newskoseli.Com

गृहमन्त्रीको प्रष्टोक्ति : महिला हिंसा कडाइका साथ रोक्छौं

 

पछिल्लो समय निरन्तरजसो प्रकाशमा आएका महिला हिंसा र बलात्कारका घटना–विवरणप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले त्यसलाई नियन्त्रणमा लिन सरकार कडा रुपमा प्रस्तुत हुने बताएका छन् ।

मुलुकमा महिला हिंसा बढेको भन्दै अन्तर्पार्टी महिला सञ्जालकी अध्यक्ष निलम वर्माको नेतृत्वमा बुधबार गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाउन आएको टोलीसँग गृहमन्त्री बादलले यस्तो प्रतिबद्धता जाहेर गरेका हुन् । सोही अवसरमा गृहमन्त्री थापाले महिला हिंसाका घटनालाई गम्भीरतापूवर्क लिएर तत्काल कारबाही गर्न आफूले प्रहरीलाई निर्देशन दिइसकेको जानकारी गराएको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जनाएका छन् ।

महिला हिंसाका दोषीलाई कुनै हालतमा उन्मुक्ति नदिइने स्पष्ट पार्दै यस्ता घटनामा जोसुकैको कमजोरी देखिए पनि कारबाहीको दायरामा ल्याइने गृहमन्त्री बादलले स्पष्ट पारे । यस्ता घटनामा अधिकांश दोषीलाई प्रहरीले पक्राउ गरी कारबाही प्रक्रिया समेत अगाडि बढाइसकेको बताउँदै महिला हिंसाविरुद्ध मन्त्रालयले सुरु गरेको अभियानमा हातेमालो गरेर अघि बढ्न गृहमन्त्रीले सञ्जाललाई आग्रह गरे ।

‘अनियन्त्रित मदिराको बिक्री–वितरण र लागू पदार्थको सेवन तथा अन्य कारणले महिला हिंसाका घटना बढेका छन्,’ गृहमन्त्री बादलले भने– ‘त्यसैले पहिले ती कारणको न्यूनीकरण गर्नु जरुरी देखिएको छ ।’

मदिराको बिक्री–वितरणलाई व्यवस्थित गर्ने र लागू पदार्थको प्रयोगलाई निषेध गर्ने गरी गृह मन्त्रालयले केही दिनमै कार्यक्रमको घोषणा गर्न लागेको जानकारी गृहमन्त्री बादलले दिए । पछिल्ला दिनमा बलात्कारका घटना बढेको जस्तो देखिए पनि त्यस्ता घटना अहिले तथ्यांकगत रुपमा घटेको उनले बताए ।

‘पहिले यस्ता घटना गोप्य राखिन्थ्यो, मिडियामा पनि बढी आउँदैनथ्यो,’ गृहमन्त्रीले सञ्जालको टोलीसँग भने– ‘तर, अहिले मिडियामा बढी आउन थालेकाले घटना बढेका हुन् कि भन्नेजस्तो देखिएको हो ।’

कञ्चनपुरमा बालिकाको हत्याको विषयमा समेत गृहले छानविन समितिमार्फत छानविन अघि बढाइसकेकाले केही दिनमै सत्यतथ्य बाहिर आउने विश्वास उनले व्यक्त गरे । महिला हिंसाविरुद्ध आवश्यकताअनुसार थप कठोर कानुन बनाउन सकिने भन्दै संसदमा महिला सांसदहरुबाट आएको संकल्प प्रस्तावले पनि त्यसलाई सहयोग पुग्ने धारणा गृहमन्त्रीले राखे ।

पछिल्ला दिनमा देशका विभिन्न ठाउँमा भएका महिलामाथिको बलात्कार, हत्यालगायतका घटनाले आफूहरुलाई स्तब्ध बनाएको भन्दै घटनाका दोषीलाई तत्काल कारबाहीको दायरमा ल्याउन सञ्जालको टोलीले गृहमन्त्रीको ध्यानाकर्षण गरायो । आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आग्रह गर्दै बलात्कारसम्बन्धी विद्यमान कानुनलाई संशोधन गरी कडा बनाउनुपर्नेलगायतका माग ज्ञापनपत्रमार्फत सञ्जालले राखेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर