newskoseli.Com

न्युजकोसेलीको आगमन

हामी न्युजकोसेली डटकममार्फत श्रद्धेय पाठकको सेवामा हाजिर भएका छौं । नेपालको आमसञ्चारजगतमा विभिन्न स्वरूपका अनगिन्ती सञ्चारसंस्था र सञ्चारमाध्यमहरू चलिरहेकै छन् । एक हिसाबले भन्ने हो भने नेपालमा सञ्चार माध्यमहरूको भीड नै लागिसकेको छ । र, हामी पनि त्यही भीडको एउटा नयाँ सदस्य बनेर थपिन आइपुगेका छौं ।

आजको लोकतान्त्रिक युग, विज्ञान–प्रविधिको व्यापक पहुँच र प्रचलन, नागरिकमा जागृत व्यापक स्तरको सचेतना एवम् शैक्षिक उन्नयनको परिवेशमा आमसञ्चारका माध्यमहरू थपिनु र प्रतिस्पर्धा बढ्नुलाई स्वाभाविक प्रक्रिया तथा स्वागतयोग्य कुरा मानिन्छ/मानिनुपर्छ । तर, सञ्चार माध्यमहरूको विस्तार एवम् व्यापकताका नाममा यससँगै झुन्डिएर या टाँसिएर आउने विकृति–विसङ्गतिहरूलाई भने किमार्थ सकारात्मक मान्न सकिँदैन । अर्को भाषामा भन्नुपर्दा आमसञ्चारका माध्यमहरूको विस्तार र विकाससँगसँगै ‘सञ्चार प्रदूषण’ को समस्याले पनि क्रमशः विकराल रूप लिँदै नगएको चाहिँ होइन । झन् अनलाइन सञ्चार माध्यमहरूका सन्दर्भमा त यो पक्षबारे अलि बढी नै बहस–टिप्पणी हुने गरेका छन् ।

आमसञ्चार क्षेत्रका विद्वान् मार्सल म्याकलुहानले भनेका छन्– ‘मिडिया इज मेसेज’ अर्थात् आमसञ्चार माध्यम आफैंमा एउटा सन्देश हो । उनको यो भनाइलाई नै पछ्याए झैं लाग्नेगरी आजको नेपाली समाज र राजनीतिक सन्दर्भले पनि ठ्याक्कै त्यसैगरी सोच्ने/बुझ्ने गरेको पाइन्छ तर अलिक फरक ढङ्गबाट । कुनै सञ्चार माध्यम अस्तित्वमा आएसँगै सिधा प्रश्न गरिन्छ– ‘यो कुन पार्टीले चलाएको रहेछ ?’ अथवा ‘यो कसको नजिक रहेछ ?’ न्युजकोसेलीका सन्दर्भमा पनि स्वभावतः यो प्रश्न अवश्य नै खडा हुने छ । र, यसको सिधा जवाफ हो– न्युजकोसेली कुनै पार्टीले चलाएको सञ्चार माध्यम होइन र कसैको नजिक पनि छैन । न्युजकोसेली डटकम कुनै राजनीतिक पक्ष/शक्तिको मुखपत्र वा पिछलग्गु या समर्थक अथवा विरोधी कुनै हालतमा हुनेछैन ।

आम जनताको सुसूचित हुन पाउने अधिकारको सम्मान र संरक्षण गर्दै सत्यतथ्य समाचार, सन्तुलित विचार र स्वस्थ मनोरञ्जनका सामग्री पस्कनु नै हाम्रो प्राथमिक कर्तव्य हुने छ । वैचारिक दृष्टिबाट भने सबैखाले राजनीतिक प्रवृत्ति/पक्षप्रति पूर्णतः निरपेक्ष रहँदै गुण र दोषका आधारमा समर्थन र विरोध गर्नु नै न्युजकोसेली डटकमको आधारभूत नीति हुनेछ । जुनसुकै वैचारिक पक्षधरता या मान्यता अँगाल्ने स्थापित एवम् सुपरिचित लेखक–स्तम्भकार, नेता–कार्यकर्ता, स्रष्टा–सर्जक इत्यादिका सबैखाले लेखरचना र सामग्रीहरूले न्युजकोसेलीमा स्थान पाउने छन् । यसरी सबै विचारधारा र मान्यताबीच स्वस्थ एवम् मर्यादित ढङ्गबाट तर तीव्र तथा पेचिलो तरिकाबाट बहस–छलफल र विचार–विमर्श गर्ने साझा थलोका रुपमा न्युजकोसेली अगाडि बढ्नेछ ।

यसअघि छापा, प्रशारण र अनलाइनजस्ता विभिन्न सञ्चार माध्यममा कार्यरत रही आमसञ्चार माध्यम र पत्रकारिता एवम् भाषा–साहित्यका विविध विषय–क्षेत्रमा लामो अनुभव सँगालेका सहकर्मीहरुको संयोजनबाट न्युजकोसेली टिमले क्रमशः आकार ग्रहण गर्दैछ । हामीले रिपोर्टिङ, सम्पादन र प्रकाशन–प्रशारण गरेका विगतका सञ्चार माध्यमका लेखक, अनुसन्धाता, समाचार–सूचनादाता, पाठक–श्रोता–दर्शक आदि बनेर आजसम्म हामीलाई न्यानो माया, स्नेह, सहयोग र सदभाव प्रकट गर्नुभएका सबैबाट हाम्रो यो नयाँ अभियानमा अझै बढ्ता साथ, समर्थन, सहयोग र सहकार्य प्राप्त हुने कुरामा हामी विश्वस्त छौं । परीक्षण प्रकाशन/प्रशारणको यो चरणमा थुप्रै कमीकमजोरी रहने कुरालाई स्वाभाविक ठान्दै न्युजकोसेलीलाई जनताको भरपर्दो र गुणस्तरीय सञ्चार संस्थाका रुपमा विकसित तुल्याउन सम्बद्ध सबैबाट रचनात्मक सुझाव, सल्लाह र सहयोग प्राप्त हुने नै छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर