newskoseli.Com

चौथो पोस्टबहादुर स्मृति दिवस : के–के भने ओली र प्रचण्डले ?

शनिबार राजधानीमा तत्कालीन नेकपा (माओवादी) का एक वरिष्ठ नेता पोस्टबहादुर बोगटी ‘दिवाकर’ को चौथो स्मृति दिवस मनाइयो ।

पोस्टबहादुर बोगटी स्मृति प्रतिष्ठानले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को धुम्बाराहीस्थित मुख्यालयमा आयोजना गरेको कार्यक्रममा नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बोधन गरे ।

बोगटीको चौथो स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टी एकतालाई सृदृढ ढङ्गले सम्पन्न गराएर छाड्ने अठोट व्यक्त गरे । अहिले पार्टीमा अन्तर्विरोधहरु खडा गर्ने तथा भाँजो हाल्ने प्रयास भइरहेको भन्दै त्यसलाई परास्त गरेर पार्टी एकतालाई सुदृढ गराएरै छाड्ने प्रधानमन्त्री ओलीले दृयता व्यक्त गरे । बोगटीजस्ता महान् योद्धाको सपना साकार पार्न पनि पार्टी एकतालाई निष्कर्षमा पुर्‍याउनु आवश्यक रहेको उनले बताए ।

‘सानातिना कुरा, आफ्ना हित र अहंकारमा अल्झिइयो भने सहिदको सपना पूरा गर्न सकिँदैन’ ओलीले भने– ‘सहिदका सपना पूरा गर्न पनि पार्टी एकतालाई सुदृढीकरण गर्दै मुलुकलाई समृद्धितर्फ लैजानु पर्दछ ।’ पार्टी एकतालाई भत्काउनका लागि घुसपैठ गर्ने, अन्तर्विरोध चर्काउने र दुई अध्यक्षबीच भाँजो हाल्ने प्रयास भइरहेकाले यसबाट सचेत हुनुपर्ने समेत प्रधानमन्त्री ओलीले बताए ।

‘देशभित्र र बाहिर कतिपय शक्ति के निहुँ पाऊँ कनिका बुकाऊँ भनेर लागिरहेका छन्, हामीबीच अन्तर्विरोध चर्काउन खोजिरहेका छन्’ ओलीले भने– ‘हामी त्यस्ता अन्तर्विरोधलाई चिर्दै प्रतिक्रियावादीका हमलालाई जवाफ दिँदै पार्टी एकतालाई टुङ्गोमा पुर्‍याउँछौं ।’

कम्युनिस्ट आन्दोलनलाई मदन भण्डारीदेखि पोस्टबहादुर बोगटीसम्ले देखाएका मार्गमा हिँडाएर जनताका आकांक्षा पूरा गर्नुपर्नेमा उनले जोड दिए । ‘जुन किसिमको समाजवाद स्थापना गर्ने उहाँहरुले सपना देख्नुभएको थियो, त्यो सपना हामी पूरा गर्नेछौं’– प्रधानमन्त्री ओलीले भने ।

‘सुखी नेपाली र समृद्ध नेपाल’ सबैको चाहना भएकाले त्यसलाई पूरा गर्न कम्युनिस्ट आन्दोलन एकढिक्का भएको भन्दै अब यो एकता कहिल्यै विभाजित नहुने पनि उनले बताए । लोकतन्त्रलाई सुदृढ पार्दै देशमा भ्रष्टाचार निर्मूल पार्ने अभियानमा सरकार लागिपरेको दावी प्रधानमन्त्रीले गरे ।

सोही कार्यक्रममा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोगटी कम्युनिस्ट आन्दोलनको एकताको पक्षमा रहेको भन्दै यदि उनी जीवितै भएका भए पार्टी एकतामा सबैभन्दा बढी खुशी हुने बताए । प्रचण्डले भने– ‘कम्युनिसट पार्टीहरुलाई एकताबद्ध गराउनुपर्दछ भनेर उहाँले भनेका कुरालाई हामीले कदर गर्नुपर्दछ ।’

तत्कालीन माओवादी शान्ति प्रक्रियामा आएपछिको पहिलो केन्द्रीय कमिटीको बैठकमा बोगटीले नै एमालेसँग एकता गर्नुपर्दछ भनेर सहमति समेत गराएको स्मरण अध्यक्ष प्रचण्डले गरे । ‘त्यतिबेला बैठकमा हामीले एमालेसँग पार्टी एकता गर्ने प्रस्ताव ल्याएका थियौं’ उनले भने– ‘उक्त प्रस्तावका पक्षमा बैठकभित्र सहज ढङ्गले सहमति गराउन उहाँले महत्त्वपूर्ण भूमिका खेल्नुभएको थियो ।’

बोगटी सरल, वैचारिक निष्ठावान्, कार्यकुशल र पारदर्शी ढङ्गको नेता भएको स्मरण प्रचण्डले गरे । आन्दोलनले धेरै नेता जन्माए पनि बोगटीजस्तो विशिष्ट क्षमता र गुण भएको नेता पाउन गाह्रो भएको प्रचण्डले बताए । जनयुद्धताकादेखि शान्ति प्रक्रियासम्ममा बोगटीले खेलेको भूमिका स्मरणयोग्य भएको उनले बताए ।

बोगटी जीवितै भएका भए अहिले नेकपाका दुई अध्यक्षबीच कतिपय कुरामा उत्पन्न हुने असहमतिलाई सहमतिमा बदल्न उनले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने प्रचण्डले बताए । ‘पार्टीमा हामी दुई अध्यक्ष छौं, हामीबीच कतिपय कुरा मिलाउन अप्ठ्यारो पनि आउन सक्दछन् तर उहाँ भएको भए हामीबीचका त्यस्ता अप्ठ्यारालाई मिलाउन सहज भूमिका निभाउनुहुन्थ्यो ।’

अहिले आफूहरु नयाँ युगमा प्रवेश गरेको भन्दै यो युगलाई सार्थक परिमाणमा पुर्‍याउन बोगटीमा भएका गुणहरुबाट सबैले सिक्नुपर्ने प्रचण्डले बताए । कार्यक्रममा स्मृति प्रतिष्ठानका अध्यक्ष हितराज पाण्डेले बोगटी पार्टीभित्रका निष्ठावान् नेता भएकाले उनले देखाएको मार्गमा हिँडेर मुलुकलाई समृद्धितर्फ लैजानुपर्ने बताए ।

वि.सं. २००९ साउन ३ मा बुबा भैरवबहादुर बोगटी र आमा लेखकुमारी बोगटीको कोखबाट जन्मिनुएका बोगटीको २०७१ भदौ ३० मा (६२ वर्षको उमेरमा) हृदयघात र मस्तिष्काघातका कारण निधन भएको थियो । तत्कालीन माओवादी केन्द्रका केन्द्रीय उपाध्यक्ष समेत रहेका बोगटी ऊर्जामन्त्रीका साथै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री र माओवादी केन्द्र संसदीय दलको उपनेता समेत भएका थिए ।

सबै तस्बिरः प्रदीपराज वन्त/रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर