newskoseli.Com

संसदमा क–कसले के–के बोले ? ‘स्वतन्त्र पत्रकारितामाथि अङ्कुश नलगाइयोस् !’

 

विकास निर्माण, मलखाद र बाढीपहिरोसँग सम्बन्धित विषयमा प्रतिनिधिसभाको सदनमार्फत सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकको शून्य समयमा भाग लिँदै सांसद टेकबहादुर बस्नेतले बाढी–पहिरोमा परी सल्यानमा घर भत्कँदा पाँच जनाको मृत्यु भएकाले पीडित परिवारलाई राहत उपलब्ध गराउन माग गरे । सांसद तीलबहादुर महत क्षेत्रीले चितवन र नवलपरासी जिल्लामा हुलाकी राजमार्ग निर्माणलाई तीव्रता प्रदान गर्न आग्रह गरे । सांसद तेजुलाल चौधरीले शान्तिपूर्ण आन्दोलनमा रहेका जनतालाई बर्दियामा प्रहरीले धरपकड गरेर लोकतन्त्रकै धज्जी उडाउने काम गरेको भन्दै त्यस्तो कार्य तत्काल रोक्न सरकारलाई सुझाव दिए ।

सांसद दलबहादुर रानाले सङ्घ, प्रदेश र स्थानीय तहको साझा सूचीमा रहेका कानुन बनाउने कार्यलाई प्राथमिकतामा राखेर काम गर्न सुझाव दिए । सांसद दिलेन्द्रप्रसाद बडूले त्रिभुवन विश्वविद्यालयबाट सञ्चालन गर्ने वार्षिक परीक्षाको प्रश्नपत्र परीक्षा हुनुअघि नै सार्वजनिक गर्नेलाई कारबाही गर्न र पोखरा विश्वविद्यालयमा भएको अनियमितताको छानबिन गर्न माग गरे ।

सांसद देवप्रसाद गुरुङले काठमाडौंमा २४ मुलुकका सैनिकको अभ्यास हुँदै आएको सूचना प्राप्त भएकाले त्यो कार्य हाम्रो परराष्ट्र नीतिअनुरुप छ कि छैन भनी प्रश्न गरे । सांसद देवप्रसाद तिमिल्सिनाले लामो समयदेखि उखु किसानले चिनी मिलबाट भुक्तानी पाउन नसकेकाले त्यसका लागि पहलको माग गरे । सांसद देवेन्द्र पौडेलले कालीगण्डकी करिडोर सडक निर्माणको कामलाई तीव्रता दिने ढङ्गबाट काम अघि बढाउन माग गरे ।

सांसद नारायणप्रसाद खतिवडाले पासाङल्हामु राजमार्गका विभिन्न ठाउँमा पहिरोले सडक पटक–पटक अवरुद्ध हुँदै आएकाले पहिरो हटाएर अविलम्ब सहज रुपमा यातायात सञ्चालनको व्यवस्था मिलाउन आग्रह गरे । सांसद नारायणप्रसाद मरासिनीले प्रदेश नं. ४ र प्रदेश नं. ५ लाई जोड्ने कालीगण्डकीमाथि रहेको राम्दी पुल जीर्ण अवस्थामा रहेकाले तत्काल मर्मत–सुधारको माग गरे ।

सांसद पदम गिरीले पर्वत जिल्लाका विभिन्न स्थानमा बाढी–पहिरोबाट पुलमा क्षति पुगेको भन्दै तत्काल मर्मत–सुधारका लागि माग गरे । सांसद पार्वता डीसी चौधरीले लामो समयदेखि सञ्चालनमा आउन नसकेको राप्ती विज्ञान प्रतिष्ठानलाई तत्काल सञ्चालनमा ल्याउन माग गरिन् ।

सांसद पार्वतीकुमारी विङ्खेले दैलेख भएर हिमाली जिल्ला जोड्ने कर्णाली राजमार्ग लामो समयअघि नै शिलान्यास भएर पनि अलपत्र अवस्थामा राख्ने ठेकेदारलाई कारबाही गर्न र पुलको निर्माणकार्य अघि बढाउन माग गरिन् । सांसद पूर्णाकुमारी सुवेदीले जनताले शान्ति र विकास खोजे पनि विकासको गति अलमल भएको अवस्थामा रहेकाले नयाँ योजना बनाएर विकास र समृद्धिलाई अघि बढाउन माग गरिन् । सांसद प्रकाश रसाइलीले मुलुकी फौजदारी अपराध संहिताले प्रेस स्वतन्त्रतालाई अङ्कुश लगाएको भन्दै तत्काल संशोधन गर्न माग गरे ।

सांसद प्रतिमा राईले कटारीबाट घुर्मी जाने सडक क्षेत्रमा पार्किङ शुल्कका नाममा गैरकानुनी रकम उठाउने काम चलिरहेको भन्दै रोक्न माग गरे । सांसद प्रमोद शाहले मुलुकभर युरिया मलका लागि किसानले निकै कठिनाइ भोग्नु परिरहेको अवस्थालाई अत्यन्त गर्न र कालीमाटी तरकारी बजारका स्टल बीचौलियाको ठूलो आम्दानीको स्रोत बन्दै आएकाले छानबिन गर्न माग गरे ।

सांसद बालकृष्ण खाँणले लोकतान्त्रको मेरुदण्डका रुपमा रहेको स्वतन्त्र पत्रकारितामाथि अङ्कुश लगाउने काम कोही–कसैबाट हुनु नहुने धारणा व्यक्त गरेको सरकारी समाचार एजेन्सी राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर