NewsKoseli.Com

पार्टी एकताको आधार : सशस्त्र र शान्तिपूर्ण संघर्षको संयोजन

काठमाडौं, २१ पुस ।

हामी मार्क्सवादलाई गतिशील विज्ञान मान्छौं । समयकाल र परिस्थितिअनुसार त्यो विकास हुँदै जान्छ भन्छौं । लेनिनले रूसको र माओले चीनको मौलिकतामा मार्क्सवादी विज्ञानलाई फरक–फरक ढंगले लागू गर्दै विकास गर्नुभयो ।

क्युबा, कोरिया, भियतनाम, मलेसिया, पेरू, टर्की, बर्मा, भारतलगायतका युरोप, एसिया, अफ्रिका र दक्षिण एसियाका देशहरूमा भएका कम्युनिस्ट आन्दोलनहरू सफल र असफल जे–जति भए, त्यहाँका नेताहरूको दावी हामीले मार्क्सवादी विज्ञानलाई क्रान्तिकारी ढंगले प्रयोग गरी विकास गरेका छौं भन्ने नै छ ।

नेपालमा २००६ मा कम्युनिस्ट पार्टी गठन भयो । पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, केशरजङ्ग रायमाझी, तुलसीलाल अमात्य हुँदै झापा विद्रोह, माले, चौथो महाधिवेशन, मशाल, एकताकेन्द्र, एमाले, माओवादी हुँदै आज यहासँम्म अाइपुगेका छौं । हामी ६८–७९ वर्षको नेपालको कम्युनिस्ट आन्दोनको पेरिफेरिमा आइपुग्दा दर्जनौं धारा–उपधारा र त्यसभित्र पनि दर्जनौं गुट–उपगुटमा विभाजित भएर आफूलाई अब्बल क्रान्तिकारी र अरूलाई प्रतिक्रान्तिकारी, दलाल, दक्षिणपन्थी, संशोधनवादी, पुँजीवादी, उग्रवादी, जडसूत्रवादी इत्यादि आरोप–प्रत्यारोपको शृंखलामा रमाइरहेका छौं ।

वस्तुगत तथ्य हेर्ने हो भने चाहिँ हामीले माने पनि वा नमाने पनि सशस्त्र जनयुद्ध र शान्तिपूर्ण संघर्षलाई एक–अर्काको परिपूरकका रूपमा प्रयोग गर्‍यौं । नेपाली क्रान्तिको मौलिकता, नेपालको बहुविविधताभित्रको वर्ग, जाति, क्षेत्र, लिङ्ग र भाषाभाषी जनताको मनोविज्ञान समेटेर नेपाली विशेषताकै पुँजीवादी जनवादी राजनीतिक क्रान्तिले सफता हासिल गरेको छ । र, मुलुक अब सामाजिक न्यायसहित विकास, समृद्धि र समाजवाद निर्माणको दिशामा अगाडि बढ्ने बिन्दुमा आइपुगेको छ ।

नेपाली विशेषताको समाजवादको बाटो शान्तिपूर्ण संक्रमणबाट हुन्छ वा शान्तिपूर्ण प्रतिस्पर्धा गर्दै गएर एउटा निश्चित विन्दुमा पुगिसकेपछि निर्णायक धक्काका रूपमा बलप्रयोगको आवश्यकता हुन्छ भन्नेबारे हाम्रा फरक–फरक बुझाइहरु छन् । यसमा व्यापक बहसको आवश्यकता हुन्छ । सूचना–सञ्चार र प्रविधिको विकास, साम्राज्यवादको आजको अन्तर्विरोध, विश्व कम्युनिस्ट आन्दोलनको आजको आत्मगत क्षमता र वस्तुगत परिस्थितिबाट हेर्दै, नेपाली जनताको मनोभावनालाई पक्डदै अबको कम्युनिस्टहरूको यात्रा स्वाधीनता, समद्धि र समाजवादको यात्रा नै हो ।

एउटै कम्युनिस्ट केन्द्रको निर्माणविना एक्लै समाजवाद निर्माणको यात्रा सम्भव छैन । धरातलीय यथार्थताको आफ्नो मौलिकतामा विज्ञानको सही प्रयोग र विकास हुन्छ । मार्क्सवादी विज्ञान गतिशील हुनुका नाताले त्यसले समयसापेक्ष विकास र परिर्माजनको माग गर्छ । हामीले एकले अर्कालाई यो वा त्यो नाममा दोषारोपण मात्र गर्दै फरक–फरक धारबाट हिँडिरहँदा पनि स्वीकार गर्नुपर्ने यथार्थता यो हो कि वर्तमानमा जे–जति राजनीतिक उपलब्धिहरू प्राप्त भएका छन् ती सशस्त्र र शान्तिपूर्ण संघर्षबीचको समुचित संयोजनकै बलमा प्राप्त भएका हुन् ।

हामी कम्युनिस्टहरु छरिएर विभिन्न अलग–अलग धार र धारामा फरक–फरक हिँड्दै गर्दा पनि आन्दोलनहरूमा कहीं न कहींबाट एकले अर्काको परिपूरककै रूपमा सहयोगात्मक र रचनात्मक भूमिका खेलेका छौं । अहिलेसम्म हामीले प्राप्त गरेका सबै राजनीतिक उपलव्धिहरू कम–बेसी रूपमा हामी सबै कम्युनिस्टहरूका सामूहिक सम्पत्ति नै हुन् ।

वामपन्थ र कम्युनिस्टका नाममा २००६ देखि यताका ६८–६९ वर्षको अन्तरालमा भएका सबै सशस्त्र र शान्तिपूर्ण आन्दोलनका सकारात्मक र नकारात्मक पक्ष तथा उपव्धिहरूको संश्लेषित योगफलका रूपमा स्वामित्व लिएर हामी अगाडि बढ्नुपर्छ । वर्तमान उपलव्धिहरूको जगबाट समाजवाद निर्माणको बाटोमा वृहत् कम्युनिस्ट केन्द्रको एक ध्रुव खडा गर्न सबै संकुचनहरू त्यागेर महाबहसमा केन्द्रीकृत हुनु आजको समयको माग हो ।

मार्क्सवाद जन्मिएदेखि यता अहिलेसम्मको अन्तराष्ट्रिय अनुभवबाट हेर्दा कम्युनिस्ट आन्दोनभित्रका आरोप–प्रत्यारोपका श्रृंखला नयाँ होइनन् । सामन्तवाद र उदार पुँजीवादको चरणमा प्रथम अन्तर्राष्ट्रियमा मार्क्स–एङ्गेल्समाथिका आरोप सामन्तवादी संकुचन वर्गधरातलको जगमा आधारित थिए । उदार पुँजीवादले एकाधिकारवादमा छलाङ लगाएपछि सामन्तवाद र समाज्यवादको अपवित्र सम्बन्धबाट जन्मिएको ठिमाहा दलाल पुँजीवादी चिन्तनगत धरातलीय आधामा लेनिन र माओमाथिका आरोप थिए ।

यो वा त्यो नामको दलाल नोकरशाही अतिवादलाई चिर्दै रुस र चीनमा मार्क्सवादी विज्ञानलाई आ–आफ्नो विशेषताअनुरुप फरक–फरक ढंगले लागू गरेर लेनिन र माओले मौलिक रूपले क्रान्ति सम्पन्न गर्नुभयो । पुँजीवादी, जनवादी र समाजवादी चेतनाको जगबाट उठेको चेतनाको धरातल फराकिलो भएकाले ती क्रान्तिकहरूले तिनलार्इ समग्रतामा पक्डे ।

चिनिया कम्युनिस्ट पार्टीभित्र ठूलठूला र भीषण दुईलाईन संघर्ष भएर पनि त्यहाँको पार्टी विभाजित भएन । टुटफुट–विभाजनको मासिकता सामन्ती संकुचन र निम्नपुँजीवादी अधैर्यता तथा कुन्ठाबाट पैदा हुन्छ । आरोप–प्रत्यारोपको श्रृंखलामा रमाउने प्रवृत्ति म र मपाइँत्वको दम्भ तथा घमण्डबाट आउँछ । जसको वर्गधरातल सामन्तवादी टुक्रे उत्पादन पद्धति, भोगविलाश र दलाल पुँजीवादी उपभोक्तावादमा आधारित हुन्छ ।

नेपालमा हामी यस्ता कम्युनिस्टहरु पनि छौं, समाजवाद निर्माणको समान लक्ष हासिल गर्न सामूहिक एकत्वको भूमिका अपरिहार्य हुन्छ भन्ने थाहा भएर पनि जुँगाको लडाइँ लडिरहेका छौं । आफूले आफैंलार्इ मात्र घाघ्डान क्रान्तिकारी विद्वान ठान्न खोज्छौं । तर, आजको समयकाल र गतिले त्यसलाई सकार्दैन । हाम्रा तर्क र आरोप एकातिर तथ्य र अर्कोतिर आधार भएका कारण प्राप्त भएको पनि गुम्ने खतरा छ ।

अतः सबै खालका संकुचन त्यागौं । फराकिलो मस्तिष्क बनाएर एकै ठाउँमा उभिऔं र समाजवाद निर्माणका लागि महाबहसको रापिलो भट्टीमा हेलिने आँट गरौं । एउटै कम्युनिस्ट केन्द्र निर्माणको महाअभियान सफल पारौं ।

(लेखक नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् ।)

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर