विक्रम् संवत् २०३९ सालमा सिन्धुपाल्चोक जिल्लाको अत्तरपुर गाविस– ७ मा जन्मिएका भुवन श्रेष्ठ ‘मुस्कान’ सानै उमेरदेखि कलाकारिताको क्षेत्रमा रुचि राख्थे । कलाकारहरुले नाटकमा अभिनय गरेको देखेर आफूलाई पनि अभिनय गर्न पाए हुन्थ्यो भन्ने सोचिरहन्थे उनी । जन्मिएको डेढ वर्षमा बुबाको दुःखद् निधन भएकाले बुबाको अनुहार चिन्ने मौका समेत पाएनन् उनले । २०५६ सालमा सन्तोष पन्तको ‘हिजोआजका कुरा’ टेलिफिल्मबाट सानो भूमिकामा देखापरेका भुवनलाई यसपछि कलाकारिताको क्षेत्रमा कहिल्यै पछाडि फर्कनु परेन । हालसम्म करिब सय म्युजिक भिडियोमा अभिनय तथा ७ सयभन्दा बढि म्युजिक भिडियोको निर्देशन गरेका भुवन भविष्यमा चलचित्र निर्देशन गर्न चाहन्छन् । अभिनय र म्युजिक भिडियो निर्देशनबारे न्युजसेकोलीका लागि मोहनप्रसाद मैनाली र रेणुका काफ्लेले गरेको कुराकानीः–
कला क्षेत्रमै लाग्नुको विशेष कारण के छ ? म ढेड वर्षको हुँदा बुबाको निधन भएछ । मैले बुबाको अनुहार कस्तो थियो भनेर चिन्न समेत पाइँन । बुबालाई चितामा जलाउँदा बुबाको फोटो पनि जलाइदिएछन्, जसले गर्दा मैले बुबाको फोटो पनि देख्न पाइँन । कलाकारितामा गहिरो रुचि भएकाले र बुबाको जस्तै कसैले नचिन्ने अवस्था मेरो पनि नहोस् भनेर नै म यस क्षेत्रमा लागें ।
म्युजिक भिडियोमै लाग्नुको कारण के हो ? यो दीर्घकालीन हुन्छ । सञ्चार माध्यमहरुमा एउटाले बजाउने वा अर्कोले नबजाउने भन्ने हुँदैन । सबैले समान रुपमा प्रशारण गर्छन् । अर्को कारण, म नृत्य सिकेर आएको मान्छे । नृत्य सिकाउँछु पनि । यो पनि एक प्रकारको फिल्म नै हो । २ घन्टा ३० मिनेटको फिल्मलाई ५ मिनेटमा बनाएका हुन्छौं । दर्शकको बुझाइ फरक–फरक हुन सक्छ ।
अहिलेसम्म कति म्युजिक भिडियोमा अभिनय गर्नुभयो ? लगभग एक सय पुग्यो ।
निर्देशन चाहिँ कति गर्नुभयो ?
७ सय नाघ्यो ।
कुन गाह्रो छ, अभिनय वा निर्देशन ?
निर्देशन गाह्रो छ ।
निर्देशनमा किन लाग्नुभयो ?
आफैंले निर्देशन गर्दा बढि आत्मसन्तुष्टि पाइन्छ ।
आफ्नो नामका पछाडि ‘मुस्कान’ जोड्नुभएको छ, किन होला ? भन्न मिल्छ कि ?
यो कुरा मलाई धेरैले सोधेका छन् तर म पहिलोपल्ट न्युजकोसेलीमार्फत सार्वजनिक गर्दैछु । मैले सानैदेखि दुःख पाएँ, मेरो जिन्दगीमा कहिल्यै खुसी नपाएको भएर नामका पछाडि मुस्कान थपिदिएको ।
यो त ‘बुद्धि नभएकाको नाम बुद्धिमान’ राखेजस्ते भएन र ?
हो, यसैका लागि मुस्कान राखेको ताकि मलाई कसैले पनि दुःखी नदेखून् ।
भनिन्छ, कलाकारिताबाट बाँच्न सकिँदैन । कलाकारको आर्थिक अवस्था कस्तो छ ?
कलाकार नै भएर जीवनयापन गर्छु भन्नेलाई बाँच्न सक्ने स्थिति अहिले बनेको छ । कला नभएका तर कलाकार बन्न रहर गर्नेहरुका लागि भने अरु नै पेसा हुनुपर्छ ।
गीतकार, संगीतकार र गायकको मर्म नमर्नेगरी भिडियो बनाउँदा, स्थान र कलाकारको समायोजन कसरी गर्नुहुन्छ ?
कुनै गीत मेरो हातमा परेपछि सबैभन्दा पहिले गीतकार वा लयसंकलकलाई भेटेर उसले गीत लेख्दाको अवस्थाबारे जानकारी लिन्छु र त्यसैअनुरुप गीतको मर्मअनुसार नै कलाकार र स्थानको समायोजन गर्छु ।
म्युजिक भिडियो सुगम स्थानमा सुटिङ गरिन्छ, गीत छ इलाम चिया बगानको तर सिन राखिन्छ नगरकोट र ककनीको । यस्तो किन भइरहेको छ ?
आर्थिक कारणले यस्तो भएको हो । एउटा गीतको भिडियो बनाइदेऊ भनेर गायक वा गीतकार आउँछ, उसको बजेट चाहिँ थोरै हुन्छ । तपाईंले भनेजस्तो इलाम जान गाडीको भाडा पनि नपुग्ने बजेट लिएर जसरी पनि बनाउनुपर्यो भन्छन् । यस्तो अवस्थामा हामीले के गर्ने त ?
म्युजिक भिडियो निर्देशकलाई विशेषगरी लोकगीतका दृश्यहरु छाडा भए, लोकसंस्कृतिअनुरुप भएन, विकृति बढ्यो आदि–इत्यादि आरोप लाग्छ, यसमा तपाईंको भनाइ के छ ?
समयअनुसारको फ्युजन हो । गीतले माग्यो भन्दैमा ८० वर्षकी बूढीआमालाई मिनीस्कर्ट लगाउने हो भने यसलाई विकृति भन्दा हुन्छ । तर, १६ वर्षकी केटीले सारी र फरिया लगाएको कतै देखिँदैन । समयअनुसार चल्दा त्यसैलाई विकृति भन्नु हुँदैन ।
चलचित्र निर्देशनतिर पनि रुचि छ कि ?
रुचि छ । दुईवटा चलचित्रको निर्देशन गर्नेबारे कुरा चलिरहेको छ । छिट्टै नै त्यतातिर लागिन्छ होला ।
तपाईंलाई काम गर्न सजिलो लागेको वा क्षमतावान् कलाकारहरु कसैको नाम लिन चाहनुहुन्छ ?
उद्दव भण्डारी, दुर्गेश र अञ्जु निरौला मैले काम गरेका कलाकारहरुमा सजिला र मर्मअनुरुप चल्न सक्ने कलाकारहरुमा पर्छन् ।
अभिनयको क्षेत्रमा नयाँ आउन चाहनेहरुका लागि के भन्न चाहनुहुन्छ ?
भित्रैदेखि कलाकारिता वा अभिनयमा रुचि छ भने धेरै सिकेर मात्र लाग्न अनुरोध गर्छु । तर, अभिनय गर्छु भन्नेलाई पचास प्रतिशत गडगिफ्ट नै हुनुपर्छ ।
निर्देशक सफल वा असफल हुने मापदण्ड वा अन्तिम फैसला कहाँबाट हुन्छ ?
वास्तविक फैसला त दर्शकबाट नै हुन्छ । तर, अहिले युट्युबलाई आधार बनाइन्छ । यो त्यति भरपर्दो छैन । पैसा खर्च गरेर पनि धेरै दर्शक बनाउने गर्छन् । अहिले त ९९ प्रतिशत फेल भन्छु म । युट्युबको गलत प्रयोग वा अश्लील प्रयोग गरेर धेरै दर्शक बटुल्नेहरुलाई सफल भन्न मिल्दैन ।
श्रमशोषण, मानसिक शोषण वा शारीरिक शोषण यो क्षेत्रमा अत्यधिक हुने गर्छ । तपाईं एक सफल म्युजिक भिडियो निर्देशक हुनुहुन्छ, तपाईंबाट कलाकारहरुको शोषण भएको छ कि छैन ?
शोषणको कुरा व्यक्ति कसरी प्रस्तुत हुन्छ, त्यसैमा पनि भर पर्छ । कसैले गीत गाएर म्युजिक भिडियो बनाइदेऊ, म लगानी गर्छु भन्छ भने त्यसलाई शोषण भन्न मिल्दैन । उसको लगानी पनि हो र अभिनय पनि हो । गलत किसिमले फाइदा लिनु शोषण हो, यस्तो काम हुनु हुँदैन । जस्तोसुकै भए पनि शोषण गर्नु पाप हो । मबाट त्यो हुँदैन र भएको पनि छैन । हामी कत्ति नै बाँच्छौं र । बाँच्ने कुराको कुनै ग्यारेन्टी छैन । सबैसँग असल मान्छे बन्न पाए पुग्छ । सबैलाई चित्त बुझाएर, परिश्रम गरेर बाँच्न सिकेको छु, यही गर्ने कोसिस गर्छु ।
कलाकारलाई राष्ट्रको गहना भनिन्छ । सरकारले के गर्नुपर्छ कलाकार (गहना !) का लागि ?
सरकारले मनोरञ्जनकर कार्यान्वयन गर्ने हो भने पनि कलाकारलाई निकै टेवा पुग्छ । अरु कुनै क्षेत्रमा नलगाए पनि सवारी साधन र होटलमा मात्र २ प्रतिशत मनोरञ्जनकर लगाओस् । सरकारलाई मेरो सुझाव हो यो ।
कलाकार नै राजनीतिक दलका गुटबन्दीमा रमाइरहेका छन् । कलाकारका पक्षमा नै एकमत छैन, अनि तपाईंहरुका सुझाव कसरी सरकारसम्म पुग्छन् त ?
हाम्रो देश राजनीतीकरण भएको देश हो । यहाँ सबै कुरामा राजनीति भएको छ । राजनीतीकरणबाट देश जहिलेसम्म औद्योगीकरणमा जाँदैन तबसम्म यस्तो नियति नेपाली जनताले भोगिरहनुपर्छ ।
अन्तिममा न्युजकोसेलीमार्फत के भन्न चाहनुहुन्छ ?
मलाई आफ्ना कुराहरु राख्ने मौका दिनुभयो, सर्वप्रथम त तपाईं र न्युजकासेली टिमलाई धेरैधेरै धन्यवाद । अर्को कुरा, सरकारी जागिरेको रिटायर्ड लाइफमा ‘पेन्सन’ हुन्छ तर कलाकारको रिटायर्ड लाइफमा चाहिँ अहिलेसम्म ‘टेन्सन’ मात्रै छ । कलाकारलाई सरकारको तर्फबाट केही न केही सुविधाको व्यवस्था गरिदिनु पर्यो ताकि अभिनय गर्न नसक्ने उमेर भएपछि पनि कलाकारले राम्रोसँग आफ्नो जीवनयापन गर्न सकून् । सरकारसँग मेरो विनम्र अनुरोध छ ।