newskoseli.Com

समालोचना : भीम क्षेत्रीको ‘समय र मान्छे’ कथासङ्ग्रहमा क्रान्तिचेत

प्रगतिवादी चिन्तक तथा साहित्यकार भीम क्षेत्रीको ‘समय र मान्छे’ कथा प्रगतिशील कथाको सङ्गालो हो । समाजमा घटेका सामाजिक घटनालाई आलोचनात्मक रूपमा यथार्थपरक ढङ्गले आदर्शवादी भावलाईसमेत समेटेर लेखिएको यो कथा सङ्ग्रहभित्रका कथाहरू प्राय सबै सरल, सहज सम्प्रेषणीय रहेका छन् ।

बढी आदर्शवादको पृष्ठभूमि भएका कथाहरूमा सामाजिक यथार्थताभित्र क्रान्तिचेतको अङ्कुरण समेत भएको छ । यस कथा सङ्ग्रहभित्र समाज रूपान्तरणमा एकै पटक क्रान्तिकारी सोच र चिन्तन प्रयोग नभई सामाजिक यथार्थवादी चिन्तनसँगै यसको शुरुवात भएको छ । यस कृतिमार्फत उनको सामाजिक यथार्थता,आदर्शवादी सोच, वर्गीय चिन्तन तथा वर्गसङ्घर्ष तथा निम्न वर्गीय जनताले भोगेको दुःख, पीडागत अवस्थालाई सशक्त रूपमा आवाज उठाएका छन् ।

यस कथा सङ्ग्रहमा समाजमा रहेका जडता र कुलीन संस्कार, दमन, अन्याय र अत्याचारले थिचिएका मानिसहरूको अवस्थालाई वैयक्तिक चिन्तन र सोच परिवर्तनको सन्देश पनि दिइएको छ । अन्याय र अत्याचारको पूर्ण विरोधको साथै सहजताका साथ समानतामूलक, न्यायसङ्गत समाजको निर्माणमा सामाजिक यथार्थमा आदर्श चिन्तनसँगै क्रान्तिकारी सोचको विकास भएको देखिन्छ ।

‘तृष्णा र तृप्ति’मा रहेको क्रान्तिचेतको पृष्ठभूमि यो कथासङग्रह हो भन्दा फरक पर्ने देखिन्न । ‘तृष्णा र तृप्ति’ कथासङ्ग्रहमा सशक्त क्रान्तिचेतको विकास भएको छ भने यो ‘समय र मान्छे’ कथा सङ्ग्रहभित्रका कथाहरू त्यसको विकासको लागि जग हो भन्नुपर्दछ । तृष्णा र तृप्ति कथासङ्ग्रहमा विकसित भएको भाव, विचार यस कथा सङ्ग्रहभित्रका कथाहरूमा रहेको मूलतःसामाजिक यथार्थवाद र आदर्शवादलाई समाज रूपान्तरणको आधार बनाएको देखिन्छ । कथाकारले क्रान्तिकारीचेतको झिनोपन या कथासङग्रहमा समावेश गरेका छन् ।

एक अर्थमा भन्नुपर्दा यो समय र मान्छे कथासङ्ग्रह उनको वैचारिक दृष्टिकोणको पृष्ठभूमि, अङ्कुराउन लागेको क्रान्तिचेतको प्रमाण हो भन्न सकिन्छ । निडर तथा सशक्त क्रान्ति र सघर्षको पाटो यस सङ्ग्रहमा छैन तर पनि त्यसप्रतिको सोच भने शुरुवात भएको छ । माक्र्सवादी चिन्तन र प्रगतिशील विचारलाई क्रान्तिका माध्यमबाट आमूल परिवर्तन गर्ने वैचारिक पाटो सयंमित र सन्तुलित ढङ्गबाट प्रस्तुत भएको छ । वस्तुगत तथा तथ्यपरक यथार्थतालाई देखाइएको यस कथामा सामाजिक आदर्शपन बढी मात्रामा देखा परेको छ । यसमा समाजका विकृति, विसङ्गति, अन्याय, दमन, शोषणको विरुद्ध विद्रोह खुला रूपमा गरिएको देखिँदैन । तर विद्रोहात्मक चेत कुनै न कुनै स्थानमा देखिन्छ । क्षेत्री क्रान्तिकारी चेतना अभिव्यक्त गर्न मन पराउने व्यक्ति भए पनि यस कथा सङ्ग्रहमा उच्च क्रान्तिचेत छैन । उनको ‘समय र मान्छे’ कथा सङ्ग्रहमा क्रान्तिचेतको विजारोपण कसरी भएको छ भन्ने विषयलाई सामान्य विश्लेषण गरी क्रान्तिकारी चेतको आधार खोज्ने प्रयत्न गरिएको छ ।

‘समय र मान्छे’ कथा सङ्ग्रह २०७० सालमा प्रकाशित कृति हो । लेखनका हिसाबले अगाडिको भए पनि प्रकाशनका हिसाबले उनको यो कृति पछिल्लो हो । यस कथासङ्ग्रहमा सच्चा नाता, लोभीको भाँडो, छिमेकीको छोरो, होली, श्राप र संयोग, समय र मान्छे, दिदीको बुट्टे झोला, एउटा बाल सङ्कल्प, सन्देशको विद्रोह, हराएको विश्वास, अपराध स्वीकार र पुकुलीको सङ्घर्ष गरी एघार वटा कथाहरू सङ्ग्रहित छन् । यी कथामार्फत कथाकारले मानवीय जीवन भोगाइमा समाजमा भएका दमन, अन्याय, अत्याचार, संस्कार, उत्पीडन र वर्ग संघर्षलाई प्रस्तुत गदै क्रान्तिकारी भावको आरम्भसमेत गरेका छन् ।

आथिक, सामाजिक, सांस्कृतिक तथा प्रगतिशील विचारको उत्थानका लागि संघर्षशील विचारलाई यथार्थपरक ढङ्गबाट प्रस्तुत भएको छ । प्रगतिशील कित्तामा उभिएर लेखिएका यी कथामा आलोचनात्मक ढङ्गबाट सामाजिक वस्तुयथार्थलाई प्रस्तुत गरिएको छ । सामाजिक समास्यालाई समाधान गर्ने तर्फको प्रगतिवादी सोचसमेत प्रष्ट रूपमा देखिन्छ । न्यायपूर्ण तथा शोषणरहित समाजका लागि कथा रचना भएको छ । यस सङग्रहमा सङग्रहित कथाहरूमा वर्तमान समाजमा रहेको भेदभाव, विकृति, विसङ्गति, छुवाछुत बालमनोदशाको सशक्त ढङगबाट उठान गरिएको छ । भ्रष्टाचार, तस्करी, कमिसन, घुसखोरी गर्दै राष्ट्र र जनतालाई सताउनेप्रतिको विद्रोहात्मक सोच समेत रहेको छ ।

दस वर्षे जनयुद्ध अन्याय र अत्याचार विरुद्ध्रको विद्रोह हो, भन्ने प्रमाणसमेत यी कथाहरूमार्फत दिइएको छ । जनताको विद्रोह दबाउनेप्रति सशक्त रूपमा कथाहरूमा घृणा व्यक्त भएको छ । विद्रोह दबाउनोहरू प्रति घृणा व्यक्त गर्नु भनेको  उनको क्रान्तिचेततर्फको यात्रा हो । क्रान्तिचेतको आभाषको समाजवादी चिन्तन रहेको उनको विचार यस सङ्ग्रहमा परेको छ । यस कथा सङ्ग्रहमा समाजमा घटेका घटना अनि यथार्थपरक पात्रको चयन, पारिवारिक, सामाजिक, देशीय परिवेश र घटनाहरू प्रबल रूपमा उठेका छन् । सशक्त रूपमा क्रान्तिचेत नउतारी अनुकरणका रूपमा उनका कथामा विद्रोहात्मक भाव सम्प्रेषणा भएको छ । ‘सच्चा नाता’, कथा भीम क्षेत्रीको समय र मान्छे कथा सङ्ग्रहमा सङग्रहित पहिलो कथा हो । यस कथामा मूलतः हाम्रो समाजमा रहेको जातीय छुवाछुतको अवस्था तथा संस्कार यथार्थपरक ढङ्गले प्रस्तुत भएको छ । समाजमा कािथत अछुत जातिका व्यक्तिले हुकुम जमाई खाने सामन्ती शोषक मुखियालाई आफ्नै शरीरको रगत दिई बचाएको घटना रहेको छ । जसले मानव, मानवबीचको छुवाछुतको भ्रमलाई विद्रोहात्मक ढङ्गले नभई बुद्धिमता ढङ्गले त्यस भ्रमलाई चिर्ने काम भएको छ । कथाको उत्कर्षमा कथाकारले झिनो रूपमै भए पनि क्रान्तिकारी सोच पैदा गराएका छन् । कान्छा दर्जी र टीका पात्रको माध्यमबाट कथामा क्रान्तिकारी सोच भएका पात्रको प्रतिनिधित्व हुन् । यहाँ छुवाछुत र जातीय विभेदप्रतिको विद्रोहात्मकता देखाउने प्रयास भएको छ । तर यसमा क्रान्तिकारी विद्रोहात्मक उत्कर्षमा भने पुगेको छैन । यो स्वरलाई सामाजिक आदर्शले कमजोर बनाएको छ ।

‘ए बूढा मान्छे यी दुई जना तिम्रा छिमेकीलाई त भगवान् भनेर पूजा गर, यी नभएको भए त तिमी यतिखेर माटो भइसक्थ्यौ ।’ किन दूर्दुर गर्छाै (पृ.४) । यसरी डाक्टले छुवाछुत र जातीयताप्रति समर्थन नगरी विरोधको भाव जागृत गराएर कथालाई थप क्रान्तिकारीता तर्फ लैजान खोजे पनि अन्त्यमा मुखिया बा र कान्छा दर्जीको परिवार एउटै भान्सा चलाएर बस्ने गरेको घटनाले कथाको अन्त्य सामाजिक आदर्शवाद तर्फ झुकाव राखेको छ ।

मूलतः कथामा कथाकारले सामाजिक यथार्थताभित्र प्रगतिशील चिन्तन राखेका छन् । जातीय छुवाछुतप्रतिको विद्रोहपनको आरम्भ गरेका छन् । यसमा पूर्ण क्रान्तिकारी विद्रोहात्मक शैली उच्च रूपमा परिपाक ढङ्गले विकास भएको छैन । सामान्यतः समाजमा रहेका वर्गीय विभेद, जातीय छुवाछुत तथा दलितको अवस्थालाई प्रष्ट ढङ्गबाट उद्घाटन गर्दै शालीन क्रान्तिकारी,विद्रोहात्मकताको शुरुवात गरेको अवस्था छ । यस कथालाई प्रगतिशीलतातर्फ उन्मूख कथाका रूपमा स्थापित गर्न सकिन्छ भने समाजवादी यथार्थवादी (प्रगतिवादी) चिन्तनको अङ्कुरण हुन खोजेको अवस्था मात्र रहेको छ ।

यस सङग्रहको दोस्रो कथा हो ‘लोभीको भँँडो’ । यस कथामा राजनैतिक बेइमानीको उदाहरण प्रस्तुत गरिएको छ । कथाको विकास क्रममा नेतृत्व चयनले सामन्ती र सर्वहारा कसको राज्य सञ्चालन गर्ने भन्ने हुन्छ । त्यसैले सच्चा सहयोगी र इमान्दार नेतृत्व चयन गर्नुपर्ने प्रगतिशील सोच कथामा विकासित भएको छ । साथै असल र इमान्दार मन्त्री बनेमा जनताको उन्नति, प्रगति हुने भावसमेत प्रकट भएको छ । तर विडम्दार नेता चयन गरेकोमा जनता खुसी भए पनि सांसद बनाएर पठाएका मानिस मन्त्री भएपछि घुस्याहा, भ्रष्टाचारी, कमिसनखोर भएकाले जनताले खुसी र शान्ति पाउन सकेनन् भन्ने विषय यो कथाको मूल विषय हो । नेपाली राजनीतिको यथार्थता यस कथामा आएको छ ।

नेपालको वर्तमान समयको यथार्थबोध भएको यस कथामा डम्बरसिहँ सांसद भएर गएपछि काठमाडौंमा घर, घरेडी, गाडी जोडन तल्लिन छ । यसै सन्दर्भमा उसले आफू सहजताको साथ कमाएको पैसाले नपुगी घुस खाने हुदाँ घुस लिँदा लिँदै पक्राउ परेको घटना रोचक रहेको छ । जनताले नेपालमा घुसखेरी र भ्रष्टचारीलाई मृत्युदण्ड दिएर उनीहरूका करोडौको महल सरकारले जफत गरेर राज्यको बनायो भन्ने खबर कहिले सुन्न पाइएला’ (पृ.७) भनिएको भनाइले परिवर्तन र क्रान्तिकारी भाव जागृत गरेको छ । कथामा सशक्त र जुझारु क्रान्तिकारी चेत रहेको छैन  तथापि यसमा क्रान्तिकारी सोचको विकास हुन लागेका भाव हुन्छ ।

कथामा कथाकारले सहयोगभित्र असहयोग बढ्दै गएको, शोषण,अन्याय ठुलाबडा मन्त्रीबाटै हुने घुस, कमिसन खाएको थाहा पाएपछि मात्र विरोध गर्नु र मृत्युदण्ड दिइने आशा गरिनुले झिनो परिवर्तनको चाह भएको क्रान्तिकारी विचार प्रकट भएको प्रगतिशील कथामा रूपमा यो कथा रहेको छ ।

अर्काे ‘छिमेकीको छोरो’ कथा समय र मान्छे कथा सङ्ग्रहमा सङ्ग्रहित तेस्रो कथा हो । यस कथामा क्रान्तिचेत र विद्रोहात्मकता छैन । नारी र पुरुषको सामाजिक कलह र मेलमिलापलाई कथाको विषयवस्तु बनाइएको छ । नारी र पुरुषबीचको झगडा अर्थात घर, परिवारको झगडाले समाजलाई दख्खल दिन्छ । यस्तो अवस्थामा छिमेकीले पनि सहयोग गर्दा त्यो छिमेकीको मात्रै होइन त्यो परिवारको समेत कल्याण हुन्छ भन्ने सन्देश दिनुको साथै समाजमा सचेततापूर्वक जीवन बिताउनु राम्रो हुन्छ भन्ने सन्देश पनि छ ।

यही विषयको छिमेकीको छोरो रमेशले भूमिका निर्वाह गरेको छ र छिमेकी लोग्ने र स्वास्नीको झगडालाई शान्त बनाउने उपाय सुल्झाएको छ । यसमा छिमेकीलाई रुष्ट बनाउनु हुन्न बरु सधैँ छिमेकीको सहयोग चाहिन्छ भन्ने सन्देश प्रवाह भएको छ । त्यो सहयोगले झगडाको समाधान हुन सक्छ भन्ने सामाजिक विषय एकातिर छ भने अर्को तर्फ अन्धविश्वासको पनि प्रस्तुित भएको छ । पुरुषले मात्र नारी दमन, शोषण, अन्याय, अत्याचार गर्दैन स्वास्नी वा नारीहरूबाट पनि पुरुष वा लोग्नेहरू पीडित हुन पुगेका छन् भन्ने सामाजिक यथार्थताको उ्घाटन यस कथामा भएको पाइन्छ । पुरुषहरू नारीहरूबाट थिचिन, दबिन र अन्याय, अत्याचारमा पर्न सक्छन् । त्यसैले घर,परिवार राम्रो हुन दुवैको उत्तिकै ठूलो जिम्मेवारी रहन्छ भन्ने विषयलाई कथाकारले कथाको वषयवस्तु बनाएको देखिन्छ ।

कथा सङ्ग्रहमा सङ्ग्रहित चौथो कथा ‘होली, श्राप र संयोग’ हो । यस कथामा मूलतः सामाजिक विकृति, विसङ्गतिले गर्दा ज्यान जाने कुरालाई विषय वस्तु बनाइएको छ । होलीको नाममा हिलो, गोबर, फोहोर आदि हान्ने प्रवृति र बच्चाहरूलाई यसतर्फ अभिभावकले नै प्रोत्साहन गरिरहेको सन्दर्भलाई विकृति र विसङ्गतिको रूपमा लिइएको यस कथामा आदर्शवादलाई आधार मानिएको छ,क्रान्तिचेतको आभास हुँदैन । प्रगतिशील विचारलाई सार्थक तुल्याउन कथाकारले होली पर्वमा हुने विकृतिलाई हटाइ नयाँ ढङ्गबाट पर्व मनाउने सन्देश प्रदान गरेका छन् । परिवर्तन र सुधार ल्याउन खोज्नु कथाकारको प्रगतिशील चिन्तन हो ।

समाज परिवर्तन र सुधारतर्फ लाने चेत सचेततापूर्वक उठाइएको छ,यथार्थताको उद्घाटन भएको छ । कथामा क्रान्तिकारी विचार भाव न्यून मात्रामा देखाउने प्रयत्न गरिए पनि प्रष्ट रूपमा प्रस्तुत गर्न नसकिएकाले क्रान्तिकारी भाव रहेको पाइँदैन । यस कथाले मूलतः समाजमा विद्यमान सामाजिक विकृतिलाई सुधार्ने सन्देश बोकेको छ ।

‘समय र मान्छे’ यस कथा सङ्ग्रहमा सङ्ग्रहित पाँचौं कथा हो । यस कथालाई नै सङ्ग्रहको शीर्षक पनि बनाइएको छ । यसमा क्रान्तिचेतको भाव प्रखर रूपमा प्रकट भएको छ । प्रगतिशील सोचका साथ क्रान्तिकारी विचार प्रकट भएको यस कथाको विषयवस्तु सामाजिक विषयमा आधारित छ । दस वर्षे जनयुद्ध जनतामाथि भएको अन्याय, अत्याचार विरुद्धको विद्रोह थियो भन्ने प्रमाण दिन खोजिएको छ । त्यस विद्रोहलाई साम्य पार्न वा दबाउनका लागि सामन्ती संस्कार वा चरित्रले निकै प्रयास गर्‍यो तथापि त्यसले आफ्नो र बिरानो नचिन्दा आप्mनो बिरासत नै गुमाउन ुपरेको थियो । यस समयमा जनताहरू जनयुद्धमा समर्पित भई त्यसमा आबद्ध भए । गाउँका केही फटाहा सामन्ती शोषकहरू त्यसको विरुद्धमा आवाज उठाई जासुी गर्ने, पोल लगाउने कार्य गर्दै विद्रोह समाप्त पार्ने षड्यन्त्रमा लागेका थिए । तर पनि ती फटाहहरू नै अप्रत्यक्ष रूपमा राज्य आतङ्कको शिकार बन्न पुगेका थिए ।

सामन्ती चरित्रलाई समाप्त पार्नका लागि जनतामा चेतनाको विकास भएको थियो र छ । समय र मान्छे कथामा देखाइएको क्रान्तिचेत यथार्थको उजागर हो, जसले विद्रोहात्मक चेतनालाई सार्थक तुल्याउनेतर्फ पाइला चालेको छ । यही कथाको नामबाट कथा सङ्ग्रको नामाकरण गरिएकाले कथाकारको चिन्तन पनि विद्रोहात्मक क्रान्तिचेतमा अधारित छ भन्ने पुष्टि हुन्छ । समाजमा रहेका सामन्ती चरित्रको उद्घाटन गर्ने क्रममा कथाकार भन्छन् ‘चलुवा महत निकै धनी भएर पनि छोराहरूलाई शिक्षा–दीक्षा दिने ज्ञान थिएन ।’ (पृ.२१)  यो वास्तविक यथार्थ हो, धनदौलत र अत्याचारी स्वभावमा शिक्षा–दीक्षाभन्दा पनि धन पैसालाई बढी महत्व दिई त्यसकै आड, भरोसामा जनता दमन गर्ने, अन्याय र अत्याचार गरी आफ्नो हैकम जमाउन सकेको नेपाली यथार्थता यस कथामा  प्रस्तुत गरिएको छ ।

‘गाउँलेहरूको लागि महतेको सन्तान विाष सरह थिए, समाजमा तिनीहरूको उच्च दबदबा रहेकोले क्रान्तिको ज्वाला दन्किरहँदा पनि चुप लागेर बस्नुपर्ने अवसथाकोा चित्रण यसमा छ । तर समयले कोल्टो फेर्छ भनेझैँ समयचक्रले महतेको सबै छोराहरूलाई रातको समयमा विद्रोह दबाउन आउने सेनाले खोलाको तिरमाा गोली हानेर मारिदिन्छ र अन्त्यमा महतेको विजोग हुन्छ । यसरी समाजबिना कुनै पनि काम गर्न सकिन्न, मिलेर बस्नु नै सबैको हितमा छ भन्ने सन्देश यस कथाले दिएको पाइन्छ ।

२०४६ मा जनआन्दोलनले राजनैतिक परिवेशमा एउटा नयाँ ढङ्गको समाजको जन्म गरायो । (पृ.२२)  सामन्ती चरित्र सधैं टिकिरहँदैन, त्यसको अवसान हुन्छ नै । २०४६ सालमा आएको क्रान्ति र विद्रोहले सामन्ती चरित्र र संस्कार समापत पार्दै परिवर्तनको ढोका खुल्यो । जसबाट शिक्षा, स्वास्थ्य यातायात, बिजुली आदिको विकास विस्तारै अगाडि आउन थाल्यो साथै चेतनामा वृद्धि हुँदै गयो । एकातिर यो समयले हेपिनेहरूले आफ्ना वर्गीय दुश्मन चिन्दै गए भने अर्कातिर देशमा पुरानाहरू विस्तारै राज्यसत्तामा हावी पनि हुँदै थिए । यस्तै अवस्थामा नेपालको कम्युनिष्ट आन्दोलनमा पश्चिमतिरबाट अर्थात रुकुम, रोल्पातिरबाट एउटा अर्को क्रान्ति शुरु भयो ।

यसको प्रभाव विस्तारै पूर्वतिर पनि फैलिँदै गयो । यही थियो माओवादी जनयुद्ध । सामन्ती संस्कार, चरित्र वा शोषणका विरुद्ध जनयुद्ध अर्थात माओवादी जनयुद्ध भयो । जहाँ हेपिएका, तड्पिएका दलितहरू, पेलिएका गरिबहरू जाो सामन्ती जाँतोमा पिसिएका थिए । ती मानिसलाई एक बनाउदै त्यसका विरुद्ध सशस्त्र संघर्ष भयो । शोषित र पीडितहरू एक ढिक्का भएर सामन्ती चरित्रको विरोध गर्दै क्रान्तिको ज्वाला घन्कन थाल्यो । सामन्तीलाई एक्लो बनाउने र त्यसको विरोध गर्ने चेतनाको विकास भयो । शासकहरूबाट दमन, अन्याय, अत्याचार गर्दा सामन्तीका पनि सोझा–सिधासमेत  राज्यको सिकार भए, भन्ने सन्देश यस कथामा रहेको छ । त्यस्तैमा सामन्ती महतेका चार छोराहरूलाई माओवादी आतङ्ककारी भन्दै प्रहरीद्वारा मारिएको घट्ना यस कथामा समावेश गरी त्यसको पुष्टि गर्न खोजिएको छ ।

मूलतः यस कथामा क्रान्तिकारी चेत प्रखर रूपमा प्रयोग भएको छ । अन्याय अत्याचारका लागि एकजुट भई संघष गरिएको छ । माओवादी जनयुद्धबाट जनताको अधिकार ल्याउने सोच रहेको छ । अत्याचारका विरुद्ध एक भई क्रान्तिकारी चेतनालाई अगाडि बढाउने कार्य पनि भएको छ । त्यसैले कथामा खरो क्रान्तिकारी विद्रोहात्मक शैली प्रष्ट र प्रत्यक्ष ढङ्गबाट कथामा प्रस्तुत भएको छ । यही कथाले प्रष्ट रूपमा क्रान्तिकारी चेतनाको सम्बन्ध राख्ने झड्का प्रदान गरेको छ । भिडन्त, युद्ध, विद्रोह, एकता सामन्त र फटाह आदि शब्दहरू क्रान्तिकारी चेतनासँग सम्बन्ध राख्ने शब्दहरू हुन् । यिनले क्रान्तिचेतको अभास प्रष्टै रूपमा देखिएका छन् ।

यस कथासङ्ग्रहमा रहेको छैटौं कथा हो ‘दिदीको बुट्टे झोला’ । ‘दिदीको बुटे झोला’ समय र मान्छे कथा सङ्ग्रहमा सङ्ग्रहित आदर्शवादको खरो प्रयोग र बाल मनोविज्ञानको पैयोग भएको कथा हो । यस कथामा मूलतः बाल–बालिकामा उत्पन्न संवेगलाई प्रस्तुत गरिएको छ,तयसैले यो बाल–मनोविज्ञानमा आधारित कथा हो । यस कथामा एउटा परिवाका दिदी, भाइबीचमा रहेको पवित्र माया र स्नेहको बेजोड प्रस्तुती रहेको छ । एउटा बालकको सङकल्पलाई मूल विषयवस्तु बनाइएको छ । बाल मनोदशाले बालकलाई उत्साही, विद्रोही र आत्महत्याको स्थितिमा समेत पु¥याउँछ, भन्ने सन्देशको चित्रण गरिएको छ ।

कथा कााठमौंमा रहेको रानी पोखरीको किनारमा लाश देखिएको अवस्थाबाट आरम्भ भएको छ । गाउँबाट विस्थापित भई आफन्तकहाँ बसेको एउटा बाल पात्र त्यो घरको यातना, पीडा र वेदना खप्न नसकेर नुनको भारी बोक्दै गर्दा त्यहाँबाट विद्रोह गरी शहरतर्फ पसेको थियो । बालकले त्यही समाजको थिच्ने संस्कारविरुद्ध विद्रोह नभई आवेगको विद्रोह गरेको छ । कामको खोजीमा भारत गएर श्रम गर्ने अनि घर फर्किँदा भारतीय गुण्डाले लुट्ने क्रममा कुमारको बुबा गुन्डासँगको संघर्षमा मरेको हुनाले र आमा छोरा–छोरी छोडी अर्कैसँग पोइला गएकीले बाल मनोविज्ञानमा चोट पुगेको छ । दिदीको सहारामा बाँचेको कुमार दिदीको बुट्टे झोलामा बोकेर ल्याएको खाने कुरा खान पाउँदा मख्ख हुन्छ ।

अचानक पहिरोले बगाउँदा दिदीको मृत्यु भयो भयो भने भाइ संयोगले बाँच्न सक्यो । गाउँको सहयोगमा उसलाई आफ्नी आमाकहाँ त पुर्‍याइयो तर त्यहाँ उसले साना बाबुको दबावमा धेरै दुःख सहनु परेको थियो । एकदिन धरानबाट नूनको भारी बोकेर उकालो बाटोमा अलिक ढिलो हुँदा आप्mना साना बुबाले हप्काउँदै ‘ए’ भाते ,छिटो आइज न ! के भातै नखाएको जस्तो गरेर हिँड्छ । भात त खान दिएकै छु त ।’ (पृ.२९) यसरी साना बुबाले वचन लगाएकाले उसको बाल मनोविज्ञानमा असर पर्छ ।

यसपछि दुःखी हुँदै त्यहीबाट शहरतर्फ लाग्छ । शहरमा पनि उसले विभिन्न यातना कष्ट र दुःखहरू झेल्यो । शहरमा आफ्नी दिदीको अनुहारसँग मिल्ने भाइचाकी छोरीलाई आफ्नै दिदी जस्तो ठानेर कुमारले कहिले केही उपहार, कहिले फलफूल दिन्छ, एकदिन त गाउँबाट बोकेर लयाएकोा बुट्टे झाला नै राख्नको लागि जिम्मा लगाउँछ । तर भाइचाले आफ्नी छोरीसँग प्रेम गरेको ठानेर कुमारलाई त्यहाँबाट पनि घोक्रेठ्याक लगाएर निकाल्छ । यसले अत्यन्तै दुःखी भएको कुमार आखिरमा रानी पोखरीमा भाइचाको घरबाट डस्बीनमा फ्याँकिएको बुट्टे झाेला लगेर बारमा झुन्डाउँछ र आफू आत्महत्या गर्न पुग्छ ।

यसरी कुमार अपमानित हुँदै गएपछि उनको मनमा अनेकौं कुरा खेल्न थाल्छ । मनभरि आँधी चल्छ । जहाँ साहसी मनले उसलाई भन्छ— ‘….कुरामा आखिर तेरो अब के नै पो बाँकी छ र जा भाइचाको टाउको फोर अनि तँ पनि यो संसारका नबस ।’ ( पृ.३२) कुमारले भाइचालाई बदला लिन जाँदा आफूले उपहार दिएको बुट्टे झोला फोहोरसँगै फालिएको देख्दा विरक्तिएर रानी पोखरीमा हाम फाल्न पुग्छ । मूलतः कथामा क्रान्तिचेत नभई सामाजिक विषयवस्तुको यथार्थतामा भावनाको बेग बढी प्रवाहित छ । कथामा समाजसँग जुध्ने र संघर्ष गर्ने आँट, साहस भए पनि गरिबी र असहयोगको कारण आरम्भ मात्र भएको छ । तर त्यसमा शिथिलता देखिएको छ । शीर्षक सार्थक र उपयुक्त भए पनि विसर्गको आवश्यकता छैन ।

अर्काे सातौं कथा हो ‘एउटा बाल सङकल्प’ । यस कथामा पनि कथाकारले बाल मनोविज्ञानलाई सामाजिक आधार बनाएर लेखेका छन् । बालकलाई टुहुरो बनाउने समाजका ठुला–बडा भनाउँदाहरूप्रति आक्रोस र बदला भाव सिर्जना गर्ने काम भएको छ । यस कथामा पात्र बालकले बदलाका लागि प्रतिशोध राखेको कुरालाई यथार्थपरक ढङ्गबाट प्रस्तुत गरिएको छ ।

कथामै भनिएको छ—‘सात वर्ष पुरानो देखिने एउटा चिहान माथिको झारहरू हटाएर अनि रङ्गीन राता फूलहरू बिछ्याएर त्यसमाथि हँसिया,हतौडा अङकित रातो झन्डाले चिहानलाई ढाकेको थियो ।’ (पृ.३३)  यस प्रसङगबाट कथामा क्रान्तिकारी सोच रहेको पुष्टि  हुन्छ । लालसेना मुठी उठाएर बुवाको चिहानमाथि उभिएर खाएको कसम पूरा भए पनि जनताको मुक्तिका लागि खाएको कसम बाँकी हुनाले अझ संघर्ष गर्नुपर्ने सङ्कल्प बालकको माध्यमबाट प्रस्तुत छ । कथामा ‘देशमा सामन्ती व्यवस्थाको अन्त्यसँगै जनवादी गणतन्त्र नेपालको स्थापना गर्ने र समाजवादतिर देशलाई लाने सङ्कल्प आदर्शका साथ नेपाल कम्यूनिष्ट पाटी माओवादीले सशक्त सङघर्ष चलाएको थियो ।

तर त्यसले अझैसम्म कृष्णमानको परिवारलाई छोएको थिएन ।’ (पृ.३४) भनिएको छ । हो, तयसबेला देश, जनता र समाजको मुक्तिका लागि सङघर्ष गर्ने सङ्घर्षशील व्यक्तिलाई सामन्ती संस्कार बोकेर समाज, परिवार र देशबाट समाप्त पार्ने प्रयास भएको हो, तर त्याो सङ्घर्षको समयमा अनाहकमा एउटा निर्दाेष मानिसको हत्या गरेर उसका सन्तानलाई समेत विद्रोहतिर अभिप्ररित गर्ने काम कतिपय अवस्थामा भएको थियो ।

हो, यही यथार्थतालाई कथाकारले यस कथामा उठान गरेकाा छन् । कथामा मनोविज्ञैनिक ढङ्गले विषयको उठान गर्दै आफ्ना प्राण प्यारो अभिभावकलाई प्रहरी, सेनाले हत्या गरेपछि छोरामा बदलाभाव उठ्छ र आफूले त्यसको बदला लिएरै छाड्ने अठोटका साथ जनयुद्धमा होमिएको देखाइएको छ । समाज विद्रोहमा जति दबायो उति नै अझै सङघर्षशील बन्दै जाछ भन्ने कुरा कथामा प्रस्तुत छ । माओवादी जनयुद्धको समयमा भएको सत्य, तथ्य र यथार्थ घटनामा आधारित जस्तो लाग्ने यो कथामा राज्यतर्फबाट भएको जघन्य अपराधको कारुणिक दृश्यलाई प्रस्तुत गरिएको छ ।

कथामा ‘आइतमाले आफ्नो बुबाको चिहानमाथिको एक चिम्टी माटो पिटेर निधारमा टाँस्दै भन्यो—‘बुबा तपाईंले आफ्नो अमूल्य जीवन बिना गल्ती स्वार्थी पापीहरूलाई चढाउनुभयो भने म पनि किन बाँचिरहने, म पनि यो जीवन उनीहरूलाई नै दिन्छु, तर तपाईंको बदला लिएर ।’ (पृ.४१) । यी विचारमा क्रान्तिकारी सोच, विद्रोही चिन्तन रहेको देखिन्छन् । जो एउटा सङ्घर्षशील व्यक्ति, समूह जसले अन्याय, अत्याचार, दमन र शोषणलाई प्रतिकार गर्दै अगाडि बढ्छ । क्रान्तिकारी चिन्तन बाल मनोविज्ञानदेखि नै विकास भई सामाजिक, व्यावहारिक शिक्षाबाट अगाडि बढ्ने गर्दछ, भन्ने भाव कथामा प्रकट भएको छ ।

समाजमा अन्याय र अत्याचार मच्चाउने शिव मरहट्ठालाई भाटे कारबाही गर्नको लागि रातको समयमा लिएर गएको प्रसङ्गसमेत जोडिएको छ । राष्ट्रलाई अग्रगति प्रदान गर्न र आमूल परिवर्तनको खातिर जीवनकाो बली चढाउन हिँडेका लाल सेनाले अत्याचारीलाई लिएर गन्तव्यतर्फ लिएर गएको विषय क्रान्तिकारी चेतबाट अभिप्रेरित देखिन्छ । कथामा क्रान्किारी विचार छ, सेनाले गरेको ज्यादतिमा लड्ने बालमनोविज्ञान मार्मिक ढङ्गबाट उठान गरिएको छ ।

तर, संयोजनका हिसाबले विषय प्रसङ्गलाई व्यवस्थित गर्न नसक्दा पूर्ण क्रान्तिकारी सोच प्रवाह भएको छैन तथापि कथामा बाल मनोभावना पूर्व आफ्ना बुवाको सङ्घर्षशील क्रान्तिकारी भावनाबाट दीक्षित भएको आइतमानको सोचाई, सङ्घर्ष, उत्कर्ष र निष्कर्षमा पुग्दा मूलतः क्रान्तिकारी चेत नै देखिन्छ । जसले देश, समाज र व्यक्तिमा एक किसिमको आनन्दको अनुभूति हुनुका साथै खुसीको आभाष मिल्दछ ।

समय र मान्छे कथामा सङग्रहितभित्रको आठौं कथा ‘सन्देशको विद्रोह’ कथाको शीर्षकले नै विद्रोहात्मकता बोलेको छ । तर कथामा देश, समाजलाई आमूल परिवर्तन गर्ने चेतबाट अभिप्रेरित विद्रोह नभई परिावारमा आभा, बुबाको कमजोरीले गर्दा बाल–बालिकामा नकारात्मक भाव पैदा भई व्यक्तिभित्र पनि नकारात्मक विद्रोहकाो जन्म हुन्छ र त्यसले परिवालाई र आफैलाई समेत विनाशतिर द्दकेल्छ, भन्ने सन्देश यस कथामा मनोवैज्ञानिक ढङ्गले उठान गरिएको छ । तर कथाकार भित्रको विद्राही तथा क्रान्तिकारी भावचेतको कोपिला यही कथाको माध्यमबाट अभिव्यक्त हुन थालेको आभास मिल्दछ ।

विदुर घरमै बसेर कानुनका पुस्तकहरू, माक्र्सवादी दर्शन, कम्युनिष्ट घोषणा पत्र, माक्र्स, होचिमिन्ह र लेलिनको जीवनी, देवकोटा, रिमाल, समका साहित्यक पुस्तकहरू पढिरहन्थे । यसरी स्वाध्ययन गरेर विदुरले अन्याय, अत्याचार, दमन, शोषण र सामाजिक विकृतिप्रति विरोध गरेको र शोषित वर्ग उनको मित्र बनेकाले कथामा सङ्घर्षशीलता र क्रान्तिकारीपन प्रस्टै आएको देखिन्छ । महिला स्वतन्त्रता हुँदाहुँदै पनि महिला र पुरुष बीच घर–कलह भएर परिवारको सम्बन्ध बिग्रेको स्थिति रहेको छ ।

यस कथामा महिलाबाट पुरुषले पीडा खप्नु परेको यथार्थताको उदघाटन भएको छ । महिलाको पीडाबाट पुरुषले मुक्ति पाउनको लागि घरभित्रै संघर्ष होइन, त्यो समस्याबाट भागेर घरबाट आफै निस्केको हुनाले क्रान्तिचेतको आभास मिल्दैछ, विद्रोहात्मक स्वरूप छैन । तर शहरमा पसेर अध्ययन गरी वैचारिक संघर्ष गर्दै एमए पास गरेको विदुुरमा विचारमा प्रगतिवादी तथा क्रान्तिकारी चेतको विकास गर्दछ ।

यस कथाको विषय, प्रसङ्ग सामान्य  तर झगडालु स्वभावकी स्वास्नी र उनकै कारण छोरोसमेत बुबाको वैरी बनेको घटना समावेश भएको छ । मूलतः कथामा छोरा–छोरीलाई आमा–बुबाले राम्रो र उचित शिक्षा–दीक्षा प्रदान गर्न नसकेमा अनि त्यस्तै आमाले उचित दीक्षा दिन नसकेमा सन्तान बिग्रने गर्दछ, भन्ने सन्देश कथाले प्रदान गरेको छ  । यसमा क्रान्तिकारी चेतभन्दा पनि सामाजिक आदर्शवादको विषयतर्फ बढी केन्द्रित छ ।

यस कथासङ्ग्रहको नवौं कथा हो ‘हराएको विश्वास’ । ‘हराएको विश्वास’ कथा मूलतः बाल मनोविज्ञानमा आधारित कथा हो । यस कथामा सरिताका माध्यमबाट क्रान्तिचेतको विजारोपण सामान्य रूपमा प्रकट भए पनि समाज रूपान्तरणाको लाािग नभई आफैभित्रको विद्रोह मात्र हो, भन्न सकिन्छ । आफूले नगरेकोकसुरमा खराब काम गरेका आरोप लगााउँदै गुरु आमाले उठबस गर्न लगाएपछि सरिताले मान्दिन ।

यहाँनेर आफ्ना गुरुको आदेश नमान्नु आफैभित्रको विद्रोह मात्र हो, भन्ने सकिन्छ । यसरी गुरुआमाको आदेश नमानेर विद्रोहात्मकता देखाए पनि यसबाहेक अन्य विषय वा प्रसङ्गमा क्रान्तिकारी चेत प्रकट भएको छैन । यो बाल मनोदशामा आधारित कथा हो । जसमा शिक्षकले उचित वातावरण दिन सकेन  भने वा घरमा आमाले उचित शिक्षा–दीक्षा दिन सकिनन् भने कसरी सन्तानमा विचलन उत्पन्न हुन्छ,भन्ने पक्ष यसमा समेटिएको छ । यसमा असल शिक्षकले घटनालाई होइन मानसिकतालाई बुझेर त्यसको समाधान गर्नुपर्छ भन्ने मार्मिक सन्देश पनि प्रगतिशील ढङ्गबाट प्रदान गरिएको छ ।

समय र मान्छे कथा सङग्रहको दसौं ‘अपराध स्वीकार’ कथा हो । यो कथा सशक्त माक्र्सवादी सौन्दर्यमा आधारित कथा हो । कथाको विषयवस्तुमा जनयुद्धताकाको सङघर्ष र क्रान्ति समेटिएकाले नै यसमा क्रान्तिचेत रहेको स्पष्ट हुन्छ । तर शीर्षक मै ‘अपराध स्वीकार’ रहेकाले क्रान्तिकारी चेत दहो भई उभिएको छैन । स्वीकार गर्नु नै विद्रोहको सूचीमा पर्दैन । प्

रतीकात्मक रूपमा कथाको विषयवस्तु भने शाही सेनाको विद्रोहमा उत्रेको अवस्थामा र जनयुद्धको आँधीमा सेनाबीच भएको भीडन्तका विषयहरू क्रान्तिकारी विषयमा आधारित छन् । कथामा जनयुद्धको बलमा कम्युनिष्ट सिद्धान्त र मेनिफेस्टोमा आधारित समाजको निर्माण भएको देखाइएको छ । साराका सारा शोषण, दमन र उत्पीडनकाो अन्त्य भएको पराकाल्पानिक समाजको निर्माण भएको देखाइएको छ साथै कम्युनिष्ट राज्यको समाजवादी व्यवस्थामा समाज पुगेको अवस्थालाई कथाको विषयवस्तु बनाइएको छ ।

वर्तमान समाजमा कल्पना नै गर्न नसकिने सुविधा राज्यले आफ्ना नागरिकलाई दिएको देखाइएको छ । एकप्रकारले भन्दा कम्युनिष्टहरूको सपना साकार भएको परिकल्पना गरिएको छ । सायद यसलाई जनयुद्धको समयमा असाध्यै धेरै कम्युनिष्टहरूले देखेको समाजको प्रतिबिम्ब भन्न सकिन्छ । यस्तो समाज ल्याउन जीवनको आहुती दिनेहरूलाई मार्न लगाउने सन्तु जस्ता गद्धारले पनि सो मिाजको उपभोग गरिरहेको अवस्था छ र उसले पहिले कम्युनिष्टले बनाउने समाजको परिकल्पना गरेका थिए ।

तर, कम्युनिष्टले देखेको सपना साकार भएपछि पाइने फल आफूले प्रत्यक्ष भोग गर्न थालेपछि उसले पहिले आफू पैसाको ललचामा परी परिवर्तनकारी कैयौं वीर सपूतहरूलाई जासुस गरेर मार्न लगाएकोमा पश्चताव गर्न थाल्छ र अन्त्यमाा सहिदको सालिकमा गएर आफूले गरेको अपराध स्वीकार गर्छ । यसरी कथाको अन्त्य हुन्छ ।

कथामा भनिएको छ— ‘त्यसैले अब समाजवाद हुँदै वैज्ञानिक साम्यवादमा पुग्नु हामी सबैले प्रयास गनैपर्छ ।’ (पृ.६६) यही विषयवस्तुलाई क्रान्तिकारी बनाइएको छ । समाजवाद हुँदै साम्यवादतर्फ उन्मुख हुनु प्रगतिशील क्रान्तिकारी चिन्तन हो । अर्काे ठाउँमा भनिएको छ—‘जनयुद्धको आँधी चलिरहेको थियो, सरकारी सेना र विद्रोही, सफाय, आदि समाचारहरू नागरिकलाई सामान्य लाग्न लाग्न थालेको थियो ।’ (पृ–६७) यसरी बिगतमा भएको घटनालाई सन्तुको दिमागमा प्रतिबिम्बित भएर आएको छ । दुवै सेनाबीचमा घमासान युद्ध भइरहेको थियो । सेनाले माओवादी नाममा जनता मारिरहेका थियो भने माओवादीले पनि जासुस गर्नेलाई सफाय आदि समाचारहरू सर्वसाधारणलाई समेत सामान्य लाग्न थालेको थियो  ।

यस विषयले जनयुद्धमा नेपाली समाजको आमृल परिवर्तनको लागि सामान्ती चरित्रका विरुद्ध चौकी कब्जा गर्नेदेखिका अत्याचारमा विद्रोह गरिएको विषय समावेश छ । घटना र विषयबीचको उत्कर्षमा पहिले नकारात्मक पात्रमा समेत क्रान्तिकारी भाव जागृत भएको छ तर उनको उमेर द्रिोह र क्रान्ति गर्ने समयमा नहुनाले तत्काल उनको हृदयघात भई मरेको घटना विषयवस्तुको रूपमा आएको छ । ।

कथामा ‘नेकपा (माओवादी) जिन्दावाद, म मरे पनि मेरो अस्था मर्दैन, भन्ने अन्तिम धुमील आवाज गुञ्जियो । (पृ.६८) यसमा २०५२ सालपछिको अवस्थालाई चित्रण गरिएको छ । २०५२ सालपछिको नेपाली समाज जनयुद्धको थालनीपछि सङघर्ष र क्रान्तिलाई अगाडि बढाएकाले कथाको भावपक्ष क्रान्तिचेतबाट प्ररित छ । यसमा साथै सङघर्ष मै जीवनको आहुती दिएका र आफ्नै दृढ अठोट तथा क्रान्तिकारी चिन्तनमा रहेकाले कथाकार भीम क्षेत्री क्रान्तिकारी कथाकारका रूपमा उदाएका छन् ।

कथाको मूल सारको रूपमा केही फटाहहरू देश र जनताको पूर्ण रूपमा जनताको जनवादी शासनबाट समाजवादतर्फ जाँदाको स्थितिलाई आधार बनाएर लेखिएको यस कथामा एकनजा अपराधीले पश्चाताप गर्दै सहिदको शालिकमा पुगेर माफी मागेको तथा आफूले गरेको अपराधलाई स्वीकारेको घटनाले क्रान्तिचेतलाई अमूर्त ढङ्गले उठाइएको छ भन्ने सकिन्छ ।

समय र मान्छे कथा सङग्रहको अन्तिम अर्थात एघारौं कथा ‘पुकुलीको सङ्घषर्’ हो । संरचनात्मक रूपमा यो अन्तिम कथा पनि हो र यस कथामा क्रान्तिचेत शीर्षकबाटै प्रष्ट देखिन्छ । तर कथाको मूल विषय बाल मनोविज्ञानमा आधारित छ । बाल–बालिका उमेरमा घरायसी दमन,अन्याय,अत्याचार र दमन बेमा उनीहरूको मस्तिष्कमा विद्रोहको भाव पैदा हुन्छ, भन्ने सन्देश प्रवाह गर्दै त्यसको नकारात्मक, सकारात्मक दुवै असर पर्न सक्छ भन्ने भाव सम्प्रेषण भएको छ । यदि अत्याचार बढ्न गएमा घर पनि उनीहरूको लागि प्रदेश झैं लाग्न थाल्छ । सङघर्ष कै पाटोबाट त्यहाँबाट निकाल्ने प्रयत्न गर्छ भन्ने कुरा पुकुलीको संघर्ष कथामा देखाइएको छ ।

पुरुष सत्ताबाट आक्रान्त समाजमा दोसा्रे विवाह पछि नारी सत्ताले पुरुष र परिवारलाई समेत पीडित बनाइएको तथ्य यस कथामा देखाएको छ । यो सङघर्ष नभई सामाजिक विषय हो र आदर्शको विषय पनि हो । यसबाट बाल मनोविज्ञानमा ठूलो असर पर्ने तथ्यलाई कथाकारले प्रस्तुत गरेका छन् । पुकुलीलाई विद्रोही पात्र बनाइएको भए पनि घरबाट विद्रोह गरी निस्कने क्रममा अनेकौं हण्डर र दुःख भोग्दै जाँदा एउटा बूढो माझीले उनको उद्दार गरेको घटनालाई यसमा समावेश गरिएको छ ।

यही विषयलाई कथामा देखाइए पनि वैयक्तिक सङघर्ष गर्ने पुकुली एकप्रकारले निरीह पात्रका रूपमा देखाउनाले क्रान्तिकारी चेतना उच्च छैन । कथाको अन्त्यमा आफ्नै लाग्ने मार्ने सानी आमालाई कुकर्मको फल भोग्न आग्रह गरी अन्याय, अत्याचार विरुद्ध उभिएकीले पुकुलीमा विद्रोहात्मक चेतना रहेको पुष्टि हुन्छ । पात्रमा क्रान्तिकारिता र विद्रोही भाव देखाउनु भनेको कथाकारभित्रको भावचेतना पनि हो ।

निष्कर्षः

यस समय र मान्छे कथासङग्रहमा समावेश भएका कथामा धेरैजसो कथाहरू सामाजिक आदर्शमा आधारित भएको प्रगतिशील खालका छन् । यसै गरी केही कथामा मात्र क्रान्तिकारीचेतको आरम्भ भएको देखिन्छ । कथामा वर्तमान समयमा देखिएका छुवाछुत,भेदभाव, विकृति, विसङगति, बाल मनोविज्ञानमा आधाािरत कथाहरू बढी मात्रामा छन् ।

समय र मान्छे, अपराध स्वीकार, पुकुलीको संघर्ष, जस्ता कथामा क्रान्तिकारी भावको प्रखर उठान भएको छ । यी कथामा भएका पात्र वर्ग सङघर्षसँग जोडिएका छन् । जनमुक्तिको कामनामा नयाँ समाजको परिकल्पनासमेत गरिएका छन् । जनयुद्धको समयमा विद्यमान अन्याय,अत्याचार, दमन, शोषणप्रति क्रान्तिकारी भाव जागृत भएको छ । जनयुद्धको समयमा रहेको अवस्थालाई देखाउनु क्रान्तिकारी चेतको एउटा पाटो हो । सच्चा नाता, कथामा जातीय छुवाछुतप्रतिको विद्रोहपनको आरम्भ गरेका छन् । यसमा पूर्ण क्रान्तिकारी विद्रोहात्मक शैली उच्च रूपमा परिपाक ढङ्गले विकास भएको छैन ।

सामान्यतयः समाजमा रहेको वर्गीय विभेद, जातीय छुवाछुत तथा दलितको अवस्थालाई प्रष्ट ढङ्गले उद्घाटन गर्दै शालीन क्रान्तिकारी विद्रोहात्मकताको शुरुवात गरेको अवस्था छ । लोभीको भाँडो, कथामा हिजो सँगै मर्ने, मार्ने संकल्प गरेर हिँडेका जन प्रतिनिधिहरूमा लोभ बढ्दै गएको, शोषण, अन्याय अत्यचार नघटेका, ठूलाबडा मन्त्रीबाटै घुसखोरी, कमिसन आदि खाएको थाहा भएपछि मात्र विरोध गर्नु र मृत्युदण्ड दिइने आशा गरिनुले झिनोृ परिवर्तनको चाह भएको क्रान्तिकारी विचार प्रकट भएको छ ।

होली, श्राप र संयोग कथामा मूलतः समाजमा विद्यमान सामाजिक विकृतिलाई सुधार्ने सन्देश दिएका छन् । समय र मान्छे कथामा क्रान्तिकारी चेतको प्रखर प्रयोग भएको छ । अन्याय, अत्याचारका विरुद्ध एकजुट भई संघर्ष गर्ने माओवादी जनयुद्धबाट जनताको अधिकार ल्याउने र अत्याचारको अन्त्य गर्ने संकल्प छ । यसरी समग्रमा सबै पीडित जनता एक भई क्रान्तिकारी चिन्तनलाई अगाडि बढाउने क्रान्तिकारी विद्रोहात्मक भावको सम्प्रेषण यो कथासङ्ग्रहभित्र रहेका कथाहरूको मूल सन्देश हो भन्न सकिन्छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर