newskoseli.Com

डा. गोविन्द केसी–सरकार वार्ता असफल (केसी पक्षको विज्ञप्तिसहित)

 

अनसनरत डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी वार्ता टोलीबीच बुधबार साँझसम्म चलेको वार्ता असफल भएको छ ।

सिंहदरबारभित्र अवस्थित शिक्षा मन्त्रालयमा भएको वार्तामा असफल भएपछि आफ्ना मागबारे सरकार जिम्मेवार ढंगले प्रस्तुत नभएको आरोप डा. गोविन्द केसी पक्षले लगाएको छ ।

अब आफूहरुले दिएको सूचीका आधारमा सुधारसहित चिकित्सा शिक्षा विधेयक पास गर्ने प्रतिबद्धता सरकारबाट आएपछि मात्रै वार्तामा बस्ने अडानका साथ केसी पक्ष बाहिरिएको छ । वार्ता असफल भएलगत्तै विज्ञप्ति जारी गरेर डा. केसीको स्वास्थ्य अवस्था असाध्यै नाजुक भइसक्दा पनि सरकारी पक्ष चरम गैरजिम्मेवार र संवेदनविहीन हुँदै विधेयकसम्बन्धी दफागत छलफलमा सार्थक रुपमा प्रवेश नै नगरेको आरोप केसी पक्षले लगाएको छ ।

यस्तो छ गोविन्द केसी पक्षले जारी गरेको प्रेस विज्ञप्ति

डा. गोविन्द केसी १५औं सत्याग्रहको २६औं दिनमा रहनुभएको यहाँहरुलाई विदितै छ । यसबीच सरकार तथा डा. केसी दुवैका तर्फबाट वार्ता टोली गठन भएर विभिन्न चरणमा वार्ता समेत भइसकेको छ । अध्यादेश बमोजिमको चिकित्सा शिक्षा ऐन आउनुपर्ने डा. केसीको मागको सन्दर्भमा यस अगाडि सरकारले तोडमोड गरेर संसदमा पेस गरेको चिकित्सा शिक्षा विधेयक फिर्ता हुनुपर्ने डा. केसीको अडान रहेको थियो । तर, वार्ताको क्रममा हदैसम्म लचकता अपनाउँदै डा. केसीका तर्फबाट विधेयक फिर्तीको माग थाती राख्दै विधेयकका प्रावधानहरुमा सुधार गरी सहमति जुटाउनका लागि सरकार पक्षसँग विभिन्न चरणका अनौपचारिक र औपचारिक छलफलमा सहभागी भएका थियौं ।

तर, आज २६औं दिनमा डा. केसीको स्वास्थ्य असाध्य नाजुक भइसक्दा पनि सरकारी पक्ष चरम गैरजिम्मेवार र संवेदनविहीन हुँदै विधेयकसम्बन्धी दफागत छलफलमा सार्थक रुपमा प्रवेश नगरेको हुनाले यही अलमलका कारण डा. केसीको स्वास्थ्यमा अपूरणीय क्षति पुग्ने अवस्था आइसकेको छ । यो अवस्थामा थप अलमल गरेर डा. केसीको स्वास्थ्यलाई झनै जोखिममा पार्न हामी तयार छैनौं ।

त्यसैले यस्तो संवेदनशील समयमा आएर छलकपटपूर्वक सत्याग्रही डा. केसीको ज्यान जोखिममा पार्ने तथा स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्र सुधारका काममा हलो अड्काउने सरकारको रवैयाको कडा विरोध गर्दर्छौं । साथै, हामीले सरकारलाई उपलब्ध गराएको सूबमोजिमको सुधारसहित विधेयक पारित गर्ने सरकारी प्रतिबद्धता आएपछि मात्रै अर्को चरणको वार्तामा बस्ने जानकारी गराउँछौं ।

डा. अभिषेक राज सिंह
संयोजक
डा. गोविन्द केसी वार्ता टोली

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर