newskoseli.Com

मुख्यमन्त्री पौडेलको आश्वासन : जथाभावी कर बढाउनेमाथि कारबाही गरिन्छ

 

‘अनधिकृत रुपमा’ कर बढाउने स्थानीय निकायमाथि कारबाही गरिने चेतावनी प्रदेश– ३ का मुख्यमन्त्री डोरमणि पौडेलले दिएका छन् ।

मुख्यमन्त्री कार्यालयको आयोजनामा शुक्रबार हेटौंडामा आयोजित ‘देवानी तथा फौजदारी संहिता कार्यान्वयन’ विषयक कार्यक्रममा बोल्दै २० वर्षपछि बढेको न्यूनतम करलाई बढाइचढाई जनतामा त्रास सिर्जना गर्ने काम गरेकाले त्यसो नगर्न पनि उनले अनुरोध गरे ।

‘१ सय १९ वटा स्थानीय निकायले कायम गरेको करको विवरण मगाइएको छ, अब छिट्टै त्यसमा छानबिन हुन्छ, अनावश्यक कर बढाउन दिइँदैन,’ मुख्यमन्त्री पौडेलले भने– ‘अनधिकृत रुपमा कर बढाइएको पाइए उसले प्राप्त गर्ने सबै सुविधाहरु रोकिनेछ ।’ प्रदेश सरकारले राम्रा र गतिला कामहरु पनि गरेको भन्दै तिनको प्रचारप्रसार गरिदिन समेत मुख्यमन्त्री पौडेलले सञ्चारकर्मीलाई आग्रह गरे ।

कार्यक्रममा प्रदेश– ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेलले देवानी तथा फौजदारी संहिताको विरोध गर्नुको कुनै अर्थ नभएको दावी गरे । उनले भने– ‘जस्ले जे गरे पनि हुन्छ भन्ने मानसिकता नै गलत हो ।’ आजैदेखि लागू भएको ऐनले केही न केही रुपमा राजनीतिक परिवर्तनको गतिलाई पकड्न खोजेको दाबी गर्दै यस ऐनको विरोध गर्नुभन्दा पनि कार्यान्वयनमा सबैले साथ दिनुपर्नेमा उनले जोड दिए ।

स्वास्थ्यकर्मीहरुप्रति लक्षित गर्दै मन्त्री जमकट्टेलले भने– ‘कसैको ज्यान बचाउने काम पक्कै पनि महत्त्वपूर्ण हो तर दायाँ खुट्टामा समस्या हुँदा बायाँ खुट्टाको शल्यक्रिया भएको पनि भेटियो, घाँटीको शल्यक्रिया गर्नु पर्नेमा पाठेघर निकालेर फालेका घटना पनि फेला परे, जे पनि गर्न पाइने त होइन नि ।’

कार्यक्रममा प्रदेश– ३ का सभामुख, मुख्यमन्त्री, मन्त्रीहरु, सांसदहरु, सुरक्षा निकायका उच्च अधिकारीहरु, कानुन क्षेत्रका विशिष्ट व्यक्तित्व तथा सरोकारवालाको सहभागिता थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर