newskoseli.Com

अर्थमन्त्रीलाई आफ्नै कार्यकर्ताले लखेटे आफ्नै गाउँबाट !

 

सत्तापक्षकै नेता–कार्यकर्ता एवं जनताले प्रदेश–७ का आर्थिक मामिला तथा योजनामन्त्री (अर्थमन्त्री) झपट बोहरालाई आफ्नै गाउँबाट लखेटेको समाचार छ ।

भेटघाट कार्यक्रमका लागि आइतबार गाउँ पुगेका मन्त्री बोहरालाई आफ्नै निर्वाचन क्षेत्रअन्तर्गत पर्ने रामारोशन गाउँपालिकाको मुजाबगर बजारबाट उनकै पार्टीका नेता–कार्यकर्ता र स्थानीयहरुले लखेटेका हुन् ।

आगामी आर्थिक वर्षका लागि मन्त्री बोहराले हालै सार्वजनिक गरेको बजेटमा मनोमानी गरेको, चुनावका बेला जनतासँग गरिएका प्रतिबद्धताविरुद्ध रामारोशन क्षेत्रलाई बजेटमा उपेक्षा गरेको, आफ्ना र स्वकीय सचिवको गाउँमा आवश्यकभन्दा बढी योजना पारेको भन्दै मन्त्री कार्यक्रममा कालो झन्डा देखाउँदै स्थानीयवासीले उनलाई लखेटेका थिए ।

दसवर्षे जनयुद्धको एउटा चर्चित आधारक्षेत्र रामारोशनलाई उपेक्षा गरेर मन्त्री बोहराले आफ्नै र स्वकीय सचिवको गाउँमा मात्रै योजना पारेको हुँदा आफूहरुले कालो झन्डा देखाएको पूर्वमाओवादी केन्द्रका गाउँपालिका इन्चार्ज सुशील साउदले बताए ।

मन्त्री बोहराले चुनावका बेला जनतासँग गरेको प्रतिवद्धताअनुसार बजेट नआएकाले आक्रोशित जनताको नेतृत्व आफूहरुले गरेको रामारोशन गाउँपालिका– ६ का वासिन्दा रहेका इन्चार्ज साउदले बताए ।

चुनावका बेला जनतासँग आफूहरुले मन्त्री बोहराका निम्ति भोट मागेको तर चुनाव जितेपछि छोटै समयमा जनतालाई भुलेर अछाममा निहित स्वार्थका लागि बजेट र योजना बाँडेकाले आफूहरुले विरोध गरेको सोही गाउँपालिका– ७ का स्थानीय नेता बिर्ख भण्डारीले बताए ।

मन्त्री बोहराले अछाममा बढी बजेट पारेको भनिए पनि पर्यटकीय क्षेत्र रामारोशनलाई उपेक्षा गरेको पूर्वमाओवादी केन्द्रका स्थानीय नेता खडक रोकायाले बताए । ‘जनताको भोटबाट बोहोराजीले जिते तर दलालहरु र बीचौलियाको प्रभावमा परेर बजेट बाँडे, आफ्नो गाउँमा मात्रै १४ करोड र स्वकीय सचिवको गाउँमा ९ करोड बजेट हालेर रामारोशन क्षेत्रलाई घोर उपेक्षा गरेका कारण हामी उनको विरोध गर्न बाध्य भएका हौं’– रोकायाले भने ।

पूर्वमाओवादी केन्द्रका मात्रै नभएर पूर्वएमालेका नेता–कार्यकर्ता पनि बोहराले असमान र अनुचित ढंगबाट बजेट वितरण गरेको भन्दै उनको विरोधमा उत्रेका छन् । मन्त्री बोहराले निश्चित स्वार्थका कारण निश्चित ठाउँमा बजेट विनियोजन गरेकाले जनताहरु विरोधमा उत्रेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थानीय नेता मानबहादुर गिरीले बताए । गिरी पूर्वएमालेका स्थानीय नेता हुन् ।

मन्त्री बोहराले जनमतको अपमान गरेको सोही गाउँपालिका– ५ का स्थानीय नेता तथा पूर्वजनमुक्ति सेनाका कम्पनी कमान्डर रकेट रोकायाले बताए । पुर्ख्यौली सम्पत्ति जस्तो गरी बजेट र योजना बाँडेकाले आफूहरु विरोधमा उत्रेको उनले बताए । बजेट असमान ढंगबाट आएको भन्दै सच्चाउन आफूहरुले सुझाव दिँदा पनि अटेर गरेकाले मन्त्री बोहरालाई रामारोशनमा प्रवेश निषेध गरिएको उनले बताए । प्रचण्ड रामारोशन आएका बेला आवश्यकताको आधारमा बजेट र योजना पार्ने प्रतिबद्धता जाहेर गरेको तर मन्त्री बोहराले उपेक्षा गरेको उनले बताए ।

पूर्वनिर्धारित कार्यक्रमस्थलमा मन्त्री बोहरा पुग्ने बित्तिकै स्थानीय नेता–कार्यकर्ता र जनताले कालो झन्डा देखाउँदै विरोध प्रदर्शन र होहल्ला गर्न थालेपछि कार्यक्रम बिथोलिएको छ । मुजाबगर बजारबाट लखेटिएका मन्त्री बोहरा ‘असुरक्षा भयो’ भन्दै अछामबाट कैलालीतिर लागेको प्राप्त समाचारमा उल्लेख छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर