NewsKoseli.Com

किन भैरहेछ महिलामाथि विभेद ?

अर्थ, ज्ञान र वंशमा पुरुषको एकाधिकार नै महिला हिंसाको जड

हाम्रो समाजमा अहिले बलात्कारका घटना ‘सामान्य’ नै लाग्न थालिसके । हरेक दिनजसो सञ्चार माध्यहरुमा यस्ता घटनाहरु सुन्दा–सुन्दा त्यसरी ‘सामान्य’ झैं भान पर्न थालेको हो ।

जबसम्म आफैंमाथि वा आफन्तमाथि वा आफ्नै टोल–छिमेक र समाजमै यस्ता घटना घट्दैनन् तबसम्म मान्छेहरुले त्यसको संवेदनशीलता महशुस गर्नै नसक्ने परिस्थिति बन्दैछ ।

बलात्कार समान्य कुरा होइन, महिलाहिंसाको चरम रुप हो । मानवअधिकार र कानुनका दृष्टिमा बलात्कार जघन्य अपराध हो । सबभन्दा महत्त्वपूर्ण कुरा, बलात्कार महिलाहरुप्रतिको हेपाइको चरम रुप हो । महिलाहिंसाको चरम रुप बलात्कार र लगत्तै हत्या समेतका घटनाहरु नै यति धेरै सार्वजनिक भइरहेका छन् भने महिलाहिंसाका बाँकी अन्य रुपहरुको आँकडा अझ कति भयावह होला ? कति महिलाहरु आफूमाथि भइरहेका अनेकौं रुपका हिंसा सहेरै बसिरहेका होलान् ? कतिपय महिलाहरु त आफूमाथि भइरहेको हिंसा समेत ‘हिंसा’ हो भन्ने नबुझी ‘महिलाको नियति नै यही हो, महिला भएपछि भोग्नैपर्छ’ भनेर ‘चित्त बुझाएरै’ बसिरहेका होलान् ? यसको त कुनै लेखाजोखा नै छैन ।

महिलामाथि हिंसा हुने क्रम अहिलेदेखि मात्र सुरु भएको होइन । जबदेखि हाम्रो समाजमा पितृसत्ता हावी हुँदै आयो तबदेखि नै महिलामाथि हिंसा हुने क्रम बढ्न थाल्यो । हाम्रो समाजको गलत परम्पराले यसलाई हुर्काउँदै ल्यायो र अहिलेको पुँजीवादी युगले त्यसलाई अझ व्यापकता दियो । हुन त यसबीचमा केही सकारात्मक चेतना, संस्कार र रीतिहरुको विकास नभएको होइन तर पनि पुरुषवादी गलत सोच र संस्कारले ती सकारात्मक कुराहरुलाई ओझेलमै पारिरह्यो र महिलामाथि हुने हिंसाको क्रम बढिरह्यो । अझ विभिन्न रुपमा हिंसाको विस्तार र ‘विकास’ हुँदै आयो ।

पछिल्लो समयमा भएको सूचना प्रविधिको अत्यधिक विकासले पनि महिलामाथिको हिंसालाई न्यूनीकरण गर्न सकेन । प्रविधिको गलत प्रयोग र अभ्यासले हिंसाका घटना अझ बढिरहे । फरक के भयो भने पहिले हिंसाका घटना कमै बाहिर आउँथे, अहिले हिंसाका घटनाहरु बाहिर आउने क्रम बढेको छ । यो चाहिँ शिक्षा तथा चेतनाको विस्तार र सूचनाको पहुँचका कारण परेको प्रभाव हो; बिस्तारै खुला हँुदै आएको समाजको लक्षण पनि हो ।

आर्थिक अधिकार अर्थात् सम्पत्तिमाथि महिलाको पहुँच, ज्ञानको अधिकार अर्थात् शिक्षामा महिलाको पहुँच र वंशाधिकार अर्थात् सन्तान र समाजमा महिलाको पहुँच प्राप्त गर्न नसकेकाले समाजमा पुरुषवादी सोच हावी भएको हो । यही कारणले नै महिलामाथि हेपाहा दृष्टिकोणको प्रभाव बढेको हो । मूलतः अंश र वंशको एकाधिकार पुरुषमा भएकाले महिलामाथि विभेद भइरहेको छ ।

समाजका हरेक गतिविधिमा महिलामाथि विभेद छ । समाजका हरेक सोच र संस्कारमा महिलामाथि विभेद छ । समाजमा हरेक भाषा, धर्म, सम्प्रदायमा महिलामाथि विभेदको ‘परम्परा’ नै छ । भलै, सम्प्रदायअनुसार त्यसको मात्रा घटी–बढी होला । यसरी समाजले महिलामाथि एकलौटी अधिकार जमाइरहेको छ र राज्य त्यसैको पछि–पछि लागेको छ । सारतः राज्यले पनि महिलामाथि विभेद गरिरहेको छ ।

राज्यका हरेक निकायहरुमा महिलाको सम्मानजनक सहभागिता नै छैन । राज्यले कानुनमार्फत समेत महिलामाथि विभेद गरिरहेको छ । राज्यले नै महिलालाई ‘दोस्रो दर्जाको नागरिक’ का रुपमा हेरिरहेको छ । परिवार वा समाजबाट हेपिएको नागरिकलाई राज्यले संरक्षण गर्नुपर्ने आम मान्यता हो । तर, यहाँ त राज्य नै विभेदकारी भइरहेको छ । ‘राज्य’ भनेको प्रधानमन्त्री र मन्त्रिपरिषद मात्रै होइनन्, राज्य सञ्चालन गर्ने हरेक प्रशासनिक तथा सार्वजनिक निकायहरु समेत ‘राज्य’ हुन् । ती हरेक निकायमार्फत महिलामाथि विभेद जारी छ् ।

महिलालाई हेर्ने आम दृष्टिकोण नै विभेदकारी छ । सबै दृष्टिकोणबाट हेपिएकी महिला समाजको सोच, व्यवहार, प्रयोग र अभ्यासलाई दोष दिन्नन्, आफ्नै ‘नियति’ लाई दोषी ठानिरहेकी छन् । महिला भएर जन्मनुलाई ‘धिक्कार’ मानिरहेकी छन्, उही पुरुषवादी सोच हावी भइरहेको ‘परम्परा’ र अभ्यासलाई स्वीकारिरहेकी छन् र त्यही ‘संस्कार’ लाई निरन्तरता दिइरहेकी छन् ।

सामाजिक विचार र व्यवहारमा संसारमा धेरै ठूलठूला परिवर्तन आइसके । तर, माहिलामाथिको दृष्टिकोणमा भने अझै परिवर्तनको आभाष हुन सकिरहेको छैन । महिलाको समग्र विकासको पक्ष अझै पनि छायाँमै छ । त्यसैको आडमा महिलाहरुको दैनिक जीवनका विविध पक्षमा समस्या र विकृति बढिरहेको छ, तिनै विकृतिबाट अधिकांश महिला प्रताडित छन् ।

पुँजीवादी विश्वव्यापीकरण र उपभोक्ता संस्कृतिले महिलालाई ‘वस्तु’ का रुपमा लिएको छ । ‘बिक्री हुने जति सबै बेच’ भन्ने चरम पुँजीवादी मान्यताले महिलालाई, महिलाको संवेदनालाई ‘भोग्य सामान’ को प्राथमिक सूचीमा राखेर बेच्ने परिपाटी बसालेको छ । सामन्ती युगमा महिलालाई ‘कज्याएर’ शोषण गरिन्थ्यो तर पुँजीवादी युगमा महिलालाई ‘खुलाएर’ शोषण भइरहेको छ । महिलाको ‘भोग’ मै आफ्नो ‘पुरुषार्थ’ देख्ने मनोवृत्ति भएका पुरुषलाई पुँजीवादले अझ बढी ‘हिंस्रक पुरुषवादी’ बनाइदिएको छ ।

पुँजीवादले अहिलेका मान्छेलाई यति धेरै व्यक्तिवादी र भौतिक ‘सुख’ प्राप्तिको चिन्तनमा निर्लिप्त बनाइदिएको छ कि ऊ सब कुरा बुझेरै पनि हिंसाप्रति उद्यत् छ । महिलाको शरीरमाथि हैकम र जबर्जस्ती गर्ने प्रेरणा केवल शरीरको क्षणिक क्षुधाले मात्रै दिइरहेको छैन बरु ‘महिलाहरु पुरुषआश्रित र कमजोर नै हुन्’ भन्ने मानसिकताले कतिपय ‘पुरुष’ लाई क्रमशः यौनजन्य हिंसातर्फ प्रेरित गरिरहेको छ ।

महिलामाथि हुने यौनजन्य हिंसालगायत अन्य विभिन्न हिंसाका कारण महिलाहरु घर, परिवार र समाज कहीं पनि सुरक्षित छैनन् भन्ने खालका अनेकन घटनाहरु सार्वजनिक भैरहेका छन् । जब ‘संरक्षण’ र ‘सुरक्षा’ गर्ने सामाजिक संरचना नै विश्वासिलो छैन तब महिलाले कोमाथि विश्वास गर्ने ? हिंसालाई दण्डित गर्ने कानुनी बाटाहरु नै सत्ता र शक्तिको आडमा पैसा, पद र शक्तिमा बिलय हुन्छ भने महिलाले अब केमा आड–भरोसा गर्ने ? सामाजिक परम्परा, मूल्य–मान्यता र संस्कारकै आपराधीकरण भैसक्यो भने त्यही समाजमा कसरी संरक्षित हुने ?

यतिबेलाको हाम्रो सामाजमा पद्धतिगत मनोविज्ञान कस्तो छ भने महिलाले कुनै समस्या उजागर गरे भने अथवा आफूमाथिको हिंसालाई प्रतिवाद गर्ने चेष्टा गरे भने उनी आफैं ‘दोषी’ बन्नुपर्छ । समाजले समस्यालाई जता पल्टाएर हेरे पनि महिला नै ‘दोषी’ ठहरिन्छन् । यस्तो भेदवादको जरो निकै गहिरिएको छ र कथित समाजिक न्याय निरुपणमा महिला नै आहुती हुनुपर्छ । आखिर यस्तो विभेद कहिलेसम्म ? हाम्रो समाज महिलामैत्री भएर कहिले सुध्रने ? हाम्रो समाजमा महिलाले आफ्नो अस्मिता, स्वाभिमान र आत्मसम्मानमा कहिले गर्व गर्ने ? आजको परिवेशले यसको त कल्पना नै गर्न सकिने स्थिति देखाएको छैन ।

महिलाले किन पुरुषहरुबाट सुरक्षित महशुस गर्न सक्दैनन् ? महिलाको स्वरुप देख्नै नहुने, ‘कामुक तृष्णा’ को पछि लागिहाल्ने ‘पुरुष’ को उत्पादन कहाँ भइरहेको छ ? हाम्रो पद्धति र मनोविज्ञानले बनाएको ‘पुरुष’ को चरित्र के हो ? यसको दोषी एक्लो ‘पुरुष’ मात्रै हो कि सिंगो समाजकै पद्धतिगत मनोविज्ञान हो ? यस्ता आपराधिक अभ्यास, व्यवहार र संस्कारलाई निरन्तरता दिएर हामीले कस्तो समाजको विकास गरिरहेका छौं ? यसतर्फ गम्भीर हुने समय अझै आएको छैन र ?

प्रतिकृया दिनुहोस्

Google AdSense

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

Google AdSense

आजको विनिमय दर