newskoseli.Com

प्रलेसलाई को–को सल्लाहकारहरूले दिए के–के सल्लाह ?

लेखक खेम थपलिया

विषयारम्भ

प्रगतिशील लेखक सङ्घ, नेपालको १० औँ राष्ट्रिय सम्मेलन सम्पन्न भएपछि विविध कारणवश सल्लाहकार परिषदको औपचारिक बैठक बस्न सकेको थिएन । प्रलेसको सल्लाहकार परिषदमा अनिल शर्मा ‘विरही’, डा. अमर गिरी, आनन्ददेव भट्ट, विश्वभक्त दुलाल ‘आहुति’, इन्द्र रेग्मी, ईश्वरचन्द्र ज्ञवाली, कमलजङ्ग जङ्गली, प्रा. केशव सुवेदी, कुन्ता शर्मा, जीवन शर्मा, प्रा.डा. जगदीशचन्द्र भण्डारी, प्रा.डा. ताराकान्त पाण्डेय, नारायण ढकाल, निनु चापागाईं, पूर्ण वैद्य, प्रदीप ज्ञवाली, भवानी बराल, भाष्कर, मणि थापा, माइला लामा, मित्रलाल पंज्ञानी, राम विनय, लोकनारायण सुवेदी, डा. विजय सुब्बा, शशिधर भण्डारी, प्रा.डा. श्रीधर गौतम, श्यामप्रसाद शर्मा, सरला रेग्मी, हरिगोविन्द लुइँटेल र हेमनाथ पौडेल हुनुहुन्छ । यहीबीचमा प्रलेसका सल्लाहकार तथा संस्थापक श्यामप्रसाद शर्मा हामीबीच भौतिक रूपमा रहनुभएन ।

यो पनि पढनुहोस्–
सकिएकै हो त प्रलेसको औचित्य ?

ढिलै भए पनि २०७४ साल माघ १३ गते प्रलेसको केन्द्रीय सल्लाहकार परिषद्को बैठक बस्यो । प्रलेसको केन्द्रीय कार्यालय, बागबजारमा बसेको उक्त बैठकमा सल्लाहकारहरूबाट प्रलेसको सङ्गठनात्मक तथा वैचारिक जीवनमा निकै महत्वपूर्ण धारणा प्रवाह भए । नेपाली राजनीतिको बदलिंदो जटिल परिस्थिति र वाम–गठबन्धका बीचमा एकतासमेत हुने कुराले मज्जैसित बजार पाइरहेकै समयमा भएको बैठकले महत्वपूर्ण विषयमा बहसको थालनी गरेको छ । अहिले चलेको बहसले सामन्तवाद तथा साम्राज्यवाद विरोधी प्रगतिशील लेखक–साहित्यकारको साझा मोर्चा मानिएको २००९ सालमा स्थापित संस्था प्रगतिशील लेखक सङ्घभित्र तथा बाहिर पनि नयाँ शिराबाट नयाँ–नयाँ तरङ्ग पैदा गरेको छ । मूलतः प्रलेसमा प्रारम्भ भएको वैचारिक बहसले सबैतिरको ढोका खोलिदिएको छ ।

को–को सल्लाहकारहरूले दिए के–के सल्लाह ?

सल्लाहकार परिषद्को बैठकमा उपस्थित हुनुभएका १० जना सल्लाहकारहरूबाट प्रगतिशील लेखक सङ्घलाई महत्वपूर्ण सुझाव प्राप्त भएका छन् । परिषद्को बैठकमा विश्वभक्त दुलाल ‘आहुति’, ईश्वरचन्द्र ज्ञवाली, नारायण ढकाल, निनु चापागाईं, प्रदीप ज्ञवाली, मित्रलाल पंज्ञानी, लोकनारायण सुवेदी, डा. विजय सुब्बा, सरला रेग्मी र हेमनाथ पौडेल उपस्थित हुनुहुन्थ्यो । प्रलेसका पदाधिकारी तथा सचिवालय सदस्य एवम् अन्य सदस्यहरूको पनि सहभागिता रहेको उक्त बैठकमा नेपालको कम्युनिस्ट÷वाम आन्दोलनमा भइरहेको ध्रुबीकरणका सन्दर्भमा सो ध्रुबीकरणको बहस औपचारिक रूपमा प्रलेसमा पनि प्रवेश गरेको छ । प्रलेसको जीवनमा पछिल्लो समयमा विभिन्न कोणबाट मत–अभिमत मुखर भइरहेका पनि छन् । ती बहसमा कसैले मुख रातो पार्नुपर्ने र कसैले अँध्यारो बनाउन जरुरी छैन । ती मुखरित मत–अभिमतलाई बुझ्ने र ग्रहण गर्ने तरिका पनि आ–आफ्नै हुन्छन् नै । यसै सन्दर्भमा आयोजित सल्लाहकार परिषद्को बैठकमा प्राज्ञिक–बौद्धिक–विद्वान् सल्लाहकारबाट प्रस्तुत भएका विचारलाई सारसङ्क्षेपमा राख्ने कोसिस गरिएको छ । विषयको व्याख्येय र सूत्रीकरणको रूपलाई अझ वैज्ञानिक र सरलीकृत गर्न उपशीर्षक हामीले नै दिएका हौँ ।

जनताको पक्षमा काम गर्नु प्रलेसको केन्द्रीय चरित्र हो : डा. विजय सुब्बा

प्रगतिशील लेखक सङ्घ जनतासित परिपूरक सम्बन्ध रहेको संस्था हो । त्यसैले यो संस्था जनताबाट छुट्टै रहन सक्तैन । यसलाई अझ प्रभावकारी ढङ्गले अघि बढाउनुपर्दछ । यो संयुक्त मोर्चा भएको हुँदा यसमा पनि संयुक्त पहलको आवश्यकता हुन्छ । जनताको काम गर्नु यसको केन्द्रीय चरित्र हो । प्रलेसका काम धेरै छन्, सामूहिक भावनामा नै यसले आफूलाई अगाडि बढाउनुपर्दछ ।

प्रलेसको यो कार्यकालमा गुनासा बढी आएका छन् : ईश्वरचन्द्र ज्ञवाली

नेपालको विकसित राजनीतिक परिस्थितिमा प्रगतिशील लेखक सङ्घको भूमिका के हुने भन्ने प्रश्न अहिले सबैतिरबाट उठिरहेको छ । कोषाध्यक्षको राजीनामा व्यक्तिगत हो, यसमा हाम्रो संस्थागत निर्णय छैन । प्रलेसको यो कार्यकालमा गुनासा बढी आएका छन् । यसले घटकीय अस्तित्वलाई मूल्य नदिएको, ठूलालाई मात्र मूल्य दिएको आदि गुनासा पनि आएका छन् ।

अघिल्लो कार्यसमितिले जसरी तालमेल मिलाएर काम गर्दथ्यो, त्यो तालमेल यो कार्यसमितिले नमिलाएको हो कि भन्ने लागेकै छ । प्रलेस सामन्तवाद, साम्राज्यवाद विरोधी अन्तर्वस्तु बोकेको सङ्गठन हो । अब वैचारिक हिसाबले पनि यसको निक्र्यौल गर्न आवश्यक छ । यसको प्रतिपक्षीय भूमिका हुनुपर्ने हो । जे होस्, साझा मुद्दाहरूमा मिलेर जान सकिने परिस्थिति रहेकै छ । यसको प्रस्तावनामाथि पनि छलफल गर्नुपर्ने समय आएको छ । सत्ता पक्ष र सत्ताविरोधीका बीचमा तालमेल कसरी हुने हो, प्रश्न यहीँनेर छ ।

हामी नयाँ जनवादी क्रान्ति–व्यवस्थाका पक्षपाती हौँ । नेपालमा उत्पादन पद्धति मूलतः सामन्तवादी रहेको छ । सत्ता अहिले पनि सामन्त र दलाल पुँजीवादको हातमा रहेको छ । सत्तापक्षका विचारसँग हाम्रो तालमेल कसरी मिल्ला ? केहीले नेपालमा सामन्तवाद सिद्धियो भनिरहेका छन् तर हामी सामन्तवाद अझै बाँकी छ भनिरहेका छौँ । अब प्रलेसमा सङ्घर्षशील अर्थात् सत्ताका विपक्षहरूसित कसरी सहकार्य गर्ने भन्ने प्रश्न आएको छ । प्रलेसलाई प्रज्ञा प्रतिष्ठानजस्तै भएको भनिँदैछ । के प्रलेस र नेपाल प्रज्ञा प्रतिष्ठान उस्तै उस्तै हो ? नेपालको कर्मचारीतन्त्रमा पनि केही मात्रामा प्रलेसका सम्बन्धमा प्रश्नहरू उठेका छन् । यसर्थ, प्रलेसबारे गम्भीर छलफलको आवश्यकता रहेको छ ।

आवश्यकताअनुसार प्रलेस सशक्त बनेको छैन : लोकनारायण सुवेदी

प्रगतिशील लेखक सङ्घमा केही सङ्गठनात्मक समस्या देखिन्छ । यसको औचित्य अझै समाप्त भएको छैन । यो कुरा सही हो कि हामीले खोजे जसरी यो संस्था सशक्त र प्रभावकारी बनेको छैन । यहाँ घटकवादको अभ्यास भइरहेको छ । सहमति र असहमतिका बीचमा सहमति कायम गरेर यो संस्था अगाडि बढिरहेको छ र बढ्नु पनि पर्दछ । वाम–एकताबारे यसले बहस सञ्चालन गर्दा राम्रै हुन्छ । हामीले यसका माध्यमबाट वैचारिक–सांस्कृतिक छलफल चलाउँदै जानुपर्दछ । कोषाध्यक्षको पनि प्रलेसको काम–कारबाहीका बारेमा त्यति असहमति रहेको देखिँदैन । यसबारे पनि छलफल गरेर एउटा निष्कार्ष दिनु उचित हुन्छ ।

प्रलेसको पुनर्संरचना गर्न आवश्यक छ : निनु चापागाईं

प्रगतिशील लेखक सङ्घको यो सल्लाहकार परिषद् डम्पिङ साइट जस्तो हो कि भन्ने मलाई लाग्छ । यसबारे सुरुमै कुनै जानकारी भएन । सुरुमै जानकारी दिइएको भए अझ राम्रो हुने थियो । यो बैठकको बारेमा पनि विषयको जानकारी दिइएन । नेताहरू सर्वेसर्वा हुँदैनन् । यसले केही पनि गरेन भन्ने कुरा सही होइन । यहाँ परिसंवादलगायत केही कार्यक्रम नियमित भइरहेका छन् । यसले वैचारिक समस्यालाई राम्रोसित उठाउन नसकेको भने पक्कै हो । प्रलेस बौद्धिक, ऐतिहासिक र साङ्केतिक संस्था हो । यहाँ अलिकति तौरतरिका मिलेको छैन । राष्ट्रिय पुँजीपतिवर्ग र नयाँ जनवादी चिन्तनका विषयमा यो संस्था स्पष्ट हुन आवश्यक छ ।

नयाँ परिस्थितिमा पनि प्रलेसलाई प्रतिबद्ध कसरी बनाउने भन्ने कुरा महत्वपूर्ण कुरा हो । अब यसमा नयाँ तरिकाको विकास गर्नुपर्दछ । कोषाध्यक्षको राजीनामा प्रकरणले त्यति राम्रो सन्देश दिएको छैन । प्रगतिशील लेखक सङ्घमा आबद्ध सबै घटकहरूलाई सम्मान गर्नुपर्दछ । यहाँ ठूलो–सानो भन्ने हुँदैन । व्यापक छलफल गर्नुपर्दछ । भारतमा यस्ता संस्थाहरू छुट्टाछुट्टै रहेको अवस्थामा नेपालमा कम्तीमा पनि हामी एकै ठाउँमा छौँ । यो सुरुमा संयुक्त मोर्चाका रूपमा थिएन । संयुक्त मोर्चा त २०३६ सालपछि मात्र भएको हो । यसलाई सुरुमा कम्युनिस्ट पार्टीले बनाएको पनि होइन । नेपालका कम्युनिस्ट पार्टीमा सांस्कृतिक नीति नै छैन । प्रगतिशील शक्ति सत्तामा रहेको बेला र त्यसले देश र जनताका पक्षमा गरेका राम्रा कुराको समर्थन पनि यस्ता संस्था गर्नुपर्दछ । निरपेक्ष रूपमा विरोध गर्ने भन्ने हुँदैन । त्यसैले परिवर्तित परिस्थितिमा म प्रलेसको पुनर्संरचनाको आवश्यकता देख्दछु ।

फरक विचारको निषेधीकरण हामीलाई अमान्य छ : सरला रेग्मी

म केही वर्षदेखि सक्रिय राजनीतिमा छैन । यो निर्वाचनका क्रममा मलाई बिनाकारण प्रहरीले गिरफ्तार ग¥यो । म पक्राउ परेको कुरा प्रलेसले थाहा पायो कि पाएन ? म सहिद परिवारको मानिस पनि हुँ । यो कस्तो खालको सत्ता हो ? लोकतान्त्रिक गणतन्त्र भनिए पनि यसको व्यवहारले मलाई निकै गम्भीर बनाएको छ । के राजनीतिक–वैचारिक क्षेत्रमा रहेका महिलाहरूलाई यो सत्ताले हेर्ने दृष्टिकोण र गर्ने व्यवहार यस्तै हुन्छ ? यो सामन्तवादको पराकाष्ठा हो । हामीले कस्तो खालको नयाँ संस्कृति बनाउन खोजेको हौं ? यो संरचनाभित्र हामी किन अटाएनौं ? कतै म प्रलेसको सल्लाहकार हुन लायक भइनँ कि ? प्रलेसको औचित्य छ भने यो संस्थाले यसको उत्तर दिनुपर्दछ । यसले विधानअनुसार काम गरेन कि ? साझा प्रकाशनले बारम्बार धोका दिइरहेको छ । मलाई दिनानाथ शर्मा र प्रदीप नेपालसित सम्बन्ध राम्रो नभएकोले साझामा मेरो पुस्तक छापिन नसकेको भनिँदैछ । मजस्ता लेखकहरूका समस्याबारे यो संस्थाले बोल्ने कि नबोल्ने ? नेपालमा फरक विचारलाई निषेधीकरण गर्ने प्रचलन बढेको छ, यो तरिका नितान्त गलत छ । हामी यसको सिकार भइरहेका छौँ ।

प्रलेसमा स्वेच्छिक प्रवेश र स्वेच्छिक बहिर्गमनको वातावरण बनाउनु उपयुक्त हुन्छ : प्रदीप ज्ञवाली

केन्द्रीय सल्लाहकार परिषद्का सदस्यहरूलाई समयमै जानकारी दिएको भए राम्रो हुने थियो । यो २ वर्षमा प्रगतिशील लेखक सङ्घले जे जति काम गरेको छ, त्यो सकारात्मक नै रहेको छ । नेपालमा २ ठूला वामपन्थी पार्टी मिल्दैछन् । २०६२÷०६३ सालको जनआन्दोलनद्वारा भएको राजनीतिक परिवर्तनपछि यो संस्थाको अवस्था के हुने ? प्रश्नहरू नभएका होइनन् । यसको स्थापनाकालमा कम्युनिस्ट पार्टी एउटै थियो । यसमा पार्टीको छाया परेको थिएन । यो आलोचनात्मक चेतनासहितको मोर्चा हो । घटक तल–माथि हुनुले प्रलेसको औचित्यमाथि खासै फरक पार्दैन । यसको संरचनाका बारेमा विभिन्न कोण रहेका छन् । नमिलेका कुराहरू छोड्ने र मिलेका कुरालाई लिएर जाने यसको चरित्र हो । यहाँ सबै कुरा एकरूपता खोज्नु गलत हुन्छ । संयुक्त मोर्चामा मतभिन्नताहरू हुन्छन् । २०६२/०६३ को आन्दोलनपछि नेपालमा विशेषतः एमाले र माओवादी केन्द्रले ‘पुँजीवादी जनवादी क्रान्ति’ सम्पन्न भएको कुरा स्वीकार गरेका छन् । अब सामाजिक–सांस्कृतिक रूपान्तरण गर्ने, उत्पादनका आधारहरू बढाउने र समाजवादी दिशामा अघि बढ्ने कुरा हामीले गर्दै आएका छौँ । यसैका कारण यो कुरामा विमति राख्ने शक्तिहरू एकै ठाउँमा बस्न नसक्ने अवस्था म देख्दिनँ ।

अब पनि सहकार्यको सम्भावना रहिरहेको म देख्दछु । विचारको विविधता र त्यसभित्र एकरूपताको खोजी गर्ने काम यसले गर्नुपर्दछ । प्रलेसमा स्वेच्छिक रूपले प्रवेश र स्वेच्छिक रूपले बहिर्गमनको वातावरण बनाउनु उपयुक्त हुन्छ । एउटा कुरा सही हो कि नेपालमा क्रान्ति सम्पन्न भएको हो भने ठ्याक्कै कति कहाँ हो ? त्यसको अन्तर्विरोध के हो भन्नेबारे स्पष्ट हुन आवश्यक छ । प्रलेसमा वैचारिक हस्तक्षेपका आधारहरू अझै बाँकी छन् । नेपालमा यस्तो साझा मोर्चाको आवश्यकता अझै रहेको छ । यसको निरन्तरताको आवश्यकता छ । स–साना कुरामा पनि ठूल–ठूला मतभेद हुन थाल्यो भने एउटै पार्टीमा पनि बस्न गा¥हो हुन्छ । हामीले असहमतिका बीचमा पनि मिलेर जाने संस्कृतिको विकास गर्नुपर्दछ । हामी अभिव्यक्ति स्वतन्त्रताको पक्षपाती हौँ ।

अब प्रलेसले नयाँ बाटो बनाउनुपर्दछ : नारायण ढकाल

हामीले कुनै बेला प्रलेसका सन्दर्भमा पार्टीका ह्वीप पनि मानेका थिएनौँ । सांस्कृतिक संयुक्त मोर्चा र राजनीतिक संयुक्त मोर्चा एकै प्रकृतिका होइनन् । राजनीतिक कार्यनीतिबारे लु सुनले भन्नुभएको थियो– सांस्कृतिक मोर्चाका क्षेत्रमा यो कार्यनीति सफल हुन सक्तैन । राजनीतिमा कार्यनीतिक प्रश्नहरू हुन्छन् तर संस्कृतिको क्षेत्रमा त्यस्तो हुँदैन । सांस्कृतिक क्षेत्रमा यो आवश्यकताअनुसार साँघुरो र फराकिलो हुने गर्दछ । हामीले आफ्नो दृष्टिकोण बनाउन आवश्यक छ । यहाँ अनुसन्धान, बहस, विमर्श हुन्छ । वैचारिक रूपमा छलफल हुन सक्तछ । आर्थिक विषयमा छलफल हुन सक्तछ । प्रलेसको मात्र के कुरा, त्यही एकेडेमी पनि हामीले सोचेको जस्तो बनेको छैन । त्यहाँ अहिले पनि भागबण्डाको पुनरावृत्ति भइरहेको छ । नयाँ राजनीतिक परिस्थितिअनुरूप एकेडेमी चलेको छैन । त्यहाँ अझै पनि केन्द्रीयता हावी हुने, हिरोहरू हावी हुने खतरा छ । संसारभर सार्थक हस्तक्षेप नगर्ने संस्थाहरूले निकै ठूलो जटिलता पैदा गरेको पाइन्छ । नेपालमा पनि यो खतरा देखापर्दैछ । विश्वमा कैयौं कार्यरूप बदलिएका छन् । हामीले छलफलको गुरुत्तरलाई बुझ्नुपर्दछ । नेपाली समाज सांस्कृतिक विचलनको खतरामा छ । नेपाली समाज राम्रो बनेको छैन । नाफा र राक्षसीकरणको निषेध गरिनुपर्दछ । प्रलेस प्रतिपक्षको भूमिकामा रहने संस्था हो । नेपालका राजनीतिक पार्टीहरूमा कला–साहित्य सेकेन्डरीको काम मानिन्छ । यो कुरा गलत छ । पार्टीमा राम्रो कुरा उठाउँदा पनि ‘कवि भएकोले त्यो कुरा उठायो’ भन्ने गलत परिपाटी रहिआएको छ । कोषाध्यक्षको समस्या प्राविधिक कुरा हो । प्रलेसले चिन्तनशील सरोकारहरूका बीचमा अन्तत्र्रिmया बढाउनुपर्दछ । अब यसले नयाँ बाटो बनाउनुपर्दछ ।

आफ्नै मात्र कुरा माथि पार्ने तरिका गलत हुन्छ : मित्रलाल पंज्ञानी

प्रगतिशील लेखक सङ्घको अध्यक्षले समय माागेको, कोषाध्यक्षले पनि समय दिएको कुरा आएका छन् । वास्तविकता के हो, स्पष्ट हुन बाँकी छ । हामीले पनि कोषाध्यक्षले राजीनामा दिइसकेपछि मात्र थाहा पाएका हौँ । यसमा कुनै ठूलो कुरा छैन । यहाँ बहसलाई सत्यान्वेषणको विधि बनाउनुपर्दछ । आफ्नै मात्र कुरा माथि पार्ने तरिका गलत हुन्छ । एक्लो मानिसको कुरा पनि निकै विचारणीय र अनुकरणीय हुन सक्छ । प्रलेस आलोचनात्मक चेतसहित अघि जाने संस्था हो । यो जनपक्षधरता अपनाउने संस्था हो । हिजो पनि यसले यस्तै यस्तै भूमिका खेलेको हो । अब प्रलेसमा सामन्तवाद र पुँजीवादका विषयमा यथेष्ट छलफल हुनुपर्दछ । एउटा कम्युनिस्टको अर्को कम्युनिस्टसित बोलचालै नहुने परिपाटी सही होइन । सबैसित संवाद जरुरी हुन्छ ।

लेखक–साहित्यकारहरू आलोचक र प्रतिपक्षीय भूमिकामा हुन्छन् : हेमनाथ पौडेल

ढिलै भए पनि प्रगतिशील लेखक सङ्घले यस किसिमको बैठक राखेर राम्रो गरेको छ । आफ्नो पेसा, व्यवसायबाट समय कटाएर यसलाई दिनुपर्ने अवस्था छ । वृत्तिविकासको व्यवस्था गर्न नसकिएको अवस्थामा प्रलेसमा जति काम भएको छ, त्यो ठीकै छ । हामीले कामको तुलनात्मक अध्ययन गर्ने परिपाटी पनि बसाल्नुपर्दछ । कोषाध्यक्षको समस्या वैयक्तिक हुन् । उहाँले राजीनामा फिर्ता लिंदा राम्रो हुन्छ, नत्र त्यो जिम्मेवारी अर्कोलाई दिएर जानुपर्दछ । सम्मेलनको बेला हामीले सबैलाई समेटेर लैजान कोसिस गरेका थियौँ । केही हदसम्म सफल पनि भयौँ । यो सङ्गठनलाई बचाइराख्नुपर्दछ । प्रलेसमा बीचमा छोड्ने र प्रवेश गर्ने अवस्था पनि आएको थियो । यस्ता संस्थामा अन्तर्विरोध प्रशस्त जन्मिरहन्छन् । प्रलेसलाई गलत दिशाबाट बचाउनुपर्दछ । कुनै पनि पार्टीको हुबहु कुरा यहाँ लागू हुन सक्तैन । यो विमतिका बीचमा पनि सहमति गरेर काम गर्ने संस्था हो । प्रलेसमा अहिले पनि नयाँ–नयाँ अन्तर्विरोध जन्मिरहेको हामीले देखिरहेका छौं । हामीले अभिव्यक्तिको स्वतन्त्रताको सम्मान गर्न सक्नुपर्दछ । लेखक–साहित्यकारहरू स्वभावतः आलोचक र प्रतिपक्षीय भूमिकामा हुन्छन् ।

भूमण्डलीकृत पुँजीवादका विरुद्ध नलड्नेहरू प्रगतिशील लेखक हुन सक्तैनन् : विश्वभक्त दुलाल ‘आहुति’

कार्यक्रममा ढिला आइपुगेकोमा आत्मालोचित छु । हरेक चीज जन्मने, विकास हुने र मर्ने हुन्छ । स्थापनाकालमा सामन्तवाद र अर्ध–औपनिवेशिकबाट मुक्त हुने नेपाल कम्युनिस्ट पार्टीको नारासँगै प्रगतिशील लेखक सङ्घले पनि त्यो नारा दिएको देखिन्छ । यो संस्थाले जति काम गर्छ, त्यो नै काम हो । बीचमा यो संस्थामा एक पटक फुट पनि भयो । वस्तुगत आवश्यकताले हामी फेरि एक ठाउँमा आयौँ । निर्वाहमुखी अर्थतन्त्रका कारण नेपालमा अब सामन्तवाद रहेन । माओले भनेजस्तै अर्ध–सामन्तवाद अब नेपालमा छैन । नेपालमा पुँजीवाद पनि छैन । नेपालमा अहिले भूमण्डलीकृत चक्रमुनि दलाल पुँजीवाद रहेको छ । नेपालमा राष्ट्रिय पुँजीपति पनि छैन । संस्कृतिको क्षेत्रमा भने सामन्तवाद छ । माक्र्सकै घरमा पनि दासी थिइन् । वास्तवमा हामी एउटा युगबाट अर्को युगमा आइपुगेका छौँ । पुरानो युगका निमित्त बनेका सङ्गठन वा संयुक्त मोर्चा वा संस्थाहरू अब पुरानै ढङ्गबाट चल्न सक्तैनन् ।

त्यसैगरी, पार्टीहरू पनि अब पुरानै विधिबिाट चल्न सक्तैनन् । महानतासितै तुच्छता पनि जन्मिरहेको हुन्छ । अर्थात् महानतासित तुच्छता जन्माउने कारखाना हुन्छ । आमाहरू उत्पीडित हुँदैनन् भने महान् आमाहरूको मृत्यु हुन्छ । छोरा–छोरीले आफ्नी आमाको दुःख–कष्ट देखेर नै आमालाई महान् भनेका हुन् । सबै मानिसलाई पार्टीको केन्द्रीय समितिमा नै किन पुग्नुपर्छ ? तुच्छ हुन कसैलाई पनि मन लाग्दैन । महानताको आबरणमा निरङ्कुशता जन्मने खतरा हुन्छ । प्रलेसमा रागेपाटेको अवस्था हामीले यसै भनेका होइनौँ । अब नेपालमा भूमण्डलीकृत पुँजीवादका विरुद्ध लडाइँ केन्द्रित हुन्छ ।

भूमण्डलीकृत पुँजीवादका विरुद्ध नलड्ने लेखकहरू प्रगतिशील लेखक हुन सक्तैनन् । नेपालमा एकखालको राजनीतिक सङ्क्रमण सिद्धिएर ध्रुबीकरणको सङ्क्रमण सुरु भएको छ । पुँजीवाद स्थायित्व हुन थालेपछि २ पार्टी व्यवस्था सुरु हुन्छ । पुँजीवादको विकास नभएको बेलामा मात्र धेरै विद्रोहीहरू जन्मने र क्रियाशील हुने गर्दछन् । यसमा सोहीअनुसारको डिजाइन शक्तिकेन्द्रले तयार पारेका पनि हुन्छन् । नेपालमा माओवादी केन्द्र र एमाले मिलेपछि अरू विघटित हुन्छन् । विप्लव र वैद्यको हेर्न बाँकी छ । भक्तपुरमा रोहितसत्ता चलेको छ तर त्यो पनि विघटित अवस्थामा छ । ऋृषि कट्टेलको पुष्पलालको धार र मोहनविक्रमको धार पनि अब धेरै समय टिक्दैनन् । त्यसैले अहिलेसम्मको छलफलमा हामी के भन्न सक्छौँ भने भूमण्डलीकृत पुँजीवादलाई स्वीकार्ने शक्ति वामपन्थी वा प्रगतिशील रहँदैनन् ।

माओवादी केन्द्र र एमालेका बीच एकता भएपछि एकीकृत पार्टीले अङ्गीकार गर्ने कार्यदिशामा भूमण्डलीकृत साम्राज्यवाद, माक्र्सवादका आधारभूत सिद्धान्त कस्तो हुन्छ भन्ने आधारमा मात्र प्रलेसको अवस्था निक्र्यौल गर्न सकिन्छ । माओवादी केन्द्र र एमाले जोड्दा सायद प्रलेसमा पनि दुई तिहाइ हुन्छ । उनीहरू उत्तर–आधुनिकतावादी उपभोक्तावादका विरुद्ध लड्छन् कि लड्दैनन् ? उनीहरूको आर्थिक, सांस्कृतिक, सामाजिक कार्यक्रम कस्ता हुन्छन् ? त्यसका आधारमा मात्र उनीहरूलाई वामपन्थी भन्ने कि नभन्ने भन्ने कुरा स्पष्ट हुन्छ । घटनाक्रमले विषयको यही गम्भीरतालाई सङ्केत गरिरहेको छ । नेकपाका संस्थापक नेवार भए पनि तिनीहरू तागाधारी थिए । त्यसैले नेपालको कम्युनिस्ट आन्दोलन नै तागाधारीबाट सुरु भएको मान्नुपर्ने हुन्छ । नेपालमा माओवादी केन्द्र उदारखालको तागाधारी शक्ति हो, एमाले कठोरखालको तागाधारी शक्ति हो । एमाले र माओवादी केन्द्रको मिलन भनेको कठोर तागाधारी र उदार तागाधारीका बीचको मिलन हो । यो निकै खतरापूर्ण रहेको छ । सामन्तवाद तथा सामन्तवाद–साम्राज्यवाद विरोधी रहँदासम्म प्रगतिशील लेखक सङ्घमा कुनै समस्या आउँदैन ।

संश्लेषण

प्रगतिशील लेखक सङ्घको केन्द्रीय सल्लाहकार परिषद्को बैठक साँच्चै गम्भीर प्रकृतिको रह्यो । सल्लाहकारहरूले उदात्त भएर आफ्नो धारणा राख्नुभयो । प्रगतिशील लेखक सङ्घ संयुक्त मोर्चा भए यसको आफ्नै खालको जनवादी केन्द्रीयता छ । सल्लाहकारहरूले बैठकमा उच्च जनवादको प्रयोग गर्नुभयो ।

राष्ट्रिय राजनीतिमा देखापरेको ध्रुबीकरणबाट प्रलेस पनि गम्भीर रूपमा प्रभावित भएको महसुस भयो । एमालेमा माओवादी केन्द्र विलय हुने लगभग पककापक्की भएसँगै प्रगतिशील लेखक सङ्घसित आबद्ध घटक तथा त्यससित सम्बन्धित लेखक–साहित्यकारबीच वैचारिक ध्रुबीकरण देखापर्नु स्वाभाविक परिघटना हुन् । बैठकमा सल्लाहकारहरूबाट प्रस्तुत भएको विचारलाई संश्लेषणात्मक रूपमा यसरी प्रस्तुत गर्न सकिन्छ:

– प्रलेसको औचित्यबारे विभिन्न कोणबाट प्रश्नहरू उठ्नु स्वाभाविक भए पनि यसको औचित्य सकिएको छैन तर यसको नीति, नेतृत्व, सङ्गठन तथा सङ्घर्षमा व्यापक पुनर्संरचनाको आवश्यकता छ ।

– प्रलेसमा आबद्ध सबै घटकको सम्मान, सहभागिता र अपनत्व अत्यावश्यक हुन्छ । प्रलेसको आफ्नै इतिहास जान्न पनि एकपटक प्रलेससम्बद्ध सबैले अध्ययन गर्नुपर्दछ ।

– प्रलेस संयुक्त मोर्चा भएको हुँदा यसमा सोहीअनुरूप कार्यपद्धतिको विकास गर्नुपर्दछ । एउटै संस्थामा सत्तापक्ष र सत्ताविरोधीका बीचमा तालमेल मिलाएर जाने कुरा अहम् सवाल हो । जनताको पक्षमा काम गर्नु यसको केन्द्रीय चरित्र हो ।

– प्रलेस अपेक्षाकृत सशक्त बन्न सकेन । यसले वैचारिक समस्यालाई उठाउन सकेन । हो । नयाँ परिस्थितिमा यसलाई अझ प्रतिबद्ध बनाउनुपर्दछ ।

– प्रलेसमा आबद्ध घटकहरू सानो–ठूलो भन्ने हुँदैनन् । उच्चता र निचता यो संस्थामा निषेध छ । नेपालका कम्युनिस्ट पार्टीमा सांस्कृतिक नीति नै भएन, भएको पनि सही भएन । त्यसको प्रभाव प्रलेसमा पनि परेको छ ।

– प्रलेसमा फरक विचारको सम्मान, स्वेच्छिक प्रवेश र स्वेच्छिक बहिर्गमनको नीति बनाउनुपर्दछ । यो आलोचनात्मक चेतनासहितको मोर्चा हो । अझै पनि यसमा वैचारिक हस्तक्षेपको आधार बाँकी छ ।

– सांस्कृतिक संयुक्त मोर्चा र राजनीतिक संयुक्त मोर्चा एकै प्रकृतिका होइनन् । अब प्रलेसले नयाँ कार्यदिशा बनाउनुपर्दछ । यो प्रतिपक्षको भूमिकामा रहने संस्था हो ।

– प्रलेसमा आफ्नै कुरा मात्र माथि पार्ने तरिका गलत हुन्छ । बहसलाई सत्यान्वेषणको विधि बनाउनुपर्दछ । यो जनपक्षधरता अपनाउने संस्था हो ।

– प्रलेसमा जन्मिरहने अन्तर्विरोधहरूलाई मैत्रीपूर्वक हल गर्दै जानुपर्दछ । यहाँ कुनै पनि पार्टीको हुबहु कुरा लागू हुन सक्तैन । यो विमतिका बीचमा पनि सहमति गरेर काम गर्ने संस्था हो ।

– भूमण्डलीकृत पुँजीवादका विरुद्ध नलड्नेहरू प्रगतिशील लेखक हुन सक्तैनन् । माओवादी केन्द्र र एमालेबीच पार्टी–एकतापछि त्यसले अङ्गीकार गर्ने कार्यदिशाका आधार मात्र प्रलेसको भावी दिशा निर्धारण गर्न सकिन्छ ।

१५ माघ, २०७४

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर