newskoseli.Com

‘ठूला’ विप्लवलाई ‘साना’ विप्लवका यी महत्त्वपूर्ण सुझावहरू… !

वर्तमान संविधान र राज्यव्यवस्थालाई पूर्ण रुपले अस्वीकार गरेको तर ‘नयाँ’ विकल्प भने स्पष्ट रुपले दिन नसकिरहेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र सो पार्टीका महासचिव विप्लवलाई अर्का विप्लव अर्थात् ‘साना विप्लव’ ले केही महत्त्वपूर्ण सुझावहरु पस्केका छन् ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको तत्कालीन नेकपा माओवादी केन्द्रको पोलिटब्युरो सदस्य एवं सांस्कृतिक मोर्चाका नेता रहेका तर एमालेसँगको ‘एकता’ अस्वीकार गर्दै सो पार्टीबाट स्वेच्छिक रुपमै बाहिरिँदै अलग्गिएका बलराम तिमल्सिना ‘विप्लव’ ले ‘ठूला’ विप्लव अर्थात् नेत्रविक्रम चन्दलाई त्यस्ता सुझाव दिएका हुन् । सामाजिक सञ्चाजल ‘फेसबुक’ मा आइतबार लामो ‘स्ट्याटस’ लेख्दै युवानेता तिमल्सिना अर्थात् ‘साना’ विप्लवले ‘ठूला’ विप्लवलाई ती सुझाव पस्केका हुन् ।

यस्ता छन् उनका सुझाव–

नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीले निकट भविष्यमै सशस्त्र संघर्ष सुरु गर्दैछ भन्ने आँकलनको आधारमा वर्तमान सरकारले देशव्यापी रुपमा धरपकड तीव्र पारेको रहेछ । उनीहरूको त्यस्तो तयारी हो कि होइन भन्ने कुरा स्वयम् त्यस पार्टीका नेताहरूलाई थाहा होला, कि त सही सूचना पाएको भए सरकारलाई थाहा होला । उनीहरू सशस्त्र संघर्षमै जाँदैछन् भने पनि सरकारले अहिले अदालतले पटक–पटक छोड्दा पनि अदालत परिसरबाटै गिरफ्तार गर्ने क्रम चलाएको छ, त्यो लोकतान्त्रिक होइन । किनकि प्रहरीलाई कसैले पनि भोलि यस्तो गर्न सक्छ भनेको आधारमा गिरफ्तार गर्ने अधिकार हुँदैन । अझ पक्राउ गरिसकेपछि नक्कली वारदात खडा गरेर मुद्दा लगाउने तरिका त हदै अलोकतान्त्रिक तरिका हो ।
(हुन त अलोकतान्त्रिक सरकारसँग के लोकतन्त्रका कुरा गर्नु !)

जहाँसम्म विप्लवले नेतृत्व गरेको नेकपाको कुरा छ, त्यो पार्टीको योजना जेसुकै भए पनि मेरा केही सुझाव छन्–
(त्यसो त सुझाव र आलोचना सुन्ने मामलामा उक्त पार्टीका साथीहरू हदै असहिष्णु छन् भन्ने कुरामा म भुक्तभोगी छु)

अँ, सुझावहरू यस्ता छन्–

तपाईंहरू तत्कालै युद्धमा जान चाहेको हो भने कृपया पुनर्विचार गर्नोस् र अहिले रोकिनोस् । यदि जान चाहेको हो भने–
– के तपाईंहरूले छापामार युद्ध सुरु गर्न लागेको हो ?
– छापामार युयुद्धमा जान चाहेको हो भने– मेरो विचारमा अब छापामार युद्ध उपयुक्त छैन ।
– तपाईंहरूले भनेको समाजवादी क्रान्ति हो, मैले बुझेको समाजवादी क्रान्ति सशस्त्र विद्रोहमार्फत हुन्छ ।
– के तपाईंहरू सशस्त्र विद्रोहबारे सोच्दै हो ?
– हो भने त्यसका लागि राजनीतिक प्रचार, संगठन, शान्तिपूर्ण संघर्षमार्फत गरिने हस्तक्षेप एकदमै पुगेको छैन । कमसेकम मलाई पुगेजस्तो लागेको छैन ।
– हैन, जे पर्ला–पर्ला, एक पटक ठोक्ने हो भन्ने लहड हो भने त्यो स्वयम् तपाईंहरू, श्रमजीवी वर्ग र क्रान्तिलाई बेफाइदा गर्ने हुन्छ ।

गर्ने के त ?

– मैले सुनेअनुसार जे–जस्तो भए पनि सरकारले वार्ताटोली गठन गरेको छ भन्ने सुनिएको छ । तपाईंहरू पनि टोली गठन गरेर वार्ता गर्नोस् ।
– तपाईंहरूका कति सूत्रीय मागहरू हुन्, टेबलमा उठाउनोस् ।
– त्योभन्दा अघि आफ्ना बन्दी कमरेडहरूलाई छुटाउनोस् ।
– सरकार टोली गठन गर्ने, तपाईंहरूले नगर्ने– मिलेन ।
– सरकारले पनि एकातिर वार्ताटोली गठन गर्ने, अर्कोतिर धरपकड गर्ने– मिलेन ।
– नेपाल अहिले निकृष्ट खालको प्रारम्भिक पुँजीवादमा छ, अब हुने क्रान्ति समाजवादी क्रान्ति नै हो, त्यो क्रान्ति शान्तिपूर्ण त हुँदैहुँदैन । हुने बल प्रयोगसहितको विद्रोह नै हो र त्यो भनेको सशस्त्र विद्रोह नै हो ।

तर तर तर

– अहिल्यै त्यो विद्रोह थाल्न तपाईंहरूको आत्मगत् अवस्था र वस्तुगत अवस्था दुवै प्रतिकूल छ ।
– यो व्यवस्थालाई अझै गल्न र कुहिन दिनुपर्छ, यो सरकारलाई अझै नाङ्गिन र बदनाम हुन दिनुपर्छ र त्यसका लागि सचेतन प्रयत्नलाई क्रान्तिकारीहरूले सयौं गुणा बढाउनुपर्छ ।
– आजको पुँजीवाद र आजको क्रान्तिको विकसित कार्यदिशाबारे तपाईंहरूको पार्टीका थोरै मान्छेले मात्र थाहा पाएर हुँदैन, त्यो आम श्रमजीवीमा बहसका रुपमा पुग्नुपर्छ ।
– क्रान्ति एकाध वीर बहादुरहरूको लहड या बलिदानले मात्र सम्पन्न हुन्न । क्रान्ति वर्गले गर्ने हो, आफ्नै वर्गलाई सचेत र संगठित नगरी हतार गर्नु आत्मघात मात्र हुन्छ ।

र अन्त्यमा,

– मेरा यी सुझावहरूलाई एउटा पूर्वसहयात्रीको शुभेच्छाका रुपमा बुझ्नुहोला–
– यो मेरो कुनै पार्टीको तर्फबाट सुझाव पनि होइन, नितान्त निजी सुझाव हो, म अहिले स्वतन्त्र अवस्थामै छु । देशमा बढ्दो दक्षिणपन्थी महामारीबाट म पनि दिक्क र क्षुब्ध छु ।
– साथै, क्रान्तिको हतारोले एउटा सानो शक्ति सत्यानास होला र त्यही घानमा न्याय र समानताको कुरा गर्ने सबैलाई यो सत्ताले दमन गरेर आफ्नो ‘समाजवादी कम्युनिस्ट सत्ता’ दीर्घजीवी बनाउने बहाना पो बन्ला कि भन्ने पनि उत्तिकै चिन्ता छ ।

उही तपाईंहरूको शुभचिन्तक
बलराम तिमल्सिना ‘विप्लव’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर