newskoseli.Com

ब्लड प्रेसर र पक्षाघातले सतायो ? त्यसो भए यसो गर्नोस्…

श्री सम्पादकज्यू,

तपाईंको मायालु पत्र पाएँ । उत्साह थपियो । साधुवाद छ ! आभारी छु ।

गत कात्तिक महिनादेखि शरीरको दाहिने पाटो नचल्ने बिमारले थलिएको छु । चारचौरास घुमेर ओखतीपानी गरें । हाल केही बिसेक अनुभूत गरेर मनका अनगिन्ती विश्रृङ्खलित गन्थन समेट्दै छु । शिक्षक भई टोपलेकोले मेरो भोगाइ समाजकै सरोकार विषय हो भन्ने ठानेको छु । पक्षाघात र उच्च रक्तचापले पीडित हुँदा बिरामीले कस्तो व्यवहार देखाउन सक्छ ? अरूले कस्तो व्यवहार गरे उत्तम हु्न्छ ? यिनै प्रश्नको उत्तर दिने प्रयास यस लेखमा गरेको छु ।

मेरो यस अनुभूतिले अरूलाई यसबारे कुरा बुझ्न सहयोग पुग्ला भन्ठान्छु । व्यक्तिगत कुरो कतै सार्वजनिक सरोकारको विषय बनेछ भने त्यस मिडियाको कुनै कुनामा स्थान दिनुभए अहोभाग्य ठान्ने थिएँ । धन्यवाद ।

हजुरकै,
नलाआ

आकाश र जमिनझैं उहिल्यै र अहिलेको म !

शरीर ठीक थियो, बोली ठीक थियो । सारा संसार रिझिएको थियो । सर्वत्र नाम थियो, काम थियो र दाम पनि थियो । जीवन खुशीले झुमेको थियो । अभाव कुलेलम ठोकेको थियो । परिपूर्णताले जीवन अघाएको थियो ।

अहिले आएर एक पाटो शरीर सपाङ्ग र अर्को पाटो चाहिँ अपाङ्ग भयो । सारा संसार विरक्तियो । अब ‘यो न घरको न घाटको भयो’ भन्ठान्नेहरू पनि जन्मन थाले । जीवन कृष्णगर्तमा खस्यो । अभावको आगमन जताततै देखा पर्न थाल्यो । अपूर्णताले जीवन बैरागलाग्दो भयो ।

म यस्तै कुरा सोचेर दिन बिताउन थालें । हुने कुरा नभई नछाड्ने रहेछ । देश नै हल्लने गरी यस्तै बिमारका घटना घट्न थाले । चुनावकै मुखमा प्रकाश दाहालले संसार छाडे । उनकै पछिपछि गायक समेत लागे । ‘सोसल मिडिया’ हरू रक्तचापबाट बच्नका लागि अपनाउनुपर्ने सावधानीबारेका कहिरनले ढाकिन थाले । मैले पनि बल्ल थाहा पाएँ कि मलाई लागेको बिमार खतरनाक नै रहेछ ।

पहिले म आफ्नो काममा सधैं होसियार थिएँ । कसैलाई कुनै किसिमको दुःख दिन्नथें । विद्यार्थीहरूका बीचमा उभिन पाउँदा रमाउँथें । विद्यार्थीहरू नै आफ्नो परिचय, पहिचान र गाँस–बास–कपासका माध्यम हुन् भन्ठान्थें । एकाग्र मनले उनीहरूका कुरा सुन्थें । आवश्यक परेमा पृष्ठपोषण दिने र आफ्ना कुरा सुनाउने गर्थें । प्रत्येक दिन कक्षामा कुनै न कुनै नयाँ कुरा सुनाएर कक्षाशिक्षणको सुरुआत गर्थें । कुनै विद्यार्थी झर्किए, बटारिए म झन् नौनी बन्थें । पीरमार्का बुझ्थें र निदानको प्रयास जरैदेखि थाल्थें । यसो गर्दा विद्यार्थीहरू प्रशन्न थिए । मलाई पनि आनन्दै थियो ।

अचेल मलाई उच्च रक्तचाप र पक्षाघातको बिमारले सताएको छ । शरीरको आधा अङ्ग नचलेर हैरानमा परेको छु । अचेल मलाई आफ्नो दुर्दशा कसैलाई देखाउनु नपरे हुन्थ्यो भन्ने लाग्छ । कसैले लगिदियो भने यदाकदा स्कुल जाने गर्छु । कसैसँग बोल्न पनि सकस पर्छ । सानातिना झमेलामा पनि धैर्यता राख्न सक्दिनँ । हर्दम मन चञ्चल भइरहन्छ । सबै कुरामा आफ्नै जीत हुनुपर्छ भन्ने ठान्न पुग्छु । अझ विद्यार्थीसामु उभिनुपर्दा तर्सन्छु । उनीहरूका स्वभाविक खालका अनगिन्ती प्रश्नले समेत हैरान हुन्छु र झर्कोफर्को गर्न थाल्छु । उनीहरू उल्टै नौनी बन्छन् र निराश मुहार लगाएर फर्कन्छन् । बिमारले गर्दा म आफ्नो स्वभावको प्रतिकूल व्यवहार गर्ने भएको छु । अचेल म यस्तै छु ।

अहिले आफ्नो व्यक्तिगत कर्म पनि आफैं गर्न सक्तिनँ । अहिले खाना खाना होस् कि चर्पी जान वा ओछ्यानमा सुत्न–उठ्नसम्म अरूकै भर पर्छु । मेरा झिनामसिना काम गर्दा–गर्दा वाक्क भएर मेरो सहयोगी साथी समेत हैरान हुन्छ । मबाट कहिल्यै जस पाउँदैन । अचेल मेरो मनमा अरूप्रति दया, माया, करुणा छँदैछैन जस्तो लाग्छ । खालि रिस मात्र उठ्छ । आफूले गरेको झर्कोफर्को अरूले चुपचाप सहँदा भने मलाई झन् भाउन्न हुन्छ । मेरो खिल्ली उडाएजस्तै लाग्छ । प्रतिकारको भाषा प्रयोग गर्न थाल्यो भने त्यसलाई काँचै चपाउन मन लाग्छ । लचिलो भाषा बोलेर खुरुखुरु काम गरे पनि मलाई नै जिस्काएको ठानी शङ्का लाग्छ । कसै गरे पनि म अरूलाई धर दिन्न । बिमारले गर्दा ठीकलाई समेत बेठीक देख्न थालेको छु । अचेल म यस्तै–यस्तै जीवन बिताइरहेको छु ।

अचेल म आफन्तजनले कुरा बुझेर आफूलाई नम्र तुल्याउन सक्नुपर्छ भन्ने ठान्छु । सहज मनस्थितिमा छँदा त कसैलाई दुःख दिएको थिइनँ, अहिले असहज भएर पो पीडा दिनुपरेको हो । समय सधैं एकनासको हुन्न । कुनै दिन पूर्णरूपले ठीक भएपछि कसैलाई दुःख दिन्नँ । बरू पहिले मन दुखाएकामा क्षमा याचना गर्छु । यद्यपि अहिले मेरो मनको यस्तो गन्थन बुझ्ने मान्छे विरलै छन् । म सबैलाई शङ्कालू नजरले हेर्छु । मलाई हेर्ने उनीहरूको नजर पनि त्यस्तै भएकाले समस्यामा छु । मलाई समस्यैसमस्याको पहाडमै बसेको जस्तो लागेको छ । अचेल म यस्तै मनस्थिति र परिस्थितिमा छु ।

पहिले त मेरो हरेक कुरा राम्ररी सुन्ने, मनमा गुन्ने र सही लागेका कुराहरू अपनाउने बानी थियो । यतिखेर म न सुन्न रुचाउँछु न सुनाउन चाहन्छु । आफू मात्र जान्ने–बुझ्ने र ज्ञानी हुँ, अरूहरू चाहिँ अबुझ हुन् भन्ने ठान्न थालेको छु । साँच्चै अहिले मैले आफूले बुझेका र मनले खाएका कुरा अरूलाई सुनाउँदा सिकाइ दिगो हुन्छ भन्ने कुरा भुलेको छु । कुनै न कुनै रूपमा अरूलाई दिशानिर्देश गरी ऋण लगाउन सके आफ्नो मन आनन्दले पुलकित हुन्छ भन्ने बिर्सेको छु । सचेत मनस्थितिले हरेक काम–कुरा गर्न सके बेहोसीपन कम हुने र होसीपन बढ्दै जाने बाटो छाड्न पुगेको छु । के गर्नु ! अहिले म सबै कुरा पहिले झैं बुझ्छु तर व्यवहार अर्कै गर्न रुचाउँछु । अचेल मेरो सोच–समझ यस्तै असामाजिक छ । तसर्थ, म अन्जान मान्छेसँग भलाकुसारी गर्न डराउँछु । सानातिना कुरामा पनि विवादको पहाड खडा गरूँला कि भन्ने भयले पिल्सिएको छु ।

उमेरले आधा शताब्दी पचाएर शिक्षण पेशामा अढाई दशक बिताए पनि यतिखेर म पाँच वर्ष मुनिको आलोकाँचा बालक भएको छु । शरीरमा तागत नभएको र अरूको दया–मायामा रहनु परेकामा जीवनलाई बोझकै रूपमा लिएको छु । हर्दम बेहोसीपनमा बाँच्न पाउँदा आनन्द मान्न थालेको छु । त्यस्तै सोचले मलाई बिल्कुलै ‘फरक मान्छे’ बनाइरहेछ । हातपाउ नचल्दा पनि आफ्ना कुरा देब्रे हातले भए पनि सकसले लेख्ने गरेको छु । विचार तलमाथि पर्लान् कि भनेर पटक–पटक सुधार र संशोधनद्वारा लेखनलाई खार्न खोज्दैछु ।

उच्च रक्तचाप र पक्षाघातले पक्रनुअघि म श्री जनता मा.वि., गोलबजार– ४, सिरहामा शिक्षणरत थिएँ । त्यो दिन थियो– २०७४ कात्तिक १० गते । त्यस दिन अपराह्न टाउको दुखेकाले डेरामालिक सूवर्ण दाहालले गोलबजारको श्रीराम अस्पताल पुर्‍याए । रक्तचाप भने औधी उच्च रहेछ । मेरो त्यस हालतले त्यहाँका स्वास्थ्यकर्मी डराए । एक जनाले एउटा क्याप्सुल जिब्रोको फेदमा राखिदिए । बिराटनगर ‘रेफर’ गरियो । त्यतिञ्जेल मेरो दाहिने हात र खुट्टालगायत आधा शरीरमै पक्षाघातले समाते पनि मेरो चेतना भने ज्युँका त्युँ थियो । म रातारात बिराटनगरको बिराट अस्पताल भर्ना भएँ ।

उच्च रक्तचाप कम गर्न र पक्षाघात भएको अङ्गलाई पूर्वरूपमा फर्काउन धेरैतिर सोधखोज, अध्ययन, मनन र चिन्तन गरें । धेरै कुराहरू बुझ्ने मौका पाएँ । आफ्नो जीवनशैली नै परिवर्तन गर्न पुगें । बिहान उठ्नासाथ चार केस्रा लसुन र राति भिजाएको एक चम्चा मेथी चपाई–चपाई खान थालें । काँचो सुपाडी समेत चपाउन थालें । अदुवाको टुक्रो र चिराइतोको चोइटो हर्दम मुखमा राख्न थालें । मादक पदार्थ र धुम्रपान सेवन गर्न त सख्त मनाही रहेछ । रोगीलाई बजारका तयारी खानेकुराहरू घातक हुँदा रहेछन् । असन्तुलित जीवनशैली, खानपिनमा गडबड र तनावपूर्ण दिनचर्या बनाउँदा ‘उच्च रक्तचाप’ भन्ने रोग जन्मने रहेछ । बिमार जन्मिसकेपछि पनि त्यस्तै दिनचर्या अपनाए रोगबाट कहिल्यै छुटकारा नपाइने रहेछ । यतिखेर मैले धेरै कुरा बुझ्न सकेको छु यद्यपि जीवनमा लागू गर्न सकेको छैन । त्यसैले अभिशप्त जीवन बिताउन बाध्य छु ।

सुरुआतका दिनमा अलमल–अलमलमै एक हप्ता भातको माड मात्र पिएँ, सानो पाइपबाट पानी पिएँ । शरीर घटेर आधा भयो । रोगीले मोटापन घटाउनुपर्ने रहेछ, घट्यो– ठीकै भयो भन्ने ठान्न पुगें । बढी फाइबरयुक्त अर्थात् रेशादार र पोटासियम भएका खाने कुरा खान थालें । सोडियमयुक्त खाने कुरा खान बन्द गरें । कोलस्ट्रोल घटाउने खाने कुरा खान जोड दिएर उच्च रक्तचाप घटाउने काम गरे । गाँजर, कागती, छाली निकालेको दूध–दही, काँचो प्याज नियमित सेवन गर्न थाले । यसका अतिरिक्त शिलाजित, मह, मेवा, मरिच, करेला, पाकेको खुर्सानी, गहुँको रोटीले समेत फाइदा गर्ने ठानेर सेवन गर्न थालें ।

घरेलु औषधिका रूपमा सौंप–जिरा–सख्खरको चूर्ण, सर्पगन्धाको जराको चूर्ण, अनार, स्याउ, अङ्गुर, नास्पाती समेत खान थालियो । अर्कातिर यदाकदा कमल फूलको रस, नरिवलभित्रको पानी, कटहर र हिङ समेतको सेवन गर्न थालें । तरकारीमा ब्रोकाउली, कोबी, टमाटर, फर्सी, लौका, हरिया सागसब्जी, मसरूम, चुकुन्दर, खरबुजा, तरबुजा, केरा, बदाम, माछा, सोयाबिनको प्रयोग गर्न थालें ।

खाना कमै मात्रामा खाने, नियमित ब्यायाम गर्ने र बिहान नाङ्गो खुट्टाले हिँड्ने गर्नाले मलाई प्रशस्त फाइदा पुग्दै गयो । अर्कातिर पक्षाघात भएका अङ्गको मसाज गर्ने–गराउने काम गरें । दिनानुदिन स्वास्थ्य अवस्थामा सुधार हुँदै गयो । मेरी आमा समेत उच्च रक्तचापको बिरामी हुनुहुन्थ्यो । यो बिमार वंशानुगत गुणका रूपमा मैले पाएको रहेछु भन्ने लाग्दैछ । अहिले शरीरमा रोग पस्न नदिने उपाय अपनाउन नसकेकामा पछुतो भएको छ । यद्यपि नलाग्नु लागिसकेपछि न्यूनीकरण गर्न प्रयास भने जारी राखेको छु ।

पहिले आनन्दले रात कटाउँथें । दार्शनिक ओशोको आनन्द यात्राको अनुयायी भएको थिएँ । ध्यानको गहिराइमा डुब्ने विधि–विधान सिकेको थिएँ । ध्यानद्वारा निर्विचार मनोदशामा पुग्दा भररात उत्सवमय हुन्थ्यो । आनन्दको चरमोत्कर्षमा पुग्न पाउँदा आफूलाई संसारकै भाग्यमानी प्राणी ठान्थें । खाना खाँदा होस् या विश्राम गर्दा वा काममा जुट्दा– ध्यानपूर्वक गर्थेँ । त्यही ध्यानले मलाई आनन्द दिन्थ्यो । आनन्द खोज्न बाहिर भौतारिनु पर्दैन भनेर आफैंभित्र खोज्थें । जताततैबाट आनन्द वर्षेको अनुभूति हुन्थ्यो । आन्तरिक रूपले म त्यसै–त्यसै सफल व्यक्ति बनेको थिएँ । बाह्य रूपले पनि पूर्वाञ्चल विकास क्षेत्रबाट दुई हजार दुई सय प्रतिस्पर्धीलाई उछिनेर माध्यमिक तहको नेपाली भाषा शिक्षक भएको थिएँ ।

सिरहाको कर्जन्हा स्कुलमा खटिएँ । प्रारम्भमा सन्तुलित जीवन थियो । बिस्तारै पहिलेको जीवनशैली छाड्दै गएँ । र, तनाव लिएर जीवनकै भूल गर्न पुगेंछु । खुट्टा पोल्ने र टाउको दुख्नेजस्ता बिमार देखिँदै थिए । वास्ता नगरी सहेर अर्को गल्ती गर्न पुगेंछु । अर्कातिर वर्ष दिन पनि नपुगी मेरो स्थानमा अर्को शिक्षक आयो । शिक्षा कार्यालयले गोलबजार सरुवा भएको मौखिक जानकारी दिइरह्यो । लिखित पत्र माग्दा स्कुलका नाममा पठाइसकेको जानकारी दिइरह्यो । प्रधानाध्यापकले भने कुनै पत्र–सत्र आएको छैन, तपाईंलाई यहीं प्रतिस्थापन गर्छु, ढुक्कले काम गर्नुस् भनिरहे । म पनि लिखित आदेश नआई कतै नजाने सोचमा पुगें ।

दसैं आयो । सबै शिक्षक–कर्मचारीले तलब पाए । प्रधानाध्यापकले भने दसैंपछि तलब दिलाउँछु भनिरहे । आफू रित्तो हात घर आएँ । जेनतेन चाडपर्व मनाइयो । स्कुल लाग्यो, हाजिर भएँ । तलब पाइएन । शिक्षा कार्यालयमा सोधखोज गर्दा मेरो तलब गोलबजार स्कुलमा गइसकेको अनौपचारिक जवाफ दिइयो । म तनाव–तनावमै गोलबजार स्कुलमा हाजिर हुन गएँ । जहाँ पुगे पनि भोलि, पर्सी भन्दाभन्दै तलब भेटिएन । तनावमै काम गरिँदै थियो । अहिले अकस्मात् उच्च रक्तचापले पक्षाघातको रोगी बनायो ।

हुन त सधैं धरतीमा बाँच्न कोही पनि आएको छैन । यहाँ भएका हरेकले एक दिन न एक दिन बिदा भएर जानैपर्छ । यद्यपि आत्मविश्वासका साथ आहारबिहारमा सन्तुलन राख्न सके मृत्युलाई पनि पराजित गर्न सकिने रहेछ । आफन्तजनको प्रेमले रोगीलाई रोगसँग लड्ने तागत दिलाउने रहेछ । ध्यान, योग, प्रणायाम र ब्यायाममा प्रत्येक दिन समय दिन सके सुखमय र स्वस्थ जीवन खोज्न अन्यत्र भौंतारिनु नपर्ने रहेछ । मान्छेले जीवनमा जोखिम मोल्ने हिम्मत गर्नुपर्ने रहेछ । जे–जस्तो भए पनि दुःख भोग्ने साहस गर्नुपर्ने रहेछ ।

सजिलो बाटो पाए मात्तिने र अप्ठ्यारा बाटामा भने आत्तिने काम किमार्थ असुहाउँदिलो रहेछ । मान्छेले आफ्नो स्वास्थ्यप्रति होसियार भई पहिले आफ्ना लागि बाँच्नुपर्ने रहेछ, त्यसपछि मात्र असल कर्मद्वारा संसार हँसाउनुपर्ने रहेछ । अचेल दिमागमा यस्तै कुराहरू आउँछन् । र, म यस्तै सोचले आनन्दित हुने कोशिस गर्दछु ।

वेलका नगरपालिका– २, उदयपुर ।

(आचार्य श्री जनता माध्यमिक विद्यालय, गोलबजार– ४, सिरहाका शिक्षक हुन्)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर