newskoseli.Com

कृषिमन्त्रीको चेनावनी : ‘जनस्वास्थ्यमा खेलबाड गर्नेलाई छाडिन्न’

 

कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणी खनालले जनस्वास्थ्यमा खेलबाड गर्ने कसैलाई पनि नछाडिने र उनीहरुलाई कानुनी दायरामा ल्याएरै छाडिने चेतावनी दिएका छन् ।

‘म्याद (समय) गुज्रेका, सडेगलेका तथा खान नमिल्ने खाद्य सामग्री बेचविखन गर्ने र उत्पादन गर्ने जो–कोहीलाई पनि कालो सूचीमा राख्नोस्, त्यसको जिम्मा म लिन्छु’– मन्त्री खनालको प्रष्टोक्ति छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको तेस्रो चौमासिक प्रगति समीक्षा बैठकमा जनस्वास्थ्यमा खेलवाड गर्ने छुट कसैलाई नभएको भन्दै त्यही अनुसार ‘कडा कदम चाल्न’ मन्त्री खनालले विभागलाई निर्देशन दिएको कृषिमन्त्रीको सचिवालयले जनाएको छ ।

मातहतका संयन्त्र राम्रोसँग चलेनन् भने परिणाम ननिस्कने भन्दै मन्त्री खनालले आफूसँग भएका सम्पूर्ण संयन्त्र परिचालन गर्न समेत विभागलाई निर्देशन दिए । जनस्वास्थ्यका लागि सो विभागको ठूलो दायित्व रहेको भन्दै खनालले अहिले त्यो पूरा हुन नसकेकोमा असन्तुष्टि जनाए ।

‘विभागको निकै ठूलो जिम्मेवारी छ, अहिले त्यो पूरा भएको छैन’, मन्त्री खनालले भने– ‘अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा हामीले गर्ने काम पुग्दो छ कि छैन श्र तपाईंहरु आ–आफ्ना छोराछोरी सम्झेर काम गर्नोस्, समीक्षा आफैं गर्नोस् ।’

पटक–पटक अनुगमन गरेर सुधार गर्न निर्देशन दिँदा पनि सुधार नगर्ने उद्योगलाई कारबाही गरिने विभागका महानिर्देशक सञ्जिवकुमार कर्णले स्पष्ट पारे । विभागले अनुगमनलाई तीव्र बनाएको तर स्रोत–साधन र जनशक्ति पर्याप्त नभएको महानिर्देशक कर्णको भनाइ छ ।

विभागका अनुसार गत आर्थिक वर्षमा देशभरिबाट २ हजार ८ सय १३ वटा नमूना संकलन गरी परीक्षण गर्दा ३ सय ५४ वटा न्यून गुणस्तरका सामग्री पाइएका थिए । तीमध्ये खाद्य समूहमा सबैभन्दा बढी १ सय ४० वटा न्यून गुणस्तरका पाइएका थिए, जसमध्ये दूध तथा दुग्ध पदार्थ ७२, प्रशोधित पिउने पानी २६, गुलियो पदार्थ १७ र तेल तथा घिउजन्य पदार्थ ११ न्यून गुणस्तरको पाइएको विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत नवराज दाहालले जानकारी दिए । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर