newskoseli.Com

एसईई परीक्षा सुरु : अमर्यादित कार्य गर्नेलाई ठाउँका ठाउँ कारबाही

बिहीबारदेखि यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ । ४ लाख ८५ हजार ५ सय ८६ विद्यार्थी सहभागी भएको एसईई परीक्षा चैत २० गतेसम्म चल्नेछ ।

नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ र एक्जाम्टेडतर्फ २४ हजार ७१ जनाले परीक्षा दिँदैछन् । बिहान ८ बजेदेखि सुरु भएको परीक्षामा पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा भयो । वेद विद्याश्रमतर्फका विद्यार्थीले भने पहिलो दिन अनिवार्य संस्कृत भाषा र साहित्य विषयको परीक्षा दिए ।

परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले देशभर परीक्षा सुरु भएको जानकारी दिएको छ । एसईई परीक्षाका लागि सुरक्षा व्यवस्था कडा पारिएको परीक्षा नियन्त्रण कार्यालयले बताएको छ । शान्तिपूर्ण रुपमा परीक्षा सञ्चालन हुने वातावरण बनेको सबैतिरबाट रिपोर्टिङ आएको उल्लेख गर्दै सबै परीक्षा केन्द्रमा आवश्यक सुरक्षाकर्मी र कर्मचारी पुगिसकेको कार्यालयले जनाएको छ ।

यस वर्ष माध्यमिक शिक्षा पाठ्यक्रम– २०७१ अनुसार नयाँ पाठ्यक्रमकै प्रश्नपत्रका आधारमा परीक्षा सञ्चालन हुँदैछ । यस अनुरूप अनिवार्य विषयतर्फ गणितबाहेक सबै विषयमा प्रयोगात्मक परीक्षाको व्यवस्था छ ।

अनुत्तीर्ण परीक्षार्थी र अक्षराङ्कन पद्धतिको नतिजामा विभिन्न विषयमा ‘सी’ वा सोभन्दा तल्लो ग्रेड प्राप्त भई ग्रेडवृद्धि परीक्षामा समेत ग्रेडवृद्धि गर्न नसकेका परीक्षार्थीका लागि एक्जाम्टेड परीक्षा दिने व्यवस्था छ। परीक्षाका क्रममा अमर्यादित कार्य गर्ने वा गर्न उक्साउने जो–कोहीलाई स्थलगत रूपमै कारबाही गर्न सक्ने अधिकार अनुगमन टोलीलाई दिइएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर