newskoseli.Com

जमिन फाट्यो : गाउँबासीको जंगलमा बास

उत्तरी धादिङको गंगाजमुना गाउँपालिका वडा नं. २ रि गाउँस्थित प्रुन्दुङगाउँ पहिराको जोखिममा परेपछि गाउँबासी घर छाडेर जंगलमा बस्न थालेका छन् ।

केही दिनदेखिको वर्षाका कारण रिगाउँ माविमुनिको भीर पहिरो लड्नै लागेको छ । जमिन फाटेर एक मिटर ठूलो धाँजा फाटेपछि प्रुन्दुङगाउँबासी घर छाडेर जंगलमा बसेको गंगाजमुना– २ का वडाध्यक्ष फैसिंह तामाङले बताए ।

प्रुन्दुङ गाउँमा तामाङहरुका १२ घर छन् । गाउँबासी सबैले सोमबारदेखि नै घर छाडेको पहिरो प्रभावित अमृत तामाङले जानकारी दिए । यस सँगैको सल्लेमा पनि ७ घर छन् । पहिराको जोखिम बढेकाले उनीहरु सबैको पुनर्स्थापना गर्नुपर्ने अवस्था अाएको गाउँबासीको भनाइ छ ।

सदरमुकाम धादिङबेंसीबाट एक दिनको पैदल दूरीमा रहेको प्रुन्दुङ गाउँका बालबालिका र वृद्धवृद्धाले खुला आकाशमुनि बस्नुपर्ने भएपछि समस्या परेको र भूकम्पपछि गाउँमा जोखिम बढे पनि समाधान गर्न नसकिएको वडाध्यक्ष तामाङको भनाइ छ ।

वर्षाको समयमा गाउँनजिकै सवारी साधन पुग्न सक्ने अवस्था छैन । आपतकालीन अवस्थामा बस्नका लागि गाउँमा त्रिपाल समेत नभएको र सामुदायिक आवास भवन गाउँबाट टाढा भएकाले समस्या परेको गाउँबासीको गुनासो छ ।

गाउँ जोखिममा परेको सम्बन्धमा जिल्ला प्रहरी कार्यालयमा खबर गएकाले गाउँबासीलाई सुरक्षित गरिने जानकारी दिइएको छ । २०७२ वैशाख १२ को भूकम्पपछि रि गाउँबासी पहिराको उच्च जोखिममा रहे पनि वैकल्पिक व्यवस्था नहुँदा जोखिमपूर्ण अवस्थामा गाउँमा नै बस्दै आएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर