newskoseli.Com

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै : के–के हुँदैछन् छलफल ?

नेपाल विद्यार्थी सङ्घको महाधिवेशनबारे छलफल गर्न र पार्टीको विधान तथा समसामयिक राजनीतिलगायतका विषयमा निर्णय गर्न आइतबार राजधानीमा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ ।

बैठकमा पार्टीको विधान संशोधन मस्यौदा समितिको प्रतिवेदन, नेविसङ्घको संशोधित विधान, मूल्यवृद्धि र समसामयिक राजनीतिलगायतका विषयमा छलफल हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा विधान संशोधन मस्यौदा समितिका संयोजक एवं महामन्त्री पूर्णबहादुर खड्काले मस्यौदा तयारीबारे जानकारी गराउँनेछन् ।

सङ्घीय संरचनाअनुसार पार्टीका सङ्गठनात्मक संरचनालाई पुनर्संरचना गर्न कांग्रेसले विधानमा आवश्यक संशोधन र परिमार्जन गर्न महामन्त्री खड्काको संयोजकत्वमा भदौ ७ मा पार्टी विधान संशोधन मस्यौदा समिति गठन गरेको थियो । समितिले हालसम्म विधान संशोधन मस्यौदा तयारीका लागि पार्टीका विभिन्न निकाय, भ्रातृ एवं शुभेच्छुक संस्था, जनसम्पर्क समितिलगायत सरोकारवालाबाट सुझाव लिइसकेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

समितिले संशोधित विधान सम्बन्धमा सातै प्रदेशमा राय तथा सुझाव लिएको छ । महामन्त्री खड्का संयोजकत्वको सो समितिले सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य, जिल्ला सभापति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, सांसद, प्रदेशसभा सदस्य र भ्रातृसंस्थाका प्रमुखबाट सुझाव लिएको हो ।

कांग्रेसले असोज ८ देखि १३ सम्म सातै प्रदेशमा अन्तक्र्रिया कार्यक्रम गरी विधान संशोधन गर्न सुझाव सङ्कलन गरेको थियो । सङ्कलित राय–सुझाव समावेश गरेर असोज २५ भित्र मस्यौदालाई अन्तिम रूप दिने गृहकार्य भइरहेको छ । सुझावको अध्ययनपछि अन्तिम मस्यौदा तयार गरी पार्टीको केन्द्रीय कार्यसमितिमा पेस गरिनेछ । केन्द्रीय समितिले पारित गरेको विधान मस्यौदा महासमिति बैठकमा पेस हुनेछ ।

भदौ ९ मा बसेको पार्टीको केन्द्रीय समितिको बैठकले विधान संशोधन गर्न मङ्सिर ५ देखि ९ सम्म काठमाडौंमा महासमितिको बैठक गर्ने निर्णय गरेको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर