newskoseli.Com

‘कुरा मिलाउँदै’ देउवा-पौडेल : शनिबार कांग्रेस केन्द्रीय समितिको बैठक

 

शुक्रबारका लागि बोलाइएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शनिबारका लागि सरेको छ । पार्टीको महासमिति बैठकको तयारी र अन्य समिति गठनका सम्बन्धमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका शीर्ष नेताहरुबीच भएको शुक्रबार दिनभरको छलफल र सहमतिपछि बैठक शनिबार बिहान ११ बजेका लागि तोकिएको हो ।

पार्टीका विभिन्न समितिको गठन र महासमिति बैठकको तयारीका सम्बन्धमा शीर्ष नेताहरुबीच सल्लाह गरी टुङ्गो लगाएर मात्र बैठक बस्ने सहमति भएको जानकारी केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले दिएका छन् । शुक्रबार नेताहरूबीच विशेषतः महासमिति बैठकको स्थान र मिति, कार्यसम्पादन तथा अनुशासन समिति गठनका सम्बन्धमा छलफल भएको जानकारी बडूले दिए । “धेरै विषयमा सहमति भए पनि केही विषयमा टुङ्गो लाग्न बाँकी छ”- उनले भने ।

वैशाख १६ मा सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले महासमितिको बैठक भदौमा आयोजना गर्ने निर्णय गरेको थियो । उक्त बैठकले स्थानीय, प्रदेश तथा केन्द्रीय तहमा भएको राज्य पुनर्संरचना अनुसार पार्टीको पुनर्संरचना गर्न पार्टीको विधानमा समयानुकूल परिमार्जनका लागि विधान संशोधन मस्यौदा समिति समेत गठन गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयअनुसार कांग्रेसले बिहीबार महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा ११ सदस्यीय विधान संशोधन मस्यौदा समिति गठन गरेको छ । मस्यौदा समितिमा कांग्रेसका जिल्ला सभापतिहरुले पनि सहभागिता खोजेपछि शीर्ष नेताहरुले त्यसलाई सम्बोधन गर्ने सम्बन्धमा पनि छलफल गरेको जानकारी बडूले दिए ।

असार पहिलो साता हेटौंडामा सम्पन्न कांग्रेसका जिल्ला सभापतिहरुको राष्ट्रिय भेलामा मस्यौदा समितिमा जिल्ला सभापतिहरुको पनि सहभागिता हुने आश्वासन शीर्ष नेताहरुले दिएका थिए । मस्यौदा समितिले विधान संशोधनका लागि गर्ने तयारीको समयावधिलाई ध्यान दिएर महासमिति बैठकको मिति तोक्ने र काठमाडौं वा पोखरामध्ये एक स्थानमा महासमिति बैठक गर्ने सम्बन्ध छलफल भएको बताइएको छ ।

यसअघि गठन गरिएको कार्यसम्पादन समितिबारे विवाद देखिएपछि उक्त समिति विघटन गरिएको थियो । कांग्रेस विधानको दफा २९ बमोजिम सभापति, उपसभापति, दुई महामन्त्री, सहमहामन्त्री, कोषाध्यक्ष र प्रवक्ताका साथै बढीमा २२ जना केन्द्रीय सदस्य कार्यसम्पादन समितिमा रहने व्यवस्था छ । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर