तत्कालीन दसवर्षे जनयुद्धकालका केही विश्वचर्चित एवं ‘ऐतिहासिक’ कीर्तिमानहरु मध्येको एक हो– ‘गोरखा जेलब्रेक’ । सोही जेलब्रेक प्रकरणकी कमाण्डर थिइन्– उमा भुजेल अर्थात् ‘कमरेड शिलु’ ।
यतिबेला नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाकी केन्द्रीय नेतृ रहेकी शिलु त्यस पार्टीको सैन्य फाँटकी शीर्ष कमान्डर रहेको सरकारी स्रोतको दावी छ । उनै शिलुलाई हालै मात्र सरकारले पक्राउ गरेको अपुष्ट खबरहरु प्रकाशमा आएका छन् ।
विगतमा उनै शिलुका ‘आदरणीय’ एवं ‘वरिष्ठ’ नेता रहेका रामबहादुर थापा ‘बादल’ यतिबेला मुलुकको गृहमन्त्री छन् । उनै बादल नेतृत्वको गृह मन्त्रालयले केही समयअघि मात्रै नेकपा (विप्लव) का दोस्रो वरियताका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई पक्राउ गरिसकेको छ । अहिले फेरि सरकारले ‘सैन्य फाँटकी शीर्ष कमान्डर’ दावी गरेकी सो पार्टीकी नेतृलाई उनै बादल नेतृत्वको गृहप्रशासनले पक्राउ गरेको छ ।
चर्चित माओवादी नेतृ उमा भुजेल ‘शिलु’ लाई प्रहरीले मंगलबार पक्राउ गरेको समाचार स्रोतको दावी छ । उनलाई कहाँबाट पक्राउ गरिएको भन्ने कुरा नखुले पनि उनी पक्राउ परिसकेको पारिवारिक स्रोतको दावी छ ।
पहिलो संविधानसभा सदस्य र त्यस अघिको अन्तरिम संसदमा सदस्य रहेकी भुजेल नेकपाको शीर्ष नेतामै गनिन्छिन् । उनकै नेतृत्वमा ५ जना महिला माओवादी कार्यकर्ताहरुले जनयुद्धकालमा गोर्खा जेलब्रेक गरेका थिए ।
थप यो समाचार पनि पढ्नुहोस्–
विप्लवकी नेतृ उमा धुलिखेलमा बन्दी, अरु को–को कहाँ–कहाँ ?