newskoseli.Com

किन घटे संस्कृत पढ्ने विद्यार्थी ?

गाउँ–गाउँमा प्राविधिक शिक्षाको वर्चश्व बढ्न थालेपछि संस्कृत भाषा पढ्ने विद्यार्थीको सङ्ख्या घट्दै गएको छ । साँखर केलादीको राधा दामोदर संस्कृत विद्यापीठमा दश वर्षअगाडि संस्कृत भाषा पढ्नेको ठूलो आकर्षण थियो । प्राविधिक शिक्षातर्फ धेरैको आकर्षण बढ्न थालेपछि बिस्तारै संस्कृत पढ्ने विद्यार्थीको सङ्ख्या घट्दै जान थालेको छ ।

पहिले यस विद्यालयमा १ सय ५० को हाराहारीमा विद्यार्थी भर्ना हुने गरेको पाइए पनि हाल ७५ विद्यार्थी मात्र रहेका छन् । नेपाल निम्बार्क संस्कृतको केन्द्रीय कार्यालय रहेको राधा दामोदर संस्कृत विद्यापीठमा उत्तरमध्यमा र शास्त्रीय तहसम्म पठनपाठनको व्यवस्था छ । यहाँ संस्कृत भाषाका अलावा अनिवार्य नेपाली र अङ्ग्रेजी भाषाको पनि पढाइ हुने गर्दछ ।

सुरुमा महेन्द्र विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भई सञ्चालनमा आएको विद्यापीठ हाल भने नेपाल संस्कृत विश्वविद्यालय दाङअन्तर्गत सञ्चालित छ । २०१८ मा गुरुकुलका रुपमा राधा–दामोदर मन्दिरबाट सञ्चालन भएको र २०३७ मा राधा–दामोदर संस्कृत माविका रुपमा साँखरको रिमाल्डिहीमा सञ्चालन भएको पाठशालाले २०५१ मा संस्कृत विद्यापीठ स्वरुप धारण गरी सञ्चालनमा रहिआएको छ ।

हिन्दू धर्मग्रन्थका अनुसार धर्म, संस्कार, आदर–सत्कार, गुरुको सेवा, सत्कर्मबाट प्राप्त हुने फल, वेद, चण्डी पाठ, भागवत गीता, पुराणलगायत पूजापाठका विधि, असत कर्म गर्दा मानिसले भोग्ने सजायसम्बन्धी ज्ञान तथा सीप सिकाइने हुँदा अभिभावक र विद्यार्थीले पनि निकै चासो र महत्वका रुपमा लिएर संस्कृतको अध्ययन गरेको पाइन्थ्यो । अहिले भने संस्कृतमा विद्यार्थीको मोह कम हुँदै गएको पाइएको छ ।

यहाँ अध्ययन गर्ने विद्यार्थीलाई प्रोत्साहनस्वरुप प्रतिव्यक्ति मासिक ४ सय रूपैयाँ छात्रवृत्ति प्रदान गरिँदै आएको विद्यापीठका सहायक प्रशासक घनश्याम खनालले बताए । “सुरु–सुरुमा नेपालीभन्दा संस्कृत पढ्नेको आकर्षण थियो”, उनले भने– “गाउँ–गाउँमा प्राविधिक शिक्षा सञ्चालन हुन थालेपछि संस्कृत पढ्ने विद्यार्थी कम हुँदै गएका छन् ।”

यस विद्यापीठमा बाहुन, क्षेत्री, मगर तथा नेपाली समुदायका विद्यार्थी छन् । पाल्पा, स्याङ्जा, तनहुँ, नवलपरासी, कास्की, धादिङ, चितवनलगायत विभिन्न जिल्लाका विद्यार्थी यहाँ अध्ययनरत छन् । केलादी मन्दिरको गुरुकुलमा बसोबास गरेर पढ्ने विद्यार्थीलाई खाने तथा बस्ने निःशुल्क व्यवस्था छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर