newskoseli.Com

भाडामा ठगिनुभएको छ ? सुरु भयो बढी लिनेमाथि अनुगमन

दसैंको अग्रिम बुकिङको टिकटमा कालोबजारी गर्ने, बढी भाडा लिने, सहुलियत नदिनेलगायत नियमविपरीत काम गर्नेलाई यातायात व्यवस्था विभागले कारबाही गर्ने भएको छ ।

अनुगमन गरी कारबाहीको अभियान बुधबारैदेखि सुरु गरिएको विभागका महानिर्देशक लावण्यकुमार ढकालले जानकारी दिएका छन् । सार्वजनिक यातायातका बारेमा धेरै गुनासा आएकाले आफैं अनुगमनमा निस्किएको उनले सुनाए ।

विभागको नेतृत्वमा बुधबार नयाँ बसपार्कदेखि थानकोटसम्म अनुगमन भएको छ । नयाँ बसपार्कलगायतका स्थानमा समितिका सवारीले ‘टिकट सकियो’ भन्ने गरेका छन् । दसैंमा लामो दुरीमा यात्रा गर्ने यात्रुले पहिल्यै टिकट लिने गरेका छन् । असोज ९ देखि मात्र यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ सुरु गरेका थिए ।

बुकिङ सुरु गरेको भोलिपल्टदेखि नै ‘टिकट सकिइसक्यो’ भन्दै कालोबजारी (ब्ल्याक) मा बढी भाडा लिन थालेको यातायात क्षेत्रको सुधारका लागि आवाज उठाउँदै आएका रामबहादुर थापाले बताए । केही कम्पनीका टिकट काउन्टरले सीमित मात्रामा टिकट बुकिङ गरे पनि समितिका काउन्टरले भाडा बढाउने अस्त्रका रुपमा मात्र अग्रिम बुकिङलाई प्रयोग गरेको उनको भनाइ छ ।

नयाँ बसपार्कलगायत टिकट काउन्टरमा समायोजित नयाँ भाडा–सूची नहुँदा यात्रुसँग मनपरी भाडा असुली भइरहेको छ । मन लागेजति भाडा लिन काउन्टरले टिकटमा कहाँबाट कहाँसम्म पुग्ने भनी स्थान समेत लेख्दैनन् ।

सार्वजनिक यातायातमा देखिएका यस्ता समस्या समाधानका लागि अनुगमनलाई तीव्रता दिन लागिएको विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले बताए । असोज ७ मा समायोजन गरिएको भाडा–सूची प्रकाशन गरेर दसैंअघि नै वितरण गर्न लागिएको जानकारी उनले दिए ।

मुख्य–मुख्य चोकमा भाडा–सूचीको बोर्ड राख्ने तयारी भइरहेको समेत विभागले जनाएको छ । विभागले तोकेको भन्दा एक रुपैयाँ मात्र बढी भाडा लिए पनि पाँच हजार रुपैयाँ जरिवाना गरिने सरकारी समाचार एजेन्सी राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर