
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न दोषीलाई एक साताभित्रै कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
पन्त हत्याकाण्डको सत्यतथ्य छानबिन गरी दोषीमाथि तत्काल कारबाही गर्न माग गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूले प्रस्तुत गरेको ज्ञापनपत्र बुझ्दै पन्त हत्याकाण्डमा गठित छानबिन समितिको निष्कर्ष सार्वजनिक गरिने समेत उनले बताए ।
अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) ले गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै पन्त हत्यामा संलग्न दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् । उनीहरुले पन्तको बलात्कार र हत्याका मूल कारक, बम दिदीबहिनी, कञ्चनपुरका प्रहरी उपरीक्षक र हत्यामा संलग्न अन्य प्रहरी अधिकारी (दसी प्रमाण मेट्ने) व्यक्तिमाथि पनि अनुसन्धान केन्द्रित गर्न माग गरेका छन् ।
ज्ञापनपत्रमा जनताको जीउधनको सुरक्षामा सिङ्गो संरचनालाई प्रभावकारी बनाउन असक्षम प्रहरी प्रमुखलाई तत्काल बर्खास्त गर्न पनि माग गरिएको छ । बलात्कार, तेजाब प्रहार र जघन्य अपराधमा आजीवन कारबाही गरिनुपर्नेमा उनीहरुले जोड दिएका छन् ।
हालै बढाइएको यातायात भाडा फिर्ता गर्नुपर्ने, कालोबजारी, महँगी र बेथितिको नियन्त्रण तथा जनजीविकाका पक्षमा परिणाममुखी कदमका लागि जनतालक्षित राहत कार्यक्रम घोषणा गर्न पनि विद्यार्थी सङ्गठनले माग गरेका छन् ।
दैनिकजसो बलात्कारका घटना, तेजाब प्रहारका शृङ्खला र हत्याको घटना नियन्त्रण गर्न विद्यार्थी सङ्गठनले सरकारको ध्यानाकर्षण समेत गराएका छन् । ज्ञापनपत्र बुझाउन अनेरास्ववियुकी अध्यक्ष नवीना लामा र अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङलगायत विद्यार्थी सङ्गठनका पदाधिकारी गृह मन्त्रालय पुगेका थिए ।