newskoseli.Com

प्रश्नपत्र र प्रवेशपत्रबिनै लिइयो बीएडको परीक्षा ?

प्रश्नपत्रविनै स्नातक तहको परीक्षा सञ्चालन गरियो भन्ने सुन्दा तपार्इंलार्इ विश्वास नलाग्ला । तर, डोल्पामा स्नातक तह (दोस्रो वर्ष) को परीक्षा प्रश्नपत्र बिनै सञ्चालन गरिएको छ ।

असार २३ देखि सुरु भएको बीएड दोस्रो तहको परीक्षामा प्रश्नपत्र नआएपछि परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट फ्याक्स मगाई परीक्षा सञ्चालन गरिएको डोल्पो क्याम्पसका प्रमुख धनञ्जय सुवेदीले जानकारी दिएका छन् ।

असार २३ मा पुग्नुपर्ने प्रश्नपत्र तथा प्रवेशपत्र २७ असारमा मात्र डोल्पा पुगेकाले २३ र २६ मा सञ्चालन भएका परीक्षा फ्याक्समा आएको प्रश्नपत्रको फोटोकपी गरेर परीक्षार्थीका हातहातमा पुर्‍याइएको क्याम्पस प्रमुख सुवेदीले बताए । परीक्षार्थीको प्रवेशपत्र समेत नआएकाले इमेलमा मगाई प्रवेशपत्र वितरण गरिएको समेत सुवेदीले बताए ।

स्तरोन्नतिका लागि डोल्पाको एक मात्र जुफाल विमानस्थल बन्द भएको तथा पैदलमार्ग समेत सुरक्षा र जोखिमका हिसाबले असहज भएकाले प्रश्नपत्र ल्याउन ढिलाइ भएको परीक्षा सञ्चालन गर्न जुम्ला बहुमुखी क्याम्पसबाट खटिएका केन्द्राध्यक्ष हरिशरण आचार्यले बताए । मङ्गलबारदेखि हुने परीक्षामा भने परीक्षा नियन्त्रण कार्यालयले पठाएको प्रश्नपत्र परीक्षार्थीको हातहातमा पुग्ने केन्द्राध्यक्ष आचार्यले बताए ।

वर्षाको समयमा खोलानाला बढेर बाटाघाटा अवरुद्ध भएकाले एकदमै कष्टपूर्ण यात्रा गरेर ज्यानको बाजी लगाउँदै जुम्लाबाट पैदलमार्ग भएर प्रश्नपत्र डोल्पा पुर्‍याइएको आचार्यको भनाइ छ । कर्णालीको कालीकोट बाहेक जुम्ला, हुम्ला र मुगुमा समेत फ्याक्स मगाएर स्नातक दोस्रो वर्षको परीक्षा सञ्चालन गरिएको आचार्यले बताए । वास्तवमा दुर्गमको पीडा यो बाहेक अरु केही हुन नसक्ने उनको भनाइ छ ।

६१ वर्षीया आचार्य स्नातक परीक्षा सञ्चालनका लागि ७ पटक डोल्पा पुगिसकेका छन् । यहाँको डोल्पो क्याम्पस र लिकु संयुक्त क्याम्पसमा स्नातक तहको पढाइ हुने गर्दछ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर