newskoseli.Com

स्वदेश फर्के प्रचण्ड : ‘भारत भ्रमण सफल र फलदायी, पूरक बजेट सरकारको अधिकार’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल र भारतबीच विगतमा भएका सहमति तथा सम्झौता कार्यान्वयन गराउन र दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन आफ्नो भ्रमण सफल भएको बताएका छन् ।

चारदिने भारत भ्रमणबाट आइतबार स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले भने– ‘विगतमा प्रधानमन्त्रीस्तरमा भएको भ्रमणका क्रममा भएका सहमति तथा सम्झौतालाई व्यावहारिक रूपमा कार्यान्वयन गराउन यस पटकको भ्रमण सफल र फलदायी भएको छ ।’ सरकारले गरेको समझदारी कार्यान्वयन गराउन मात्रै आफ्नो भ्रमण केन्द्रित रहेको उल्लेख गर्दै विकास–निर्माणका कामलाई प्रभावकारी बनाउन आफू लागिपरेको उनले बताए ।

सीमा क्षेत्रमा देखिएका समस्या समाधान गर्ने, नेपालको भौतिक पूर्वाधारमा लगानी बढाउने, ऊर्जा तथा जलस्रोतको क्षेत्रमा लगानी बढाउनेलगायत विषयमा भ्रमणमा क्रमममा महत्त्वपूर्ण छलफल भएको जानकारी अध्यक्ष दाहालले दिए । भ्रमणका क्रममा संविधान कार्यान्वयन तथा सरकारले आत्मसात् गरेको आर्थिक समृद्धिको लक्ष्यलाई साकार बनाउनका लागि भारतको उच्च राजनीतिक नेतृत्वसँग छलफल भएको उनको भनाइ छ ।

विकास–निर्माणका क्रममा आपसी सहयोगलाई वृद्धि गर्दै जाने विषयमा भारतीय नेतृत्वसँग विस्तारमा छलफल भएको उल्लेख गर्दै अध्यक्ष दाहालले भने– ‘नेपालको समृद्धि र विकासका मुद्दालाई केन्द्रमा राखेर राजनीतिक नेतृत्व र बुद्धिजीवीसँग छलफल भयो । यसले मलाई उत्साहित बनाएको छ ।’

दुईतिहाइ प्राप्त सरकारको पक्षमा वातावरण बनाउन आफू भारत भ्रमणमा गएको स्पष्ट पार्दै अध्यक्ष दाहालले भने– ‘नेपाली जनताको चाहनाजस्तै भारत सरकार र भारतीय जनताको चाहना पनि नेपाल स्थिर र आर्थिक रूपमा सबल बनोस् भन्ने रहेको मैले पाएँ ।’

भूकम्पपछिको पुनर्निर्माण, हुलाकी राजमार्गको निर्माण, पछिल्ला दिनमा भएका महत्त्वपूर्ण सहमति तथा सम्झौता कार्यान्वयनका विषयमा केन्द्रित रहेर सहयोग उपलब्ध गराउन आफूले भारतीय नेतृत्वसँग आग्रह गरेको जानकारी अध्यक्ष दाहालले दिए । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा भएका सहमति र समझदारीको सुदृढ कार्यान्वयनको वातावरण निर्माण गर्नु आफ्नो भ्रमणको मुख्य उद्देश्य रहेको र त्यसमा आफू सफल भएको उहाँले बताए ।

पूर्वप्रधानमन्त्री दाहालले भने– ‘भ्रमणको कुनै राजनीतिक एजेन्डा थिएन, विकासको एजेन्डा तथा नेपाल र भारतबीच द्विपक्षीय सहमति, समझदारी र विगतमा भारत सरकारले गरेका थुप्रै प्रतिबद्धताको स्मरण गराएँ । उहाँहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ ।’ पछिल्लो चरणमा दुई देशका प्रधानमन्त्रीबीच भएको सहमति कार्यान्वयनका लागि सकारात्मक वातावरण बनाउन भ्रमणले योगदान गर्ने अध्यक्ष दाहालले बताए । ‘समृद्ध नेपाल र सुखी नेपाली’ भन्ने राष्ट्रिय नारालाई सार्थक बनाउन भारत सरकार एवं भारतीय बुद्धिजीवीसँग महत्त्वपूर्ण छलफल गरेर दुई देशको सम्बन्धलाई अझ सुदृढ गर्न भ्रमण केन्द्रित रहेको उनले बताए ।

भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री सुष्मा स्वराजलगायत राजनीतिक नेतृत्वसँग आपसी सम्बन्ध र द्विपक्षीय हितका बारेमा छलफल भएको जानकारी अध्यक्ष दाहालले दिए । भारतका बुद्धिजीवी, उद्योगी, व्यवसायी तथा पत्रकारसँग पनि छलफल गरिएको उनले स्पष्ट पारे ।

सरकारमा सहभागी मन्त्रीको फेरबदलका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको पछिल्लो प्रतिक्रियामा आफ्नो सहमति रहेको अध्यक्ष दाहालले बताए । ‘मन्त्रीको फेरबदलका सम्बन्धमा प्रधानमन्त्रीको भनाइमा मेरो पनि सहमति छ तर गल्ती गर्दाचाहिँ मन्त्रीमाथि कारबाही हुन्छ’– अध्यक्ष दाहालले भने ।

पूरक बजेट सरकारको अधिकार !

सरकारले पूरक बजेट ल्याउन लागेको हो भन्ने सञ्चारकर्मीको जिज्ञासामा अध्यक्ष दाहालले भने– ‘सामाजिक सुरक्षा भत्तालगायतका विषयमा आम नागरिकको तर्फबाट प्राप्त भएका सुझाव र सल्लाहलाई आत्मसात् गर्दै पूरक बजेट ल्याउने विषयमा सामान्य चर्चा परिचर्चा भएको छ । विशेषगरी वृद्धभत्ताका विषयमा सम्बोधन गर्न सरकारले त्यस्तो व्यवस्था गर्न सक्छ, त्यो सरकारको राजनीतिक र संवैधानिक अधिकार हो ।’ सरकारी समाचार एजेन्सी राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर