newskoseli.Com

कांग्रेसलाई प्रधानमन्त्री ओलीको प्रश्न : खै कहाँ आयो अधिनायकवाद ?

 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले ‘खै कहाँ आयो अधिनायकवाद’ भन्दै प्रतिपक्षी नेपाली कांग्रेसलाई प्रश्न गरेका छन् ।

शनिबार राजधानीमा पार्टीसम्बद्ध जनसंगठनहरु अन्टुफ र जिफन्ट एकता संयोजन समितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै कांग्रेससँग अरु कुनै एजेन्डा नभएकैले ‘लौ, अधिनायकवाद आयो’ भन्दै हिँडेको दावी प्रधानमन्त्री ओलीले गरे । ‘सपनामा देखे कि विपनामा देखे ? खै कता आयो अधिनायकवाद ?’ प्रधानमन्त्री ओलीले प्रश्न गरे– ‘अरु एजेन्डा केही छैन, खालि अधिनायकवाद आयो भनेर हुन्छ ?’

सरकारलाई बदनाम गर्न र मजाकमा उडाउन खोजिएको भन्दै प्रधानमन्त्री ओलीले सरकारका विरोधीहरुलाई ‘सुध्रन’ आग्रह गरे । ‘अनुभवी कम्युनिस्ट नेताहरु’ ले पार्टी र सरकार हाँकेको दाबी गर्दै प्रधानमन्त्री ओलीले मजदुरको जीवनमा पहिलेभन्दा अहिले निकै सुधार आएको बताए ।

‘गरिबीको फाइदा उठाएर मजदुरहरूलाई ठग्ने प्रवृत्तिलाई अब सरकारले रोक्छ,’ प्रधानमन्त्री ओलीले भने– ‘विकासको अभियानमा कृषिलाई व्यवसायिक र आधुनिकीकरण गरिन्छ र अब युवाहरू रोजगारीको खोजीमा विदेशिनु पर्दैन ।’ कांग्रेसले मजदुरवर्गीय आन्दोलनलाई ‘अधिनायकवाद’ नाम दिएको भन्दै प्रधानमन्त्री ओलीले कटाक्ष गरे ।

‘मजदुरवर्गीय आन्दोलनलाई उनीहरूले अर्को नाम दिन्छन्– ‘अधिनायकवाद !’ उनले भने– ‘प्रतिक्रियावादी तत्त्वहरूले कहिलेकाहीं आफूअनुकूल व्याख्या गर्ने गरेका छन्, मजदुरहरूको दिन फर्किन्छ भन्दा केहीलाई पीर पर्छ ।’

सरकार स्वतन्त्र न्यायालयको पक्षमा रहेको दोहोर्‍याउँदै प्रधानमन्त्री ओलीले भने– ‘संसदीय सुनुवाइ भइरहेको छ, दुई अध्यक्षले सुनुवाइ रोक्यो भन्छन्, यस्तो होइन ।’ सरकार बनेपछिका पाँच महिनामा तिनलाई गरिब नै बनाइदिए जसरी विरोधीहरू सरकारविरुद्ध उफ्रेको समेत उनले बताए ।

‘दुई वर्षभित्र काठमाडौंका सडक हेर्न लायक हुन्छन्,’ ओलीले भने– ‘शिलान्यास गरेर छाडेको धरहरामा झार उम्रेको छ तर यो छिट्टै बनाउँछौं, रानीपोखरीलगायतका सम्पदा पनि बनाइन्छ ।’ आफूहरुले देशका विभिन्न नदीमा रहेका तुइन विस्थापन गरेको भन्दै तुइन विस्थापन ठूलो कुरा नभए पनि पछौटेपन, पीडा र आँशु अन्त्य हुनु राम्रो पक्ष रहेको उनले बताए । सामाजिक सञ्जालहरुमा सरकारविरुद्ध व्यंग्य हान्ने काम भइरहेकोमा ओलीले दुःखेसो पोखे ।

‘रेल ल्याउने कुरा गर्नु हुँदैन ? तुइन हटाउनु हुँदैन ?’ नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओलीले प्रश्नका साथ दृढता व्यक्त गरे– ‘कागजको डुंगा बनाएर सरकारविरुद्ध मजाक उडाइएको छ, हेर्दै जानोस्– सरकारले यी सबै कामहरू पूरा गर्छ ।’ रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर