
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले केपी ओली नेतृत्वको वामपन्थी सरकार आफैंले कानुन तोडेर ‘स्टेट टेरोरिज्म’ (राज्यआतंक) सुरु गरेको आरोप लागएका छन् ।
‘राज्यले नै कानुन तोड्नु भनेको सरकार आफै हिंसामा उत्रिनु हो, यो ‘स्टेट टेरोरिज्म’ हो,’ मंगलबार राजधानीमा पत्रकारहरुसँगको छलफलका क्रममा नेता सिटौलाले उपकुलपतिलाई थुनेर राज्यले कानुन तोडेको आरोप लगाउँदै भने– ‘राज्य आफैं टेरोरिज्ममा गयो भने यस्तो हिंसा गर्ने सबैलाई मौका मिल्छ ।’
पूर्वगृहमन्त्री समेत रहिसकेका सिटौलाले प्रधानमन्त्री ओलीलाई धेरै शक्ति प्रयोग नगर्न ‘सुझाव’ दिएका छन् । न्यायालयसहित संवैधानिक निकाय पनि सत्ताअनुकूल हुने गरी गतिविधि गर्न थालेको दावी समेत सिटौलाले गरे ।‘दुईतिहाईको सरकार छ, यदि संवैधानिक व्यवस्था र परिवर्तन बचाउने हो भने सरकारले कम मात्रै अधिकार प्रयोग गर्नुपर्छ’– उनले भने ।
२०६२–०६३ को आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले थोरैभन्दा थोरै मात्र अधिकार प्रयोग गरेको दावी गर्दै सिटौलाले भने– ‘सरकार आफैंले कानुन पालना नगर्ने हो भने के हुन्छ ? ठेकेदार समातेको छ, मण्डलाजस्तो ठाँउमा प्रदर्शनमा रोक लगाएको छ, सुरुआती दिनमै देखिएका यी गतिविधि चिन्ताका विषय हुन् ।’
सिटौलाले भने– ‘सरकार लोकतान्त्रिक तरिकाले चल्छ कि चल्दैन भन्ने कुरा उसले कम शक्ति प्रयोग गर्छ कि अधिनायकवादी चरित्र अपनाउँछ भन्ने कुराले नै पुष्टि गर्छ ।’