newskoseli.Com

रनभुल्ल वैद्य बा !

को हुन् वैद्य बा ?

मोहन वैद्य ‘किरण’ नेपाली राजनीतिक क्षेत्रको सुपरिचित नाम हो । उनलाई धेरैले आत्मीयतापूर्वक र कसैकसैले व्यंग्यात्मक रूपले समेत ‘वैद्य बा’ भनेर सम्बोधन गर्ने गरेका छन् । साहित्यिक क्षेत्रमा उनी ‘चैतन्य’ का नामबाट समेत विख्यात छन् ।

शशिधर वैद्य तथा जानुका वैद्यका सातभाइ छोरामध्ये जेठा हुन् वैद्य बा । १५ साउन, २००३ मा प्युठान जिल्लाको खैरा गाविसस्थित कुसुमारुख भन्ने ठाउँमा जन्मिएका वैद्य बाका एक–एक दिदी र बहिनी छन् । उनले नव्य न्याय दर्शनमा शास्त्री उत्तीर्ण गरी नेपालीमा स्नातकोत्तरसम्मको अध्ययन गरेका छन् ।

व्यक्तित्व, कृतित्व र योगदान

२०२१ मा विद्यार्थी संगठनबाट राजनीति सुरु गरेर २०२२ मै तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (चौथो महाधिवेशन) को सदस्यता प्राप्त गरेका वैद्य सोही समयदेखि नै राजनीतिमा निरन्तर क्रियाशील छन् ।

कुशल राजनीतिक विश्लेषक, दार्शनिक, सौन्दर्यशास्त्री, प्रगतिवादी समालोचक र साहित्यस्रष्टा समेतको परिचय बनाएका वैद्यका ‘लाहुरेको रहर’ (खण्डकाव्य, २०३७), ‘मार्क्सवादी कलादृष्टि र समीक्षा’ (सौन्दर्यशास्त्र, २०५४), ‘संघर्षको दर्शन’ (दार्शनिक कृति, २०६०), ‘नेपाली समाज र संस्कृति’ (सांस्कृतिक चिन्तन, २०६१), ‘क्रान्ति र सौन्दर्य’ (समालोचनात्मक कृति, २०६४) लगायतका पुस्तक प्रकाशित छन् ।

वामपन्थी राजनीतिक वृत्तमा ‘कमरेड किरण’ नामबाटै बढी चिनिएका वैद्य दसवर्षे माओवादी जनयुद्धका प्रमुख योजनाकार एवम् नेतामध्येका एक हुन् । जनयुद्धकालीन नेकपा (माओवादी) मा वरिष्ठ केन्द्रीय सदस्य रहँदै वैद्यले प्रचार–प्रकाशन–प्रशिक्षण ब्युरोको प्रमुख, सांस्कृतिक विभाग एवम् मोर्चाको प्रमुख, पूर्वाञ्चल क्षेत्रीय ब्युरोको इन्चार्ज, इच्छुक सांस्कृतिक प्रतिष्ठानको अध्यक्षलगायतका भूमिका कुशलतापूर्वक निर्वाह गरे ।

3_Leaders_Maoist

शान्ति प्रक्रिया र वैद्यको भूमिका

शान्ति प्रक्रियापछि नेकपा (माओवादी) एमाओवादीमा बदलियो । विगतदेखि एकपदीय संरचनामा रहेको माओवादी बहुपदीय भएसँगै वैद्य प्रचण्डपछिको दोस्रो वरियताका वरिष्ठ उपाध्यक्ष भए । माओवादीले जनयुद्धकालीन बाटो पूरै त्यागेर संसदीय अभ्यासमा आफूलाई केन्द्रित गरेको ठहर गर्दै वैद्यले पार्टीभित्र तीव्र असन्तुष्टि जनाएपछि माओवादी अन्तर्संघर्षले उग्र रुप लियो । अन्ततः वैद्य एमाओवादी विभाजित गरी अलग पार्टीको अध्यक्ष बन्न पुगे ।

यसअघि नै तत्कालीन नेकपा (माओवादी) ले वैद्यलाई पहिलो संविधानसभामा समानुपातिकतर्फबाट सभासद बनाएको थियो । तर, अध्यक्ष प्रचण्ड प्रधानमन्त्री रहेकै बेला उनी ‘संसदीय गोलचक्करमा फस्दिनँ, वैचारिक र संगठनात्मक काम मात्रै गर्छु’ भनेर राजिनामा दिई फर्के । भिन्न पार्टी चलाएर बसेका वैद्यलाई दोस्रो संविधानसभापछि एमाओवादीसँग एकता गर्ने शर्तमा राष्ट्रपति बन्ने  ‘अफर’ आयो, त्यो प्रस्तावलाई पनि उनले ठाडै अस्वीकार गरिदिए ।

Prachanda_Baidya

सरकारी ओहोदा र लाभका पद ग्रहण नगरेका वैद्य आजसम्म पनि समग्र समकालीन नेपाली राजनीतिकै सिद्धान्तनिष्ठ, इमानदार र निष्कलंक नेता मानिन्छन् । एउटै पार्टी वा घटकमा रहँदा जस्तासुकै कमी–कमजोरी र खराबीलाई पनि लुकाउने, पचाउने र ‘सातखत माफ’ भने झैं गर्ने अनि गुट फेरिँदा या पार्टी–समूह फुटेर अलग–थलग भइसकेपछि शब्दकोशमै भेट्टाउन मुश्किल पर्ने अलंकार र पदवीहरू पहिर्‍याएर सत्तोसराप गर्ने रोगबाट नेपाली कम्युनिस्ट आन्दोलन ग्रस्त रहँदै आएको छ । यसो हुँदाहुँदै पनि विगतदेखि वर्तमानसम्म दर्जनौं पटक फुटेर भिन्नाभिन्नै पार्टी वा समूह सम्हाल्न पुगे तापनि उति धेरै आलोचना, तुच्छ गालीगलौच र अपमान सहन बाध्य नभएका ‘भाग्यमानी’ नेताकै रूपमा गनिन्छन् मोहन वैद्य ।

माओवादी अध्यक्ष प्रचण्डका समेत राजनीतिक गुरु मानिने वैद्यलाई नेपालका अधिकांश वामनेताहरूले आजसम्म पनि श्रद्धापूर्वक आदर गर्दै आएका छन् । यद्यपि उनले अँगालेको विचार र लिएको राजनीतिक लाइनलाई भने धेरैजसोले ‘जडसूत्रवादी’ भन्दै अस्वीकार गरिरहेका छन् ।

यसरी फसे बिलखबन्दमा वैद्य

उनै मोहन वैद्य अर्थात् ‘कमरेड किरण’ यतिखेर नराम्रोसँग बिलखबन्दमा रुमल्लिन पुगेका छन् । प्रचण्ड–बाबुरामलगायतका नेताहरू ‘नवसंशोधनवादी विसर्जनवाद’ मा फसेको आरोप लगाउँदै वैद्यले बाबुराम भट्टराई प्रधानमन्त्री रहेका बेला २–४ असार, २०६९ मा राजधानीको बौद्धमा छुट्टै राष्ट्रिय भेला आयोजना गरी एमाओवादी विभाजित गरेर नेकपा–माओवादी गठन गरे ।

‘अहिले नेपाली राजनीतिमा एकातिर नेपाली कांग्रेस–एमाले सम्मिलित यथास्थितिवादी तथा पूरातनपन्थी धारा क्रियाशील रहिआएको छ भने अर्कोतिर नवसंशोधनवादी गठबन्धन क्रियाशील रहेको देखिन्छ’, प्रचण्ड–बाबुरामहरूलाई कांग्रेस–एमालेकै कित्तामा उभ्याएर बौद्ध भेलामा प्रस्तुत राजनीतिक प्रतिवेदनमा वैद्यले लेखेका छन्– ‘यी दुवैबाट देश र जनताको हितमा काम हुन सक्दैन र अब नेपाली राजनीतिमा देशभक्त, जनगणतन्त्रवादी, वामपन्थी एवम् सबै जनवर्ग तथा मोर्चाहरूलाई आबद्ध गरी तेस्रो राजनीतिक धाराको निर्माण गर्दै आन्दोलनलाई प्रभावकारी ढंगले संगठित गर्नु र देशलाई नयाँ राजनीतिक निकास दिनु आवश्यक छ ।’

मूल पार्टीबाट वरिष्ठ उपाध्यक्ष वैद्यको नेतृत्वमा महासचिव रामबहादुर थापा ‘बादल’, सचिव सीपी गजुरेल, स्थायी समिति सदस्य देव गुरुङ र नेत्रविक्रम चन्दसहित केन्द्रदेखि स्थानीय तहसम्मको ठूलो तप्का लिएर विभाजित भई बनेको नेकपा–माओवादी दुई वर्ष नपुग्दै विभाजित हुन पुग्यो । ४ मंसिर, ०७१ मा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनलाई ‘वैदेशिक प्रतिक्रियावादद्वारा प्रायोजित’ भन्दै बहिष्कार गरेका वैद्यले त्यसयता अलग राजनीतिक पहिचान स्थापित गर्न प्रयास गरे पनि अपेक्षित सफलता पाउन सकेनन् । बरु छोटो समयमै पार्टी विभाजको पीडा खप्न विवश भए ।

Kiran_Biplabदोस्रो संविधानसभाले नयाँ संविधान जारी गर्ने पक्कापक्की भएपछि त्यसको ‘सशक्त प्रतिवाद गर्न’ र ‘क्रान्ति अघि बढाउन’ नसकेको भन्दै वैद्य माओवादीका सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ को नेतृत्वमा स्थायी समिति सदस्य खड्कबहादुर विश्वकर्मा र धर्मेन्द्र बास्तोलासहितको टोलीले २७ कात्तिक, २०७२ मा उक्त पार्टीलाई विभाजन गरी नयाँ पार्टी बनायो । धेरैजसो जनवर्गीय र सहायक संगठनहरूसहित केन्द्रदेखि सेलसम्मको ठूलो पंक्ति विप्लवतिर लागेपछि वैद्य, सीपी गजुरेल, बादल, देव गुरुङ, पम्फा भुसाललगायतको नेतृत्वपंक्ति नराम्ररी झस्कियो ।

10 maoist unityयसैबीच, २२ कात्तिक, २०७३ मा वैद्य नेतृत्वको नेकपा–माओवादी र परी थापा–रामसिंह श्रीसहरूले नेतृत्व गरेको नेकपा (एकीकृत) बीच एकता भयो । एकीकरणपछि वैद्यकै नेतृत्वमा सो पार्टीको नाम परिमार्जित गरी नेकपा (क्रान्तिकारी माओवादी) कायम गरियो । तर, विभाजित माओवादीहरूबीच वृहत् एकता नगरी केही गर्न सकिँदैन भन्ने निष्कर्षका साथ १ जेठ, २०६३ मा बादलको नेतृत्वमा गुरुङ, भुसाललगायतको ठूलो पंक्ति क्रान्तिकारी माओवादीबाट अलग्गिएर ६ जेठ, २०६३ मा प्रचण्ड नेतृत्वको एमाओवादीसँग एकताबद्ध हुन पुग्यो । सोही दिन विभिन्न १० माओवादी घटक–समूहबीच एकता भई नेकपा (माओवादी केन्द्र) बन्यो । सिंगो माओवादीका वरिष्ठ उपाध्यक्ष रहिसकेका वैद्य संगठनात्मक हिसाबले अत्यन्तै सानो पार्टीको अध्यक्षका रूपमा खुम्चिन पुगे ।

Cover_Kiran‘म निराश वा विचलित छैन । जीवनभरि संघर्ष गरेर आएको व्यक्ति हुँ । १० वर्षसम्म एउटा विशेष लक्ष्यका लागि संघर्ष गरियो । तर, घुम्दैफिर्दै रुम्जाटार भनेजस्तै संसदवादी व्यवस्थामा आइपुगियो । अहिले संसद्वादी व्यवस्थाको माहोल त छ तर सधैं रहँदैन । त्यसैले हामी संसदबाहिर छौं’, वैद्य अहिले पनि उत्तिकै दृढताका साथ भनिरहेका छन्– ‘चेलाहरूले मलाई छाडेको होइन, मैले उहाँहरूलाई छाडेको हुँ । राजनीति भनेको विचार हो । उहाँहरूले विचार छाड्नुभयो । त्यसैले गर्दा पार्टी विभाजन भयो । विचार नमिलेपछि सँगै बस्न सकिँदैन, व्यक्तिगत रूपमा म कसैलाई दोष दिन्नँ । उहाँहरूलाई जुन विचार मन पर्‍यो, त्यही अपनाउनुभयो । मलाई जे ठीक लाग्यो, त्यही गरेको छु’ भन्दै सुरुदेखिकै मान्यतामा अहिले पनि अविचल क्रियाशील रहेको जनाएर वैद्य भन्छन्– ‘नेपालमा गणतन्त्र, धर्मरिपेक्षता, संघीयता, समानुपातिक समावेशिता आएको छ । यी जनयुद्धकै उपज हुन् । तर, यी उपलब्धिलाई हामी आंशिक र मात्रात्मक उपलब्धि मान्छौं । अब फेरि जनतालाई वास्तविक मुक्ति दिलाउन नयाँ चरणको संघर्षमा लाग्नु जरुरी छ । महिला, दलित, आदिवासी जनजाति, मधेसी सबै उत्पीडित वर्गका लागि हिजो जुन रगत बगेको छ, त्यो खेर जान दिइँदैन । त्यसकै मूल्य र जगमा टेकेर हामी फेरि मुक्तिको अर्को अभियान अघि बढाउँछौं र त्यो सफल भएरै छाड्छ ।’ (नेपालः १० पुस, २०७३, पृ. १७) ।

तर, परिस्थितिमा आएको व्यापक फेरबदल, स्वयम् वैद्यकै घर्कंदो उमेर, राजनीतिकर्मी र जनसाधारणको बदलिँदो मनस्थितिलगायतका अनेकौं कारणले हुन सक्छ, अध्यक्ष वैद्य यतिबेला जीवनमै सबैभन्दा ठूलो जटिलता र बिलखबन्दमा रुमल्लिएका देखिन्छन् । वैद्य ‘इमानदार र क्रान्तिकारी’ सबै माओवादीहरूबीच एकताविना क्रान्ति सम्भव छैन भनिरहेका छन् तर कहीं–कतैबाट एकताको मेसो भेट्टाउन भने सकिरहेका छैनन् ।

Biplab_Kiran५ असोज, २०७३ मा राजधानीस्थित होटल कमलमा आयोजित कार्यक्रममा उनले प्रचण्डहरूसँगै एकताको सम्भावना रहेको तर विप्लवहरूसँग एकताको सम्भावना नभएको बताए । तर, २७ मंसिर, २०७३ मा प्रज्ञा भवनमा आयोजित अर्को कार्यक्रममा वैद्यले ‘अब प्रचण्डहरूसँग एकताको सम्भावना सकियो’ भन्दै ‘आ–आफ्ना कमीकमजोरी सच्याउँदै क्रान्तिकारी धाराहरू एकताबद्ध हुनुको विकल्प छैन’ भन्दै विप्लवहरूसँग एकता हुन सक्नेतर्फ संकेत गरे ।

एकाध वर्षभित्रै मुलुकमा तीन–तीनथरि चुनाव हुन गइरहेका छन् । तर, चुनावको उपयोग वा बहिष्कार के गर्ने भन्नेबारे वैद्य आजसम्म स्पष्ट हुन सकेका देखिँदैनन् । चुनावलाई ‘नितान्त कार्यनीतिक प्रश्न भएकाले उपयोग वा बहिष्कार जेसुकै गर्न सकिन्छ, त्यो कुरा त्यतिबेलाकै परिस्थितिमा भर पर्छ’ भन्दै वैद्यले आफ्नो बिलखबन्दपूर्ण मनस्थिति प्रकट गरिरहेका छन् । १३ फागुन, २०७३ मा विज्ञप्ति जारी गर्दै वैद्यले लेखेका छन्– ‘संसदीय निर्वाचन बहिष्कार र उपयोगसम्बन्धी प्रश्न राजनीतिक कार्यनीतिको विषय भएकोमा पार्टी स्पष्ट नै रहिआएको छ । यसबारे परिस्थितिको ठोस अध्ययन गरी उपयुक्त समयमा पार्टीको आधिकारिक निकायद्वारा ठोस निर्णय लिइनेछ ।’

मोहन वैद्यजस्ता अहिले पनि राजनीतिको शीर्ष तहमा रहेका अनि धेरैले ऐतिहासिक पात्र मान्ने गरेका परिपक्व तथा निष्कलंक नेता र उनले नेतृत्व गर्ने राजनीतिक दलले यथासमयमा समुचित निर्णय गर्न नसक्नु दुर्भाग्यपूर्ण छ । राजनीतिको मुख्य प्रश्नमै लगातार बिलखबन्दमा फसिरहनुले स्वयम् वैद्य बा, उनको पार्टी र पार्टीमा आबद्ध हजारौं नेता–कार्यकर्तालाई गम्भीर क्षति पुर्‍याउने निश्चित छ । यो अवस्था वैद्य बा र उनको पार्टीका लागि मात्र नभई सिंगै राष्ट्र र जनताका निम्ति समेत दुःखद हुने कुरा स्पष्टै छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर