newskoseli.Com

श्रममन्त्रीको घोषणा : ‘युवा स्वरोजगारका लागि ५ देखि १० लाखसम्म विनाधितो ऋण दिन्छौं’

 

युवा स्वरोजगारका लागि सरकारले केही युवालाई विनाधितो ऋण लगानी गर्ने भएको छ । युवा स्वरोजगार उत्पादन तथा उद्यमशीलताको विकासका लागि विनाधितो ऋण लगानी गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले बताएका छन् ।

राजधानीमा आइतबार किङ्स कलेजले आयोजना गरेको ‘युनस सोसल विजनेस च्यालेञ्ज– २०१८’ को उदघाटन गर्दै मन्त्री विष्टले भने– ‘हजारौँ युवामा श्रम र उद्यमशीलताबाट टाढिने मानसिकताका कारण बेरोजगारीको समस्या बढेको छ, सानो पुँजीको अभावमा पनि कोही युवा उद्यमशील बन्नबाट बञ्चित हुनुपर्ने छैन, केही हजार युवालाई स्वरोजगार बनाउने गरी विनाधितो ५ देखि १० लाख रुपैयाँसम्म ऋण लगानी गर्न सरकार तयार छ ।’

युवा स्वरोजगारका लागि चालु आ.व. मा सरकारले बजेट विनियोजन गरेको उल्लेख गर्दै उद्यमशील मानसिकताका साथ युवाको सक्रिय सहभागिता हुनु जरुरी भएको मन्त्री विष्टले बताए । श्रमलाई सम्मान गर्ने मानसिकताको अभावले उद्यमशीलताको विकास हुन नसकेको बताउँदै सामान्य पढेलेखेका युवामा समेत ‘सानो काम गर्नुहुन्न’ भन्ने नकारात्मक सोच नै चुनौती बनेको उनले उल्लेख गरे ।

किङ्स कलेजका कार्यकारी निर्देशक नरोत्तम अर्यालले युवा उद्यमशीलताको प्रवर्द्धन गर्ने उद्देश्यले तीन वर्षदेखि ऊर्जा, कृषि, पर्यटन, महिला सहभागितालगायत विषयमा युवा उद्यमशीलता विकास र सामाजिक दायित्व निर्वाहका लागि प्रोत्साहन गर्ने लक्ष्यका साथ कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए ।

सोसल विजनेस प्रतियोगिताका लागि यो पटक देशका विभिन्न सहरबाट ५५ वटा युवा उद्यमी समूहले आवेदन दिएकामा विभिन्न चरणमा छनोट भई १० वटा समूह अन्तिम प्रतिस्पर्धा पुगेका छन् ।

यीमध्ये विजेता पाँच समूहलाई विभिन्न पाँच शीर्षकमा क्रमशः प्रतियोगिताको शीर्षक विजेतालाई १ लाख, दिगो कृषिलाई ४५ हजार, दिगो पर्यटनलाई ५० हजार, महिला सहभागितालाई ५० हजार र वैकल्पिक ऊर्जालाई ४० हजार रुपैयाँ प्रदान गरिने आयोजक पक्षले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर