NewsKoseli.Com

मार्क्सवाद र मार्क्सवादी ज्ञानसिद्धान्त– १

काठमाडौं, १ जेठ

दर्शन के हो ?

जीवन र जगतको बारेमा बुझ्न, अध्ययन गर्न, विश्लेषण गर्न र मालेमावादी सिद्धान्तलाई जीवन दर्शनको रूपमा ग्रहण गर्नको निम्ति यो मार्क्सवादी ज्ञान सिद्धान्तले सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारीहरूलाई मद्दत गर्नेछ भन्ने हेतुले यो लेख लेख्ने प्रयत्न गरिएको छ । दर्शन भनेको कुनै वस्तुलाई हेर्ने, बुझ्ने र व्याख्या गर्ने साधनको नाम हो । अर्को शब्दमा दर्शन भनेको मानिसको भित्री आँखा हो, जुन आँखाले जीवन र जगत्का बारेमा हेर्न, बुझ्न र व्याख्या गर्नेक्रममा मद्दत गर्दछ ।

जीवन र जगतका सामान्य नियमहरूको अध्ययन गर्ने साधनको नाम नै दर्शन हो । ‘दर्शन’ शब्दको साधारण अर्थ ‘हेर्नु’ भन्ने हुन्छ । यसको व्यापक अर्थ ‘हेर्न खोज्नु’ र ‘बुझ्नु’ हुन्छ विश्वको उत्पत्ति कसरी भयो ? पृथ्वीमा जीवजन्तु र मानिसको उत्पत्ति कसरी भयो ? जीवन र जगत्लाई चलाउने चालक शक्ति वा नियम के हुन् ? भविष्यमा विश्वको स्थिति के हुनेछ ? आदि विषयहरूको खोज, व्याख्या र दृष्टिकोणलाई दर्शन भनिन्छ ।

साथै, मानव जीवनका उद्देश्य, कर्तव्य, मूल्य–मान्यता र आदर्श के हुन् ? के प्रकृति र समाजमा कुनै व्यवस्था र नियम सङ्गति छ ? के मान्छेले प्रकृति र समाजको सम्पूर्ण ज्ञान प्राप्त गर्न सक्छ ? के मानिस आफ्नो ज्ञान र व्यावहारिक क्रियाशीलताका आधारमा प्रकृतिलाई बदल्न सम्भव छ । यी र यस्तै अनेकौँ प्रश्नहरूको सही जवाफ खोज्ने मान्छेको जिज्ञासावृत्तिको उपज र अभिव्यक्ति नै दर्शन हो । अतः दर्शन भनेको मानिसको विश्वदृष्टिकोण हो । संसार के हो ? यसको सृष्टि कसरी भयो ? यसको विकास र अन्त्य कसरी हुन्छ ? भन्ने जस्ता सवालमा हरेक व्यक्तिको एउटा निश्चित दृष्टिकोण हुन्छ, यो नै उसको दर्शन हो ।

दर्शनका प्रकारहरू

आज संसारका धेरै प्रकारका दर्शनहरू देखिए तापनि मुख्य तथा दर्शन दुई प्रकारका छन् । जस्तै, एकथरि चेतनालाई आदि तत्व या मूल तत्व मानेर जगत्लाई त्यसका स्वतःस्फूर्त र रचना मान्यलाई अध्यात्मवादी दर्शन र अर्को पदार्थलाई मूल तत्त्व या त्यसको विकसित रूपलाई चेतनामान्य दर्शनलाई भौतिकवादी दर्शन भनिन्छ । दर्शनको क्षेत्रमा दुईओटा आधारभूत प्रश्नहरू छन् ? जसको जवाफको आधारमा दार्शनिकहरू पनि दुई शिविरमा बाँधिएका छन् ।

पदार्थलाई आदितत्व र चेतनालाई उत्पत्ति पदार्थबाट भएको मान्य कुरा दार्शनिकहरू भौतिकवादसित सम्बन्धित छन् भने ‘आत्मा’ चेतनालाई आदितत्व मान्ने दार्शनिकहरू अध्यात्मवादसित सम्बन्धित छन् ।

विश्व अबोधगम्य छ अर्थात् अज्ञेय छ । यसलाई जान्न र बुझ्न सकिँदैन भन्ने दार्शनिकहरू अध्यात्मवादसित सम्बन्धित छन् भने विश्व बोधगम्य छ अर्थात् ज्ञेय छन् । विश्वलाई जान्न र बुझ्न सकिन्छ र यसलाई फेर्न सकिन्छ भन्ने दार्शनिकहरू भौतिकवादी दर्शनको खेमाभित्र पर्दछन् । अतः भौतिकवादी दार्शनिकहरूले जगत बोधगम्य छ भन्ने पुष्टि गरेका छन् भने अध्यात्मवादी दार्शनिकहरूले जगत्को बोधगम्यतालाई अस्वीकार गर्दछन् ।

उन्नाइसौँ शताब्दीको मध्यतिर आएर अर्थात् सन् १८४८ मा कार्ल माक्र्स (१८१८–१८४८) र फ्रेडरिक एङ्गेल्स (१८२०–१८९५) ले कम्युनिस्ट घोषणापत्र मार्फत सर्वहारा श्रमजीवीवर्गको मुक्तिको सिद्धान्त माक्र्सवादको प्रतिपादन गर्नुभयो । मार्क्सवादी दर्शनको उत्पत्तिले विश्वमा ठुलो क्रान्ति ल्याइदियो । मार्क्सवाद सर्वहाराक्रान्तिको विज्ञान हो । यो पुँजीवादको प्रारम्भिक अवस्थामा विकसित भएको हो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, अतिरिक्त मूल्यको सिद्धान्त, वर्गसङ्घर्ष, इतिहासमा बल प्रयोगको भूमिका र वैज्ञानिक समाजवाद तथा साम्यवाद यसका आधारभूत मान्यता हुन् ।

प्रकृति, समाज, राज्यव्यवस्था आदि बारेमा कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सले महान् खोज र प्रयोगद्वारा निकाल्नुभएको वैज्ञानिक तथा क्रान्तिकारी विचार, सिद्धान्त र व्यवहारलाई माक्र्सवाद भनिन्छ । मार्क्सवादले पुँजीपतिवर्गको राज्यसत्तालाई ध्वस्त पारी त्यस ठाउँमा सर्वहारा श्रमजीवीवर्गको राज्य व्यवस्था स्थापना गर्ने सही क्रान्तिकारी बाटो देखाउँदछ । मार्क्सवादका भौतिक विशेषताहरू द्वन्द्वात्मक भौतिकवाद, ऐतिहासिक भौतिकवाद, वर्गसङ्घर्ष, अतिरिक्त मूल्यको सिद्धान्त, तल्लो वर्गको जनतामा राज्यको शक्ति निहित, सर्वहारा अधिनायकत्व आदि कुरा हुन् ।

दर्शनको उत्पत्ति र विकास

दर्शनको उत्पत्ति मानवज्ञानको विकास सँगसँगै भएको हो । हालसम्मका वैज्ञानिक आविष्कार तथा प्राप्त तथ्यहरूका अनुसार आजभन्दा करिब १५ अर्ब वर्ष पहिले ब्रह्माण्डको स्वनिर्माण भएको थियो । त्यस्तै करिव ४ अर्ब ६० करोड वर्ष पहिले हाम्रो पृथ्वी सहित सौर्यमण्डलको पनि स्वनिर्माण भएको थियो । आजभन्दा करिव ३ अर्ब ८० करोड वर्ष पहिले जीवनको अस्तित्व देखाप¥यो । त्यस्तै आजभन्दा करिब २० देखि ४० लाख वर्ष पहिले अफ्रिका र दक्षिणपूर्वी एसियाका विभिन्न क्षेत्रमा अस्ट्रलोपिथेकस नाम दिइएको मानवीय गुणयुक्त आदि मानव देखापर्‍यो र आजभन्दा करिब ४० हजार वर्ष पहिले मात्र आधुनिक मानव वा प्रज्ञा मानवको विकास भएको बताइएको छ ।

जब मानिस जङ्गली अवस्थाबाट सामुदायिक जीवनको तहमा आइपुग्यो र उसले सामुदायिक चिन्तन पनि गर्न थाल्यो र मानव समाज वर्गमा विभाजित हुन पुग्यो, त्यसै बखत दर्शनको पनि उत्पत्ति भएको हो । ईसापूर्व प्रथम शताब्दीमा दक्षिण एसियामा उपनिषदिक चिन्तन तथा साङ्ख्य, लोकायत, जैन, बौद्ध आदि दर्शन देखापरे । चीनमा कन्फ्युसियसवाद र ताओवादी दर्शन देखापर्‍यो भने प्राचीन युनानको आयोनिया द्वीपमा चेल्स, अनोक्सिमेन्डर र अनेक्सिमेनसका प्राकृतिक भौतिकवादी दार्शनिक चिन्तनहरू देखापरे ।

थेल्सले पानीलाई, अनेक्सिमेडरले कुहिरोलाई र अनेक्सिमेनसले वायुलाई सृष्टिको आधारमा मान्दथे । ईसापूर्व प्रथम शताब्दीको उत्तराद्र्धमा युनानका दार्शनिकहरू पाइथागोरस, हेराक्लिट्स, डेमोक्रेटस्, एपीकुरस, प्लेटो, अरिस्टोटल आदिले दर्शनशास्त्रको शास्त्रीय रूपरेखाको विकास गरेका थिए । दर्शनशास्त्रको विकासको क्षेत्रमा प्राचीन युनानी दार्शनिक थेल्सलाई पहिलो दार्शनिक मानिन्छ ।

मार्क्सवादको उत्पत्ति र विकास

जब मानव समाज अस्तित्व आयो, त्यसपछि मानव समाजका सर्वोत्तम चिन्तकहरूले ‘मानिसद्वारा मानिसको शोषण र उत्पीडनबाट मुक्त हुने आफ्नो उत्पादनको मालिक आफैँ हुने, खुसी र समृद्धशाली समाजको निर्माण गर्ने’ परिकल्पना गर्दै आएका थिए । यस विषयमा तभाभरवाले विचारकहरूले न्याय र समानताको आधारमा समाजको निर्माण कसरी गर्न सकिन्छ भन्ने विषयमा अनेकौँ थरिका परिकल्पनाहरू सहितका सिद्धान्तहरू प्रस्तुत गर्दै आएका थिए तर त्यस प्रकारका सबै विचार र सिद्धान्त समाज विज्ञानका नियम र वास्तविक परिस्थितिमा आधारित नभई कोरा कल्पनामा आधारित थिए । ती विचारहरूले वास्तविक रूपमा सामाजिक शोषण र उत्पीडनबाट कसरी मुक्त हुने र न्याय र समानतामा आधारित समाजको निर्माण गर्ने भन्ने सम्बन्धमा सटिक र वैज्ञानिक जवाफ दिन सकेका थिएनन् ।

मानव जातिको विकास जब पुँजीवादमा भयो तब सर्वहारावर्गको सङ्घर्ष विकासको प्रमुख वाधक बन्यो । ऐतिहासिक आवश्यकताको रूपमा वर्गीय शोषण र उत्पीडनमा मुक्त हुन उपाय र न्यायपूर्ण समाजमा सङ्क्रमण हुने नियम, तरिका र तिनका रूपहरूका बारेमा घोषणा गर्दै आजभन्दा १६४ वर्ष पहिले कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सले सन् १८४८ फ्रेबुअरी १२ का दिन विश्वविख्यात कम्युनिस्ट घोषणापत्रले अभिव्यक्त गरेको विचार र सिद्धान्तले विश्वभरिका मजदूर तथा सर्वहारावर्गको हितलाई वैज्ञानिक आधारमा पुष्टि गर्ने काम गर्‍यो । मार्क्स–एङ्गेल्सद्वारा जारी गरिएको यस घोषणापत्रको आधारमा संसारभरका कम्युनिस्ट क्रान्तिकारीहरूले आ–आफ्नो मुलुकको सामाजिक वस्तुस्थितिको विश्लेषण गर्दै त्यस सिद्धान्तलाई लागु गर्ने प्रयत्न गर्दै आएका छन् ।

यो क्रान्तिको विज्ञान सम्बन्धी कम्युनिस्ट घोषणापत्रको निर्माण गर्नुभन्दा पहिले पहिले उनीहरूले आफूभन्दा पूर्ववर्ती दार्शनिक, आर्थिक, सामाजिक ज्ञानको प्रसस्त अध्ययन गरेर त्यसैको निष्कर्षको रूपमा माक्र्सवादको प्रतिपादन भयो । यसमा शास्त्रीय दर्शन, अङ्ग्रेजी अर्थशास्त्र र फ्रान्सेली समाजवादको उच्च विकास र मार्क्स र एङ्गेल्समा रूपमा ऐतिहासिक प्रतिभाको समन्वयले मार्क्सवादको प्रादुर्भावमा पृष्ठिभूमिको काम गर्‍यो । माथि पनि भनिएको छ– माक्र्सवादको जन्म पुँजीवादको विकासको प्रारम्भिक अवस्थामा भएको हो र मार्क्सवादले जर्मन शास्त्रीय दर्शन, अङ्ग्रेजी राजनीतिक अर्थशास्त्र र फ्रान्सिसी समाजवादलाई संश्लेषण गर्नुभयो र यसै प्रक्रियामा मार्क्सवादको जन्म भयो ।

मार्क्सवाद एउटा वैज्ञानिक सिद्धान्त हो । मार्क्सवाद एउटा समाज विज्ञान पनि हो । माक्र्सवादी दर्शन द्वन्द्वात्मक भौतिकवादी दर्शन हो । माक्र्सवाद द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी विश्वदृष्टिकोणमा आधारित छ । माक्र्सवादी दर्शनका दुई भाग छन्– द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद । माक्र्सवादी दर्शनको मानव चिन्तनको उज्ज्वल तथा प्रगतिशील परम्परालाई आत्मसात गरेर भएको हो । यस विषयमा लेनिनले भन्नुभएको छ– ‘मार्क्सवादको जन्म विश्व सभ्यताको अञ्जान गल्तीबाट भएको होइन । मार्क्सवादी दर्शन आदिमकालमा सर्वाधिक प्रगतिशील मतहरू, सिद्धान्तहरू र विचारधाराहरूको प्रत्यक्ष सिलसिला हो ।’

वर्गीय समाजमा प्रत्येक दर्शन वर्गदर्शन रहने कुरा मार्क्सवादी दर्शनको सम्बन्धमा पनि लागु हुन्छ । मार्क्सवाद दर्शन पनि एउटा वर्ग दर्शन हो तर यो अन्य दर्शन झैँ अल्पसङ्ख्यकहरूको, शोषणहरूको दर्शन नभएर बहुसङ्ख्यक सर्वहारा श्रमजीविहरूको दर्शन हो । यसलाई स्टालिनले माक्र्सवादी लेनिनवादी पार्टीको विश्वदृष्टिकोणका रूपमा परिभाषित गर्नुभएको छ । एक पूरै वैज्ञानिक दर्शनका रूपमा माक्र्सवादी दर्शनले पुरानो पुँजीवादी विश्वको विनास र नयाँ साम्यवादी विश्वको सिर्जनाको लागि अर्थात् विश्वको आमूल रूपान्तरणको लागि जब्बर सैद्धान्तिक जग प्रदान गरेको छ अर्थात् विश्वको क्रान्तिकारी रूपान्तरण गर्ने ऐतिहासिक जिम्मेवारी वहन गरेको सर्वहारावर्गको प्रयासलाई मार्क्सवादी दर्शनले सैद्धान्तिक, न्यायोचितताको आधार र निर्देशन प्रदान गरेको छ । त्यसमा विश्व सर्वहारावर्गको संसारलाई विकसित बुझ्ने र त्यसलाई बदल्ने एक अचूक बौद्धिक अस्त्र भेटाएको छ । यस विषयमा लेनिनले यसरी दर्शाउनुभएको छ– ‘मार्क्सवादको दर्शन एउटा यस्तो परिपूर्ण दार्शनिक भौतिकवाद हो जसले मानव जातिलाई र खास रूपले मजदूरवर्गलाई ज्ञानका शक्तिशाली औजार प्रदान गरेको छ ।’

जसले जीवन र जगत्लाई फेर्न चाहन्छ, विद्यमान यथार्थलाई फेरेर नयाँ यथार्थको निर्माण गर्न चाहन्छ, त्यसले संसारलाई बुझ्नुपर्दछ । त्यसलाई फेर्ने तरिका जान्नुपर्दछ । यही सामथ्र्य माक्र्सवादी दर्शनले मात्र उसलाई दिन्छ । मानव समाजमा सर्वहारावर्ग सबैभन्दा ठुलो शक्तिशाली र सचेत वर्ग हो । यस वर्गको लागि दर्शनको कत्रो महत्व रहेको हुन्छ भन्ने कुरालाई स्वयम् कार्ल मार्क्सले यसरी व्याख्या गर्नुभएको छ– ‘जसरी दर्शनले सर्वहारावर्गमा आफ्नो भौतिक हतियार भेटाउँछ, त्यसरी नै सर्वहारावर्गले दर्शनमा आफ्नो बौद्धिक हतियार भेटाउँछ’ त्यसैगरी मार्क्सवादको– दार्शनिक पक्षको महत्त्वलाई माओत्सेतुङ्ले यसरी दर्शाउनुभएको छ– ‘मार्क्सवाद ज्ञानका अनेक शाखाहरूबाट बनेको छ, माक्र्सवादी दर्शन, मार्क्सवादी अर्थशास्त्र र माक्र्सवादी समाजवाद अर्थात् वर्गसङ्घर्षको सिद्धान्त तर जग चाहिँ माक्र्सवादी दर्शन हो । यदि त्यसलाई मनन गरिँदैन भने हाम्रो एउटा कुनै साझा भाषा वा साझा तरिका हुनेछैन । हामी चीजहरूलाई स्पष्ट नपारीकन यताउताको कुराको तर्क मात्र गरिरहेका हुनेछौँ । द्वन्द्वात्मक भौतिकवादलाई मनन गरिसकेपछि थुपै्र दुःखकष्टबाट जोगिनेछ र धेरै गल्तीहरू हट्नेछन् ।’

पुरानो संसारलाई विनष्ट पारी त्यसको लासमा नयाँ वर्गविहीन संसारको रचना गर्न सर्वहारा श्रमजीविवर्गको लागि माक्र्सवाद अचूक, अमोघ, अजय अस्त्र बन्न पुग्यो । क्रान्तिको विज्ञानको रूपमा माक्र्सवाद विश्व क्रान्तिकारी आन्दोलनको व्यवहारसँगै निरन्तर विकसित भइरहेको छ ।
मार्क्सवाद सर्वहारावर्गको मुक्तिको सिद्धान्त बन्न पुगेपछि सर्वहारावर्गले आफ्नो मुक्तिको सिद्धान्तको प्रतिपादन र विकासको कामलाई तीन ऐतिहासिक चरणमा सम्पन्न गरेको छ– जस्तै मार्क्सवादी चरण, लेनिनवादी चरण र माओवादी चरण ।

हामीले विशेष रूपले बुझ्ने कुरा के हो भने संसारलाई बदल्ने ऐतिहासिक जिम्मेवारी वहन गरिरहेको सर्वहारावर्गको सिद्धान्तको जन्म र विकासका दृष्टिले यी तीनवटै चरणको विशेष ऐतिहासिक महत्व छ । मार्क्सवादले जर्मन शास्त्रीय दर्शन, अङ्ग्रेजी राजनीतिक अर्थशास्त्र र फ्रान्सिसी समाजवादलाई संश्लेषण गर्नुभयो र यसै प्रक्रियामा माक्र्सवादको जन्म भयो । मार्क्सवाद विश्वक्तान्तिको इतिहासमा एक युगान्तकारी परिघटना हो । साथै, यसको चरणबद्ध विकासको क्रममा लेनिनवादी तथा माओवादी चरणमा पनि यस प्रकारको सिद्धान्तका तीनवटै सङ्घटक अङ्गको विकास गर्ने काम भएको छ ।

मार्क्सवादको प्रतिपादन र त्यसको विकास र रक्षा गरिरहेको बेला माक्र्स र एङ्गेल्सले सर्वहारावर्गको नेतृत्वमा समाजवादी क्रान्ति एउटा देशमा मात्र नभएर इङ्ल्यान्ड, फ्रान्स, जर्मनी जस्ता औद्योगिक विकास भएका पुँजीवादी देशहरूमा एकैसाथ हुने कुरा बताउनुभएको थियो तर लेनिनले पुँजीवादको चरम अवस्था साम्राज्यवाद भएको र साम्राज्यवादको उदयको स्थितिमाथि ध्यान दिँदै त्यसको अनिवार्य परिणाम युद्ध हुने र साम्राज्यवाद समाजवादी क्रान्तिको पूर्वबेला बन्न जाने स्थितिको विश्लेषण गर्दै एउटा देशमा पनि समाजवादको जित हुन सक्छ भन्ने मान्यता प्रस्तुत गर्नुभयो । त्यसै अनुरूप सशस्त्र विद्रोह मार्फत सन् १९१७ मा रूसमा महान् अक्टुबर समाजवादी क्रान्ति पनि सम्पन्न भयो । यसरी लेनिनवाद साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको मार्क्सवाद बन्न पुग्यो ।

यसरी लेनिनवाद मार्क्सवादको प्रयोग र विकास मात्र होइन, सिद्धान्त र व्यवहारबीच द्वन्दात्मक एकरूपता कायम गर्न गरी विश्व क्रान्तिको इतिहासमा नयाँ अध्याय थप्न पनि सफल भएको छ किनकि मार्क्सवादको गुणात्मक विकासको दोस्रो चरण लेनिनवाद हो र पुँजीवादले साम्राज्यवादमा प्रवेश गर्नु, उत्पादक शक्ति सर्वहारा आन्दोलन तथा ज्ञान–विज्ञानका विविध क्षेत्रमा थप प्रगति हुँदै जानु र यस प्रकारको नयाँ परिस्थिति गर्नुपर्ने ऐतिहासिक आवश्यकताका बीचबाट लेनिनवादको जन्म भएको हो ।

त्यसैगरी चीनमा विशिष्ट परिस्थितिमा मार्क्सवाद–लेनिनवादको सृजनात्मक रूपमा प्रयोग गर्ने क्रममा माओको नेतृत्वमा अर्धसामन्ती तथा अर्धऔपनेवेशिक अवस्थामा रहेको चीनमा नयाँ जनवादी क्रान्ति सम्पन्न भयो र समाजवादी क्रान्तिको प्रक्रियालाई अगाडि बढाइयो । अर्धसामन्ती तथा अर्धऔपनेवेशिक देशहरूमा सर्वहारावर्गको नेतृत्वमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने र समाजवादी क्रान्तिलाई सर्वहारावर्गको अधिनायकत्व अन्तर्गत निरन्तरता दिँदै महान् सर्वहारा सांस्कृतिक क्रान्ति सम्पन्न गर्ने ऐतिहासिक प्रक्रियामा चीनमा मात्र होइन, विश्वक्तान्तिकै लागि समेत माओको विशिष्ट योगदान रहेको छ किनकि मार्क्सवाद–लेनिनवादको गुणात्मक विकास तेस्रो र नयाँ चरण माओवाद हो ।

सामन्तवाद–साम्राज्यवादी शोषणको दोहोरो उत्पीडनबाट आक्रान्त अविकसित देशहरूमा क्रान्तिका समस्याहरूको समाधान गर्नुपर्ने रुस, पूर्वी युरोपका कैयौँ देशहरूमा पुँजीवादको पुनःस्थापनाका कारणहरूको खोज, अनुसन्धान गरी त्यसबाट शिक्षा लिनुपर्ने तथा त्यसबाट उत्पन्न समाजवादी समाजका अन्तर्विरोधहरूको समाधान गर्नुपर्ने र आधुनिक संशोधनवादका विरूद्धको लडाइँँ लड्नुपर्ने ऐतिहासिक आवश्यकताको पृष्ठभूमिमा माओद्वारा मार्क्सवाद–लेनिनवादको थप परिमार्जन तथा विकास गरी त्यसलाई मार्क्सवाद–लेनिनवाद–माओवादको तेस्रो नयाँ र गुणात्मक उचाइमा पुर्‍याउने काम भएको हो ।

मार्क्सवादको जन्म र विकास

सन् १८४७ नोभेम्बरमा लन्डनमा कम्युनिस्ट लिगको दोस्रो सम्मेलनको आयोजना गरिएको थियो । उक्त सम्मेलनमा कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्स सहभागी हुनुभएको थियो । कम्युनिस्ट लिगको उक्त दोस्रो सम्मेलनले मार्क्स र एङ्गेल्सलाई कम्युनिस्ट घोषणापत्रको मस्यौदा तयार पार्ने जिम्मा दिएको थियो । मार्क्स र एङ्गेल्सले एक वर्ष लगाएर कम्युनिस्ट घोषणापत्रको मस्यौदा तयार पार्नुभयो र सन् १८४८ फेब्रुअरी १२ का दिन विश्वविख्यात कम्युनिस्ट घोषणापत्र जारी गर्नुभयो जो समग्रमा मार्क्सवादका रूपमा प्रतिपादित हुन पुग्यो र मार्क्सवाद विश्व सर्वहारावर्गको मुक्तिको सैद्धान्तिक अस्त्र बन्न पुग्यो ।

मार्क्सवाद सर्वहारा क्रान्तिको विज्ञान हो । यो पुँजीवादको प्रारम्भिक अवस्थामा विकसित भएको हो । यसका दर्शन, राजनीतिक अर्थशास्त्र र समाजवाद गरी तीन सङ्घटक अङ्ग रहेका छन् । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, अतिरिक्त मूल्यको सिद्धान्त, वर्गसङ्घर्ष तथा इतिहासमा बल प्रयोगको भूमिका र वैज्ञानिक समाजवाद तथा साम्यवाद यसका आधारभूत मान्यता हुन् अर्थात् प्रकृति, समाज, राज्य व्यवस्था आदिबारे कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सले महान् खोज र प्रयोगद्वारा निकाल्नुभएको वैज्ञानिक तथा क्रान्तिकारी विचार, सिद्धान्त र व्यवहारलाई मार्क्सवाद भनिन्छ । मार्क्सवादले पुँजीपति वर्गको राज्य व्यवस्थालाई ध्वस्त पारी त्यस ठाउँमा सर्वहारा श्रमजीविवर्गको राज्य व्यवस्था स्थापना गर्ने सही तथा क्रान्तिकारी बाटो देखाउँछ । मार्क्सवादको दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन हो । यो दर्शनको सिद्धान्त भौतिकवाद हो ।

मार्क्सवादी चरण

मार्क्सवादको अहिले मार्क्सवाद–लेनिनवाद–माओवादमा गरी तीन गुणात्मक चरणमा विकसित भइसकेको छ । मार्क्सवादको बारेमा माथि नै बताइएको छ । लेनिनको भनाइ अनुसार मार्क्सवाद भनेको मार्क्सका विचार उनका शिक्षाको व्यवस्थित शृङ्खला हो । मार्क्सवादको निर्माण दर्शन, राजनीतिक अर्थशास्त्र र समाजवादका तीन सङ्घटक तत्वहरूको संश्लेषणबाट भएको छ । मार्क्सवादको दर्शन द्वन्द्वात्मक तथा भौतिकवादी दर्शन हो । यसले पदार्थ, प्रकृति वा सामाजिक सत्तालाई पहिलो र चेतना विचार वा सामाजिक चेतनालाई दोस्रो स्थानमा राख्छ । यसले चेतनालाई वस्तुजगत्को आत्मिक प्रतिबिम्बन मान्दछ र विश्वलाई बोधगम्य बताउँछ । माक्र्सवादी दर्शनको पद्धति द्वन्द्वात्मक हो । माक्र्सको राजनीतिक अर्थशास्त्र श्रमको मूल्य सिद्धान्त र अतिरिक्त मूल्यको सिद्धान्तमा आधारित रहेको छ । मार्क्सको वैज्ञानिक समाजवाद वर्गसङ्घर्ष, इतिहासमा बल प्रयोगको भूमिका, सर्वहारावर्गको अधिनायकत्व र साम्यवादका आधारभूत मान्यताद्वारा निर्मित भएको हो ।

लेनिनवादी चरण

मार्क्सवादको गुणात्मक विकासको दोस्रो चरण लेनिनवाद हो । पुँजीवादले साम्राज्यवादमा प्रवेश गर्नु, उत्पादक शक्ति, सर्वहारा आन्दोलन तथा ज्ञान–विज्ञानका विविध क्षेत्रमा थप प्रगति हुँदै जानु र यस प्रकारको नयाँ परिस्थिति अनुरूप मार्क्सवादलाई नयाँ उचाइमा विकसित गर्नुपर्ने ऐतिहासिक आवश्यकताका बिचबाट लेनिनवादको जन्म भएको हो । साम्राज्यवाद र संशोधनवादको चिरफार गर्दै क्रान्तिका कामहरूलाई अगाडि बढाउनुपर्ने आवश्यकताको परिपूर्ति लेनिनवादबाट भयो । लेनिनले सुरूमा सन् १९१७ मा महान् अक्टुबर समाजवादी क्रान्ति सम्पन्न गरेर मार्क्सवादको सफल प्रयोग गर्नुभयो । यसैक्रममा लेनिनले सन् १९१९ मा तेस्रो अन्तर्राष्ट्रियको गठन गर्नुभयो ।

लेनिनवादका बारेमा स्टालिन भन्नुहुन्छ– ‘लेनिनवाद भनेको साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको मार्क्सवाद हो । अझ खसोखास भन्ने हो भने लेनिनवाद भनेको सामान्यतः सर्वहारा क्रान्तिको सिद्धान्त तथा कार्यनीति विशेषतः सर्वहारावर्गको अधिनायकत्वको सिद्धान्त र कार्यनीति हो ।

लेनिनवादका शिक्षाका बारेमा माओ भन्नुहुन्छ– लेनिनवादको सिद्धान्तले मार्क्सवादको विकास गरेको छ । यो कुन कुराको सन्दर्भमा भएको छ भने प्रथम विश्वदृष्टिकोणमा, भौतिकवाद र द्वन्द्ववादमा द्वन्द्वात्मक क्रान्तिकारी सिद्धान्त र कार्यनीतिमा विशेषतः वर्गसङ्घर्ष सर्वहारावर्गको अधिनायकत्व र सर्वहारावर्गको राजनीतिक पार्टीका प्रश्नहरूमा र यसका साथै समाजवादी निर्माणमा लेनिनका शिक्षाहरू रहेका छन् । अन्ततः माक्र्सवादी–लेनिनवादी विश्वदृष्टिकोणलाई क्रान्तिको कार्यदिशासँग गाँस्ने वर्गदुश्मन तथा संशोधनवादका विरूद्ध वर्गसङ्घर्ष र दुईलाइन सङ्घर्षका समस्याहरूको समाधान गर्दै समाजवादको स्थापना तथा निर्माण गर्नेक्रममा लेनिनको भूमिका अद्वितीय रहेको छ ।

माओवादी चरण

मार्क्सवाद–लेनिनवादको गुणात्मक विकासको तेस्रो र नयाँ चरण माओवाद हो । सामन्तवादी–साम्राज्यवादी शोषणको दोहोरो उत्पीडनबाट आक्रान्त, अविकसित देशहरूमा क्रान्तिका समस्याहरूको समाधान गरिनुपर्ने, स्टालिनको मृत्यु पश्चात रूस एवम् पूर्वी यूरोपका कैयौँ देशहरूमा पुँजीवादको पुनर्स्थापनाका कारणहरूको खोज गरी त्यसबाट शिक्षा लिनुपर्ने तथा त्यसबाट उत्पन्न समाजवादी समाजका अन्तर्विरोधहरूको समाधान गर्नुपर्ने र आधुनिक संशोधनवादका विरूद्धको लडाइँँ लड्नुपर्ने ऐतिहासिक आवश्यकताको पृष्ठभूमिमा माओद्वारा मार्क्सवाद–लेनिनवादको थप परिमार्जन तथा विकास गरी त्यसलाई मार्क्सवाद–लेनिनवादको तेस्रो, नयाँ र गुणात्मक उचाइमा पुर्‍याउने काम भयो ।

द्वन्द्वात्मक भौतिकवादको सारतत्वको रूपमा अन्तर्विरोधको नियम, विपरीतहरूको एकताको नियमको उद्घाटन र व्याख्या एकको दुईमा विभाजन हुन्छ भन्ने कुराको समृद्ध व्याख्या र प्रयोग ज्ञान–सिद्धान्तको क्षेत्रमा पदार्थको चेतना र चेतनाको पदार्थमा रूपान्तरणको दुई छलाङको सिद्धान्तको विकास र व्याख्या, आधार र उपरीसंरचना, उत्पादक शक्ति र उत्पादन सम्बन्ध, सिद्धान्त र व्यवहारबीचको द्वन्द्वात्मक सम्बन्धको व्याख्या, विवेचना र परिमार्जन, नयाँ जनवाद, दीर्घकालीन जनयुद्ध, नोकरशाही पुँजीवाद, सर्वहारा अधिनायकत्व अन्तर्गत क्रान्तिको निरन्तरताको सिद्धान्त तथा महान् सर्वहारा सांस्कृतिक क्रान्तिको सिद्धान्तको प्रतिपादन तथा प्रयोग, वर्ग सङ्घर्षलाई मुख्य कडी मान्ने, दर्शनलाई जनसमुदायमा पुर्‍याउनुपर्ने कुरामा जोड, विश्वदृष्टिकोण र कार्यदिशा बिचको अन्तर्सम्बन्धको प्रस्तुति, वर्गसङ्घर्ष तथा दुईलाइन सङ्घर्षको समस्याहरूको समाधानका लागि रणनीति तथा तथा कार्यनीतिको विकास र संशोधनवादका विरूद्ध निर्मम सङ्घर्ष आदिमा माओको योगदान अद्वितीय रहेको छ । अतः माक्र्सवाद–लेनिनवाद–माओवाद आज विश्वसर्वहारावर्गको मुक्तिको सैद्धान्तिक अस्त्र र पथप्रदर्शक सिद्धान्त बन्न पुगेको छ । माक्र्सवाद–लेनिनवाद–माओवादलाई आफ्नो पथप्रर्दशक सिद्धान्त स्वीकार नगर्नेहरू सच्चा क्रान्तिकारी कम्युनिस्ट नै बन्न सक्दैनन् । मार्क्सवाद–लेनिनवाद–माओवादलाई आफ्नो पार्टीको मार्गदर्शक सिद्धान्त र पथप्रर्दशक सिद्धान्त नबनाउने पार्टीहरू क्रान्तिकारी पार्टी बन्नै सक्दैनन् ।

संशोधनवादको जन्म र विकास

संशोधनवाद भनेको पुँजीवाद हो । यसको स्रोत व्यक्तिवाद, निम्न पुँजीवाद, पुँजीवाद र साम्राज्यवाद हो । व्यक्तिवाद भनेकै पुँजीवाद र साम्राज्यवाद हो । वर्गसङ्घर्ष, सशस्त्र सङ्घर्ष तथा सर्वहारा अधिनायकत्वको परित्याग र मार्क्सवादका आधारभूत सैद्धान्तिक मान्यताहरूको तोडमरोड तथा अपव्याख्या गर्नु नै संशोधनवाद हो । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा मार्क्सवादी र संशोधनवादी कार्यदिशाका बीचमा भीषण सङ्घर्ष चल्दै आएको छ ।

संशोधनवादको सङ्घर्ष पहिलो इन्टरनेसनल कालमा अराजकतावाद र अवसरवादका विरुद्ध परिलक्षित रहेको थियो भने दोस्रो अन्तर्राष्ट्रिय कालमा मुख्यतः पुँजीवादको साम्राज्यवादमा परिणत भइसकेपछिको अवस्थामा खुलेर प्रकट भएको थियो । त्यस्तै, तेस्रो अन्तर्राष्ट्रियदेखि यता मार्क्सवाद–लेनिनवाद–माओवादको विकाससितै संशोधनवाद पनि शास्त्रीय संशोधनवाद, आधुनिक संशोधनवाद, नवसंशोधनवाद समेत विभिन्न रूपमा प्रकट हुँदै आएको छ ।

अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा प्रकट हुँदै आएका सबैखाले संशोधवादको प्रभाव नेपालको कम्युनिस्ट आन्दोलन पनि पर्दै आएको छ । नेपाली कम्युनिस्ट आन्दोलनमा अवसरवाद, दक्षिणपन्थी संशोधनवाद, आधुनिक संशोधनवाद र नवसंशोधनवादको रूपमा प्रकट हुँदै आएको छ । यस आन्दोलनको पछिल्लो कडीको रूपमा एमाओवादीका नेता प्रचण्ड–बाबुराममा प्रकट भएको नवसंशोधनवाद सबैभन्दा खतरनाक प्रवृत्तिका रूपमा प्रकट भएको छ र यसले वर्तमान नेपाली कम्युनिस्ट आन्दोलन र नेपाली क्रान्तिलाई समेत गम्भीर क्षति पुर्‍याइरहेको छ । नेपालमा मार्क्सवादी र संशोधनवादी कार्यदिशाका बीचमा भीषण दुईलाइन सङ्घर्ष तथा विचारधारात्मक अन्तर्सङ्घर्ष चल्दै आएको छ र यसले नेपाली कम्युनिस्ट आन्दोलनमा टुटफुट पैदा गर्दै आएको छ ।

अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका समृद्ध ऐतिहासिक अनुभव र तथ्यहरूमा आधारित भएर अर्थात् दुई गुणात्मक ढङ्गले भिन्न सिद्धान्त मार्क्सवाद–लेनिनवाद–माओवादको विकास र शास्त्रीय संशोधनवाद, आधुनिक संशोधनवाद, नवसंशोधनवादको प्रतिक्रियावादमा पतनको सारतत्त्वमाथि ध्यान दिनु आवश्यक हुन्छ ।

मार्क्सवाद सर्वहारा क्रान्तिको वैज्ञानिक सिद्धान्त हो यसका तीन सङ्घटक अङ्ग छन् । ती हुन्– दर्शन, राजनीतिक, अर्थशास्त्र र समाजवाद । मार्क्सवादको दर्शन द्वन्द्वात्मक एवम् ऐतिहासिक भौतिकवाद हो । मानव जातिको इतिहासको विकास प्रक्रियाको आर्थिक नियमहरूको भौतिकवादी अध्ययन गर्ने विज्ञानको नाम राजनीतिक अर्थशास्त्र हो । समाजवाद अन्तर्गत वर्ग– वर्गसङ्घर्ष, पार्टी, राज्यसत्ता, सर्वहारा अधिनायकत्व र ती सबैको विलुप्तिको वैज्ञानिक अध्ययन गरिन्छ ।

सर्वहारा क्रान्तिको यो वैज्ञानिक सिद्धान्त तमाम प्रकारका आदर्शवाद, अधिभूतवाद र कल्पनावादका विरूद्ध खडा छ । यो वैज्ञानिक सिद्धान्तसित सामना गर्न सक्ने क्षमता आज कसैसँग छैन । यो वैज्ञानिक र गतिशील सिद्धान्त भएकोले आज यो मार्क्सवाद–लेनिनवाद र माओवादका रूपमा विकसित भएको छ ।

यहाँनेर बुझ्नैपर्ने कुरा के हो भने माक्र्सवादको संशोधन, अपव्याख्या र पुनर्विचार गर्नु संशोधनवाद हो । मार्क्सवादको सैद्धान्तिक विजयको कारण आफ्नो पृथक अस्तित्व धान्न असमर्थ तमाम प्रकारका अवसरवादी तथा काल्पनिक समाजवादी धाराहरू माक्र्सवादको वैज्ञानिक धाराभित्र जब घुस्न पुग्छन्, त्यो बेला संशोधनवादको जन्म हुन्छ । मार्क्सवादको जन्मको लगत्तै प्रुंधोजस्ता अवसरवादीहरूको जन्म भयो । मार्क्सवादलाई पुरानो भइसकेको जडसूत्रवादी सिद्धान्त बताउँदै यसको संशोधन र पुनर्विचारको प्रस्तावना पेस गर्ने पहिलो व्यक्ति बर्नस्टाइन हुन् ।

अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा संशोधनवादका दक्षिणपन्थी, उग्रपन्थी एवम् मध्यपन्थी रूपहरू विभिन्न कालखण्डमा देखापर्दै आएका छन् र यिनमा दक्षिणपन्थी संशोधनवाद–नवसंशोधनवाद नै अधिक विकृतिपूर्ण एवम् खतरनाक रहिआएको छ । संशोधनवादको शास्त्रीय संशोधनवाद–आधुनिक संशोधनवाद–नवसंशोधनवाद–प्रतिक्रान्तिको बाटो हुँदै प्रतिक्रियावादका रूपमा पतन हुन पुगेको छ । यी सबैखाले संशोधनवाद अन्तर्राष्ट्रिय परिघटनाका परिणाम हुन् जसको जन्म आधुनिक समाजको वर्गीय परिवेशमा हुन्छ । हरेक देशमा क्रान्तिका विशेषतासँगै सबैखाले संशोधनवादहरूले पनि आफ्ना विशिष्टताहरू जाहेर गर्ने गर्दछन् । सामाजिक र सैद्धान्तिक विशेषताहरू सहित संशोधनवादको जन्म हुने गर्दछन् । ऐतिहासिक तथ्यहरूले के पुष्टि गरेका छन् भने संशोधनवादको सामाजिक स्रोत निम्न पुँजीवाद र साम्राज्यवाद हो । संशोधनवादको साम्राज्यवादसँग घनिष्ट सम्बन्ध रहँदै आएको छ ।

साम्राज्यवादको जन्म इङ्ल्यान्डबाट भएको हो । जब साम्राज्यवाद अन्य देशहरूमा फैलँदै गयो, त्यसको प्रभावको कारण ती देशहरूमा पनि संशोधनवाद फैलिन पुग्यो । जर्मनीको लासाल र लासालवादीहरूमा पनि अनेकौँ अवसरवादी विकृतिहरू पैदा हुँदै गएको कुराबारे माक्र्स–एङ्गेल्सले उदघाटन गर्नुभएको छ । सैद्धान्तिक दृष्टिले हेर्दा संशोधनवादको वैचारिक स्रोत निम्न पुँजीवाद, पुँजीवाद र साम्राज्यवादी विचारधारा नै हो । संशोधनवादले मार्क्सवादका सङ्घटक अङ्गको बारेमा दर्शन, राजनीति अर्थशास्त्र र समाजवाद तीनवटै सङ्घटक अङ्गलाई संशोधित एवम् विकृत पार्दै आउने काम गरेको छ ।

दर्शनका क्षेत्रमा कान्टवाद, पत्यक्षवाद, अनुभववाद, व्यावहारिकतावाद, सङ्कल्पवाद, भँडुवावाद, विकासवाद र नानाथरिका विचारपन्थी सारसङ्ग्रहवादलाई आत्मसात गर्दै आएको छ । द्वन्द्वात्मक एवम् ऐतिहासिक भौतिकवादका विरूद्ध यसले अधिभूतवाद र आदर्शवादको पक्षपोषण गर्ने गर्दछ । राजनीतिक अर्थशास्त्रको क्षेत्रमा पुँजीवादी सङ्कट तथा मूल्य सिद्धान्तको विरोध गर्नु, साम्राज्यवादलाई प्रगतिशील देख्नु, नियोजित अर्थतन्त्रका विरूद्ध अराजक स्वतः स्फुर्तवादी उत्पादक शक्तिको सिद्धान्त अँगाल्नु यसका मूलभूत पक्ष हुन् ।

समाजवादको क्षेत्रमा यसले वर्गसङ्घर्ष, सर्वहारा अधिनायकत्व र हिंसापूर्ण क्रान्तिको सिद्धान्तको विरूद्ध वर्गसमन्वय पुँजीवादी अधिनायकत्व र शान्तिपूर्ण सङ्क्रमणको सिद्धान्त अवलम्बन गर्दछ र मजदूर आन्दोलनलाई सुधारवादी, संसदवादी भासमा फसाउने यसका मूल विशेषता हुन् । हामीले प्राप्त गरेको ज्ञान के हो भने अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको इतिहासमा सर्वहारा क्रान्तिको सिद्धान्तको विकास जसरी मार्क्सवाद–लेनिनवाद–माओवादका तीन गुणात्मक चरणमा भएको छ, त्यसरी नै संशोधनवाद पनि शास्त्रीय संशोधनवाद–आधुनिक संशोधनवाद–नवसंशोधनवाद–प्रतिक्रियावादका रूपमा विकृत हुन पुगेको छ । सर्वहारा क्रान्तिको विकास वर्ग दुश्मनहरू, उनीहरूको विचारधारा तमाम अराजकतावादी तथा अवसरवादीहरू र नवसंशोधनवादीका विरूद्धको भीषण वर्गसङ्घर्ष र अन्तरसङ्घर्षको दुईलाइन सङ्घर्षका बिचबाट निकै जटिल, सङ्गीन र ओजपूर्ण रहेको छ ।

मार्क्सवाद इतिहास विज्ञानको महान् खोज थियो । वर्गसङ्घर्षको सर्वहारा अधिनायकत्वमा विकास र साम्यवादको स्थापना त्यसको खोजको केन्द्रीय कडी सर्वहारावर्गको अधिनायकत्व थियो । अराजकतावादीहरूले मार्क्सवादको त्यसै केन्द्रीय कडीमाथि प्रहार गरेका थिए । लासालवादीहरूको जोड त्यसै केन्द्रीय कडीका विरूद्ध स्वतन्त्र राज्यको पक्षपोषण गर्नु र स्वतन्त्रता, समानता, न्याय तथा भातृत्वका पुँजीवादी नारालाई अलङ्कृत गर्नु थियो । त्यसका निम्ति लासालवादीहरूले पार्टीमा विजातिय तत्वलाई भर्ने र पार्टीको वैचारिक बन्ध्याकरण गर्ने कुरामा पुरा जोड दिएका थिए । मार्क्स–एङ्गेल्सले ती सबका विरूद्ध लड्दै माक्र्सवादी सिद्धान्त, रणनीति तथा कार्यनीति र त्यसको संवाहक पार्टीलाई समेत स्थापित गर्नुभएको थियो ।

दोस्रो अन्तर्राष्ट्रिय कालमा बर्नस्टिनले तमाम काल्पनिक तथा अवसरवादी विचारहरूलाई समेट्दै तथा वर्गसङ्घर्ष, सर्वहारा अधिनायकत्व र हिंसापूर्ण क्रान्तिको सिद्धान्तका विरूद्ध वर्गसमन्वय, बालिक मताधिकार, पुँजीवादी अधिनायकत्व र शान्तिपूर्ण सङ्क्रमणको सिद्धान्तको वकालत गर्दै शास्त्रीय संशोधनवादको जग बसालेको थियो । यस अवधिमा अर्थवाद, मेन्से विकवाद, विर्सजनवाद, काउत्स्कीवाद लगायतका संशोधनवादका विविध रूपहरू प्रकट भएका थिए । गद्दार काउत्स्कीले बर्नस्टाइनको पदानुशरण गर्दै सर्वहारा अधिनायकत्व र बल प्रयोगको सिद्धान्तका विरूद्ध शुद्ध जनवादको पक्षपोषण गरेको थियो र उसले साम्राज्यवादलाई प्रगतिशील समेत बताएको थियो ।

आधुनिक संशोधनवादको सुत्रपात मुख्यतः ख्रुश्चेवबाट भयो । उसले सम्पूर्ण जनताको पार्टी, सम्पूर्ण जनताको राज्य र शान्तिपूर्ण सङ्क्रमणको सिद्धान्त अवलम्बन गर्दै तथा वर्गसङ्घर्ष सर्वहारावर्गको अधिनायकत्व र सशस्त्र सङ्घर्षको विरूद्ध भीषण हमला बोल्दै रूसमा पुँजीवादको स्थापना गर्‍यो । ख्रुश्चेवदेखि मिखाइल गोर्भाचोभसम्म आउँदा आधुनिक संशोधनवाद, सामाजिक फासीवादका रूपमा गिर्न पुग्यो । पछिल्लो अवधिमा आउँदा कामरेड माओत्सेतुङ्ले एकातिर अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको गहन अध्ययन र अर्कोतिर स्वयम् चीनमै जटिल बन्दै गइरहेको पुँजीवादको पुनर्स्थापना रोक्नको लागि सर्वहारा अधिनायकत्व अन्तर्गत निरन्तर क्रान्ति जारी राख्ने सिद्धान्त प्रतिपादन गरी महान् १० वर्षे सर्वहारा सांस्कृतिक क्रान्ति सञ्चालन गर्नुभयो ।

चीनको नयाँ जनवादी क्रान्तिदेखि आजसम्म आइपुग्दा दर्शन, राजनीतिक अर्थशास्त्र र समाजवाद तीनवटै क्षेत्रमा मार्क्सवाद–लेनिनवादको तेस्रो गुणात्मक शिखरका रूपमा माओवादको विकास भयो । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन यसरी मार्क्सवाद र संशोधनवादको भीषण द्वन्द्वको बीचबाट गुज्रदै आउँदा क्रान्ति र प्रतिक्रान्तिका जित र हारका अनेकौँ घट्नाहरू घटिसकेका छन् ।

सारमा संशोधनवादीहरूले क्रान्तिकारीहरूलाई उग्रवादी, आतङ्कवादी, जडसूत्रवादी आदि भनेर बदनाम मात्र गरेका छैनन्, भीषण भौतिक हमलासम्म गर्न पुगेका छन् । वास्तवमा संशोधनवादीहरू बर्नस्टाइन, काउत्स्की र खुश्चेवभन्दा पनि अझै तल गिरेर ठाडै संसदीय प्रजातन्त्र, पुँजीवादी संसद र बहुलवादलाई आदर्श मान्दै युरो कम्युनिज्मको पतीत सिद्धान्त समेत अङ्गाल्न पुगेका छन् र आज संशोधनवाद नवसंशोधनवादमा विकास गरेर नाङ्गो पुँजीवादमा समेत गिर्न पुगेको छ ।

हामीले सञ्चालन गर्दै आएको वर्गसङ्घर्ष, अन्तर्सङ्घर्ष र दुईलाइन सङ्घर्षको अध्ययन र अनुभवबाट के निष्कर्षमा पुग्न सकिन्छ भने अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनभित्रको मार्क्सवाद र संशोधनवाद बिचको यो भीषण लडाइँँ आज आएर एकातिर मार्क्सवाद–लेनिनवाद–माओवाद र अर्कोतिर शास्त्रीय संशोधनवाद–आधुनिक संशोधनवाद–प्रतिक्रियावाद बीचको लडाइँँमा अभिव्यक्त हुन पुगेको छ । एकातिर अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको मार्क्सवाद र संशोधनवादका बिचको लामो ऐतिहासिक लडाइँका समृद्ध अनुभव एवम् शिक्षाको सार हो भने अर्कोतिर त्यस लडाइँको मार्क्सवाद र प्रतिक्रियावाद बीचको लडाइँमा रूपान्तरणको द्योतक पनि हो । यसरी आज मार्क्सवाद र नवसंशोधनवाद बीचको सङ्घर्ष सारमा भन्नुपर्दा माओवाद र प्रतिक्रियावाद बीचको भीषण सङ्घर्षमा बदलिन पुगेको छ ।

विश्वका प्रमुख संशोधनवादी गद्दारहरू

मार्क्सवादको उदयले विश्व मानव समाजमा ठूलो क्रान्ति ल्यायो र हलचल नै पैदा गरिदियो तर माक्र्सवादको जन्मसँगै यसको विरोधी धारा दक्षिणपन्थी संशोधनवादको पनि जन्म र विकास भयो, मार्क्सवादको जुन लेनिनवाद र माओवादमा विकास हुन पुग्यो । त्यसैगरी संशोधनवादले पनि शास्त्रीय संशोधनवाद, आधुनिक संशोधनवाद र प्रतिक्रियावादमा गुणात्मक रूपमा विकास गर्न पुग्यो ।

संशोधनवादको स्रोत साम्राज्यवाद, पुँजीवाद र निम्न पुँजीवाद हो, यसलाई लेनिनले अन्तर्राष्ट्रिय परिघटनाको रूपमा संंश्लेषण गर्नुभएको छ । यस लेखमा पहिले मार्क्सवादी बनेर मार्क्सवादी धाराभित्र घुसेका र पछि संशोधनवादी बनेर मार्क्सवादका कट्टर हिमायती मात्र होइन, प्रतिक्रियावादमा पतन भइसकेका प्रुंधोदेखि लिएर ल्युशाओ ची, देङ शाओपिङसम्मका संशोधनवादी गद्दारहरूको बारेमा सामान्य जानकारी गराउने प्रयत्न गरिएको छ–

पिचेर जोसे प्रुधोँ (सन् १८०९–१८६५)

प्रुधोँ विख्यात फ्रान्सीसी पत्रकार, अर्थाशास्त्री र एवम् समाजशास्त्री थिए । सुरूमा प्रुधोँ माक्र्सवादका कट्टर समर्थक थिए । माक्र्स र एङ्गेल्सको पहलकदमीमा सन् १८६४ मा प्रथम अन्तर्राष्ट्रियको गठन भएको थियो । प्रुधोँ त्यसको अध्यक्षमा चुनिएका थिए । पछि प्रुधोँ समाजवादी नभएर एक अराजकतावादीका संस्थापक तथा मार्क्सवादका प्रमुख आलोचक बने ।

मार्क्सवादलाई अराजकता फैलाउने पहिलो व्यक्ति प्रुधोँ नै थिए । उनी साम्यवादी सिद्धान्तका कट्टर विरोधी र यसलाई उनले कमजोरीको शोषण मानेका थिए । उनले साम्यवादलाई काल्पनिक मानेका छन् । प्रुधोँले माक्र्सवादलाई “गरिबको दर्शन” भनेका छन् भने मार्क्सले प्रुधोँको दर्शनलाई “दर्शनको दरिद्रता” भन्नुभएको छ । प्रुधोँ राज्यशक्तिका विरोधी र स्वतन्त्रताका प्रबल समर्थक रहेका छन् । अन्तिममा प्रुधोँ प्रतिक्रियावादमा पतन हुन पुगेका छन् ।

लुई ओग्युस्टिन ब्लाङ्की (सन् १८०५–१८८१)

ब्लाङ्की फ्रान्सीसी युरोपियाई समाजवादी तथा असाधारण क्रान्तिकारी थिए र उनले फ्रान्सको सन् १८३० र १८४८ को क्रान्तिमा भाग लिएका थिए । उनलाई दुईचोटि मृत्युदण्डको सजाय सुनाइएको थियो । उनको आधा जीवन जेलमा नै बितेको थियो । उनले षड्यन्त्रको राजनीतिलाई आफ्नो विचार बनाएका थिए । उनले पुँजीवादको विरोध र सामाजिक क्रान्तिको समर्थन गरेका थिए । षड्यन्त्रको उनको कार्यनीति गलत भएकाले ब्लाङ्कीपन्थीहरूले असफलता भोग्नुपरेको थियो । क्रान्तिकारी पार्टीको नेतृत्वमा श्रमिकवर्गले भाग लिएर मात्र क्रान्ति सफल हुन्छ भन्ने उनले ध्यान नदिई षड्यन्त्रकारीलाई मात्र कार्यनीति बनाएको हुँदा उनका विचारमा त्रुटिरहेको पाइन्छ ।

ब्लाङ्कीवाद यो उग्रवामपन्थी अराजकतावादी प्रवृत्ति हो । यो मार्क्सवादविरोधी विचारधारा हो । ब्लाङ्कीको प्रभाव प्रथम अन्तर्राष्ट्रिय र पेरिस कम्युनमा पनि परेको थियो । पेरिस कम्युनमा त उनको बहुमत थियो । माक्र्सले उनको क्रान्तिकारी स्पिरिटको उच्च मूल्याङ्कन गर्दै उनको वैचारिक खण्डन गरेका थिए । ब्लाङ्कीवादले सर्वहारावर्गको क्रान्तिकारी पार्टीको निर्माणमा जोड दिनुको साटो मुट्ठीभर व्यक्तिहरूको भूमिकामा जोड दिन्थ्यो । यसले जनतामाथि भर पर्ने र जनतालाई गोलबन्द गर्नुपर्ने र सर्वहारा अधिनायकत्व अन्तर्गत निरन्तर रूपमा क्रान्ति चलाउने वर्गसङ्घर्षको महत्त्वलाई अस्वीकार गर्दैथ्यो । यसले सर्वहारा अधिनायकत्व, वर्गहीन, राज्यविहीन स्थितिको विरोध गर्दथ्यो । ब्लाङ्कीवादलाई अनुशरण गरेकै महान् पेरिस कम्युन असफलता व्यहोर्नुपरेको तर्क पनि गरिएको पाइन्छ ।

मिखाइल अलेक्सान्द्रोविच बाकुनिन (सन् १८१४–१८७६)

बाकुनिन रुसी क्रान्तिकारी र अराजकतावादका एक सिद्धान्तकार थिए । उनले सन् १८४८–१८४९ मा जर्मनीको क्रान्तिमा सक्रिय भाग लिएका थिए । युरोपमा उनले अराजकतावादी आन्दोलन सङ्गठित गरेका थिए । बाकुनिनको दर्शनको मुख्य आधारमा राज्य नै मानिसको उत्पीडनको मुख्य तत्त्व हो भन्ने रहेको छ ।

उनी प्रथम अन्तर्राष्ट्रियको सदस्य बन्न सफल भएका थिए । उनले मार्क्स र एङ्गेल्सको घनघोर विरोध मात्र गरेनन् कि अन्तर्राष्ट्रिय मजदुर आन्दोलनको नेतृत्व हत्याउने प्रयत्न समेत गरेका थिए । सन् १८७२ मा प्रथम अन्तर्राष्ट्रियबाट बाकुनिनलाई कारबाही गरेर निकाला गरिएको थियो ।

फर्डिनान्ड लासाल

फर्डिनान्ड लासाल जर्मन मजदुर सङ्घका संस्थापक अध्यक्ष थिए । लासाल जर्मन मजदुर आन्दोलनका नेता, अराजकतावादको विशेष रूप र लासालवादका संस्थापक थिए अर्थात् मार्क्सवादविरोधी अवसरवादी धाराका लासाल प्रमुख व्यक्ति थिए । उनले राज्यलाई वर्गभन्दा माथिको सङ्गठन मान्दथे । उनको आफ्नो अवसरवादी धार र प्रक्रिया राजतन्त्रसँग सम्झौतावादी थियो । लासालको विचारलाई लासालवाद भनिन्छ । अध्यक्ष लासालले त्यसबेलाको मजदुर आन्दोलनमा एक छुट्टै कार्यक्रम पेस गरेका थिए । वास्तवमा लासालको कार्यक्रम अर्थात् लासालवाद एक सुधारवादी कार्यक्रम थियो । मार्क्स र एङ्गेल्सले यस कार्यक्रमलाई मजदुर आन्दोलनको एक अवसरवादी भनी आलोचना गर्नुभएको थियो ।

एडवर्ड बर्नस्टिन (सन् १८५०–१९३२)

एडवर्ड बर्नस्टिन जर्मनका सामाजिक जनवादी क्रान्तिकारी मजदुर आन्दोलनका संशोधनवादी प्रवक्ता हुन । सन् १८८९ मा एङ्गेल्सको नेतृत्वमा दोस्रो इन्टरनेसनलको स्थापना गरिएको थियो । सन् १८९५ मा एङ्गेल्सको मृत्यु भयो । सन् १८९६–१८९८ मा बर्नस्टिनले समाजवादको समस्या भन्ने लेख शृङ्खला प्रकाशित गरेका थिए । ती लेखहरूमा उनले दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र तथा वैज्ञानिक समाजका सिद्धान्तका क्षेत्रमा माक्र्सवादको आधारभूत प्रस्तावनाको आलोचना गरेका थिए ।

फ्रेडरिक एङ्गेल्सको मृत्युपश्चात् सन् १८९६ मा दोस्रो इन्टरनेसनलभित्र मार्क्सवादका विरुद्ध पहिलो पटक संशोधनवादको प्रस्ताव पेस गर्ने पहिलो व्यक्ति एडवर्ग बर्नस्टिन हुन् । उनले द्वन्द्वात्मक भौतिकवाद, वैज्ञानिक समाजवाद र सर्वहारावर्गको अधिनायकत्वलाई अस्वीकार गरी वर्गसङ्घर्षलाई समाप्त पार्दै लैजाने सिद्धान्त प्रतिपादन गरेका थिए । उनले क्रान्तिकारी सिद्धान्तलाई अस्वीकार गरी विकासवादको सिद्धान्त अनुसार स्वयम् वर्गसङ्घर्ष समाप्त हुँदै जाने र मजदुरले क्रान्तिबाट पुँजीवादलाई समाप्त गरी सर्वहाराको नेतृत्वमा समाजवादको स्थापनालाई अस्वीकार गरेकाले उनको सिद्धान्तलाई संशोधनवाद भनिन्छ ।

दार्शनिक क्षेत्रमा प्लेखानोवले बर्नस्टिनको संशोनवादको व्यापक खण्डन गरेका थिए । यसैबाट नै क्रान्तिकारी माक्र्सवाद र क्रान्तिको सिद्धान्त अगाडि बढेको हो । लेनिनले रुसमा बर्नस्टिनको संशोधनवाद र अर्थवादी तथा मेन्सेविक अन्तर्राष्ट्रिय आन्दोलनको व्यापक आलोचना गरी क्रान्तिकारी मार्क्सवादी सिद्धान्तको रक्षा र विकास गर्नेक्रममा लेनिनवादको प्रतिपादन गरेर माक्र्सवादको ज्ञानको भण्डारमा थप योगदान पुर्‍याउनुभएको थियो र, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनलाई समृद्धशाली तुल्याउनुभएको थियो ।

मार्ताेभ

मार्ताेभ रुसका एक क्रान्तिकारी नेता थिए । सन् १९०३ मा लेनिन र मार्ताेभको बीचमा पार्टी विधान, पार्टी निर्माण र परिचालनको विषयमा व्यापक विवाद भएको थियो । लेनिनले कम्युनिस्ट पार्टीको सदस्यले निश्चित लेवी तिर्नुपर्दछ भन्ने प्रस्ताव गर्नुभएको थियो । मार्ताेभले यसको सोझै विरोध गरेका थिए ।

पार्टी, सङ्गठन र पार्टी सदस्यहरूको अधिकारहरूका बारेमा लेनिनले अघि सार्नुभएका मार्क्सवादी मान्यतालाई मार्ताेभपन्थीहरूले अस्वीकार गरेका थिए । लेनिनले पार्टी सङ्गठन, सर्वहारावर्गको नेतृत्व र सर्वहारावर्गको अधिनायकत्वबारे कडाइका साथ अघि सार्नुभएको थियो तर मार्ताेभपन्थीहरूले लेनिनले अघि सार्नुभएका सबै मार्क्सवादी मान्यतालाई अस्वीकार गरेका थिए । लेनिन र मार्ताेभका बीच भीषण दुईलाइन सङ्घर्ष सञ्चालन भयो । त्यही मतभेदको कारण पार्टीमा विभाजन आयो । बोल्सेभिक र मेन्सेभिकको जन्म भयो ।

लेनिनको नेतृत्वमा बोल्सेभिक पार्टी निर्माण र परिचालन भयो भने अल्पमत परेका मार्ताेभहरूले मेन्सेभिक पार्टी चलाए । लेनिनको नेतृत्वमा सन् १९१७ मा महान् रुसी अक्टोबर समाजवादी क्रान्ति सम्पन्न भयो । यस दुईलाइन सङ्घर्षको उत्कर्षसँगै लेनिनले लेनिनवादको प्रतिपादन गर्नुभयो ।

कार्ल काउत्स्की (सन् १८५४–१९३८)

कार्ल काउत्स्की जर्मन सामाजिक जनवादीको तर्फबाट दोस्रो इन्टरनेसनलका नेता बनेका थिए । सुरूमा उनी अराजकतावादी र प्रत्यक्षवादीहरूको प्रभावमा परेका थिए । दोस्रो इन्टरनेसनलको गठन(सन् १८८९) हुने क्रममै फ्रेडरिक एङ्गेल्ससँग उनको मतभेद भइसकेको थियो । सर्वहारावर्गको अधिनायकत्वको आलोचना गर्दै संसदवर्ग स्वार्थदेखि मुक्त हुनुपर्छ भन्ने चिन्तन अगाडि सारेका थिए । संसदीय जनवादको पक्षधर भएर सर्वहारावर्गको अधिनायकत्वको विरोध गरेका थिए ।

कार्ल काउत्स्की दोस्रो इन्टरनेसनलका नेता र मार्क्सवादविरोधी थिए । सन् १९१८ मा लेनिनले सर्वहारा क्रान्ति र गद्दार काउत्स्की भन्ने पुस्तक रचना गरेका थिए ।

अलेक्सान्द्रा एत्येन मिलेराँ (सन् १८५९–१९४३)

अलेक्सान्द्रा एत्येन मिलेराँ फ्रान्सीसी राजनीतिज्ञ थिए । १९औँ शताब्दीको अन्त्यतिर उनी समाजवादी पक्षधर बनेका थिए र फान्सीसी समाजवादी आन्दोलनमा उनले एक अवसरवादी धाराको प्रतिनिधित्व गरेका थिए । उनी मन्त्रिमण्डलवादका पक्षपाती थिए ।

उनी प्रतिक्रियावादी बुर्जुवा सरकारमा सामेल भएका थिए । सन् १९०४ मा उनलाई समाजवाद पार्टीबाट निकाला गरिएको थियो । सन् १९२० देखि १९२४ सम्म उनी फ्रान्सीसी गणराज्यका राष्ट्रपति समेत बनेका थिए । मिलेराँ मन्त्रिमण्डलवादका प्रणेता हुन् । उनी संशोधनवादी गद्दारहरूका कोटामा पर्दछन् ।

निकिता ख्रुश्चोभ (सन् १८९४–१९७१)

सन् १९५३ मा स्टालिनको निधन भयो । त्यसपछि निकिता ख्रुश्चोभ सोभियत सङ्घका नेता/राष्ट्रपति बन्न पुगे । १९५६ मा सोभियत कम्युनिस्ट पार्टी (बोल्सेभिक)को २०औँ महाधिवेसनका आयोजना गरियो । त्यस महाधिवेसनमा मध्यरातमा ख्रुश्चोभले एउटा गोप्य रिपोर्ट पेस गरे र स्टालिनलाई खुनी, जड्याहाँ, जुवाडे हत्यारो आदि शब्दले गालीगलौज गर्दै विविध लाञ्छना र आरोपहरू लगाए ।

त्यति मात्र होइन, ख्रुश्चोभले समाजवाद प्राप्तिको लागि शान्तिपूर्ण सङ्क्रमणको बाटो र वर्ग समन्वयको बाटो अवलम्बन गर्न पुगे । उनले सम्पूर्ण जनताको पार्टी, सम्पूर्ण जनताको राज्य र शान्तिपूर्ण सङ्क्रमणको सिद्धान्त अवलम्बन गर्दै तथा वर्गसङ्घर्ष, सर्वहारा अधिनायकत्व, सशस्त्र सङ्घर्षको सिद्धान्तका विरुद्ध भीषण हमला बोलेर ख्रुश्चोभले आधुनिक संशोधनवादलाई सोभियत समाजवादमा घुसाएर मार्क्सवाद–लेनिनवादप्रति गद्दारी गर्न पुग्यो र प्रतिक्रान्तिकारी बाटो अवलम्बन गर्न पुग्यो ।

ख्रुश्चोभको यो कार्यले कम्युनिस्ट आन्दोलनमा संशोधनवादी धारा अगाडि बढ्यो र सोभियत सङ्घलाई पुँजीवादमा पतन गराइछाड्यो । त्यसको लगत्तै माओत्सेतुङ र चिनियाँ कम्युनिस्ट पार्टीले ख्रुश्चोभी नवसंशोधनवादका विरुद्ध अन्तर्राष्ट्रिय स्तरमा महान् बहस चलायो । ख्रुश्चोभी नवसंशोधनवाद संसारका विभिन्न कम्युनिस्ट पार्टीहरूका हैजाका किटाणु झैँ गरी फैलियो । अहिले पनि ख्रुश्चोभी आधुनिक संशोधनवाद विश्वसर्वहारा क्रान्तिको वाधकको रूपमा खडा हुँदै आइरहेको छ ।

ल्यू शाओ ची (सन् १८९८–१९६९)

ल्यू शाओ ची चीनका राष्ट्रपति समेत भएका थिए । उनले १९५६ मा आयोजना गरिएको चिनियाँ कम्युनिस्ट पार्टीको आठौँ महाधिवेसनमा समाजवादभित्र पुँजीवाद लागू गर्ने प्रस्ताव पेस गरेका थिए । माओत्सेतुङले समाजवादमा पनि वर्गसङ्घर्ष जारी राख्नुपर्दछ भन्ने विचार अघि सार्नुभएको थियो ।

माओले महान् छलाङ भन्ने कार्यक्रम अघि सार्नुभएपछि ख्रुश्चोभका चेला ल्यू शाओ चीले तीन आधुनिकीकरण नीति अघि सारेपछि माओ र उनका बीचमा अन्तरविरोध सुरू भएको थियो । पार्टीको आठौँ महाधिवेसनमा माओले समाजवादी बाटो अपनाउने, वर्गसङ्घर्ष पहिलो, उत्पादन सङ्घर्ष दोस्रो भन्ने प्रस्ताव अघि सार्नुभयो भने ल्यू शाओ चीले पुँजीवादी बाटो अपनाउने पहिलो उत्पादन सङ्घर्ष र आर्थिक क्रान्ति र दोस्रो वर्गसङ्घर्ष भन्ने ख्रुश्चोभी नीति अघि सारे ।

माओले भीषण दुईलाइन सङ्घर्ष सञ्चालन गर्नुभयो । ल्यू पुँजीवादपन्थी थिए । पार्टीलाई बुर्जुवाकरण गरेका कारण १९६६ देखि १९७६ सम्म माओको नेतृत्वमा महान् चिनियाँ सर्वहारा सांस्कृतिक क्रान्ति सञ्चालन गरियो । ल्यू शाओ चीलाई गद्दार घोषित गरी जेलमा हालियो र पार्टीबाट समेत निकाला गरिएको थियो ।

देङ शियाओ पिङ्

देङ शियाओ पिङ दक्षिणपन्थी थिए । गद्दार ल्यू शाओ चीसँग देङलाई कारबाही गरी पार्टीबाट बर्खास्त गरिएको थियो । दसौँ महाधिवेसनपछि देङ शियाओ पिङ जस्ता दक्षिणपन्थी गद्दारलाई कारबाही फुकुवा गरी पुनर्संरचना गरेर पार्टीले गल्ती गरेको थियो ।

सन् १९७६ मा माओको निधन भयो । माओको मृत्युपछि देङ शियाओ पिङ शक्तिमा आए । माओको मृत्युभएको एक महिना नपुग्दै अक्टोबरमा चिनियाँ प्रतिक्रान्ति भयो । देङ शियाओ पिङले चार आधुनिकीकरणको सिद्धान्त अपनाइ चीनमा मिश्रित अर्थतन्त्र र खुला बजारी समाजवादको सिद्धान्त लागू गरेर चीनमा पुँजीवादको पुनस्र्थापना गरियो । चिनियाँ प्रतिक्रान्तिको प्रमुख नाइके र प्रयोगकर्ता गद्दार देङ शिओ पिङ थिए ।

यी माथिका उल्लेखित संशोधनवादी गद्दारहरू विश्व कम्युनिस्ट आन्दोलन र सर्वहारा क्रान्तिलाई ठूलो क्षति पुर्‍याए । यसले नेपाली कम्युनिस्ट आन्दोलन र नेपाली क्रान्तिलाई पनि गम्भीर क्षति पुर्‍याएको छ । २०१३ साल वैशाख ३ गतेदेखि मनमोहन अधिकारी र डा. केशरजङ्ग रायमाझीको माध्यमबाट नेपालमा ख्रुश्चोभ पनि नवसंशोधनवाद नेपाली कम्युनिस्ट आन्दोलनमा घुस्न सफल भएको हो ।

पहिलो चरणमा यसले २०२०/२०२२ सालतिर पार्टी फुटाउन सफल भयो । दोस्रोमा एक कालखण्डमा शक्तिशाली कम्युनिस्ट पार्टी बन्न पुगेको एमालेलाई दक्षिणपन्थी संशोधनवादी भासमा डुबाउन सफल भयो । तेस्रो चरणमा अहिले वर्तमान नेपाली क्रान्तिको नेतृत्व गरिरहेको एकीकृत नेकपा (माओवादी) भित्र सुनामी बेगका साथ सवार भयो । समयमै यसलाई बाँदर लखेटाइ गरेर माओवादी पार्टीबाट लखेट्न सकिएन भने नेपाली क्रान्तिलाई ठूलो नोक्सान पुर्‍याउने प्रबल सम्भावना देखेपछि सो गरियो पनि ।

बाँकी अंश क्रमशः

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर