newskoseli.Com

अब नेपाली ‘बुलेट’ ले नै ओसार्छ खाना पकाउने ग्यास !

अबदेखि खाना पकाउने ग्यास नेपालका आफ्नै ‘ग्यास बुलेट’ ले नै आयात गर्ने भएका छन् । नेपाल र भारतका उच्च अधिकारीबीच शुक्रबार भएको द्विपक्षीय वार्तामा नेपालका ५३ वटा ग्यास बुलेटले खाना पकाउने ग्यास (एलपीजी) ढुवानी गर्ने सहमति भएको हो ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव र उनका भारतीय समकक्षी धर्मेन्द्र प्रधानबीच राजधानीमा भएको मोतिहारी–अमलेखगञ्ज पाइपलाइन परियोजनासम्बन्धी वार्तामा त्यस्तो सहमति भएको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री यादवले निकट भविष्यमा नेपालका ग्यास बुलेटले नै एलपीजी ढुवानी गर्ने सहमति दुई पक्षबीच भएको जानकारी दिएका छन् ।

रुपन्देहीमा रासायनिक मल कारखाना स्थापना गर्ने सम्बन्धमा पनि भारतीय पक्षसँग छलफल भएको जानकारी दिँदै प्राकृतिक ग्यास प्रवाहका लागि सर्वेक्षण अध्ययन गरिने उनले बताए । मोतिहारी–अमलेखगञ्ज पाइपलाइन परियोजनाको काम द्रुत गतिमा भइरहेकामा नेपाल र भारतका अधिकारीले त्यसमा सन्तोष व्यक्त गरेका बताउँदै भारतीय मन्त्री प्रधानले शिघ्र परियोजना सम्पन्न गर्न नेपाल सरकारबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गरे ।

भारतले मुजफ्फपुर–मोतिहारी–गोरखपुर प्राकृतिक ग्यासको पाइपलाइन विछ्याएको जानकारी दिँदै त्यसबाट नेपाललाई कसरी फाइदा पुर्‍याउन सकिन्छ भन्ने सन्दर्भमा पनि आफूहरूबीच विचार–विमर्श भएको उनले बताए । नेपालमा मल कारखाना स्थापना गर्न भारतका केही कारखानाको निरीक्षणका निम्ति नेपालका उद्योग, वाणिज्य तथा आपूर्ति र कृषिमन्त्रीलाई भारत भ्रमण गर्न आमन्त्रण गरिएको जानकारी समेत भारतीय मन्त्री प्रधानले दिएको सरकारी समाचार एजेन्सी राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर