दुई छिमेकी मुलुक चीन र भारतमा मात्रै २ अर्ब ५० करोडबढी मानिस बसोबास गर्छन् । त्यसको १ प्रतिशत मानिसहरुलाई नेपाल भ्रमण गराउन सकियो भने पनि आर्थिक क्षेत्रमा ठूलो विकास हुन्छ । हामीसँग पशुपति र लुम्बिनी छन् । धार्मिक पर्यटकहरुको ठूलो संख्या पनि नेपालमा भित्र्याउन सकिन्छ । अर्कातिर विश्वको सर्वोच्च शिखर सगरमाथा हामीसँग छ । हिमाल चढ्न र त्यसको दृश्यावलोकन गर्न मन पराउने पर्यटकहरुलाई आकर्षित गर्ने सगरमाथा छ ।

यसबाट पनि नेपालको आर्थिक विकासमा टेवा पुर्‍याउन सकिन्छ । हामीले कृषि, पर्यटन, जटिबुटी, उर्जालगायतको विकास गर्‍याैं भने नेपालमा ठूलो संख्यामा रोजगारी सिर्जना गर्न सकिन्छ । साथसाथै यसले आर्थिक विकासमा पनि ठूलो फड्को मार्छ । नेपालमा आन्तरिक र बाह्य पर्यटनको पनि ठूलो सम्भावना छ । यसलाई जुनसुकै बेला र जुनसुकै तहबाट पनि विकास गर्न सकिन्छ । केवल इच्छाशक्ति हुनुपर्छ । कृषि पर्यटन, धार्मिक पर्यटन, सांस्कृतिक पर्यटन, शैक्षिक पर्यटन, आद्योगिक पर्यटनको विकास गर्नुपर्छ ।

अर्को कुरा, नेपालमा खनिज पदार्थ पनि प्रचुर मात्रामा पाइन्छ । अरबमा तेल पाइन्छ भने नेपालमा विभिन्न किसिमका ढुंगाहरु छन् । हामीसँग भएको ढुंगामात्रै प्रयोग गर्न सक्यौं भने आर्थिक विकासमा टेवा पुर्‍याउन सकिन्छ । हामीसँग तामा, फलाम, सुन खानीहरु छन् । यसको उख्खनन गर्दै प्रयोग गर्नतर्फ ध्यान दिनुपर्छ ।

त्यसैगरी हामीसँग मानव स्रोत पनि छ । अहिले हाम्रा ५० लाख बढी युवाहरु अरव लगायत विश्वभरका देशहरुमा छरिएर श्रम गरिरहेका छन् । उनीहरुलाई यही रोजगारी सिर्जना गर्न सकियो भने नेपालको विकासले गति लिन्छ । हामीले नेपालमै दक्ष जनशक्ति उत्पादन गर्ने र हाम्रा युवाहरुलाई यही रोजगारी दिने गर्नुपर्छ । उद्योगधन्दाको विकास गरेपछि थप दक्ष जनशक्तिको आवश्यकता पर्दछ । त्यस्तो बेलामा युरोप अमेरिकाबाटै पनि रोजगारीका लागि दक्ष जनशक्ति नेपालमा ल्याउन सकिन्छ । यी सबै कुरा गर्न सम्भव छ ।

नयाँ शक्ति पार्टीले यी सबै काम गरेर मुलुकलाई समृद्ध बनाउने लक्ष्य लिएको छ । त्यसका लागि चेतनामूलक कार्यक्रम गर्नु जरुरी छ । वैकल्पिक राजनीतिक शक्तिलाई समृद्ध बनायो भनेमात्रै हामीले यी कामहरु गर्न सक्छौं । अन्यथा कुरा मात्रै गर्नुको कुनै अर्थ रहँदैन । नयाँ शक्ति पार्टी व्यावहारिक कुरा गर्ने र काममा जोड दिने शक्ति हो । यो मुलुकलाई समृद्ध बनाउन सकिन्छ । हाम्रो मुलुकमा रहेका कुनैपनि मानिसहरुले नयाँ शक्तिको यो विचार गम्भीरतापूर्वक मनन गर्ने र मुलुकलाई विकासको त्यही गतिमा अगाडि बढाउने प्रयत्न गर्नैपर्छ ।

(लेखक नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय सहसंयोजक हुन्)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर