हामीमध्ये धेरैको दिमागमा संशोधनवाद खराब हो भन्ने सामान्य समझदारी त छ तर संशोधनवाद भनेको आफूलाई कम्युनिस्ट नभन्ने खुला पुँजीवादभन्दा अलिकति भने पनि ठीक हुन्छ भन्ने गहिरो भ्रम छ ।
आफूलाई कम्युनिस्ट भन्नेहरू जोसुकै हुन्, ती मार्क्सवादीहरूका नजिकका दाजुभाइहरू हुन् भन्नेजस्तो भ्रमले ठूलो काम गरेको छ । त्यसैले संशोधनवादसँग लड्ने प्रसङ्गमा ती साथीहरू कतै प्रतिक्रियावादलाई फाइदा पुग्ने हो कि भनेर सतर्क हुन्छन् । जब कसैले संशोधनवादको आलोचना गर्न सुरु गर्छ तब ‘हेर–हेर कम्युनिस्टहरू आपसमै गाँड कोराकोर गर्न थाले’ भनेर यसप्रति गुनासो गर्ने प्रवृत्ति हामीसँग छ ।
उनीहरू यो बुझ्दैनन् कि संशोधनवाद भनेको खाँट्टी पुँजीवाद हो र पुँजीवाद भनेको संशोधनवाद हो । मार्क्सवादका क्रान्तिकारी कुराहरू झिकेर त्यसमा पुँजीवाद हालेर मार्क्सवादकै नाममा ठगीधन्दा चलाउनेहरूलाई नै संशोधनवादी भनिन्छ । मार्क्सवादलाई पुँजीवादी ढाँचामा संशोधन गर्ने भएकाले ‘संशोधनवादी’ भनिएको हो ।
एक छिनका लागि मान्नोस्– बजारमा चरेस या अफिम भनेरै चरेस या अफिम बेच्नेहरू बढी खतरनाक होलान कि ‘बच्चाको औषधि’ भनेर चरेस र अफिम बेच्नेहरू बढी खतरनाक होलान् ? यी दुईथरीमा समाजलाई कसले बढी घाटा पुग्ने काम गर्लान् या यी दुईमा को बढी अनैतिक होलान् ? समाजले यी दुईमध्ये कोसँग बढी सतर्क रहनुपर्ला ?
कुरा प्रस्ट छ– यी दुईमध्ये दोस्रो खालका मानिसहरू बढी अनैतिक छन् । पहिलो थरीले त सुरुमै चरेस या अफिम भनेर व्यापार गर्ने भएकाले चरेस या अफिमका अम्मलीहरू मात्रै तिनीहरूको सम्पर्कमा पुग्छन् र चरेस र अफिमको कुलतको शिकार प्रायः ‘पूर्वअम्मली’ हरू मात्रै हुन्छन् । तर, दोस्रो थरीले ‘बच्चाको औषधि’ भनेर लागूऔषध बेच्ने हुनाले कहिल्यै लागूऔषध सेवन नगरेका निर्दोष बच्चाहरू शिकार बन्न पुग्दछन् । उनीहरूले औषधि पाउनु कता हो कता, उल्टै विष पाउँछन् ।
अब भन्नोस्– ‘औषधि’ भनेर बच्चालाई विष खुवाउनेहरू समाजका दुश्मन हुन कि दाजुभाइ हुन् ? संशोधनवाद भनेको ‘बच्चाको औषधि’ भनेर लागू पदार्थ बेच्ने ‘ठग बनियाँ’ जस्तै अनैतिक कुरा हो । मार्क्सवादको मूल आत्मालाई झिकेर आवरण मात्र राख्ने र त्यसभित्र पुँजीवाद कोचेर व्यापार गर्ने काम नै संशोधनवादले गर्दछ । त्यसैले मार्क्सवादले संशोधनवादलाई सुरुदेखि नै घृणा गर्छ ।
संशोधनवादको जन्म पुँजीवादसँग लड्न भएको होइन, बरू मार्क्सवादभित्र पुँजीवाद हुल्न बिचौलियाका रुपमा भएको हो । त्यसैले संशोधनवाद मार्क्सवादको दुश्मन र पुँजीवादको भिन्न संस्करण हो अर्थात् कम्युनिस्ट आन्दोलन र मार्क्सवादका नाममा पुँजीवादको सेवा गर्ने विचारलाई नै ‘संशोधनवाद’ भनिन्छ ।
संशोधनवादीहरू भनेका कम्युनिस्ट आन्दोलनभित्रका पुँजीवादसँग डराएका, बिकेका या कम्युनिस्ट आन्दोलनको घाँटी रेट्ने ‘कसम’ खाएका पुँजीवादका एजेन्टहरू हुन् । तिनीहरू मजदुर आन्दोलनभित्र जन्मेका गद्दारहरू हुन् । त्यसैले संशोधनवादीहरू नजिकका आफन्तहरू हुन् भनेर सोच्ने तरिका पनि संशोधनवादी सोच नै हो । कम्युनिस्ट आन्दोलनलाई लगेर पुँजीवादको खुट्टामा बिसाउने गद्दाहरूसँग अलिकति पनि घृणा जन्मदैन भने मभित्र पनि संशोधनवादले गर्भाधारण गरिसकेछ भनेर सोच्न थाले हुन्छ ।
हाम्रो देशमा दर्जनौं नामधारी कम्युनिस्ट पार्टीहरू छन् । तीमध्ये धेरैजसोले संसदीय बाटो अवलम्बन गरेका छन् । धेरैजसो संसद र सरकारमा छन् । अहिले त संसदको बहुमत नै कम्युनिस्ट भन्नेहरूको छ । तिनीहरूमध्ये कसैले, कुनै जमानामा झापा आन्दोलन गरेका थिए र कसैले जनयुद्ध गरेका थिए । तिनीहरूले आफूलाई कम्युनिस्ट हौं भनेर दावा गर्ने त्यही ऐतिहासिक विरासत छ । वर्तमानमा हेर्ने हो भने तिनीहरू पुरानो प्रतिक्रियावादी राज्य मेसिनरीमा जागिर खान गएका छन् । अनि जो–जो संसद र सरकारमा गएका छन्, तिनीहरू पुराना प्रतिक्रियावादीहरूभन्दा अलिकति पनि असल छैनन् बरु भोका स्यालजस्ता जे भेटे पनि र जति भेटे पनि खाने खालका, खत्तम छन् ।
अर्को विषय, सरकार भन्ने कुरा राज्यसत्ताको असाध्यै अस्थायी संरचना मात्रै हो । आजसम्म कम्युनिस्ट भन्नेहरूको ध्यान सरकारमा जाने र पूर्वशासकहरूले जस्तै ज्यान छाडेर खानेमा मात्रै पुगेको देखिन्छ । राज्यसत्ताको आधारभूत चरित्रलाई हेरफेर नगरी या बलपूर्वक पुरानो सत्तालाई विघटन नगरी बनिबनाऊ सत्तामा जानेहरूले धेरै केही गर्न पनि सक्दैनन् । गर्न सक्नु या नसक्नु दोस्रो कुरा हो तर यिनीहरूको दिमागमा यो सत्तालाई विघटन गर्नुपर्छ भन्ने सोच कहिल्यै पलाएन, बरू सरकारमा पुग्नासाथ यही सत्तालाई सुदृढ गर्ने कुरा गर्न थाले ।
सरकारमा पुगेपछि अरु पुँजीवादीहरूभन्दा भिन्न हुने सोच कहिल्यै पलाएन, बरू कसरी देशी–विदेशीहरूलाई आफू पनि ‘उस्तै भएकाले शङ्का नगर्नू’ भनेर ‘विश्वास’ दिलाउन नै तल्लिन रहे । आधारभूत जनताको हिततिर सोच्नेभन्दा जनताबाट लुकाई–छिपाई धन बटुल्न र नातागोता पोस्न मात्रै व्यस्त रहन थाले । चुनावमा जनतालाई जे पनि भनेर ढाँट्ने र चुनावपछि धोका दिने कुरामा नेपाली संशोधनवाद अरु पुँजीवादीहरूभन्दा अगाडि देखियो ।
त्यसैले, संशोधनवादको भण्डाफोरको प्रश्न कुनै अर्थमा पनि कम्युनिस्टको भण्डाफोर गर्ने प्रश्न होइन, बरु साम्राज्यवादको ठगीको भण्डाफोर गर्ने निकै महत्त्वपूर्ण र अनिवार्य प्रश्न हो ।
नेपालको कम्युनिस्ट आन्दोलन संशोधनवादसँग लड्ने मामलामा धेरै नै नरम छ । संशोधनवादसँग दुश्मनीपूर्ण सम्बन्ध बनाउनेभन्दा मैत्रीपूर्ण व्यवहार गर्ने, अनावश्यक लसपस गर्ने र कुनै न कुनै रुपमा प्रतिक्रियावादी राज्यसत्तासँग आश्रित हुने समस्या छ । जस्तो– नेपालमा ‘प्रलेस’ नाम गरेको एउटा साहित्यिक संस्था छ, यसमा वर्तमान सरकारको नेतृत्व गर्ने पार्टीदेखि आफूलाई विद्रोही हुँ भन्ने पार्टी समेत सँगै छन् । उनीहरू हरेक पटक पदहरूको भागबन्डा गर्छन् र सँगै बस्छन् । सामन्तवाद र साम्राज्यवादको विरोध गर्ने भनेर जन्मेको ‘प्रलेस’ सामन्तवाद र साम्राज्यवादको दलमसान हेरेर बस्छ । आफू संलग्न पार्टीको सरकारले देशघाती–जनघाती काम गर्दा ‘प्रलेस’ बोल्दैन, बरु कसरी छोपछाप पार्ने भनेर सोच्छ ।
यो कुरामा सरकार समर्थक घटक संगठनको कुरा मात्र होइन, आफूलाई क्रान्तिकारी भन्नेहरू पनि किन आफ्नो दस्तावेजमा प्रतिक्रियावादी भनेर किटान गरेका संगठनसँग बस्न मरिहत्ते गर्छन् र त्यो मरिहत्ते गर्ने सोच क्रान्तिकारी हो कि होइन या हिजोका दिनमा हामीले गरेको त्यो मरिहत्ते सही थियो कि थिएन भनेर हामीले सोच्नुपर्ने भएको छ ।
यस्तै अरु उदाहरणहरू पनि छन् । जस्तै– देशमा मृतक व्यक्तिहरूका नाममा खुलेका विभिन्न प्रगतिशील–प्रगतिवादी प्रतिष्ठानहरू छन् । ती प्रतिष्ठानहरू प्रत्येक वर्ष अहिलेकै सरकारसँग अनुदान माग्न निवेदन दिन्छन् । अनुदान प्राप्त भएपछि अरु सामान्य संगठनहरूले जस्तै हारालुछ गरेर खानपिन गर्छन् र खर्चको फाँटबारी मिलाएर आफू ‘नैतिक’ पल्टन्छन् । यस्ता संगठनहरूमा झोलामा कार्यालय राखेर वर्षमा एउटा कार्यक्रम गरेर परिवार पाल्नेदेखि लिएर आफूलाई खाँट्टी क्रान्तिकारी भन्नेसम्म छन् ।
जोड दिन खोजिएको कुरा के हो भने आफूलाई क्रान्तिकारी भन्न चाहने एउटा पनि यस प्रकारका संगठन ‘स्वनिर्भर’ छैनन्, बरू ‘सरकारनिर्भर’ छन् । फरक कति छ भने कुनै संगठनले सधैं सत्तालाई नमस्ते ठोक्छन् भने केहीले भने अनुदान झार्ने बेलामा मात्रै नमस्कार ठोक्छन् ।
संशोधनवादको एउटा अन्तर्राष्ट्रिय चरित्र छ, त्यो हो– राज्यसत्ता र सरकारलाई छ्यासमिस पारेर बुझाउने चरित्र । राज्यसत्ता भनेको स्थायी चिज हो र राज्यसत्ताको मियो भनेको सेना हो । सेना भएपछि आधारभूत रुपमा राज्यसत्ता बन्छ– संसद भए पनि नभए पनि, मन्त्रीमण्डल भए पनि नभए पनि खास फरक पर्दैन । सरकार हुनु र नहुनु पनि ठूलो कुरा होइन । ‘कामचलाउ’ सरकार भएका बेला पनि राज्य त चलिरहेकै हुन्छ ।
कसरी चल्छ त राज्य ? सत्ताधारी वर्गले आफ्नो शासन चलाउन सेनाको गठन गर्छ । प्रहरी पनि सेनाकै अङ्ग हो । कर्मचारी, अदालतलगायत अरु सबै संरचना सेनाभन्दा तल हुन्छन् । मर्यादाक्रममा सेनाको प्रमुख जो भए पनि सेना राज्यका सामान्य नियम–कानुनभन्दा माथि हुन्छ र संसारमा सत्ताको ‘कु’ सेनाले मात्रै गर्छ । राज्यको चरित्र मन परेन भने सेनाले ‘कु’ गर्छ । सेनाको उच्च तहमा शोषक वर्गका मानिसहरू हुन्छन् ।
यो राज्यको स्थायी संरचनालाई विघटन नगरी खुसुक्क सरकारमा गएर समाजवाद आउँछ भन्नेहरू एक नम्बरका ठगहरू हुन् र यो कुरा यिनीहरूलाई ख्रुश्चेवले सिकाएको हो । प्रतिक्रियावादी वर्गले आफ्नो कामलाई व्यवस्थित पार्न तथा जनतालाई न्यायपूर्ण शासन गरेका छौं भनेर भ्रम दिन सेनाको वरिपरि संसद, सरकार, कर्मचारीतन्त्र, जेल, अदालतजस्ता संगठनहरू बनाएर शासन गर्ने गर्छ । हामी सबैलाई थाहा छ कि जब राज्य अप्ठ्यारोमा पर्छ, त्यतिबेला संसारका हरेक ठाउँमा सेना अगाडि आउँछ । त्यसरी आउँदा ‘संकटकाल’ जस्तो शब्दजाल रचेर आउँछ । त्यसरी आएका बेला जनताले देख्ने गरी राज्य प्रकट भएको हुन्छ, अरु बेला भने थरी–थरीका ‘लोकतान्त्रिक’ आवरणले सजिएर आउने गर्छ ।
संशोधनवादको अर्को एउटा यस्तै चरित्र छ, त्यो हो– सरकार र पार्टीको कस्सिएर आलोचना गरेजस्तो गर्ने तर राज्यसत्ताको बेस्सरी उपयोग गर्ने चरित्र । यो मिहिन पाराको संशोधनवादी चरित्र हो । राजसत्ता सबैको साझा हुन्छ भन्ने पुँजीवादी रोगको शिकार भएपछि यसप्रकारको सोच जन्मन्छ । आफूलाई ‘चौबीस क्यारेट’ को असली कम्युनिस्ट भन्न रुचाउने कयौं प्राध्यापक तथा बुद्धिजीवीहरू राज्यको ‘जागिर’ माजाले खान्छन्, जागिरको क्षेत्रमा राज्यको आँखामा ती कहिल्यै बिझाउँदैनन् बरु ‘असल राष्ट्रसेवक’ देखिन्छन् । विश्वविद्यालयका पदीय भागबन्डामा टोपी झिकेर हामफाल्छन् र कुनै न कुनै पद पड्काउँछन् । सरुवा–बढुवा र विभिन्न नियुक्ति पाउन जमेर सत्ताको चाकरी गर्छन् । विश्वविद्यालय, प्रज्ञा प्रतिष्ठानलगायतमा जागिर पनि खाने र क्रान्तिकारी पनि बनिरहन पाइने छुट भएको देश हो यो ।
यी कुरा कुनै खास साथीलाई ‘खुइल्याउन’ भनिएको होइन । हिजोसम्म म पनि यस्ता कयौं कुरामा भ्रममा नै थिएँ । आज आएर हेर्दा हिजो आफैंले गरिआएको काममा पुनर्विचार गर्नुपर्ने जस्तो लाग्न थाल्यो । हामीले जेलाई मार्क्सवाद भन्यौं, त्यो मार्क्सवाद थियो कि संशोधनवाद थियो भनेर सोच्ने समय आएजस्तो लाग्यो । हामी संशोधनवादकै भुलभुलैयामा एकले अर्कोलाई गाली गरेर त समय खेर फालिरहेका छैनौं भनेर सोच्नुपर्ने भयो । त्यसका लागि हामीले पहिलो निर्मम प्रश्न आफैंलाई सोध्नुपर्ने देखियो । त्यो प्रश्न हो– ‘के म जे कुरालाई मार्क्सवाद भनिरहेको छु, यथार्थमा त्यो मार्क्सवादै हो त ?’ या कतै म पनि संशोधनवादको वकालत गर्ने ठग काम त गरिरहेको छैन ? या मैले पनि श्रमजीवी वर्गलाई अरु ठगहरूले जस्तै धोका दिने काम त गरिरहेको छैन ? हरेक इमानदार मार्क्सवादीको दिमागमा यी कुरा खेल्नैपर्छ । हामीले बारम्बार आत्मसमीक्षा गर्नैपर्छ र आत्मालोचक हुनैपर्छ । यहाँनेर ध्यान दिनुपर्ने कुरा के छ भने संशोधनवादी खद्दारहरू कहिल्यै आत्मालोचक हुँदैनन् । उनीहरूले ‘आत्मालोचना’ भनेर केही गरिहाले भने पनि त्यो जनतालाई अझ बढी ठग्ने भयानक षडयन्त्र मात्र हुन्छ ।
र अन्तमा, क्रान्तिकारी वर्गसङ्घर्ष शिथिल भएको र संशोधनवादले दुईतिहाईको दुहाई दिएको वर्तमान अवस्थामा संशोधनवादका विरुद्ध क्रान्तिकारी मार्क्सवादको झन्डा उठाउने काम धेरै नै चुनौतीपूर्ण छ । संशोधनवादीहरूले सत्ता समेतको दुरुपयोग गरेर मानिसहरूलाई भ्रष्ट बनाउने काम गरिरहेका छन् । सरकारी जागिरे या आर्इएनजीओका हाकिमहरूले अन्ततः मार्क्सवादको झन्डा फाल्ने पक्का हुन्छ । उनीहरूले मार्क्सवादको झन्डा ‘इज्जत बढाउन’ मात्र बोक्ने हुन् । जनताको ठूलो हिस्सामा कम्युनिस्ट आन्दोलनप्रति आकर्षण रहेको थाहा पाएर तिनै जनतालाई भ्रम दिन उनीहरू मार्क्सवादको झन्डा बोकेजस्तो मात्र गर्छन् ।
लेनिनले भनेजस्तो ‘प्रोरिटारियट’ हाम्रो देशमा असाध्यै कम छन् र सम्भवतः तिनीहरू राजनीतिको पृष्ठभागमा मतदाताका रुपमा छन् । जो राजनीतिमा छन्, ती न्यून–मध्ययमवर्गीय किसानदेखि सहरीया मध्ययम वर्ग र अब आएर दलाल पुँजीपति एवं माफियाहरू छन् । जो जनताको तल्लो वर्गबाट आएका थिए, ती कि त राजनीतिबाट किनारा लागे, पृष्ठभागमा धकेलिए, श्रमका लागि विदेश पलायन भए र थोरै बचेकाहरु चाहिँ पुँजीवादको असली नोकरमा बदलिए । राजनीतिका हर्ताकर्ताहरू किसान–मजदुर छैनन् ।
कम्युनिस्ट भनिने पार्टीको मुख्य नीतिनिर्माणको तहमा अब माफियाहरूको हालिमुहाली छ । यस्तो अवस्था संशोधनवाद जन्मन, हुर्कन र झाङ्गिन अनुकूल अवस्था हो । संशोधनवादलाई अलि ठूलो स्वरले गाली गर्यो भने चित्त दुखाउने ‘प्रगतिशील’ हरूको बहुमत भएको समय छ । यस्तो बेलामा आफूलाई मार्क्सवादको झन्डा उठाइरहन चाहनेले गहिरिएर सोच्नु जरुरी छ । माथि चर्चा गरिएजस्तै हिजो–अस्ति आफैंले गरेका कामहरूको पनि आत्मसमीक्षा गर्नु जरुरी छ । आफ्नै टाउकामा पहिले आगो सल्काउने भनेको पनि यही हो ।
आउनोस्, एक पटक आफ्नै टाउकामा आगो झोस्ने हिम्मत गरौं । संशोधनवादलाई शब्दले होइन, आचरण र व्यवहारसहितले घृणा गरौं । र, मार्क्स–एङ्गेल्स, लेनिन–स्टालिन र माओले उठाएको सर्वहारा वर्गको वर्गसङ्घर्ष र सर्वहारा अधिनायकत्वको झन्डालाई दह्रोसँग पक्रौं ! संशोधनवादले फोहोर बनाएको झन्डा उसको हातबाट खोसौं र माथि–माथि फहराऔं !
१२ साउन, २०७५, कीर्तिपुर ।