NewsKoseli.Com

श्रमिक महिला दिवस : महिला मुक्ति आन्दोलका प्रवृत्ति र मार्क्सवादी नारीवाद

काठमाडौं, २४ फागुन ।

एउटा कालखण्ड (देवी–देवताको काल) थियो, त्यसबेला समाज मातृसत्तात्मक थियो । श्रमविभाजन र निजी सम्पत्तिको थालनीसँगै क्रमशः मातृसत्ताको ठाउँ पितृसत्ताले लियो ।

पितृसत्ताले महिला जैविक हिसाबले कमजोर हुने व्याख्य गर्‍यो । बौद्धिक हिसाबले पनि कमजोर हुन्छन् भनी महिलाहरूलाई दोस्रो तहमा राख्ने गरी व्याख्या गरियो ।

पितृसत्ता हावी भएसँगै महिलालाई राजनीतिबाट वञ्चित गरियो मताधिकार लगाबतबाट वञ्चित गरियो । र, आर्थिक गतिविधिमा होइन, घरेलु र अनुत्पादक ठाउँमा सीमित पार्दै लगियो ।

समयक्रममा महिलाले आफ्ना हक–अधिकारको खोजी गर्न थाले । क्रमशः मताधिकारको माग गर्दै महिलाहरूले सन् १९०८ तिर संगठित आन्दोलनको सुरुआत गरे । सन् १९१७ ताका रुसमा गास र बासको नारा थपेर अरु आन्दोलनको उठान भयो । त्यसरी नै अन्तर्राष्टिय महिला आन्दोलनको रूप वृहत् र शक्तिशाली बन्दै गयो ।

अन्ततः सन् १९१० मा क्लारा जेट्किन, रोजा लक्जेम्बर्गलगायतको अगुवाइमा कोपनहेगनमा भएको दोस्रो अन्तर्राष्टिय श्रमिक महिला सम्मेलनले ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने निर्णय गर्‍यो । सो सम्मेलनमा १७ देशका १ सयभन्दा बढी महिलाहरू सहभागी थिए । नेपालमा भने सन् १९७५ देखि अन्तर्राष्ट्रिय महिला दिवस मनाउँदै आइएको छ ।

नेपालमा महिला समस्या र समाधानबारे मुख्य प्रवृत्तिहरू

१. पूरातनवादी दृष्टिकोण

पूरातनवादीहरू महिलाहरू प्राकृतिक हिसाबले नै कमजोर छन्, उनीहरू दोस्रो दर्जाका हुन् र पुरुषकै सेवाका लागि मात्र जन्मका हुन् भन्नेजस्ता मान्यता राख्दछन् । उनीहरू महिला सामानता र महिला अधिकारको कुरा गर्नु नै अनावश्यक हो भन्ने ठान्छन् ।

यद्यपि अहिले यो मानसिकता खुम्चिँदै आएको छ ।

२. यथार्थवादी/उदारतावादी सोच

यो सोचवालाहरू महिला अधिकार र समानताका कुरा त गर्छन् तर त्यसका लागि अत्यावश्यक राजनीतिक तथा आर्थिक प्रणालीमा परिवर्तन आउनुपर्छ भन्ने आवश्यकतालाई स्वीकार्दैनन ।

यिनीहरू महिलाका सांस्कृतिक अधिकारको कुरा गर्दै आंशिक अधिकारको पक्षपोषण गर्दछन् । महिलाका प्रजनन्, शिक्षा र रोजगारीको मात्र वकालत गर्दछन् । यो पनि उपदेशमूलक कुराजस्तो मात्र हुँदै आएको छ ।

३. मामार्क्सवादी नारीवादी सोच

मार्क्सवादी मूलतः महिलाहरू राज्यसत्तबाट उत्पीडित भएकाले समानता र महिला अधिकारको सुनिश्चितताका लागि राजनीतिक र आर्थिक प्रणाली नै मुख्य समस्या बनिरहेको मान्यता राख्दछन् ।

पितृसत्ता कारक त हो तर यो मातहतको समस्या हो । शोषणमा आधारित समाज व्यवस्था मुख्य समस्या हो भन्ने मार्क्सवादीहरूको मान्यता हो । यस दृष्टिकोणबाट हेर्दा महिला समनताका लागि शोषणमूलक–असमानतामूलक मान्यतामा आधारित समाज निर्मूल पारी नयाँ सामाजिक संरचना निर्माण गरिनु पर्दछ । त्यसका लागि सबै उत्पीडितहरू मिलेर मुक्ति खोज्नु पर्दछ भन्ने सोच मार्क्सवादी नारीवादले राख्दछन् ।

४. र्‍याडिकल नारीवाद

कसै–कसैले र्‍याडिकल नारीवादको पनि वकालत गर्ने गरेका छन् । यस मान्यताअनुसार पितृसत्ता नै नारीको उन्नति र प्रगतिको मुख्य समस्या वा बाधक तत्त्व हो ।

अहिलेसम्म जे–जति विचार र सिद्धान्त प्रतिपादन भएका छन्, ती सबै बेकार छन्, केवल नारीवादी हुनुपर्छ भन्ने सोच र्‍याडिकल नारीवाद नारीवाद हो । त्यसैले पुँजीवाद, समाजवाद केही पनि नारीहितमा छैनन्, केवल महिलाले मात्र महिलाको बारेमा सोच्नुपर्दछ भन्ने सोच नै र्‍याडिकल नारीवादीहरूले राख्दछन् ।

नेपालको सन्दर्भमा हामीले महिला समस्या र समाधानका सन्दर्भमा समानुपातिक–समावेशी व्यवस्था लागू गरेका छौं । यसअन्तर्गत सबै क्षेत्र र तहमा महिलाको ३३ प्रतिशत अनिवार्य उपस्थितिको व्यवस्था गरिएको छ ।

सारतः नेपालमा महिला मुक्ति आन्दोलनमा नयाँ आयाम थपिएको छ । महिलाहरूका समस्या समाधानका लागि महिला मात्रले पनि पुग्दैन र महिला स्वयम् सहभागी नभएर पनि हुँदैन भन्ने मान्यता हामीले अवलम्बन र अभ्यास गरेका छौं ।

यद्यपि अहिलेसम्म प्राप्त अधिकारहरू समाजका बाठा–टाठाहरूका लागि मात्र हो । अब आर्थिक–सामाजिक रूपान्तरण, विकास, सुशासन र संविधानको व्यावहारिक कार्यान्वयन हुनुपर्दछ । केवल समानताका कोरा कुरा गरेर मात्र हुँदैन्, जागरण पनि चाहिन्छ र राज्यका नीति–विधि पनि व्यावहारिक रूपले कार्यान्वय हुनु पर्दछ ।

उत्पादन र आर्य–आर्जनमा महिलाको अनिवार्य सहभागिता गराउनु पर्दछ र रोजगारीको समुचित व्यवस्था गरिदिनु पर्दछ । संविधानमा भएका अधिकारको उपभोग गर्न सक्ने क्षमता समेत महिलामा वृद्धि गर्नु जरुरी छ । अधिकारको कुरा गर्दा महिलाहरूले कर्तव्य पनि भुल्नु हुँदैन ।

हातमा ठेला उठेका महिलाहरूलाई रोग, भोग र शोकबाट मुक्त गर्ने अठोट नै आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा गर्नुपर्ने नयाँ संकल्प हो । यसर्थ, १०८ औं ८ मार्चको नारा नै ‘प्राप्त उपलव्धि र समनताको रक्षाका लागि अघि बढौं, १०८औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य रूपमा मनाऔं’ भन्ने रहेको छ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर