newskoseli.Com

गृहमन्त्री बादलसँग अमेरिकी राजदूतले गरिन् बिदाई भेट

 

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सँग नेपालका लागि संयुक्त राज्य अमेरिकाकी राजदूत अलाइन टेप्लिजले बुधबार शिष्टाचार भेटवार्ता गरेकी छन् ।

गृह मन्त्रालयमा भएको भेटमा दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगका क्षेत्रमा केन्द्रित रहेर छलफल भएको गृहमन्त्री बादलका प्रेस संयोजक किरण भट्टराईले जनाएका छन् ।

राजदूतका रुपमा नेपालमा आफ्नो कार्यकाल सम्पन्न गरेर केही दिनमै फर्कन लागेकी राजदूत टेप्लिजले आफ्नो कार्यकालमा नेपाल र अमेरिकाबीचको सम्बन्ध थप मजबुत बनाउन खेलेको भूमिकाप्रति गृहमन्त्रीले धन्यवाद व्यक्त गरे ।

नेपालको विकास, विपद् व्यवस्थापन तथा सुरक्षा निकायको तालिम र भौतिक संरचना निर्माणलगायतका क्षेत्रमा अमेरिकाले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगले निरन्तरता पाउने आशा गृहमन्त्री थापाले व्यक्त गरे । पछिल्लो समय अमेरिका र उत्तर कोरियाबीच भइरहेको वार्ता र छलफलको स्वागत गर्दै यसले विश्व शान्ति कायम गर्न सहयोग पुग्ने विश्वास पनि गृहमन्त्रीले व्यक्त गरे । राजदूत टेप्लिजले आफू नेपालको कार्यकाल सम्पन्न गरेर १३ दिनपछि अमेरिका फर्कन लागेको जानकारी दिँदै आफ्नो नेपाल बसाई सुखद् रहेको बताइन् ।

आफ्नो कार्यकालमा नेपाल सरकार र गृह मन्त्रायबाट पाएको सकारात्मक सहयोगका लागि उनले धन्यवाद व्यक्त गरिन् । अध्यागमन सुरक्षासम्बन्धी विषयमा अमेरिकी सरकारले सहयोग गर्न चाहेको तथा अमेरिकी नागरिकबाट नेपाल सरकारले लिने प्रवेशाज्ञा शुल्क पुनरावलोकन हुनुपर्नेलगायतका विषयमा पनि उनले जिज्ञासा राखिन् ।

मन्त्री थापाले ती विषयहरुमा मन्त्रालयले अध्ययन गरिरहेको जनाउँदै सोही आधारमा भविष्यमा निर्णय लिइने जानकारी दिए । भेटमा मानवतस्करी नियन्त्रण र भुटानी शरणार्थी एवं तिब्बती शरणार्थीको व्यवस्थापनका विषयमा समेत कुराकानी भयो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर