newskoseli.Com

‘विप्लव टु प्रचण्ड’ : मामा–भान्जाबीचको रोचक घोचपेच !

नेत्र चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं सो पार्टीसम्बद्ध राष्ट्रिय युवा जनस्वयंसेवकका केन्द्रीय अध्यक्ष झकबहादुर मल्ल ‘सुदिप’ ले बिहीबार बिहान फेसबुक स्ट्याटस लेख्दै सबै जिम्मेवारीहरूसहित पार्टी परित्यागको घोषणा गरे । शनिबार साँझ प्रचण्ड निवास लाजिम्पाटमा खादा पहिरिँदै मल्ल केही सहयोगीसहित नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरे ।

दुर्इ दिनभित्रै सकिएको मल्लको ‘विप्लव टु प्रचण्ड जर्नी’ ले माओवादी वृत्तमा राम्रै तरंग ल्याएको छ । सुदिप प्रकरणबाट युवा माओवादी कार्यकर्ताबीच त झन् ठूलै खैलाबैला नै मच्चिएको देखिन्छ । यसै सेरोफेरोमा शनिबार प्रतीक चन्द नामका एक कार्यकर्ताले ‘सुदिप मल्ललाई खुला पत्र’ शीर्षकमा मामा भनेर सम्बोधन गर्दै एक मार्मिक पत्र फेसबुकमा पोस्ट गरे । लगत्तै सुदिपले भान्जा भनेर सम्बोधन गर्दै प्रत्युत्तर–पत्र पोस्ट गरे ।

प्रतीक चन्द लेख्छन्–

प्रिय मामा सुदिप मल्ल,

मैले सोचेको पनि थिइनँ– आफूले आदर्श मानेको नेता, आफ्नो अभिभावकलाई जीवनको कुनै मोडमा आएर यसरी असन्तुष्टिको खुला पत्र लेख्नुपर्ला भनेर । यसलाई मैले राजनीतिक जीवनको कालो दिनका रुपमा लिएको छु ।

हुन त तपाईं र मेरो साथ त्यति लामो भएन तर जति भयो, राम्रो र आदर्शपरक नै भयो । जतिबेला देश भूकम्पको पीडामा थियो, पीडितलाई हाम्रो खाँचो थियो, त्यतिबेला पार्टीको योजनाअनुरुप म तपार्इंको साथमा भूकम्पको केन्द्रविन्दु दोलखा गएको थिएँ । र, हामीले त्यहाँ १० दिन जनताको घर–आँगनमा उनीहरुको पीडामा मलम लगाउँदै बिताएका थियौं । त्यतिबेला हामी जति पनि तपार्इंको कमान्डमा थियौं, सबैले तपार्इंको सरलता, योजनाप्रतिको दृढ विश्वास, कामप्रतिको लगनशीलताको प्रशंसा गर्ने गर्थ्यौं र सही लिडर पाएकोमा गर्व गर्थ्यौं ।

त्यसपछि राष्ट्रिय युवा जनस्वयमसेवकको नेतृत्व तपार्इंको हातमा आउँदा म निकै खुशी र उत्साहित भएको थिएँ र सबैको प्रतिक्रिया सकारात्मक थियो । संगठनले आफ्नो ढाँचाअनुसारको सक्षम युवा र क्रियाशील नेतृत्व पायो, अब संगठनले पार्टीका हरेक योजनालाई जस्तोसुकै चुनौती मोलेर भए पनि कार्यान्वयन गर्छ भन्नेमा हामी सबै विश्वस्त थियौं । यो बीचमा त्यो क्रियाशीलता देखियो पनि । यो कुरामा म तपाईंप्रति एकदमै सकारात्मक छु र तपाईंजस्तो नेता तथा अभिभावक पाउँदा गर्व महसुस हुन्थ्यो र हुन्छ ।

पार्टी र क्रान्तिकारी जीवनमा उतारचढाव आउँछन् र त्यो स्वाभाविक पनि हो । तपार्इंको आन्तरिक पार्टी र सांगठनिक क्रियाकलापबारे मलाई त्यति थाहा छैन किनकि हामी फरक मोर्चामा थियौं । तपाईं युवा लिडर, म विद्यार्थी कार्यकर्ता । कहिलेकहीं तपार्इंको बारेमा नकारात्मक प्रतिक्रिया सुनिन्थे, खासगरी आर्थिक कुरामा जोडिएर । तर, मलाई विश्वास लाग्दैनथ्यो । कहीं–कतै भए पनि यी कुरा प्राविधिक र सामान्य लाग्थे किनकि मलाई तपार्इंको विचार र पार्टीको कार्यदिशाप्रतिको प्रतिवद्धताले विश्वस्त तुल्याउँथ्यो कि विचार र कार्यदिशामा परिपक्व र स्पस्ट मान्छेले कहिल्यै गल्ती गर्दैन, जुन कुरा मलार्इ मेरा बुबाले सधैं भन्ने गर्नुहुन्छ– म उहाँलाई राजनीतिक रुपमा आँखा चिम गरेर विश्वास गर्न सक्छु । त्यो कुरा म तपार्इंमा देख्ने गर्थें पनि ।

जब मैले एउटा मिटिङमा तपार्इंको कारबाहीबारे सर्कुलर पढें, एक छिन त मलाई विश्वासै गर्न गाह्रो भयो । मैले तपार्इंको कारबाहीबारेको बुँदालाई २–३ पटक दोहोर्याएर पढेको थिएँ । मैले भित्रभित्र आशा गरिरहेको थिएँ कि यी मुद्धाहरु गलत सावित होऊन् र तपाईंलाई एक आदर्श नेताका रुपमा देख्न पाइरहुँ । तपार्इंमाथि लागेका मुद्धाहरु अलि गम्भीर प्रकारकै थिए ।

अहिले, २ कात्तिक, २०७४ मा पार्टीले निकालेको विज्ञप्तिमा उल्लेख तपाईंमाथि लगाइएका आरोप र पहिलेको पार्टी सर्कुलरमा तपाईंलार्इ लागेका मुद्धा एउटै छन् । अहिले तपार्इंले पार्टी छाडेको घोषणा गरेपछि आरोप लगाइयो भन्ने कुरा फगत (गलत) हुन्  । पहिलेको सर्कुलर र विज्ञप्तिलार्इ मैले आज यो पत्र लेख्दै गर्दा पनि दाँजेर हेरेको छु र तपाईंलाई सम्मान गर्दागर्दै पनि म निर्धक्क भन्न सक्छु– तपार्इंले पार्टीको विज्ञप्तिमा मेरो चरित्रहत्या गरियो, पार्टी छाडेपछि मलाई गिराउन यो हर्कत गरियो भन्ने कुरामा तुक छैन ।

विज्ञप्तिमा उल्लेखित कुराहरु तपाईं पार्टी केन्द्रीय सदस्य र संगठनको अध्यक्ष हुँदै आएका कुरा हुन् । यदि यी आरोपहरु झुटा थिए भने तपार्इंले पार्टीभित्र रहेर प्रमाणित गर्न चुनौती दिन सक्नुपर्थ्यो । पार्टीभित्र अनुसन्धान र छलफल चल्दै थियो, तपाईं सही हुनुहुन्थ्यो भने यी मुद्धाहरु खारेज हुन पनि सक्थे । यदि मुद्धा सही नै ठहरिए पनि गल्ती मान्छेबाटै हुन्छ, यसलाई सच्याउँदै तपाईं नयाँ ढंगले अघि बढ्न सक्नुहुन्थ्यो । आफ्नो गल्तीको कारबाही भोगेर आएका थुप्रै नेताहरु हाम्रै आँखा अगाडि छन् ।

तर, एक्कासि तपार्इंको पार्टी छाडेको विज्ञप्ति आउँदा तपाईंमा कार्यशैलीगत मात्र होइन, वैचारिक रुपमै अस्पष्टता र पलायनता रहेछ भन्ने कुरा पुष्टि भयो । कमी तपाईंमा नै रहेछ भन्ने कुरा पुष्टि भयो । यो वैचारिक अस्पष्टतालार्इ तपार्इंले नेकपा–माओवादीभित्र हुँदा चलेको दुर्इलाइन संघर्ष वा पार्टीको महाधिवेशनमा राख्नुपर्थ्यो र स्पष्ट हुनुपर्थ्यो । अहिले पार्टी आफ्नो कार्यदिशा कार्यान्वयनको पिक प्वाइन्टमा आउँदा बहाना बनाएर पार्टी छाड्नु राजनीतिक बेइमानी हो र यसले अवसरवादी प्रवृत्तिलाई प्रष्ट देखाउँछ । व्यक्तिगत अवसरको खोजीमा यताउता ढल्किने प्रवृत्तिको छिटा तपाईंलाई पनि लागेको देख्दा मलाई व्यक्तिगत रुपमा निकै दुःखी तुल्याएको छ ।

अन्तमा,
प्रिय सुदिप मामा, तपार्इंको बहिर्गमनले पार्टीलाई धक्का त अवश्य पुग्ला । तर, त्यो धक्का थेग्न सक्ने सामर्थ्य हामीसँग प्रशस्त छ भन्नेमा म विश्वस्त छु । बाचा गर्छु– हामीले पार्टीभित्र तपार्इंको कमी महशस हुन दिनेछैनौं । पार्टी एकीकृत जनक्रान्तिको बाटोमा निर्धक्क अगाडि बढ्नेछ ।

पार्टी छाडेलगत्तै आज सानो गुटसहित प्रचण्ड–ओली मोर्चामा सामेल भएको खबर सुन्दा तपाईंलाई पनि अवसरवादी हावाहुरीले छोएछ भन्ने कुराले अलिकति दुःखी त बनाएको छ । तर, मलाई विश्वास छ– तपार्इंले पार्टी छाडे पनि सूचना बेचेर पार्टीको योजना र कार्यदिशाप्रति गद्धारी गर्नु हुनेछैन र आगामी दिनमा नेकपाले आफ्नो पूर्व नेतालाई पार्टीको सूचना बेचेको भन्दै कारबाही गर्‍यो भन्ने समाचार सुन्न पाइनेछैन । हुन त यी कुरा मैले भन्नु पर्दैन, तपाईं मभन्दा धेरै जान्ने–बुझ्ने हुनुहुन्छ । तपार्इंको नयाँ भनौ कि पुरानै भनौं, राजनीतिक यात्रा र व्यक्तिगत भविष्य सफल रहोस्, शुभकामना !

उही तपाईंलाई सम्मान गर्ने भान्जा…

 

भान्जाको प्रत्युत्तर फर्काउँदै झकबहादुर मल्ल ‘सुदिप’ लेख्छन्–

प्रिय भान्जा प्रतीक,
न्यानो अभिवादन !

भन्जाको पत्रले निक्कै भावुक र उद्वेलित बनायो । त्यसैले केही नलेखिरहन सकिनँ । झन्डै भन्जाको उमेरजति नै होला, मैले राजनीतिक आन्दोलनमा जीवन व्यतीत् गरेको छु; यो अझै जारी रहन्छ । जुन उद्देश्यका लागि अघि बढियो, त्यसबाट मेरो यो निर्णयले कदापि विचलित गराउने छैन ।

जीवनको यो मोडसम्म आउँदा अथाह पीडा, चोट र खुशी लिएर आइयो । एउटै यात्रामा कैयन् मित्र र शत्रु पनि भेटियो । खैर, जे भए पनि श्रमजीवी जनताको मुक्तिका खातिर समर्पित हुँदा आजसम्म प्राप्त गरेका अनुभूति हुन् । जसले मलाई सदा अघि बढ्न प्रेरित गरिरहन्छन् । मेरो यो निर्णयले हजुरको भावनामा जुन चोट अहिले पर्‍यो, त्यसका लागि माफी चाहन्छु । तर, मेरो यो निर्णय सही नै छ भन्ने कुरामा म पूर्ण विश्वस्त छु ।

मैले एक–दुईवटा कारणले पार्टी छाडेको होइन भान्जा । जहाँसम्म कारबाहीको कुरा छ, त्यो त झन् हुँदै होइन । वक्तव्यमा भनिए झैं वैचारिक, राजनीतिक र सांगठनिक अराजकताको समस्या यदि मभित्र थियो भने मलाई त्यो कमिटीमा किन राखियो ? मैले गर्दै नगरेको अपहरणको आरोप लगाएर सर्कुलर गर्नु विल्कुल गलत कार्य हो । मैले जीवनमा व्यक्तिगत स्वार्थका लागि कहिल्यै काम गरिनँ, झन् अपराध त गर्ने कुरै हुँदैन ।

हरेक वस्तुमा विपरीत तत्त्व हुने हुँदा मभित्र पनि केही खराबी अवश्य पनि छन् । दुराशयपूर्ण ढंगले जाने हो भने म पार्टीभित्रका सयौं तथ्य सार्वजनिक गर्न सक्छु, जसले गर्दा पार्टीको छवि नै धुमिल हुन्छ । मैले त त्यस प्रकारको अराजनीतिक काम गरेको छैन । यति मात्र भनेको छु कि हामीले सोचेको क्रान्ति नेकपाले गर्दैन । यो तथ्य देख्न धेरै समय लाग्नेछैन ।

भान्जाको जीवन सफल होस्, पत्रका लागि धन्यवाद !

यो पनि पढ्नुहोस्–
सुदिपले पनि छाडे विप्लवलाई, हिँडिसकेपछि ‘कारबाही’ को फत्तुर !

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर