newskoseli.Com

भेनेजुयलाको आर्थिक संकट र साम्राज्यवादी षड्यन्त्र

सन् २०१८ अगस्टको सुरुमा भेनेजुयलाको मुद्रा अवमूल्यनको उच्चतम् विन्दुमा पुग्यो । सञ्चार माध्यमहरुले त्यहाँ मुद्रा अवमूल्यन भई एक कप कफीको मूल्य नै दुई लाख पचास हजार बोलिभार पुगेको र अत्यावश्यक वस्तु खरिद गर्न झोलाभरि पैसा लैजानुपर्ने स्थिति बनेको समाचार प्रवाहित गरे ।

अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुले भेनेजुयलाको मुद्रास्फिति दर ६५ हजार प्रतिशतको वरिपरी वृद्धि भइरहेको बताइरहेका छन् । प्रत्येक २६ दिनमा मूल्यवृद्धि दोब्बर हुँदै गइरहेको समाचार आइरहेका छन् । अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) ले उक्त आर्थिक संकट सन् २०१८ को अन्त्यसम्म कायम रहने बताएको छ ।

समाजवादको भिन्न मोडलतिर गइरहेको, कूल ग्रार्हस्थ उत्पादन (जीडीपी) वरियतामा ४७औं र तेल उत्पादक राष्ट्रमध्येको छैटौं देश भेनेजुयला किन र कसरी यो संकटको भुमरीमा फस्यो ? यसको उत्तर खोज्न केही पृष्ठभूमितिर फर्कौं ।

ह्युगो चाभेजको ‘पाँचौं रिपब्लिक मुभमेन्ट’ सफल हुनुभन्दा अगाडिसम्म भेनेजुयला अमेरिकीहरुको व्यापार र लगानी क्षेत्रका रुपमा रहँदै आएको थियो । भेनेजुयलाको अर्थतन्त्रको मूल खम्बा पेट्रोलियम पदार्थ नै हो । त्यो अमेरिकनहरुको नियन्त्रणमा थियो ।

साम्राज्यवादको नवउपनिवेशबाट देशलाई स्वाधिन बनाउनु नै ‘पाँचौं रिपब्लिक मुभमेन्ट’ को प्रमुख एजेन्डा थियो । सन् १९९९ देखि २०१३ सम्मको आफ्नो कार्यकालमा चाभेजले साम्राज्यवादीहरुको लगानीमा रहेका पेट्रोल, दूरसञ्चार र बहुराष्ट्रिय कम्पनीहरुलाई राष्ट्रियकरण गरे । यसरी राष्ट्रियकरणमा पर्नेमा ‘हेल्मीरिच’ र ‘पेनी’ नामका ठूला तेल उत्पादक अमेरिकी कम्पनी पनि थिए । यही बेलादेखि नै अमेरिकाले भेनेजुयलाका विरुद्ध षड्यन्त्र र घेराबन्दी गर्दै आइरहेको थियो ।

ह्युगो चाभेज

यता चाभेजले सन् २००७ मा देशमा क्रियाशील अन्य सना वामपन्थी दलहरुलाई एकताबद्ध पारेर ‘पाँचौं रिपब्लिक मुभमेन्ट’ पार्टीलाई ‘सोसलिस्ट पार्टी अफ भेनेजुयला’ का नाममा पुनर्गठित गरे । पार्टीको मार्गनिर्देशक सिद्धान्तमा ‘मार्क्सवाद–लेनिनवाद–माओवाद– ट्रटस्कीवाद–बोलीभारियनवाद’ राखे ।

तेल उत्पादक कम्पनीहरुलाई सरकारीकरण गरेर राष्ट्रिय आय वृद्धि भएपछि चाभेजले करका दरहरु घटाए । यो आर्थिक संकट सुरु हुनुभन्दा अगाडिसम्म त्यहाँ ‘भ्याट’ को दर केवल ४ प्रतिशत थियो जबकि हामीकहाँ ‘भ्याट’ को दर १३ प्रतिशत छ । चाभेजले जनतालाई स्थानीय जनसमितिमार्फत सस्तो ब्याजमा ऋण लिने वतावरण मिलाए । सामाजिक सुरक्षाको क्षेत्रमा महत्त्वपूर्ण सुधार गरे । चाभेजका यी कामले क्रुद्ध भएको अमेरिकाले भेनेजुयलामाथि घेराबन्दी र नकाबन्दी बढाउँदै लगेपछि चाभेज सन् २०१० मा अमेकिासँग ‘व्यापारयुद्ध’ को घोषणा नै गर्न बाध्य भए ।

सन् २०१३ मा चाभेजको मृत्यु भएपछि उनको उत्तराधिकारीका रुपमा निकोलस मदुरोले नेतृत्व सम्हाले । २० मे, २०१८ को आमनिर्वाचनमा खसेको कूल मतको ६७.८ प्रतिशत प्राप्त गरी मदुरो विजयी भए । अमेरिकी समर्थन प्राप्त उनका प्रतिद्वन्द्वी हेनरीले २०.०९ प्रतिशत मात्र मत प्राप्त गरे । उक्त निर्वाचनमा ४६.०७ प्रतिशत मत खसेको थियो । निर्वाचनमा कम मत खसेको र धाँधली भएको भन्दै अमेरिका र पश्चिमाहरुले उक्त निर्वाचनलाई ‘मान्यता’ दिएनन् । उनीहरुले घेराबन्दी र नाकाबन्दीलाई झन् कसिलो बनाए ।

निकोलस मदुरो

भेनेजुयलाको कूल गार्हस्थ उत्पादन ३३०.९ बिलियन अमेरिकी डलर (पीपीपीमा) छ । क्षेत्रगत हिसाबले त्यहाँको कूल ग्रार्हस्थ उत्पादनमा सबैभन्दा बढी सेवा क्षेत्रको ५७.४, औद्योगिक क्षेत्रको ३८.२ र कृषि क्षेत्रको ४.४ प्रतिशत योगदान छ ।

सन् २०१७ मा भेनेजुयलाको राजस्व ७७.८ बिलियन अमेरिकी डलर थियो, जसमा पेट्रोलियम पदार्थको हिस्सा ९० प्रतिशतभन्दा धेरै थियो । सन् २०१७ मा भेनेजुयलाको कूल निर्यात ३२.०८ र आयात २४.०८ बिलियन अमेरिकी डलर थियो । भेनेजुयलाको मुख्य निर्यात हुने वस्तु पेट्रोल र आयात हुने वस्तु खाद्यन्न हो । भेनेजुयलाले सबैभन्दा धेरै (३४.८ प्रतिशत) निर्यात अमेरिकामा गर्दै आइरहेको र आयात पनि सबैभन्दा धेरै (२४.८ प्रतिशत) अमेरिकाबाटै गर्दै आएको थियो ।

भेनेजुयलाको अर्थतन्त्रको यो संवेदनशीलता बुझेको अमेरिकाले आफ्नो राजनीतिक स्वार्थ पूरा गर्न घेराबन्दी र नाकाबन्दीको ‘रणनीति’ लिएको छ । आफूले समर्थन गरेको उम्मेदारलाई नजिताएको ‘रिस’ मा डोनाल्ड ट्रम्पले कडा नाकाबन्दी गरेका छन् र अहिले भेनेजुयलाको अर्थतन्त्र यसैको मारमा परेको छ ।

के अब मदुरो अमेरिका र पश्चिमा शक्तिको घेराबन्दी तोडेर अर्थतन्त्रलाई गति दिन सफल होलान् त ? आर्थिक संकट हल गर्न के गर्दैछन उनी ? संकटमोचनका निम्ति सर्वप्रथम पुरानो मुद्रा ‘बोलिभार’ लाई विस्थापन गरिएको छ र त्यसको ठाँउमा नयाँ मुद्रा ‘सार्वभौम बोलिभार’ ल्याइएको छ । पुरानो मुद्राका पाँच वटा ‘जिरो’ काटेर नयाँ मुद्राको एक इकाई बनाइएको छ । श्रमिकहरुको ज्याला ३४ गुणा बढाइएको छ । ४ प्रतिशत रहेको ‘भ्याट’ लाई बढाएर १६ प्रतिशत पुर्‍याइएको छ ।

भेनेजुयलाको जनसंख्या ३२.४ मिलियन छ, त्यसमध्ये २.३ मिलियन मानिसले सन् २०१४ देखि २०१८ को बीचमा भेनेजुयला छाडे भन्ने कुरालाई पश्चिमाहरुले खुब महत्त्वका साथ प्रचार गरिरहेका छन् । यसबाट के बुझिन्छ भने उनीहरु भेनेजुयलाको कम्युनिस्ट सरकार असफल भएको सन्देश संसारभर फैलाउन चाहन्छन् ।

भेनेजुयलाले यो आर्थिक संकटबाट पार पाउन आवश्क पर्दा अझ थप सुधार समेत गर्नु जरुरी हुन्छ । मूलतः अन्तर्राष्ट्रिय व्यापारमा अमेरिकासँग भइरहेको व्यापारको हिस्सालाई अन्यत्र ‘डाइभर्स’ गर्न सक्नु पर्दछ । सन् २०१७ को आँकडाअनुसार भेनेजुयलाको निर्यात व्यापार अमेरिकापछि दोस्रोमा भारतसँग १७.२, तेस्रोमा चीनसँग १६.०, चौथोमा नेदरल्याण्डसँग ८.२, पाँचौं सिंगापुरसँग ६.३ र छैटौं क्युबासँग ४.२२ प्रतिशत रहेको देखिन्छ ।

त्यस्तै, भेनेजुयलाको आयात अमेरिकापछि दोस्रोमा चीनसँग २४.८ र तेस्रोमा मेक्सिकोसँग ९.५ प्रतिशत छ । अर्थतन्त्रको दिगोपनका लागि भेनेजुयलाले कि त अमेरिका बाहेकका अहिलेका व्यापार–साझेदारहरुसँग व्यापार बढाउनु जरुरी छ नत्र नयाँ व्यापार क्षेत्रको विस्तार गर्नु जरुरी छ । तत्कालका लागि दैनिक उपभोग्य वस्तुको सहज उपलब्धता र तिनीहरुको मूल्यमाथि नियन्त्रण कायम गर्नु जरुरी देखिन्छ ।

अहिले भेनेजुयलाको ऋण जीडीपीको ३४.९ प्रतिशत छ । अझै पनि यसलाई केही विस्तार गर्ने ठाउँ छ । चाभेजले विगतमा प्रभावकारी रुपमा ‘तेल कूटनीति’ चलाएका थिए । अहिले मदुरोको हकमा पनि त्यो विकल्प सकिएको छैन ।

सबैभन्दा महत्त्वपूर्ण कुरा, साम्राज्यवाद सकिएको छैन, यो झन् ‘तागतदार’ भएर आएको छ । समाजवादी, वामपन्थी र कम्युनिस्ट– जे–जे नाम गरेका शक्ति सरकारमा आउँदा पनि ‘घेरा हाल्ने र नष्ट गर्ने’ रणनीति साम्राज्यवादीहरुले छाडेका छैनन् । अहिले भेनेजुयला, क्युबा, निकारागुवा, चीन, भियतनाम, लाओस, उत्तर कोरिया, मेक्सिको र नेपालमा गरी ९ वटा देशमा ‘वामपन्थी’ र ‘कम्युनिस्ट पार्टी’ को नेतृत्वमा सरकार छन् । तर, ती देशबीच कुनै ठोस सहकार्य छैन ।

‘वामपन्थीहरुलाई प्रत्येक पाइलामा रोक र सखाप पार’ भन्ने रणनीतिमा साम्राज्यवाद आज पनि उत्तिकै दृढ छ, जति हिजो शितयुद्धको बेलामा थियो । छैन त केवल साम्राज्यवादको जमेर प्रतिरोध गर्ने बलियो शिविर । साम्राज्यवादविरोधी शक्तिले आफूहरुबीच एकताको महत्त्व बुझ्न जति ढिलो गर्दछन्, साम्राज्यवादले त्यति नै बढ्ता लाभ उठाइरहने छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर