newskoseli.Com

शिक्षकका बालबालिका सामुदायिक विद्यालयमै भर्ना गर्नुपर्ने

सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा नै अध्ययन गराउनुपर्ने निर्णय भएको छ ।

कावासोती– ३ स्थित जीवनज्योति माविमा कार्यरत शिक्षक तथा कर्मचारीले आफ्ना बालबालिकालाई नजिकको सामुदायिक विद्यालय वा आफैंले अध्यापन गराउने विद्यालयमा अध्ययन गराउनुपर्ने निर्णय विद्यालयको अभिभावक भेलाले गरेको हो ।

आगामी वर्षदेखि लागू हुनेगरी सामुदायिक विद्यालयमा आफ्ना बालबालिका भर्ना नगराउने विद्यालयका शिक्षक तथा कर्मचारीलाई विद्यालयमा हाजिर हुन नदिने निर्णय समेत गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले आफ्ना बालबालिकालाई निजी विद्यालयमा पढाउने गरेकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न नसकेको गुनासो आइरहेको थियो । केही विद्यालयले यस्तो निर्णय कार्यान्वयनमा ल्याइसकेका छन् भने केही विद्यालय कार्यान्वयनमा लैजाने चरणमा छन् ।

अष्ट्रेलियाको विद्यालय अवलोकन

गैंडाकोट इङ्लिस स्कुलका एक शिक्षकसहित चार विद्यार्थीले अष्ट्रेलियाको एक विद्यालय अवलोकन गर्न पाउने भएका छन् । अर्को वर्षको असार–साउनमा एक साताका लागि अष्ट्रेलियाको द इसिंग्टन स्कुल डार्बिनको अवलोकनका लागि गैंडाकोट इङ्लिस स्कुल र इसिंग्टनबीच सहमति भएको प्राचार्य हीरालाल अर्यालले जानकारी दिए ।

अवलोकनका क्रममा विद्यार्थीहरु जापान र अष्ट्रेलियाद्वारा सञ्चालन हुने वातावरणीय तथा जीव वनस्पति अध्ययन कार्यक्रममा सहभागी हुने विद्यालयले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर