पाकिस्तानको एक सैनिक अदालतले दोषी ठर्याएका तीन इस्लामिक सशस्त्र आतङ्ककारीलाई फाँसीमा चढाई मृत्युदण्डको सजायँ दिएको पाकिस्तानी सैनिक श्रोतले खुलासा गरेको छ । पाकिस्तानी सैनिकले बुधबार जारी गरेको एक विज्ञप्तिका अनुसार ती तीनै जना पाकिस्तानी तालिवानी र अर्को अतिवादी समूह हरकत–उल–जिहाद–ए–इस्लामिसँग आबद्ध रहेका थिए । मृत्युदण्डका सजायँ पाएका ती आतङ्ककारीलाई राष्ट्रसेवक सैनिक र प्रहरी अधिकारीको हत्यामा संलग्न रहेको अभियोग लगाइएको थियो ।
२०१४ को डिसेम्बरमा तालिवान सशस्त्र आतङ्ककारी समूहले स्थानीय एक विद्यालयमा गरेको आक्रमणमा परी करिब १ सय ४० विद्यार्थीसहित १ सय ५० जनाभन्दा बढी सर्वसाधारणको मृत्यु भएको घटनापछि पाकिस्तानी सरकारले आतङ्कका यस्ता मामिला सैनिक अदालतमा निरुपण गराउँदै आएको र सैनिक अदालतले दोषी ठहर्याएका आतङ्कारीलाई सोझै फाँसीको सजायँ दिँदै आएको छ ।
आँखा चिम्लेर सेनालाई विश्वाश गर्ने सरकारको यस्तो गतिबिधिलाई पाकिस्तानका मानवअधिकार समूहले भने आलोचना गरेका र सैनिक अदालतको सुनुवाई र विबेचनाका सम्बन्धमा निष्पक्षताको प्रश्न उठाउँदै आएका छन् । तर सेनाले भने बिशुद्ध अपराधी तथा राष्ट्रबिप्लवमा लागेकालाई मात्र सजायँ दिँदै आएको दाबी गर्दै यसमा चित्त नबुझ्नेलाई माथिल्लो निकायमा पुनरावेदन गर्ने अधिकार मौजूदै रहेको भनी बताएको छ ।
सशस्त्र इस्लामी लडाकू तथा आतङ्कवाद सम्बन्धि राष्ट्रिय मुद्दा मामिलाको निरुपण एवम् बिबेचना गर्न पाकिस्तान सरकारले दुई वर्षसम्म सैनिक अदालतलाई अधिकार प्रत्यायोजन गरेको थियो । सो दुई वर्षे अवधि हालसालै समाप्त भएको छ । अब अरु अवधि थप गर्ने या नगर्ने भन्ने सम्बन्धमा पाकिस्तानी संसद्मा गरम बहस चलिरहेको समेत जनाएको छ ।