newskoseli.Com

विधानमा ‘उमेरहद’ को चर्चाबारे वामदेवको आपत्ति (विज्ञप्तिसहित)

 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का एक प्रभावशाली नेता अर्थात् केन्द्रीय सचिवालय सदस्य वामदेव गौतमले पार्टीको प्रकाशोन्मूख विधान र पार्टी सञ्चालनसम्बन्धी कार्यविधिमा ‘उमेर हद’ निर्धारण हुनेबारे प्रकाशमा आएका समाचारहरुप्रति आपत्ति जनाएका छन् ।

गौतमका तर्फबाट उनका प्रेस संयोजक विश्वमणि सुवेदीले बुधबार विज्ञप्ति जारी गर्दै तत्कालीन एमालेको विधानमा भएको ७० वर्षे उमेरहद नयाँ विधानबाट हटाउने प्रयोजनका लागि गौतमले विभिन्न नेतासँग साँठगाँठ गरेको भन्नेजस्ता ‘भ्रामक र कपोलकल्पित’ समाचारमा सत्यता नभएको जनाएका छन् ।

यसअघि एमालेको विधानमा ७० वर्षे उमेरहद रहेकामा अबको नयाँ विधानमा त्यो व्यवस्था हटाउन नेता गौतम लागिपरेको भन्ने समाचारहरु विभिन्न सञ्चार माध्यमले प्रकाशन–प्रशारण गरेकामा गौतमले आपत्ति जनाएका हुन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विधान र पार्टी सञ्चालनसम्बन्धी कार्यविधि केन्द्रीय सचिवालयबाट अनुमोदन भई प्रकाशनको चरणमा छ ।

यस्तो छ वामदेव गौतमका तर्फबाट प्रेस संयोजक विश्वमणि सुवेदीले जारी गरेको विज्ञप्ति

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विधान र पार्टी सञ्चालन सम्बन्धी कार्यविधि पार्टीबाट अनुमोदन भई प्रकाशनमा गएको छ । पार्टीले हालसम्म ती दस्तावेजहरु सार्वजनिक गरेको छैन । तर, विभिन्न सञ्चारमाध्यममा विधानका धाराहरु उल्लेख गर्दै त्यसमा रहेका कार्यकाल, उमेरजस्ता विषय भनी समाचार प्रकाशन÷प्रशारण गर्ने क्रम देखिएको छ ।

विशेषतः पार्टीका केन्द्रीय सचिवालय सदस्य क.वामदेव गौतमको उमेरसँग सम्बन्धित विषयमा आधारित भएर त्यस्ता समाचार आउने क्रम देखिएको छ । तत्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता भई नेकपा गठन भएपछि दुबै पार्टीका विधान र कार्यविधिलाई आधार मान्दै पार्टीको नयाँ विधान तयार भएको हो । विधानहरु तयार पार्ने क्रममा मस्यौदा कमिटी, पुनरावलोकन गर्ने कार्यदलहरु बनेका थिए ।

तर, समाचारमा तत्कालीन एमालेको विधानमा व्यवस्था भएको ७० वर्षे उमेर हद नयाँ विधानबाट हटाउने प्रयोजनका लागि क. वामदेव गौतमले विभिन्न नेतासँग साँठगाँठ गरेकाजस्ता भ्रामक र कपोलकल्पित समाचार आएका छन् । पार्टी कामका सन्दर्भमा व्यक्तिगत भूमिका वा कुनै किसिमको माग दावी उहाँले प्रस्तुत गर्नुभएको छैन । पार्टीले जे–जे जिम्मेवारी र भूमिका तय गर्छ, त्यसअनुरुप काम गर्न तयार भएर उहाँ हाल वरियताको पाँचौ स्थानमा रहनुभएको हो ।

वरियता निर्धारणदेखि उमेर हद कायम गर्नेसम्मका विषयमा उहाँको कुनै संलग्नता नभएको यथार्थलाई लुकाउँदै एउटा नेतालाई ‘पदलोलुप’ नेताका रुपमा प्रस्तुत गरिनु दुराशयपूर्ण विषय हो । कम्युनिष्ट पार्टीमा काम गर्नका लागि कहीं पनि उमेरको हदबन्दी लगाउने गरिएको छैन । तत्कालिन (माओवादी केन्द्र) को विधानमा त्यस्तो विषय उल्लेख थिएन । तर, तत्कालिन नेकपा (एमाले) को विधानमा रहेको सो व्यवस्था व्यवहारिक नहुने बहस पार्टी एकतापूर्व नै चलिरहेको थियो ।

एकीकृत पार्टीको विधान तयार पार्ने क्रममा उमेर हदका कुराहरु आएका थिएनन् । क.वामदेव गौतम पार्टीले दिएका जिम्मेवारी इमान्दारिताका साथ निर्वाह गर्ने, तर नतोकिएका कामहरुमा हस्ताक्षेप नगर्ने कार्यशैलीका व्यक्ति हुनुहुन्छ । यो यथार्थलाई लुकाउँदै आइरहेका विभिन्न समाचार, टिप्पणी र अतिरञ्जित तवरका प्रचारशैली बन्द गर्न सम्पूर्ण सञ्चारकर्मी मित्रहरुमा अनुरोध गर्दछु ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर