तीन दिनदेखि पानीसँगै आएको हावाहुरी र असिनाले बैतडीका विभिन्न स्थानका विद्यालयमा क्षति पुर्याउँदा पठनपाठनमा समस्या भएको छ ।
सित्तड गाविसको सलेनामा रहेको पञ्चदेव निमाविको दुईकोठे भवनको छानो उडाएपछि विद्यार्थीका लागि बस्न अप्ठ्यारो भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामदत्त जोशीले जानकारी दिए । उनले भने– “बालबालिकालाई चौरमा राख्नुपर्ने बाध्यता आएको छ ।”
उक्त भवन २०६३ सालमा बनेको बताइएको छ । उता पाटन नगरपालिका–१ मा रहेको दुर्गाबेताल प्रावि खानीडाँडा गडालेकको दुईकोठे भवनको छाना उडाएको छ । विद्यालयको जस्तापाताले छाएको छाना उडाएपछि विद्यार्थीलाई पठनपाठनमा समस्या भएको स्थानीयवासी लक्ष्मण विकले जानकारी दिए ।
डिलाशैनी–१ मा खोलाको बाढीले कटान गरेपछि स्थानीय पाँचजनाको घर पनि जोखिममा रहेको उनले बताए। सेकराम ओड, धनदेव बोहरा, केशवराम ओडलगायतका घर जोखिममा परेको स्थानीय लोकेश जोशीले बताए ।
एक्कासि आएको पानीले खोलामा बाढी आएको र खोलाको बाढीले निर्माणाधीन सिँचाइ आयोजना बगाएको समेत उनले बताए ।
सोही ठाउँको खानेपानी आयोजनाको पाइप पनि बाढीले बगाएकाले स्थानीय बासिन्दा खानेपानीबाट वञ्चित भएका छन् ।