newskoseli.Com

अन्जानमै कसरी एमाले भएँ म ?

दोलखामा चर्चित नेकपा (एमाले) का नेता श्याम बस्नेत मेरा मिल्ने साथी हुन् । व्यक्तिगत कामविशेषले उहाँसँग भेट्नुपर्ने थियो । लामो समयदेखि उहाँसँग फोन सम्पर्कको प्रयास गर्दा पनि सम्भव भइरहेको थिएन । शनिबार बिहान उहाँसँग सम्पर्क भयो । १० बजे तीनकुनेस्थित एक ब्यांक्वेटमा भेट हुने भएकाले त्यतै आउन भन्नुभयो ।

तोकिएको समयमा राजधानीको तीनकुनेस्थित रोयल ब्यांक्वेटमा पुगें । उपत्यकामा बसोवास गर्दै आएका दोलखाली एमाले नेता–कार्यकर्ताको कार्यक्रम रहेछ । कुन कमिटीको, के उद्देश्यको र कस्तो खाले कार्यक्रम हो ? मलाई केही थाहा भएन । श्यामजीलाई कुरेर म बाहिर बसिरहेको थिएँ । भित्र चलिरहेको कार्यक्रममा म पस्ने कुरा भएन र पसिनँ ।

५० को दशकसम्म त म एमाले समर्थक नै थिएँ । ६० को दशक सुरु भएसँगै नेकपा (माओवादी) मा लागें । पार्टी एकतापछि एमाओवादी भइयो । माओवादी–एमाओवादीमा रहेर केही वर्ष सक्रिय भूमिका निर्वाह गरें । तर, माओवादी विभाजित हुँदै टुक्रा–टुक्रा भएपछि कतै पनि नलागी स्वतन्त्रै बसें । अहिले पनि म माओवादी विचारकै इमानदार समर्थक हुँ । तर, कुनै पनि माओवादी घटकबाट सदस्यता नवीकरण गराएको छैन ।

दिउँसोको लगभग १ बजिसकेको थियो । मान्छेहरु क्रमैसँग लाखापाखा लाग्दै थिए । श्यामजी बाहिर आउनु भएन र उहाँसँग भेट भएन । कुरो के हो भनेर भित्र पसें, कार्यक्रम सकिइसकेछ, श्यामजी पनि हुनुहुँदो रहेनछ ।

बाहिर निस्कें, पार्किङ गरिराखिएको एउटा गाडीमाथि बेवारिसे छाडिएको ‘युनिसेफ : फर एभ्री चाइल्ड’ लेखिएको नीलो कभर भएको डायरी देखें । उठाएँ र भित्र हेरें । पहिलो पानादेखि नवौं पाना (१८ पेज) सम्म विभिन्न पार्टी छाड्दै एमाले पस्दै गरेका भनेर विभिन्न व्यक्तिहरुको नाम लेखिएको रहेछ । एकाध परिचित नाम छन्, धेरैजसो अपरिचित । छैटौं पृष्ठमा माओवादी छाडेका भनेर बुधे थामीरोहिणी शिवाकोटीको नाम लेखिएको रहेछ । दोलखा जिल्लाको तत्कालीन सुनखानी गाविस अर्थात हाल कायम कालिञ्चोक गाउँपालिका निवासी रोहिणी शिवाकोटी त म नै हुँ । बुधे थामी को हुन्, मलाई थाहा छैन, चिन्दिनँ ।

रामेछापको चचुरेमा पनि घरघडेरी भएकाले माओवादीमा रहँदा म रामेछापमै संगठित भएर काम गरें । रामेछाप–काठमाडौं गणतान्त्रिक सम्पर्क मञ्चमा पहिले सचिवालय सदस्य र पछि सल्लाहकार भएर आधा दशकभन्दा बढी काम गरें । माओवादी पार्टी कमिटीमा इलाका सदस्य हुँदै जिल्ला कमिटी सदस्य र पछि जिल्ला सचिवालय सदस्यसम्म भएको हुँ । अहिले पनि पार्टी छाडेको छैन र छाड्ने विचार पनि छैन । विभाजित भएकाले कतै नलागेको ‘स्वतन्त्र माओवादी’ ठान्छु म आफूलाई । मेरै कार्यकालका सचिव केदारनाथ गौतम पनि यसैगरी ‘स्वतन्त्र माओवादी’ रहेको जानकारी पाएको छु ।

तर, म कोसँग सल्लाह गरेर, कहिले, कसरी एमाले भएँ ? छक्क परेको छु । त्यही बेवारिसे डायरीमा एमाले प्रवेश गरेको विवरण भेटेबाहेक मलाई एमालेमा प्रवेश गराइएको वा संगठित गरिएको जानकारी समेत कोही–कसैले दिएको छैन ।

एमाले प्रवेश गर्नेबारे मैले सोचेको छैन र गर्दा पनि गर्दिनँ । एमालेका दोलखाली नेता–कार्यकर्ता तथा दोलखा–काठमाडाैं सम्पर्क मञ्चका मित्रहरुलाई मेरो प्रश्न छ– ‘अञ्जानमै कसरी एमाले भएँ म ?’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर