newskoseli.Com

नेविसङ्घमा ३२ वर्षे उमेर हद ! अरु के–के निर्णय गर्‍यो कांग्रेसले ?

नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी सङ्घमा ३२ वर्षे उमेर हद लाग्ने भएको छ ।

आइतबार राति सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले ३२ वर्षे उमेरसम्बन्धी सो व्यवस्था कायम रहने सङ्घको विधानको व्यवस्था पारित गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए । नेविसङ्घमा ३२ वर्षे उमेर हदको व्यवस्था ११औं महाधिवेशनदेखि कायम छ ।

नेविसङ्घमा प्रमुख विवादका रूपमा देखिएको सो व्यवस्था टुङ्गिएसँगै सङ्घको १२औं महाधिवेशन गर्ने बाटो खुलेको छ । नेविसङ्घको वर्तमान कार्यसमितिको कार्यकाल भदौमा समाप्त भई ३ महिना अवधि थपिएको छ । कांग्रेसमा संस्थापन पक्षको कायम राख्नुपर्ने र संस्थापनइतर पक्षको उमेरसम्बन्धी सो व्यवस्था हटाउनुपर्ने अडान थियो ।

बैठकले सङ्घको विधानको उक्त व्यवस्था पारित गरेपछि पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलालगायतका नेताले निर्णयप्रति असहमति जनाएका छन् । सङ्घको संशोधित विधानबारे कांग्रेसको असोज २५ मा बस्ने बैठकमा थप छलफल गरी पारित भएने जानकारी प्रवक्ता शर्माले दिए ।

दिउँसो ३ बजेदेखि राति झन्डै ११ बजेसम्म बसेको कांग्रेस बैठकले अन्य समसामयिक र जनजीविकाका विषयमा समेत निर्णय गरेको छ । बैठकले नेपाल वायु सेवा निगमको वाइडबडी विमान खरिद प्रक्रियामा देखिएको अनियमितताका सम्बन्धमा भइरहेको छानबिनलाई शिघ्र टुङ्गोमा पुर्‍याई दोषीलाई कानुनी कारबाही गर्न माग गर्ने निर्णय गरेको छ ।

कांग्रेसले बूढीगण्डकी जलविद्युत् आयोजना काङ्ग्रेस नेतृत्वको तत्कालीन सरकारका पालामा गठित समितिले गरेको अध्ययन प्रतिवेदनका आधारमा स्वदेशी पुँजीमै बनाउनुपर्ने माग गरेको छ । बैठकले बाराको निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने माग गर्दै आवश्यकभन्दा बढी रुख कटानको प्रस्तावमा भने विमति जनाएको जानकारी उनले दिए ।

मुलुकभर महिला हिंसा र बलात्कारका घटना बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै शान्ति–सुरक्षा सुदृढ बनाउन बैठकले सरकारसँग माग गरेको छ । महत्त्वपूर्ण चाडपर्वको मुखमा बजारमा चर्को मूल्यवृद्धि भएको भन्दै कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ । यस सम्बन्धमा कांग्रेसले ७७ जिल्लाका जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने प्रस्ताव समेत पारित गरेको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर