newskoseli.Com

प्रचण्डको जोड : कर्मचारीतन्त्रभित्रको ‘सेटिङ’ तोडौं

 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कर्मचारीतन्त्रमा रहेको निहित उद्देश्यका निम्ति कायम मिलेमतो (सेटिङ) तोड्नुपर्ने बताएका छन् ।

निर्माण व्यवसायी सङ्घ चितवनको २५औं साधारणसभालाई बुधबार सम्बोधन गर्दै उनले ठूला विकास निर्माणको योजना एउटै निर्माण व्यवसायीलाई ठेक्का दिने मिलेमतो कर्मचारीबाटै हुने गरेको बताए । सरकार र मन्त्रालयको सचिवलाई भनेर आफूले ठूला विकास निर्माण एउटैलाई नदिनुहोस्, साना–साना टुक्रामा ठेक्का दिनुहोस्, छिटो–छिटो काम हुन्छ, प्रतिस्पर्धामा काम हुन्छ भनेको स्मरण गर्दै उनले भने– ‘एउटै ठूलो ठेकेदारलाई ठेक्का दिने, भएभरको नाफा कमाउने पनि उही, काम गरे पनि हुने, नगरे पनि हुने ।’

अध्यक्ष प्रचण्डले भने– ‘पाँच–सातवटा पुल एउटै ठेकेदारलाई दिइएको छ, ओगटेको छ, समयमा काम पूरा पनि हुँदैन, साना निर्माण व्यवसायी रोएर हिँडेका छन्, ठूल–ठूलाले एकाधिकार जमाएका छन् ।’

भूकम्प र नाकाबन्दीका समयमा निर्माण व्यवसायीले काम गर्न नपाएको गुनासो विगतदेखि नै आएको बताउँदै उनले भने– ‘हर्जाना नलगार्इकन एक वर्ष समय थप्न मेरो पूरै पहल हुन्छ ।’ व्यवसायीले सरकारलाई र सरकारले व्यवसायीलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताउँदै उनले अगाडि भने– ‘निजी क्षेत्रले राज्य र कर्मचारीलाई कामचोर र घुस्याहा भन्ने, कर्मचारी र राज्यले निर्माण व्यवसायीलाई ठग भन्ने प्रवृत्ति छ ।’

व्यवसायमा लाग्नेलाई राज्यले नाफाको सुनिश्चितता गर्नुपर्ने बताउँदै निजी क्षेत्रलाई खुशी नपारी र सुरक्षित नगरी विकास र समृद्धि अआउने उहाँले बताए । महिला हिंसाका घटना बढेकाले यसप्रति सरकार गम्भीर बन्नुपर्ने अध्यक्ष दाहालले बताए ।

निर्माण व्यवसायी महासङ्घका अध्यक्ष विष्णुभाइ श्रेष्ठले निर्माण व्यवसायीलाई मात्रै दोष दिने परिपाटी अन्त्य गरिनुपर्ने बताए । निर्माण व्यवसायी संघ चितवनका सदस्यका उत्कृष्ट अंक ल्याउने तीन छोराछोरी कृषा लामिछाने, अनिसा कँडेल र प्रवीण पौडेललाई कार्यक्रममा सम्मान गरियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर