उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले बुधबार बाराको भोडाहामा साना किसान कृषि सहकारी संस्था भोडाहाद्वारा स्थापना गरिएको दूध सङ्कलन तथा प्रशोधन उद्योगको एक समारोहबीच उद्घाटन गरेका छन् ।
सो अवसरमा उनले कृषिक्षेत्रको विकासबाट नै मुलुकको विकास हुने भएकाले वीरगन्ज चिनी उद्योग, कृषि औजार उद्योगलाई निजी कम्पनीलाई भाडामा दिएर पनि सो उद्योग चलाउन सरकारको योजना रहेको बताए ।
उनले कृषि उत्पादन आयातलाई प्रतिस्थापन गर्ने सरकारको लक्ष्य रहेको बताउँदै औद्योगिकीकरण, जलस्रोत, पर्यटक र कृषिलाई विकास गर्ने सरकारको मुख्य लक्ष्यसमेत रहेको बताए ।
संस्थाका अध्यक्ष पुनदेव रौनियारको सभापतित्वमा भएको समारोहमा पूर्वमन्त्री एवम् सांसद पुरुषोत्तम पौडेल, सांसद बलवीर चौधरी र सांसद मधु शाहीले उद्योगबाट यस क्षेत्रका पशुपालक कृषकले सहयोग पाउने कुरा बताए । उद्योगलाई व्यावसायिक कृषि तथा व्यापार आयोजनाले रु. १८ लाख अनुदान सहयोगसमेत दिएको थाहाभएको छ । रासस