newskoseli.Com

एकाएक फैलियो नयाँ राजनीतिक तरंग : प्रचण्डले किन आधा छोट्याए ५ दिने भारत भ्रमण ?

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आसन्न ५ दिने भारत भ्रमणको अवधि आधा छोट्याइएको उनको निजी सचिवालयले जनाएको छ ।

बिहीबार (२१ भदौ) देखि २६ भदौसम्मका लागि पूर्वनिर्धारित भारत भ्रमण आधा छोट्याएर उनी २३ भदौमै स्वदेश फर्कने भएका छन् । २४ र २५ भदौमा नेकपाको सचिवालय बैठक बस्ने अनि २६ र २७ भदौमा स्थायी कमिटी बैठक बस्ने भएको छ ।

झन्डै ४ महिनाअघि तत्कालनि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता भए तापनि प्रदेश, जिल्ला र जनवर्गीय संगठनहरुबीच अझै एकता हुन सकेको छैन । तल्ला तहको सोही एकताका लागि गृहकार्य गर्न गठित कार्यदलहरुले बुझाएका प्रतिवेदनलाई अन्तिम रुप दिई एकता टुंग्याउनका लागि सचिवालय तथा स्थायी कमिटीको बैठक बोलाइएको जानकारी सो पार्टीका उच्च तहका नेताहरुले न्युजकोसेलीलाई दिएका छन् ।

दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डबीच मंगलबार र बुधबार भएका पटक–पटकका छलफलपछि २४ र २५ मा सचिवालय तथा २६ र २७ भदौमा स्थायी कमिटी बैठक बोलाइएपछि विदेश भ्रमणभन्दा पार्टीको कामलाई बढी महत्त्व दिनका लागि प्रचण्डको भारत भ्रमण छोट्याइएको हो ।

सचिवाल तथा स्थायी कमिटीको बैठकबाट पार्टी संरचनाहरुको एकतालाई टुंगोमा पुर्‍याइने तथा सरकारका काम–कारबाहीहरुको गम्भीर समीक्षा गर्दै आवश्यक निर्णय लिइने बताइएको छ । केही दिन यता सरकारलाई चौतर्फी घेराबन्दीमा पारिएको र कतिपय मन्त्रीहरुको कार्यकुशलता एवं कार्यशैलीबारे गम्भीर प्रश्नचिह्न उठेको भन्दै तिनको समाधानार्थ अध्यक्ष प्रचण्डको भारत भ्रमण छोट्याइएको बताइन्छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर